केही दिन अगाडि स्वास्थ्यखबर पत्रिकामा नै एउटा खबर पढें । शिर्षक थियो– 'मुलुकी ऐनमा समेटियो ल्याब: गलत रिपोर्ट दिनेलार्इ तीन वर्षदेखि जन्म कैदसम्म सजाय'।
पहिलोपल्ट मुलुकी ऐनमा प्रयोगशाला परीक्षणको विषयलाई समेटिएको समाचार पढ्दा एकातिर खुशी लाग्यो भने अर्को तिर मन खिन्न भएर गयो। केही दिनसम्म त प्रतिक्रिया के हुनु पर्ने हो त्यो पनि सोच्न सकिएन। गुणस्तरीय चिकित्साको कुरा हुँदा गुणस्तरीय प्रयोगशालाको आवश्यकता चर्चा समेत नहुने अववस्थामा मुलुकी ऐन जस्तो महत्वपूर्ण दस्तावेजमा छुट्टै एउटा दफामा सम्बोधन पाउनुले सरकारले प्रयोगशाला परीक्षणको महत्व बुझेको जस्तो महसुस भयो र खुशी हुनुपर्ने खबर लाग्यो।
तर दफामा प्रयोग भएका शब्दहरुले गर्दा भविष्यमा कुनै उपभोक्ता या अन्य कोहिले पनि सजिलै कुनै प्रयोगशालाकर्मीलाई जेल पठाइदिन सक्ने देखिन्छ। दफा २३१ मा 'बदनियत' चिताई इलाज गरेमा या औषधि दिएमा ज्यान गएमा ज्यान मारे सरह र अंगभंग भएमा अंगभंग गराए सरह सजाय हुने भनिएको छ। त्यस्तै दफा २३२ मा लापरवाही वा हेलचक्र्याइँ गरी इलाज गरे या औषधि दिए या चिरफार गरे लापरवाहीबाट ज्यान मरेमा या अंगभंग भएमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना र हेलचक्र्याइँ गरेको कारण ज्यान मरेमा या अंगभंग भएमा तीनवर्षसम्म कैद र तीस हजार रुपैयाँ जरिवाना हुने प्राबधान छ।
बदनियत भनेको लापरवाही या हेलचक्र्याइँ पक्कै होइन र यस्तो बदनियत चिताई ज्यान मार्ने या अंगभंग गर्नेलार्इ सोही बमोजिम सजाय हुनुपर्यो, जुनसुकै पेशामा आवद्ध होस्। मेडिकल लापरवाही र हेलचेक्र्याइँलाई अपराध संहितामा राखेकोले चिकित्सकहरु बिरोध गरिरहेका छन्। प्रयोगशालाकर्मीको हकमा भने "बदनियत", "लापरवाही " या "हेलचेक्र्याइँ" केही पनि हेर्नु नपर्ने रहेछ, ज्यान नगए या अंगभंग नभए पनि रिपोर्ट गलत भएकै भरमा प्रयोगशालाकर्मीलाई तीनवर्षसम्म कैद र तीस हजार रुपैयाँ जरिवाना हुने रहेछ। जबकि अन्य स्वास्थ्य कर्मीको हकमा भने हेलचक्र्याइँबाट बिरामीको ज्यान गए या अंगभंग भए मात्र तीनवर्ष कैद र तीस हजार जरिवाना तोकिएको छ।
त्यस्तै दफा २३८ को उपदफा ३ बमोजिम प्रयोगशाला परिक्षणको गलत र्रिपोर्टको भरमा कसैको इलाज गर्दा ज्यान गएमा या अंगभंग भएमा ज्यान मारे सरह या अंगभंग गरे सरह सजाय हुनेछ । चाहे त्यो रिपोर्ट दिँदा प्रयोगशालाकर्मीले बदनियत चिताएको होस् या न होस् । तर अन्य स्वास्थ्यकर्मीले भने "बदनियत" चिताएमा मात्र ज्यान मारे सरह या अंगभंग गरे सरह सजाय हुने व्यवस्था छ। दफा २३८ मा 'प्याथोलोजिकल टेस्ट गर्न इज़ाज़त प्राप्त व्यक्तिले त्यसरी परीक्षण गर्दा झुटा या गलत प्रतिवेदन या परिक्षण बात प्राप्त तथ्यांक भन्दा फरक तथ्य उल्लेख गरी प्रतिबेदन दिनु हुँदैन' भनिएको छ। यसको मनसाय सायद बदनियतले कसैले हानि नोक्सानी पुर्याउन या लोभ लालच या डर त्रासमा परी झुटो रिपोर्ट दिन नमिल्ने हो । जस्तो कि कुनै खतरनाक या सरुवा रोग भएकोलाई 'भएको छैन' भनेर दिने या नभएकोलाई 'रोग छ' भनि दिने। कति पटक विदेश उड्न ब्यबधान नआओस् या कामबाट बिदा पाउन सहज होस् या अन्य कुनै कारण देखाई सेवाग्राहीले पनि झुटा रिपोर्ट दिन प्रयोगशालालाई दबाब दिइरहेका हुन्छन्।
झुटा रिपोर्टले कुनै व्यक्ति, समाज या राष्ट्रलाई हानी नोक्सानी पुग्न सक्छ भने पक्कै त्यस्तो कसुर सजायको हकदार हो । तर जानी–जानी दिएको झुटा रिपोर्ट र मानवीय त्रुटीको कारण गएको गलत प्रतिबेदनलाई एउटै तराजुमा राखी समान कसुर ठहर्याउनु उचित देखिदैन। प्रयोगशालाकर्मी पनि मानव नै हुन्, कम्प्युटर हैनन् र उनीहरुबाट पनि अन्य स्वास्थ्यकर्मी या अन्य पेशाकर्मी जस्तै थाहा नपाइ केही त्रुटी हुन सक्छन्। प्रयोगशालामा हुने त्रुटी तीन बर्गमा पर्छन्, प्रिएनालाइटिकल, एनालाइटिकल र पोस्टएनालाइटिकल। क्लिनिकल प्रयोगशालामा दिन प्रतिदिन नयाँ प्रविधिको विकास भइरहँदा नेपालमा भने हामी ती प्रबिधि किताबमा पढेर र इन्टरनेटमा फोटो भिडियो हेरेर चित्त बुझाउनु पर्ने स्थिति छ। न्युरोसर्जरी सेवा, सिटि स्क्यान र एमआरआई सेवा शुरु गर्यो । स्वास्थ्य प्रतिस्ठान बन्न सक्षम छौं भनेर प्रचार गर्ने अस्पतालहरु समेत गुणस्तरीय प्रयोगशालाका लागि चाहिने न्युनतम वातावरण, जनशक्ति र उपकरणमा दिइरहेका छैनन्।
नमुनाको बोतलमा हातैले बिरामीको नाम र अन्य जानकारी अस्पष्ट लेखिन्छन् । हातल लख्दा हुने गल्ती न्यूनीकरण गर्न बार कोड प्रबिधि प्रभावकारी छ तर बार कोडको प्रयोग सुपरमार्केट तिर बरु देखिन्छ । अस्पतालमा देखिन्न। प्रत्येक दिन हजारौंको संख्यामा प्राप्त प्रयोगशालाको नतीजा कागजमा या कम्प्युटरमा इन्ट्री गर्दा र त्यस्तो इन्ट्रीमा साइन गर्दा एउटा प्रयोगशालाकर्मी आफ्नो पेशा अबधिमा कुनै न कुनै दिन गल्ती गर्ने निश्चितै छ। ४ लाख हुनुपर्ने प्लेटलेट एउटा शुन्य छुटेर ४०अजनर भएको र ४.२ हुनु पर्ने सीरम पोटासियम एउटा बिन्दु टाइप गर्न छुट्दा ४२ भएको प्रशस्तै उदाहरण छन्। हो यस्तो गल्तिहरु हुनु हुँदैन । गर्न पाउनुपर्छ भनेको पनि होइन तर जेलको सट्टा फाँसी नै दिन थालिए पनि यस्ता गल्तिहरु कहिले न कहिले कसै न कसैबाट भइ नै रहनेछन्।
प्रयोगशालामा यस्ता त्रुटिहरु असाधारण रिपोर्ट भन्दा पनि साधारण रिपोर्टमा भेटिन्छन् किनकि असधारण रिपोर्ट सामान्यको दाँजोमा कम संख्यामा हुन्छन् । त्यसैले ख्याल हुने संभावना बढी हुन्छ। व्यक्तिले टाइप गर्दा हुने यस्ता समस्या पनि सिधै मेशिनबाट कम्प्युटरमा रिपोर्ट पठाउन मिल्ने प्रबिधि विकास भइसके पनि अपवाद बाहेक अन्य प्रयोगशालामा त्यो प्रबिधि छैन। राम्रो कुरा के छ भने प्रयोगशालाको दृष्टिबाट बचेर निस्केका यस्ता धेरै जसो त्रुटीहरु बिरामीको गलत उपचार शुरु हुनु भन्दा अगाडि नै सच्याउन सकिने खालका हुन्छन्, कतिपटक बिरामीले नै थाहा पाउँछ त कहिले त्यो रिपोर्ट हेर्ने चिकित्सकले । आपसी सम्वादबाट अक्सर बिरामीको उपचार फरक पर्नु भन्दा पहिले नै यस्ता गल्तीहरु सुध्रिन्छन्। तर दफा २३८को उपदफा १ र २ को व्यवस्था अनुसार बिरामीको उपचारमा केही असर नै नगरेपनि यस्ता त्रुटी जुन कारणले भएपनि, मेशिन पुरानो र मर्मत सम्भार नभएको भएपनि, केमिकल गुणस्तरहीन भएपनि या प्रयोगशालामा पुरानो बिग्रेको कम्प्युटरको कुनै बटन कहिले काहिँ न थिचिएर हुन सक्ने त्रुटीका लागि पनि प्रयोगशालाकर्मी जेल जानुपर्ने हुन्छ। जबकि यसमा कतिपय जिम्मेवारी प्रशासनको हुन्छ।
अब दफा २३८ को उपधफा ३ र ४ को चर्चा गरौँ। प्रयोगशाला प्रतिबेदनको आधारमा कसैको उपचार गर्दा ज्यान गए या अंगभंग भए ज्यान मारे सरह या अंगभंग गराए सरह सजाय हुने व्यवस्था छ। प्रयोगशालाको रिपोर्ट प्रयोगशालाकर्मीको क्षमतामा मात्रै नभएर प्रयोगशालाको समग्र अवस्था, सञ्चालकको प्रतिबध्दता, यहाँसम्म कि बिजुलीको भोल्टेज माथि समेत निर्भर हुन्छ। न्युन सुविधामा सञ्चालित हाम्रा प्रयोगशालाहरु कसरी अमेरिकी प्रयोगशालाको जस्तो बराबरी गर्न सक्लान्। पहिले नै लेखिए जस्तै बदनियत चिताई कसैको ज्यान लिए या अंगभंग गराए जुन पेशाको भए पनि अपराधी नै हो । तर एउटा प्रयोगशालाकर्मीले आफ्नो तर्फबाट पर्याप्त साबधानी अपनाउँदा पनि कथाम कदाचित् कसैको सही उपचार हुन नसेकर ज्यान गए या अंगभंग भए पेशेवर हत्यारालाई जस्तै गरि मुद्दा चलाउन मिल्ने व्यवस्थाले पक्कै पनि यस पेशामा संलग्नहरुलाई अत्यन्त जोखिममा हालेको छ।
मेडिकलका अन्य विधा जस्तै प्याथोलोजीको अभ्यासमा पनि श्याम र श्वेत मात्रै नभइ धेरै ग्रे जोन हुन्छ। प्रयोगशालाको गुणस्तर सुधार गर्ने र प्रयोगशालाकर्मी तथा प्रयोगशाला सञ्चालकलाई सम्भवतः जिम्मेवार बनाउने मनशायका साथ ल्याइएको दफा २३८ शब्दको जाल र अस्पष्टताले गर्दा भविष्यमा प्रयोगशालाकर्मी फसाउन संगठित अपराधको रुप लिन सक्ने सम्भावना बढेको छ।
दफा २३८ को उपधफा १ मा 'परिक्षण बाट प्राप्त तथ्यांक भन्दा फरक तथ्य उल्लेख गर्न नहुने'को सन्दर्भमा एउटा प्रश्न राख्न मन लाग्यो। एउटी अविवाहित किशोरी पाठेघर भन्दा बाहिर रहन गएको गर्भ फुटेर मरणासन्न अवस्थामा इमर्जेन्सीमा आइन्। उनको शल्यक्रिया गरि ज्यान जोगाइयो र निकालिएको मासुको टुक्रा परीक्षणको लागि प्रयोगशालमा पठाइयो। तिनको अभिभावकले हात जोरेर ती किशोरी र आफ्नो परिवारको सामाजिक प्रतिष्ठा जोगाउन गर्भ सम्बन्धि कुरा मेडिकल रेकर्डमा उल्लेख नगर्न अनुरोध गर्छन्। स्त्री रोग बिशेषज्ञले सो कुरा मान्छन् र फाइलमा सिस्ट फुटेको भनेर लेख्छन् किनकि बिरामीको ज्यान न गए या अंगभंग नभएसम्म एउटा रोगलाई अर्कै लेखे पनि उहाँ डराउनु पर्दैन तर बिरामीलाई हानी नभए पनि गलत प्रतिबेदन दिएकाले तीनवर्ष कैद खेप्ने व्यवस्था हुँदा मासु परीक्षणबाट माइक्रोस्कोप भित्र स्पस्ट के भएको भन्ने देखिरहेको प्याथोलोजिस्टले के गर्ने ? मानवता देखाउने कि आफूलाई मात्रै बचाउने ?
डा झा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीकी प्रमुख कन्सल्टेन्ट प्याथोलोजिस्ट हुन् ।