नेपाल सरकारले यही भदौ १ गतेदेखि लागु गरेको मुलुकी अपराध (संहिता) ऐन २०७४ ले इलाज सम्बन्धि कसुर परिच्छेद १९ (उपदफा २३०, २३१, २३२, २३८, २३९) मा चिकित्सकीय पेशाको नै मान मर्दन हुने जुन प्रावधान राखेको छ, त्यसले गम्भिर बनाएको छ।
हाम्रो जस्तो सिमित स्रोत साधन भएको ठाउँमा आफ्नो उच्चतम ज्ञान र सीपको प्रयोग गरेर चिकित्सिक अहोरात्र उपचारमा खटिइरहेको सर्वविदितै छ। जहाँ ल्याब परीक्षण र रेडियोलोजीका सामान्य परीक्षण बिना नै बिरामीको उपचार गरी जिवन बचाउन लागिपरेका दुरदराजका चिकित्सक र स्वास्थ्यकर्मीलाई हतोत्साही बनाउन खोजिएको छ। यो अत्यन्तै दुखद् अवस्था हो। यसबाट सेवामा समर्पित हातहरुलाई बदनियत र हेलचक्र्याइँ भनेर बाध्ने काम भएको छ। सिटामोल र जीवनजल पनि नपाएर छटपटाएका गरिब जनताको उपचारमा पहुँच अझै कठिन बनाइएको छ।
चिकित्सक र बिशेषज्ञ चिकित्सक हुनलाई सामान्यतया ६ देखि १२ वर्ष अध्ययन र अभ्यास प्रत्यक्ष प्राध्यापक चिकित्सकको निगरानीमा बिरामीसँग रहेर गरेको हुन्छ। बिरामीको लागि नयाँ रिसर्च केही छ कि भनेर सधैँ लाइब्रेरीमा रातिको १२ बजेसम्म डेबिडसन्स र क्यामबेलको पाना पल्टाइरहेको हुन्छ। अनि गरिब बिरामीको लागि फ्रि बेड र सामाजिक संस्थालाइ आर्थिक सहयोगका लागि अनुनय बिनय गर्न पछि पर्दैन।
अध्यन पश्चात् हिप्पोक्रेटिक वथ खाएर बिरामीको उपचारमा ल्यापटप र मोबाइलमा इलेक्ट्रोनिक्स भर्सनमा मेडिसिन र सर्जरीका गीता, बाइबल र कुरान लिएर उपचारमा समर्पित हुन्छ। आफ्नो सबथोक बिरामीको उपचार र ठिक भएपछिको मुस्कानमा देख्छ र दङ्ग पर्छ।
चिकित्सा र उपचारको सर्वमान्य नियम हुन्छ, जुन नियममा रही विकसित देशहरुमा पनि उपचार हुने गर्दछ तर मृत्युदर शून्य छैन । सबै रोगको प्रकृति र त्यसले गरेको असर जाँच र रिपोर्टबाट मात्रै नभएर अपरेसन गर्दा टेबलमै निर्णय लिई बिरामीको ज्यान बचाउने सर्जरी गर्नुपर्ने हुन्छ र चिकित्सक त्यहीअनुसार प्रशिक्षित भएको हुन्छ, कसरी अबका दिनमा चिकित्सक त्यो जोखिम उठाउन सहज रुपमा तयार हुनसक्छ । उच्च मनोबलका साथ कसरी गर्न सक्छ जीवनको ग्यारेन्टी, चिकित्साको सर्वमान्य नियमबाट बाहिर गएर। आफ्नो घरदेखि टाढा रहेर, आफ्नै परिवार बिरामी हुँदा पनि अरु बिरामीलाई सेवा दिई ब्यस्त रहने जब उसले ज्यानमारा, बदनियत, हेलचेक्य्राइँ जस्ता शब्द मुलुमी ऐनमा देख्यो र पढ्यो, त्यो चिकित्सक आज झसङ्ग भएको छ । अझ भनुँ तर्सिएको छ । आज ति दिनहरु झलझली याद आउँछन्, साथीहरु युएसएमली पढ्दा आफू दुर्गममा सरकारी चिकित्सक बनि सेवा गर्न हिँडेको, अनि आफू गौरावान्दित भएको।
अनि अहिले सम्झन्छु, कतै साथीहरु त सही थिए कि, यो अवस्थाको पहिल्यै आभास पाए कि उनीहरुले ! अनि सोच्छु, आफैँ ऊ आज दिनभरमा सम्पूर्ण परीक्षण सहित १५ देखि २० जना बिरामी हेर्छ, अनि प्रोटोकल अनुसार उपचार गर्छ तर यहाँ सय डेढ सय बिरामी सिमित परीक्षणको भरमा अनि आफ्नै प्रोटोकलमा भ्याइनभ्याइ हेर्छ।
एउटै डाक्टर दिनमा पनि अनि चौबिसै घन्टा अनकल पनि । हप्तामा ४२ घन्टाको ड्युटीआवर उसलाई लाग्दैन, विना थप सुबिधा ऊ काम गरिरहेकने छ। तरपनि ऊ खुशी छ, दुर्गम अनि बिभिन्न जिल्ला घुमेर सेवा दिन पाएकोमा। आज अनायश सोध्न मन लाग्छ, बिरामिको उपचारमा आजसम्म कहाँ र कति बदनियत र हेलचक्र्याइँका घटना भए ? अनि जानी–जानी कसले कहाँ ज्यान लियो ? उपचार र ज्यान बचाउन खोज्दा मानवीय त्रुटी भए होलन तर ऊ आज कसरी ज्यानमारा!
चिकित्सा र चिकित्सक कोही अजम्बरी छैनन्, यो त जीवन लम्ब्याउने अनि पिडा कम गर्ने एउटा साइन्स हो । जुन परिवर्तनशील छ । यो यथार्थ हो अनि कसरी उपचारको ग्यारेन्टी गर्न सक्छ एउटा चिकित्सक ? अनि घाँटीमा स्टेथेस्कोप र सेतो कोट लगाएर सिपिआर गर्दा गर्दै ज्यान गएको एक्सिडेन्टको केसलाई छाति थिचेर मार्यो भन्ने ? ढुङ्गा हान्ने भीडलाई कसरी सम्झाउन सक्छ एउटा चिकित्सकले?
जीवन र मृत्युको दोसाँधमा छटपटाइरहेको बिरामीको झिनो बाँच्ने आशामा कसरी ऊ सिपिआर गर्न र भेन्टिलेटरमा राख्न सक्छ। यही नियम रहेमा डिलमा बसि आफू आत्मग्लानि र विवशताको दास बनेर पेशाको विकल्प खोज्न बाध्य नहोला भन्न सकिन्न। चिकित्सकलाई दिनहुँ जस्तो हातपात भएर काम गर्न गाह्रो भएर ड्युटीमा रहेको चिकित्सकलाई हातपात गरेमा बिना धरौटी जेल चलान गर्ने भन्ने प्रावधान ल्याइनुपर्छ भनेर नेपाल चिकित्सक संघले आन्दोलन गरिरहेको अवस्थामा, चिकित्सकलाई नै हतोत्साही र आतङ्कित पार्ने गरि आएका मुलुकि अपराध सँहिता ऐन २०७४ को परिच्छेद १९ संशोधन गरिनुपर्छ र जेल विथआउट वेल लागु गरिनुपर्छ।
समाजमा नराम्रा र अपराधिक प्रवृत्तिका ब्यक्तिहरु जुनसुकै पेशामा पनि हुन्छन् । त्यसलाई रोक्न सरकारले छुट्टै कानुनको ब्यबस्था गर्नुर्प । तर, चिकित्सकबाट हुने त्रुटी र मानवीय त्रुटीलाई बदनियत, हेलचक्य्राइँ र ज्यानमारा भनि अपराधीको कित्तामा नराखि कानुनी दायरामा ल्याउँदा चिकित्सकको मनोबल उच्च रहने थियो।
(वरिष्ठ अर्थोपेडिक सर्जन डा रिजाल नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य पनि हुन्)