'इन्टर्नशिपमा खुब मोज गर्नुपर्छ, खासै जिम्मेवारी हुन्न । काम अलिअलि ठग्नु पनि केही हुन्न' भन्थे साथीहरु।
हो कि जस्तै लाग्थ्यो। इन्टर्नशिपको पहिलो दि देखि नै मानसिकता अलिअलि भएपनि काम ठग्ने भन्ने थियो। दिन बित्त्दै गयो, रेसिडेन्ट दार्इदिदिहरुलाई हेर्योअ, बोल्यो, कुरा सुन्यो फ्रसटेसन मात्र भेटिन्थ्यो । बिचरा रातभर नसुती–नसुती काम गर्नुपर्ने अनि बिहान राउन्डमा गाली र प्रिजेन्टेसनमा चाट खानुपर्ने। पछिपछि रेसिडेन्ट दाइदिदीहरु प्रति धेरै नै सम्मान बढेर आयो, काम ठग्न मनले नै मानेन।
अस्पतालसँग सोझै आबद्ध भएर काम गर्न थालेदेखि आजकाल मलाई के लाग्न थालेको छ भने मान्छेको शरीर र मेडिकल साइन्स, म्याथ जस्तो २+२ =४ जस्तो नहुने रहेछ। जुनसुकै बेला जोसुकैलाई जेसुकै पनि हुन सक्ने। सि.टि गर्दा कन्ट्रयास्टले यनाफाइलयाक्सिस भएर मृत्यु हुन सक्ने, हिँडेरै अस्पताल गएकी गर्भवती महिलाको पनि प्रेगनेन्सी कम्प्लिकेसनले गर्दा मृत्यु हुन सक्ने, आइ. सि. यू मा इलेक्ट्रोलाइट तलमाथि भयो, बिरामीको ज्यान नै जान सक्ने । त्यही भएर अनेक कोशिश गर्दागर्दै पनि जान-अन्जानमा तलमाथि केही भवितव्य भइहाले अस्पताल तोडफोडका घटनाहरु घट्दा रहेछन् अनि चिकित्सकलाई 'लापरबाही'को ट्याग भिराइदो रहेछ।
हामी सबै आइडल कुरा खोज्छौं अनि धरातलीय यथार्थलाई बिर्सन्छौ । आइडल कुरा मिठो हुन्छ ,सुनिरहुँ जस्तो लाग्छ अनि यथार्थ सधैं तीतो। हाम्रै देशका कति भूभागमा सिटामोलसम्म पनि पुगेको छैन। अस्ति ओखलढुंगा क्याम्प जाँदा एकजना बुवा ६ घन्टा हिँडेर हामी भएको ठाउँमा ज्वरोको औषधि लिन आउँदै हुनुन्थ्यो। झाडापखालाले जाजरकोटमा गाउँ नै सखाप भएको उदाहरण अझै हामी बीच जीवितै छ। हाम्रो देशको कति भूभागमा न ल्याब छ, न रेडिओलोजीको उपकरण नै छन् । सरकार जनताको आधारभूत अधिकार दिन सक्दैन, जनताबाट यत्रो कर उठाएर गाउँ-गाउँसम्म जीवनजल पनि पुर्याउन सक्दैन । स्वास्थ्य क्षेत्रको बेथिति हटाउन सक्दैन अनि यो जिम्मेवारीलाई, यो लाजलाई ढाकछोप गर्न मीठो कुरा गर्छ, आइडल कुरा गर्छ। सबतिरबाट ताली बटुल्छ, वास्तविकता र आफ्नो विवशता स्वीकार्न चाहदैन अनि चिकित्सक तर्साउँछ।
हुम्लामा दक्ष एनेस्थेसिओलोजिस्ट नै नभएपनि सर्जरी गर्ने डाक्टरलाई तर्साउँछ, रुकुम, रोल्पामा सि.एस गर्ने डाक्टरलाई तर्साउँछ। सिकिस्त भएपनि बिरामी बाँच्ने झिनो आश लिएर आफ्नो हात लम्काउन खोज्ने डाक्टरलाई तर्साउँछ। आइसीयुमा सिपिआर गर्ने डाक्टरलाई तर्साउँछ, ब्यस्त आकस्मिक कक्ष ब्यवस्थापन गर्ने डाक्टरलाई तर्साउँछ, निजीलाई तर्साउँछ। सरकारीलाई तर्साउँछ। इन्टर्नलाई तर्साउँछ, कन्सल्टेन्टलाई तर्साउँछ अनि भन्छ, 'पख्लास् ! अलिकति छिसिक्क केही गर न तँलार्इ अस्पतालबाटै हत्कडी लगाएर जेलमा लगेर कोच्दिन्छु । आज सर्जरी गर्ने सर्जनको हात काँप्न थालेको छ, साधारण औषधि प्रेसक्राइब गर्दा पनि फिजिसियनको दिमाग घुम्न थालेको छ। गाउँ-गाउँबाट बिरामीहरु शहरका ठूलठूला अस्पतालमा रिफर हुन थालेका छन्। यसरी स्वास्थ्यकर्मी तर्साएर कसरी गाउँ–गाउँसम्म गुणस्तरीय स्वास्थ सेवा पुर्याउन सकिन्छ ? म सरोकार वाला वक्तित्वहरुसँग प्रश्न गर्न चाहान्छु।
पहिले–पहिले पहिलो वर्ष, दोस्रो वर्षमा हुँदा साथीहरु एमएलइ पढ्थे । कप्लानको भिडियो हेर्थे। आफूचाहिँ नेपालमै बस्नुपर्छ, केही गर्नुपर्छ भन्ने सोचिन्थ्यो । तर आजकाल आफ्नो सिप र ज्ञानले भ्याए जति गर्दा पनि दिनदिनै डाक्टरहरु कुटिएको, पिटिएको, हातपात भएको, अस्पताल तोडफोड भएको घटनामात्रै सुनिन थालेको छ। संसारको कुनै कुनामा नभएको नियम कानुनहरु बन्दै गइरहेको छ । योङ डाक्टरहरुमा बिदेश जाने सोच बढेको छ र नेपालमा भएकाहरुमा फ्रसटेसन। नेपालका डाक्टरहरु नेपालमै टिक्न गाह्रो भएको अवस्थामा सरकार भने नेपाललार्इ मेडिकल हव बनाउने कुरा गरिरहेको छ।
उसो त हामी डाक्टरी पेसासँग सम्बन्धित मान्छे आफ्नो मात्र गुनासो गर्छौं। यो भएन, त्यो भएन, यो हुनुपर्ने, त्यो हुनुपर्ने। एकपटक बिरामी र बिरामीको आफन्त भएर पनि सोचौं त। जब घरखेत बेचेर उपचार गर्न आउँदा पनि रोग निको हुँदैन, अझ झन् रोग नै पत्ता लाग्दैन, कम्प्लिकेसनहरु आउँछन्, रिस हामी लाई पनि उठ्छ । आफ्नै नजीकको नातेदार छ , एउटा खुट्टाको ठाँउमा अर्को खुट्टाको अप्रेसन हुन्छ , रिस हामीलाई पनि उठ्छ । आकस्मिक कक्षमा बिरामी राखेको ५ घन्टा भयो ,कोही हेर्न आएन , रिस हामीलाई पनि उठ्छ । हामी पनि कहिलेकाहिँ बिरामीको रिस र आक्रोशको आगोमा जानीनजानी घीउ थप्ने काम गरिरहेको हुन्छौं । त्यत्रो पिर, मर्का, दु:ख लिएर बसेका बिरामी र उसका आफन्तसँग राम्ररी कुराहरु राख्दैनौं, परामर्श गर्दैनौं । कम्युनिकेसन ग्याप हुन्छ अनि भाइरल समाचार बन्छ, 'डाक्टरको लापरबाहीले बिरामीको मृत्यु ...।'
गल्ती नगर्ने मान्छे हुँदैन । मानवीय त्रुटी जोसुकैबाट पनि हुन सक्छ । डाक्टरबाट गल्ती नै हुँदैन भन्ने कुरा पनि होइन । तर मानवीय त्रुटी र लापरबाही बिल्कुलै फरक कुरा हो। कुनैपनि केस जानीनजानी तलमाथि केही भइहाल्यो भने, 'मैले यसो गरेको भए बिरामीलाई राम्रो हुन्थ्यो' भनेर नसोच्ने डाक्टर सायदै होलान्। डाक्टरले कहिल्यै पनि बिरामीको अहित हुने काम गर्दैनन् भन्ने कुरामा म विश्वास गर्छु किनकी बिरामीको सेवा नै उसको धर्म पनि हो र कर्म पनि। यस्तो हुँदाहुँदै पनि आज डाक्टर र अस्पताल असुरक्षित भइरहेको र डाक्टरहरुलाई हतोत्साहित गर्ने कानुन बन्न लागेका घटना सुन्दा दु:ख लागेर आउँछ।
सानो छँदा अस्पतालमा डाक्टरहरु देख्दा बाबाले डाक्टर भनेका त भगवान हुन् भन्नुहुन्थ्यो। अहिले आएर थाहा भयो, डाक्टर भगवान होइन मान्छे रहेछ। असल नियतका साथ कयौं खुशी र रहरहरु त्यागेर भोक प्यास, निद्रा, दिनरात केही नभनी बिरामीको सेवामा समर्पित हुने मान्छे नै रहेछ। यदि बिरामीको भलो भए भगवान भनिँदो रहेछ, कयौं कोशिस गर्दैगर्दै तलमाथि केही भइहाले लापरबाहीको ट्याग भिराएर त्यही मान्छेलाई रामबाट रावड बनाइँदो रहेछ। उसले बचाएको हजारौं ज्यानको बेवास्ता गरिँदो रहेछ र उसको एउटा कमजोरिको खेदो खनिँदो रहेछ। उसको त्यागको अवमूल्यन गरिँदो रहेछ र उसलाई हत्यारा, अपहरणकारी र लुटेराको दाँजोमा राखेर सत्यतथ्य छानविन अगावै आजकाल आजकाल त कहीँ नभएको क्रिमिनल कोर्टमा मुद्दा चलाएर जबर्जस्ती अपराधी बनाएर जेल हाल्ने कानुन पनि बनाइँदो रहेछ।
(जोशी महाराजगन्ज मेडिकल क्याम्पसका इन्टर्न डाक्टर हुन् )