सानो हुँदा आमाले पाउरोटी किन्न पठाउनुभो । पसलमा गएर पाउरोटी मागेँ । पसलेले एउटा दियो । घरमा आएर गाली खाइयो। नराम्रो वाला परेछ । आमाले फेरि पसल गएर फलानो नामको पाउरोटी ल्याउनु भनेर पठाउनुभयो। लुरुलुरु गएँ, पाउरोटी साटेँ र फर्केँ । दोहोरो हिँड्नुपरेकोमा रिसाउँदै।
त्यस्तै भयो फेरि, बटर लिन जाँदा । पसलमा दुईथरी बटर छन्। कुन लाने, थाहा छैन । ल्यान्डलाइनबाट घरमा फोन गरेर सोधेँ । भनेकै कम्पनीको लगेँ।
अलि ठूलो भएपछिको कुरा । जागिर खान घरबाहिर बस्दा चामल किन्न जानुपर्यो । पसलमा चामल त दर्जनथरी । बासमती चामल मागेको, त्योपनि तीन-चारथरी । २६-२७ बर्षको लाठे, घरमा पनि के सोध्नु ? सबभन्दा महंगो चामल एकबोरा किनेर ल्याइयो । तर के थाहा, सबभन्दा महंगो चाहिँ सबभन्दा कवाड रैछ । बोरा नसकिएसम्म बिहान-बेलुकै साथीहरुले एक-एकपल्ट केही न केही डोज दिन्थे हरेकदिन।
गल्तीहरुबाट अलिअलि सिकेको छु । अब पाउरोटी /दुध किन्नुअघि जान्ने मान्छेलाई सोध्छु । चामल किन्नुअघि जान्ने मान्छेलाई सोध्छु वा बोरा फोडेर यसो परीक्षण गरेजस्तो गरेर किन्छु । सबैले गर्ने उस्तै होला।
यी त ठूलो कुरा भएनन्। तर औषधीमा यस्तै गर्नुपरे के होला हालत ? एकछिन सोचौँ न त।
तपार्इँको छोरालाई टाइफाइड भयो । डाक्टरले सेफिक्जिम नामक औषधी लेखिदिए । औषधि पसले मलाई नराम्रो पाउरोटी बेच्नेजस्तो पर्यो भने उसलाई बढी फाइदा आउने कमसल औषधी दिनेभो । नत्र दशवटा ब्राण्डको औषधी छान्न दियो । दुईटा भारतीय, दुईवटा बंगलादेशी, चारवटा नेपाली कम्पनीका। कुन छान्नुहुन्छ ? बा-आमालाई सोधेर काम भएन। सुँघेर/ छामेर राम्रो-नराम्रो छुट्याउने क्षमता छ भने त ठिकै छ । गोलाप्रथा गरेर छान्नुहुन्छ ? कि जुन सस्तो छ त्यही छान्नुहुन्छ ? कि जुन महंगो छ त्यही छान्नुहुन्छ ?
छान्न पाउँदा त ठिकै छ । त्यो पसलेले छान्न नदिई तपार्इँलाई एउटा कुनै औषधि दियो भने त त्यही लिनैपर्यो।। कुनै औषधीले धेरै कमिशन देलान्, कुनैले थोरै । कमिशन धेरथोर किन होला, बुझ्नुभएकै होला। नाम चलेको ठूलो कम्पनी, राम्रो औषधिवाला कम्पनीले धेरै कमिसन दिई-दिई औषधि बिकाउनै पर्दैन । अलि कमसल कम्पनी, अलि कमसल औषधिले पो बढी कमिसन देला त।
नराम्रो औषधि किन बेच्ला र पसलेले ? भनेर सोध्नुहोला। ब्यापारीले त नाफा र घाटा हेर्छ नि । जुनमा बढी नाफा, त्यही राम्रो। बच्चा ठिक नभए त 'डाक्टरले कस्तो औषधी लेखेछ' भनेर डाक्टरलाई नै दोष दिनुहुन्छ नि। औषधी पसलेलाई 'नो रिस्क'।
सरकारले गुणस्तर नहेरी औषधि बेच्न दिन्छ त ? भन्ने प्रश्न आउला। नेपाल संसारका भ्रष्टाचारीको लिस्टमा कति नम्बरमा पर्छ थाहा नै होला । औषधिको गुणस्तर हेर्ने संस्थाले 'ओके' भनेपछि औषधि बेच्न पाइन्छ र करोडौँको ब्यापार हुन्छ, 'ओके' नभने बेच्न पाइन्न । केही प्रतिशतको चलखेल त्यहाँ हुन्न भन्ने मान्नुहुन्छ भने तपार्इँको ओभर-अप्टिमिजमलाई सलाम छ ।
डाक्टरले औषधि कम्पनीबाट फाइदा लिएर औषधी लेख्छन् भन्नुहोला अब । दुईटा औषधी छन्। एउटाले काम गर्छ, अर्कोले काम गर्दैन । डाक्टरले कमिसन खाएर काम नगर्ने औषधि लेखे भने बिरामी ठिक हुन्नन्। बिरामी ठिक नभएपछि त्यो डाक्टरकोमा अबदेखि जान्नन्। डाक्टरको क्लिनिकमा बिरामी कम हुन्छन्। अनि बिरामी नआउने डाक्टरलाई त औषधि कम्पनीले पनि कमिसन दिने कुरा भएन। आाफ्नै खुट्टामा बन्चरो हान्ने काम त नगर्लान् नि डाक्टरले, काम नगर्ने औषधि लेखेर। औषधि खाएर बिरामी ठिक नभए कमसल औषधी बनाउने कम्पनीलाई त गाली गर्नुहुन्न, कमसल औषधी ठिक छ भनिदिने सरकारी संस्थालार्इ पनि गाली गर्नुहुन्न । कमसल ब्राण्डको औषधी दिने पसलेलाई पनि गाली गर्नुहुन्न । डाक्टरले काम नगर्ने औषधी दियो भनेर चाहिँ गाली गर्नुहुन्छ । कि मनमनै गाली गर्नुहुन्छ र अबदेखि त्यो डाक्टरकहाँ जानुहुन्न? सके त जुलुस लिएर जानुहुन्छ, तोडफोड गर्नुहुन्छ र क्षतिपूर्ति पनि माग्नुहुन्छ । डाक्टरले कमि;न खाएर काम नगर्ने औषधि लेख्नु त आफ्नै खुट्टामा बञ्चरो हान्नु रहेछ ।
भनेपछि सबैभन्दा खराब, कमिसनखोर डाक्टरले गर्न सक्ने भनेको काम गर्ने (रोग ठिक पार्ने ) औषधिका ब्राण्डमध्ये जुन कम्पनीबाट बढी फाइदा आउँछ, त्यो औषधी लेख्लान्। काम नगर्ने औषधि लेखे त्यो आफ्नै खुट्टामा बन्चरो हानेको हुनेछ । बिरामी ठिक हुन्नन्, अनि बिरामी कम हुन्छन्। कमिसन खाएर औषधि लेखेको भए कमिसन दिनेवाला कम्पनी पनि जुन डाक्टरकहाँ धेरै बिरामी जान्छन्, त्यतै लाग्छन्।
कोही–कोही त राम्रा डाक्टर पनि होलान्। बिरामीको भलो चिताउने, बिरामी ठिक हुन् भन्ने सोच्ने । तीनले त राम्रो, भरपर्दो, सस्तो ब्राण्डको औषधी लेख्छन् नि हैन ?
(एउटा कुरा चाहिँ भनिहालौँ । ठुला कम्पनीले निकाल्ने राम्रा औषधी कमसल औषधी भन्दा सस्ता नै हुन्छन्, महंगा हुन्नन्। किनकी तिनले कमिसन कम दिन्छन् र ठूलो मात्रामा औषधि उत्पादन गर्ने भएकाले सस्तोमा दिन सक्छन्। कपडा-चामल-जुत्ता-खानेकुरा आदि आदि महंगा राम्रा होलान्, तर औषधीमा राम्रा औषधि प्राय: सस्ता हुन्छन् । महंगा नराम्रा भन्न खोज्या हैन, सस्ता सबै राम्रा पनि भन्न खोज्या हैन)
ठूला अस्पतालको फार्मेसीबाट मात्र औषधि किनौँला, त्यहाँ त राम्रा औषधी राख्लान् नि भन्ने सोच राख्नुभएको छ भने त्यो पनि गलत हुनसक्छ । ठूला अस्पतालका हाकिम बन्न राजनीतिक- आर्थिक चलखेल धेरथोर पक्कै होला। औषधि कुन कम्पनीको राख्ने भन्ने कुरा टेन्डरबाटै होला । टेन्डर त त्यसलाई पर्छ जसले पैसा ख्वाउँछ । हाकिम नैतिकतावान परे र पैसा खाएनन् भने एउटा कम्पनीले अति कमसल औषधी अति सस्तोमा बनाएर अति सस्तोमा कोट गरेर टेन्डर पार्छ । मारमा त औषधि खाने नै पर्यो नि हजुर ।
डाक्टरले ट्रेड नेममा औषधी नलेखि जेनेरिक नेममा औषधी लेख्नपर्ने नियम आउन लाग्यो भन्ने सुनिँदै छ । त्यो भए के अवस्था आउला भनेर सोच्दै छु ।
देशै भ्रष्ट छ । डाक्टर फटाहा हुन सक्छन्, औषधि पसले फटाहा हुन सक्छन्, औषधीको गुणस्तर परीक्षण गर्ने ठाउँका मान्छे फटाहा हुन सक्छन्, फार्मेसी भएको अस्पतालका हाकिम फटाहा हुन सक्छन्। डाक्टर अति फटाहा हुँदा पनि काम नगर्ने औषधिको ब्राण्ड नेम लेख्न सक्दैन । किनकि बिरामी ठिक नभए न उसकहाँ बिरामी आउँछन्, न कमिसन दिने कम्पनीवाला । अरु जति फटाहा भएपनि तिनलाई दोष आउन्न, तिनका गल्तीका दोष डाक्टरलाई आउँछन् । किनकी डाक्टरले लेखेको औषधिले ठिक भएन भनेर मात्र देखिन्छ ।
डाक्टरले ब्राण्ड नेम मा औषधि लेख्न नपाई जेनेरिक नेममा औषधी लेख्नु भनेको 'पाउरोटी खानुस्' मात्र भन्न पाउनु हो। त्यसमा तपार्इँको हातमा जुन पाउरोटी पनि पर्नसक्छ । बिरामीको हित चिताउने डाक्टरले पनि गर्न सक्ने केही हुन्न । ती नीरीह र लाचार हुन्छन्। बिरामीले कुन ब्राण्डको औषधी खाने भन्ने जिम्मा डाक्टरलाई दिँदा नै बिरामीका लागि सबैभन्दा फाइदाजनक देखिन्छ।
जेनेरिक औषधि भनेका ब्राण्ड नेम नभएका र जेनेरिक नेम मात्र भएका औषधि हुन्। जनतालाई सुपथ मूल्यमा औषधि उपलब्ध गराउनका लागि सरकारले सहुलियत दिएका हुन्छन्। जेनेरिक औषधि छुट्टै पसलमा पाइन्छन् । जस्तै जेनेरिक औषधी पसलमा 'पाउरोटी' लेखिएको पाउरोटी पाइन्छ, जसको कुनै नाम हुन्न । ती सस्ता र विश्वसनीय हुन्छन्। नेपालमा न कुनै जेनेरिक नेमको औषधि पाइन्छ, न यस्ता औषधि पाइने पसल नै छ। सरकारले पहिला यस्ता जेनेरिक औषधि नेपालमा पाइने ब्यबस्था गरेर मात्र डाक्टरले जेनेरिक नेममा औषधी लेख्ने ब्यबस्था ल्याए हुन्थ्यो। डाक्टरले ब्राण्ड नेममा औषधी नलेखी जेनेरिक नेममा औषधी लेख्न बाध्य पारिनु बिरामीले कुन कम्पनीको औषधी खाने भन्ने निर्णय डाक्टरको हातबाट खोसेर ब्यापारीहरुको जालोलाई दिने काम भन्दा बढी केही हुँदैन।