केही महिना पहिले मात्र थाहा भयो कि, मलाई न्युरो–एन्डोक्रायन क्यान्सर लाग्यो। मैले पहिलोपटक यो रोगको बारेमा सुनिरहेको थिएँ। त्यसैले यसबारे मैले खोज गरें। र, पत्ता लगाएँ, यो क्यान्सरको बारेमा धेरै सोधखोज भएको रहेनछ। रोगको यो एक दुर्लभ शारीरिक अवस्था मात्र होइन, यसको उपचार पनि अनिश्चित नै रहेछ।
अहिलेसम्म मेरो जीवनको गति राम्ररी नै चलिरहेको थियो। मसँगै मेरा योजना, आकांक्षा, सपना, र इच्छा अगाडि बढिरहेका थिए।
यस्तै सौच्दै गर्दा कसैले मेरो ढाडमा प्याट्ट हान्यो र भन्यो, ‘तपाईंको स्टेशन आउँदैछ, कृपया ओर्लनुस्।’
मैले भेउ पाउन सकिनँ र भनें, ‘हैन, हैन, मेरो स्टेशन आउन अझै बाँकी छ।’ जवाफ आयो, ‘अगाडिको कुनै स्टेशनमा तपाईं झर्नुपर्ने हुन्छ। तपार्इंको गन्तव्य आइसकेको छ।’
अचानक मलाई महसुस हुन्छ कि म कुनै त्यस्तो तैरिने वस्तु हुँ जुन एउटा अनजान सागरको तुफानी छालमा बगिरहेको छु।
यस्तो हतास, हड्बडाहट, बेचैनी र डरको अनुभूति म आफ्नो छोरालाई भन्दछु। आजको यो अवस्थामा म यति मात्र चाहन्छु, म यस्तो हड्बडाहट र डरको स्थितिमा बाँच्न चाहन्नँ। मलाई कुनै पनि हालतमा मेरा पाउहरु चहियो, जसमा म उभिएर आफ्नो हालतमा तटस्थ बनाएर बाँच्न पाउँ। वास्तवमा म उभिन चाहन्छु।
यस्तो मेरो मनसाय थियो, मेरो योजना थियो....।
केही हप्तापछि म लण्डनको एउटा अस्पतालमा भर्ना भएँ। गहिरो दुखाइ महसुस भइरहेको थियो। दुखाइ हुन्छ भन्ने पनि थाहा थियो। तर यस्तो दुखाइ कि सहन पनि गाह्रो पर्ने दुखाइ। दुखाइ मप्रति निर्मम थियो। यसले केही गरिराखेको थिएन। न त केही सान्त्वना, न केही भरोसा । दुखाइ सायद भएभरको निर्दयीपना लिएर आएको थियो। यस्तो दुखाइ सायद भगवानभन्दा पनि विशाल लागिरहेको थियो।
म जुन अस्पतालमा भर्ना भएको छु, यसमा एउटा बालकोनी पनि छ। यहाँबाट बाहिरको दृश्य अवलोकन गर्न मिल्छ। ‘कोमा वार्ड’ ठिक मेरो माथि छ। सडकको एकापट्टि मेरो अस्पताल छ र अर्कोतर्फ लर्ड्स स्टेडियम छ। त्यहाँ विवियन रिचर्डस् मुस्कुराउँदै गरेको पोस्टर टाँसिएको छ। मेरो बालापनको सपना र भगवान उसलाई देख्नेबित्तिकै मलाई महुसुस नै भएन कि त्यो दुनियाँ सायदै मेरो थियो।
म दुःखाइले जेलिएको छु।
र, फेरि एक दिन यस्तो महसुस भयो कि म कुनै चिजको हिस्सा होइन। मभित्र केही बाँकी छैन भन्ने लाग्यो। न यो अस्पताल न स्टेडियम।
मनले भन्यो, केवल अनिश्चितता नै निश्चित हो ।
यो अनुभूतिले मलाई समर्पण र भारोसाका लागि तयार गर्यो। अब चाहे जे भए पनि नतिजा आओस्। यसले जहाँसुकै लैजाओस्। आजभन्दा ८ महिनापछि या चार महिनापछि या फेरि २ वर्षपछि। चिन्ता पनि जाग्दै बिलाउँदै जान थाल्यो। फेरि मेरो दिमागबाट जिउने मर्नेको हिसाब निक्लियो।
पहिलोचोटी मलाई शब्द ‘स्वतन्त्र’ को बारेमा बोध भयो। सही अर्थमा एउटा उपलब्धिको बोध।
यस सृष्टिको खेलामा मेरो विश्वास नै पूर्ण सत्य बन्यो। त्यसपछि लाग्यो, यो विश्वास मेरो एक–एक कोषिकाभित्र पसिसकेको छ। समयले नै बताउनेछ कि त्यो बस्नेछ या छैन, तर अहिले भने म यही महसुस गरिरहेको छु।
यो यात्रामा सबै मानिस मलाई सञ्चो होस् भनेर प्रार्थना गरिरहेका छन्। म जसलाई चिन्दछु या जसलाई चिन्दिनँ उनीहरु सबैले अलग–अलग ठाउँ र समयरेखाबाट मेरो लागि प्रार्थना गरिरहेका छन्। मलाई लाग्छ उनीहरु सबैको प्रार्थना एकमुष्ट भएको छ, एउटा ठूलो शक्तिको रुपमा मभित्र प्रवेश गरेको छ। त्यो तीव्र रुपमा जीवधारा बनेर मेरो स्पाइनको बाटोहुँदै शीरभित्र छिरी कपालबाट अंकुरित भएको छ।
यो अंकुरित भएर कहिले पत्र जस्तो, कहिले पात जस्तो त कहिले हाँगा बन्छ। मानिसहरुको प्रार्थनाबाट उम्रिएको हरेक रौंका हाँगा, हरेक पात, हरेक फूलले मलाई एउटा नयाँ दुनियाँ देखाउँछन् ।
नोटः
लन्डनको अस्पतालमा आफ्नो दुर्लभ रोगको उपचार गराइरहेका बलिउड अभिनेता इरफान खानले भावुक पत्र लेख्दै केही तस्बिर सार्वजनिक गरे, जसलाई उनका मित्र तथा न्युजलन्ड्रीका स्तम्भकार अजय ब्रहमात्जले प्रकाशन गरे।
इरफानले यो पत्रसहित केही तस्बिर पनि सेयर गरेका छन्ः