स्वास्थ्य क्षेत्रको प्रशासनिक तहमा निजामती कर्मचारीको हस्तक्षेपका धेरै घटना सबैलाई अवगत नै छ। जिल्ला स्वास्थ्य कार्यालय, निर्देशनालय, स्वास्थ्य सेवा विभाग होस् या स्वास्थ्य मन्त्रालयमै किन नहोस् स्वास्थ्यका कर्मचारीलाई नासु वा सो सरहको कर्मचारीले नै ‘यो पुगेन र त्यो भएन’ भन्दै काम अड्काइरहेको गुनासो सुन्न पाइन्छ।
उदाहरण नं. १ :
एक दिन उपसचिव सरहका जिल्ला स्वास्थ्य प्रमुख एक कर्मचारीसँग फोनमा ‘एउटा काम गरिदिनुपर्यो हजुर’ भन्दै कुराकानी गरिरहेको पाएँ। फोनको गफगाफपछि थाहा भयो– जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख त तालुक निकायको एक नासु तहको कर्मचारीसँग पो अनुनय विनय गरिरहेका रहेछन्।
उदाहरण नं. २ :
देश संघीयतामा रुपान्तरण भएपछि सवै स्वास्थ्य संस्थाहरु स्थानीय तहमा हस्तानान्तरण भएसँगै अहिले स्थानीय सरकारको प्रतिनिधिको रुपमा निजामती प्रशासनका कर्मचारीले सुपरभिजनलाई बाक्लो पारेका छन्।
नासु तहको प्रशासनका कर्मचारीले अधिकृत छैठौं/सातौं तहका कर्मचारी रहेको स्वास्थ्य चौकीमा मात्र होइन, प्रशासनको अधिकृत हुँ भन्दै मेडिकल अधिकृत आठौं तह प्रमुख रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पनि छापामार शैलीमा हाजिर चेकजाँच गर्ने गरेको पाइएको छ। पहिले जनस्वास्थ्य कार्यलयबाट पनि नियमित सुपरिवेक्षण हुँदा कार्यक्रमगत प्रगति र सेवा सूचांक हेरी स्थलगत पृष्ठपोषण हुने गर्दथ्यो भने अहिले केवल हाजिरी कपी हेर्न थालिएको स्वास्थ्यका कर्मचारीहरु बताउँछन्।
यी त केवल स्वास्थ्य क्षेत्रको प्रशासनिक तहमा निजामती कर्मचारीको हस्तक्षेपका देखिएका उदाहरण मात्र हुन्।
नीतिगत तहमा होस् या अन्य तहमा यस्ता प्रवृत्ति हावी भएकै पाइन्छ। स्वास्थ्यको तालिममा प्रशासनको कर्मचारी सहभागी भएको, विदेश भ्रमणमा गएको, सरुवा वा काजका लागि बिन्ती गर्नु परेको साथै स्वास्थ्य कार्यालय प्रमुखको निर्देशन मातहतका प्रशासनिक कर्मचारीले नमान्ने गरेको जस्ता अनगिन्ती बेथिति कायम छन्।
हुन त कतिपयले निजामती कर्मचारी प्रशासनलाई हाम्रो देशको स्थायी सरकारको रुपमा लिने गर्छन्। विगत २० वर्षदेखि नेपालको स्थानीय निकायको स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपक्षी लगायतका क्षेत्रमा निजामती प्रशासनका कर्मचारीहरुको हालिमुहाली नै रह्यो।
अबको आवश्यक्ता : स्वास्थ्य प्राविधिक प्रशासनिक संरचना
11 संगठनले हालै जारी गरेको प्रतिवेदनमा स्वास्थ्य प्रणाली व्यवस्थापनमा नेपाल विश्वमा एक सय पचासौं तहमा परेको छ। अब संघीय अभ्याससँगै स्वास्थ्यमा लगानी, प्रोत्साहन र सहयोगात्मक अनुगमन नगरे स्वास्थ्य क्षेत्रमा नेपालले अहिलेसम्म प्राप्त गरेको उपलब्धिहरु गुम्ने चुनौती बढ्दो छ।
अब स्वास्थ्य क्षेत्रलाई साँच्चै आमूल परिवर्तन गर्ने हो भने निजामती प्रशासनरहित स्वास्थ्य प्राविधिक संरचना तयार गर्न अपरिहार्य छ। स्वास्थ्य क्षेत्रको नेतृत्व पनि प्राविधिक स्वास्थ्यका कर्मचारीले नै गर्न आवश्यक छ। नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी संगठन भित्रको सम्पूर्ण प्रशासनिक काम उनीहरुबाट नै हुन्छ। फलस्वरुप सोही अनुसार ‘चेन अफ कमाण्ड’ पनि पूर्ण रुपमा पालना भएको हुन्छ। तर, स्वास्थ्य संरचनामा निजामती प्रशासन र स्वास्थ्य प्राविधिकहरुको सेवा, समूह, विभाग र मन्त्रालय नै फरक पर्ने हुँदा कतिपय अवस्थामा एकले अर्कोको निर्देशन पालना नगर्ने समस्या कायम छ।
स्वास्थ्यको प्रशासनिक संरचनामा अक्षमता कै कारण स्वास्थ्यकर्मीलाई समावेश गर्न नसक्ने विषय हुन सक्दैन। किनभने, अहिले कतिपय स्थानीय तहमा प्रशासनिक कामकाज स्वास्थ्यका प्राविधिक कर्मचारीबाट नै भइरहेका छन्।
स्मरण रहोस्, माओवादी युद्धकालमा होस् या २०६२/०६३ पछि स्थानीय गाउँघरमा नियमित रहेर सेवा दिने पनि केवल स्वास्थ्यकर्मी नै थिए। सिङ्गो साविक गाविस तथा नगरपालिकाको प्रशासनिक काममाज गरे स्वास्थ्य प्राविधिकहरुले। यद्यपि, स्वास्थ्य क्षेत्रलाई स्वायत्त रुपमा नहेरिनु र राजनीतिक दलको प्राथमिकतामा नपर्नु दुःखद् पक्ष हो।
-(धमला राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका केन्द्रीय सदस्य हुन्)