जतिबेला देखि म गाउँ–गाउँ स्वास्थ्य शिविरका लागि जान्थे, एक गाउँको एक विशेषता हुने गर्दथ्यो, कुनै गाउँमा हाडजोर्नीका रोगीहरु प्रशस्त भेटिन्थे भने कुनैमा पेटका रोगीहरु, कुनैमा ब्लड प्रेसर त कुनैमा दमका रोगीहरु । मेरो सम्झनामा यो क्रम २०५७ सालदेखि सुरु भएको थियो र हालसम्म अनवरत चालु छ । तर, समान समस्या भने कित महिलाहरुको पाठेघर झर्ने रोग र प्रजनन अंगको संक्रमण, आँखा तथा दाँतको समस्याहरु थिए । त्यसबखतको बाध्यता के थियो भने न त अस्पताल चलाउन न त स्वास्थ्य शिविर चलाउन नै दाताहरुले दान गर्दथे।
अस्पताल तामाकोशी सेवा समितिको भवनमा निःशुल्क संचालित थियो र छ भने अस्पताल चलाउने नपुग खर्च मन्थली बचत तथा ऋण सहकारी संस्थाले हरेक बर्ष २०, ३० लाखसम्म प्रदान गर्दथ्यो । यो क्र झण्डै ११ बर्ष जति चलेपछि अस्पतालको पनि आम्दानी बढ्दै गयो र स्वास्थ्य बिमा सेवाको संचालन भयो, झण्डै १३ हजार सदस्यहरुका लागि । यो वर्षदेखि राज्यको स्वास्थ्य बिमा कार्यक्रम पनि सञ्चालित छ।
गाउँमा हुने स्वास्थ्य शिविरहरु संचालनका लागि स्थायी स्रोत थिएन । गाउँका क्लब र सहकारी संस्थाहरुले औषधीको ब्यवस्था, र खाने बस्ने ब्यबस्था गरिदिए, हाम्रो स्वास्थ्य टोली निःशुल्क सेवा दिन जान्थ्यो । गाउँका समाजसेवीहरुमा बिशेष उत्साह थियो । अधिकांश ठाउँहरुमा हामी पैदल जान्थ्यौ । नभए हामी औषधीको मात्र पैसा लिएर पनि स्वास्थ्य शिविर गर्दथ्यौ । अधिकांश स्थानहरुमा म लगायत हाम्रा समाजसेवी मित्रहरु स्वयंसेवी ढंगले शिविरमा सेवा दिन्थ्यौं।
शिविरका लागि केही सहयोग हुन्छ भन्ने ठानेर बि.सं २०६० सालतिर होला, मेरो काका नरेश श्रेष्ठसँग कुरा भएपछि लायन्स क्लब भयो भने सजिलो हुन्छ भन्ने थाहा पाएँ । म संस्थापक अध्यक्ष भएर लायन्स क्लब खोल्नेतिर लाग्यौं । शम्भु घिमिरे, झनक श्रेष्ठ, तारानारायण श्रेष्ठ, लगायतका साथीहरु लायन्स ल्कव अफ काठमाण्डौ रामेछापका पहिलो अभियन्ताहरु थिए । रामेछापमा जन्म भइ पेशा ब्यवसाय गरि बसेका २० जना साथीहरु मिलेर लायन्स क्लब स्थापना गर्यांै । हरेक वर्ष सदस्यता शुल्क तिरेर नवीकरण गर्नु पर्ने र हरेक स्थानको शिविरमा आफैले चन्दा उठाएर शिविर गर्नुपर्ने बाध्यताका बीच धेरै साथीहरु आउने जाने भइरहन्थे । करिव ५,६ वर्ष उत्साहका साथ रामेछाप जिल्लामा स्वास्थ्य शिविरहरु भए । सबैभन्दा उल्लेख्य सहभागिता र सहयोग पकरबास र भिरपानीका साथीहरुले गरे । सायद ती गाउँका बासिन्दाहरुले उहाँहरुलाई अहिले पनि धन्यबाद दिँदै होलान्।
त्यसपछि पनि कहिले आरएच डी.पी नामक स्विस संस्थासंग मिलेर स्वास्थ्य शिबिर गरियो, भने कहिले स्थानिय क्लबहरुसँग । आर.एचडिपी संगको संलग्नतामा भएको शिविरमा महिलाहरुको रोगहरुको खोजी, उपचार तथा रेफर गरेर महिलाहरुको स्वास्थ्य समस्याहरु घटाउन केही प्रयास गरियो।
पाठेघर झर्ने रोगको धेरै समस्या भएकोले जिल्ला बिकास समिति, रामेछापको अगुवाइमा आरएचडिपी, तामाकाशी सेवा समिति तथा मन्थली बचत तथा ऋण सहकारी समेतको संलग्नतामा २०६० सालदेखि अनवरत पाठेघर झर्ने रोगको निशुल्क शल्यक्रिया गरियो । पछि एबिसी नेपालको संयोजकत्वमा नारी निकुञ्ज, अष्टेलियाबाट पनि सहयोग भयो । यसरी ४ सय ९४ जनाको निशुल्क शल्यक्रिया सम्पन्न १३ वर्षभित्र भएको छ । विशेषज्ञ सेवा उपलब्ध रामेछापकै धरतीमा गराउने सपनालाई कार्यरुप दिने यो हाम्रो उल्लेखनीय प्रयास थियो । उल्लेखनीय के छ भने पाठेघर झर्ने रोगका लागि पहाडी जिल्लाका सुबिधा बिहिन साना अस्पतालमा अपरेशन सेवा उपलब्ध गराउने तामाकोशी सहकारी अस्पताल नेपालको संखुवासभा जिल्लाको हेल्पिंग हेन्डस् पछिको दोस्रो अस्पताल हो र डा गणेश दंगाल यसका प्रयोक्ता हुन् । यसमा हामीलाई गर्व छ। सरकारी तवरबाट यसको सुरुवात हामीले सुरु गरेको ६ बर्ष पछि मात्र भएको हो । यसका पनि छुट्टै कथाहरु छन्, मौका मिले अर्कोपटक लेख्नेछु।
तिलगंगा आँखा अस्पतालका संस्थापक अध्यक्ष जगदीश घिमिरे र डा. सन्दुक रुइतको अगुवाइमा २०५१, ०५२ तिर नै बिद्यालयहरुमा अपरेशन थिएटरहरु बनाउँदै आँखाको मोतिया बिन्दुको शल्यक्रिया सेवाहरु पैदल हिँड्दै गाउँ–गाउँमा सञ्चालन गरिएको थियो । जो आजसम्म अनवरत छ । गाउँ–गाउँबाट मोतिया बिन्दुका रोगीहरु छनोट गर्दै झण्डै ३५ सय रोगीहरुको शल्यक्रिया भइसकेका छन् । तिलंगगा आँखा अस्पतालले २०५८ सालदेखि तामाकोशी सहकारी अस्पतालमा आँखा सेवा संञलन गर्दै आएको छ । जो आज जिल्ला सामुदायिक आँखा केन्द्रका रुपमा सञ्चालित छ।
मैले सम्झदा, विशेषज्ञ सेवा उपलब्ध गराउन बि.सं २०५३, ०५४ तिर होला, डा एन शर्माले धुलिखेल अस्पतालबाट एक टिम ब्यबस्था गर्नु भएर माइनर सर्जरीको सेवा उपलब्ध गराइएको थियो, त्यसबखत हाम्रो सानो गेष्ट हाउसको कोठा अपरेशन थिएटर बनाएर गरिएको थियो । यसबाहेक एक कोठाको क्लिनिक बाहेक हामीसंग केही थिएन । त्यसको लगत्तै डा. निता सिंह, (गणेशमान सिंहकी सुपुत्री) शिक्षण अस्पताल महाराजगञ्जबाट एक कोठाको झुप्रो क्लिनिकमा महिलाहरुको स्वास्थ्य समस्या घटाउन उपचार र परामर्शका लागि आउनु भएको थियो । त्यस्तै डा रामकण्ठ माकाजु श्रेष्ठको नेतृत्वमा धुलिखेल अस्पतालको स्वास्थ्य टोलीले बि.सं २०६२ तिर हुनुपर्छ, हाइडोसिल, हर्निया, पाइल्स जस्ता रोगीहरुका लागि शल्यक्रिया शिविर सञ्चालन भयो । झण्डै त्यसै समयमा डा सुवास घिमिरेको नेतृत्वमा दाँतको शिविर सञ्चालन भयो।
बि.सं २०६६ ताका धुलिखेल अस्पतालबाट जर्मन रोटरी भोलन्टियर डक्टर्स नामक संस्थाका संयोजक ज्याक बार पहिलोपटक मन्थली आए । केही बिशेषज्ञ जर्मनीबाट पठाइदिने निधो भयो। २०६६ को पुष र २०६७ को फाल्गुण महिनामा पहिलोपटक डा गाभी र डेन्टिष्ट मित्र डा इल्मार मायर आउनुभयो, जो अहिलेसम्म ७ पटक आइसक्नु भएको छ । उहाँले बिस २०६९ ताका जर्मन रोटरी फाउन्डेसनको रकमले दाँतको आधुनिक सेवा सञ्चालनका लागि दरखास्त हाल्नुभयो । सो अनुरुप हालको दाँतको बिभागका लागि करिव ४० लाख प्राप्त भइ निर्माण भएको थियो । त्यस्तै इमर्जेन्सी सेवामा अझ उपकरण थप्न करिब ३० लाख प्राप्त भएको थियो । मेरो रोटरी क्लब काभ्रे बनेपाको सहयोगमा सो रकम नेपालमा ल्याउन सकिएको थियो । त्यसैले दाँतमा विशेषज्ञ सेवाको सुरुवात यसरी प्रारम्भ गरियो । उहाँले आफ्नो रोटरी ल्कव, बेबराखको सहयोगबाट उहाँको डिष्ट्रिक्टको सहयोगमा तामाकोशी सहकारी अस्पतालमा एम्वुलेन्स हस्तान्तरण गर्नुभयो । २०६९ सालमा उहाँकै आतिथ्यमा उहाँकै घरमा बसेर मैले जर्मनको बिभिन्न अस्पताल, राजधानी लगायत स्कुलहरु, उद्योगहरु घुम्ने मौका पाएको थिएँ।
यसैगरी सो संस्थाबाट हालसम्म ५ पटकसम्म करिव १÷१ महिना बस्ने गरी माइनर सर्जरीका टिमहरु आएर करिव ३०० बिरामीहरुमा शल्यक्रिया सेवा उपलब्ध भइसकेको छ। बिभिन्न समयमा फिजियोथेरापी, अक्युपन्चर, र दाँतका विशेषज्ञहरुको सहायताले सेवाहरु उपलब्ध गराउन सकिएको छ।
गाउँको बिभिन्न भागमा जान आउन र काठमाडौंबाट बिशेषज्ञहरुलाई ल्याउन मित्र डा. ल्केमेन्स गुफे र डा. हेइको ह्यापेजको रोटरी ल्कवको सहायताले त्यस क्लबको डिष्टिक ग्य्रान्टबाट ३० लाख बराबरको टाटा सुमो उपलब्ध भएको छ । रोटरी ल्कव धुलिखेलको यसमा सहयोग प्राप्त छ।
गत दुई वर्षदेखि मासिक रुपमा मानसिक अस्पताल, लगनखेलको सहयोगमा मानसिक रोग विशेषज्ञको सेवा र धुलिखेल अस्पताल, दाँत बिभागबाट अर्थोओडेन्टिक्स सेवा उपलब्ध छ । यस वर्ष द लिटिल थिंगस बेलायत र हेक्सन नेपाल, बेलायतको सहयोगमा इन्डोष्कोपी, इको र टिएमटी मेशिन उपलब्ध भएको छ । यी सामानहरु करिव ५० लाख बराबरका छन् । गत ३ महीना देखि मासिक १ दिन सकेसम्म महिनाको अन्तिम शनिबार बिशेषज्ञ चिकित्सकहरुको सहायताले यी सेवाहरु सञ्चालित छन् । त्यस्तै हरेक महिनाको अन्तिम बुधबार माइनर सर्जरी सेवा सञ्चालित छ।
यसरी नेपालको ग्रामिण पहाडी जिल्लामा बिशेषज्ञ सेवाहरु पुरयाउन सकिने नमुनाका रुपमा यी कार्यक्रमहरु सञ्चालित छन् । हेर्दै जाउ यसले ग्रामिण जनताको स्वास्थ्य आवश्यकतालाइ कति पूरा गर्न सक्नेछ । तर यस कार्यहरुमा नेपालीहरुकै सहयोग पनि अपेक्षित छ । धन हुने त यहाँ पनि छन तर मन चाहिँ चाहिँदो रहेछ । अझ यसरी जोडिएको सम्पत्तिमाथि आँखा लगाउनेहरु देखेर झन् टिठ लागेर आउँछ ।
[email protected]