अस्पतालमा विभिन्न उपकरण प्रयोग गरिएका हुन्छन्। ती उपकरणले मानिसलाई नवजीवन दिन जति महत्वपूर्ण भूमिका खेल्छन्, तिनको उचित व्यवस्थापन गर्न नसक्दा त्यति नै घातक पनि हुन्छन्।
पछिल्लो समय विश्वमा प्रविधिको विकासले अन्य क्षेत्रमा जस्तै चिकित्सा क्षेत्रमा पनि फड्को मारेको छ। यससँगै नेपालमा पनि अत्याधुनिक उपचार पद्धति भित्रिएका छन्।
प्रविधिको विकाससँगै नेपालमा गएको २० वर्षदेखि उपचार पद्धतिमा आयोनाइजिङ रेडिएसन(रेडियोधर्मी विकिरण) को प्रयोग बढ्दै गइरहेको छ। आयोनाइजिंग रेडिएसन मानव शरीरलाई सजिलै छेड्न सक्छ। यसको बढी प्रयोग मानव शरीरका लागि खतरनाक हुन्छ। यसको व्यवस्थापन र निगारानी राज्यस्तरबाटै हुनु आवश्यक छ।
अस्पतालमा इमेजिङ तथा थेरापीको लागि प्रयोग हुने सबै प्रकारका एक्स–रे, कम्प्युटेडटोमोग्राफी, मेमोग्राफी, डेन्टल एक्स–रे, रेडियोथेरापी मेसिन (लिनेक, ब्राकिथेरापी), रेडियो फार्मासेउटिकल (न्युकिलिय मेडिसिनस्पेट, स्पेकट) मेसिनले रेडीयोधर्मी विकिरण उत्सर्जन गर्दछन्।
रेडियोधर्मी विकिरणको प्रयोग गर्नुभन्दा पहिला यसको आनुकुलन (जस्टिफाई), अप्टिमाइजेसन तथा डोज लिमिटअलारा प्रिन्सिपलअनुसार गर्नुपर्दछ। काठमाडौंका अस्पतालमा के–कस्ता रेडियोधर्मी विकिरण उत्सर्जन गर्ने मेसिन प्रयोग गरिएका छन्। ती कस्तो अवस्थामा छन्। तिनको सुरक्षित प्रयोगको सम्बन्धमा नेपाल सरकार, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तत्वावधान तथा अन्तर्राष्ट्रिय ऊर्जा संस्थाको आर्थिक सहयोगमा अस्पतालहरुको निरीक्षण गरिएको थियो।
सो निरीक्षण (अप्रिलदेखि जुलाई सन् २०१७) का क्रममा काठमाडौंका १ सय ८२ वटा स्वास्थ्य संस्था (मेडिकल कलेज, अस्पताल, दन्त अस्पताल, पोलिक्लिनिक) मा निरीक्षण गरिएको थियो।
उक्त निरीक्षणमा आवश्यक सुरक्षा अपनाउन नसकेको अवस्था देखिएको थियो। यसले हामी चुनौतीपूर्ण अवस्थामा छौं भन्ने देखाउँछ। रेडियोधर्मी विकिरण उत्सर्जन गर्ने मेसिन प्रयोग गर्दा विशेष प्रकारको कोठा अनिवार्य हुन्छ। यस प्रकारको संरचनाको लागि अस्पताल प्रशासन जिम्मेवार हुनुपर्छ। किनभने रेडियोधर्मी विकिरण मानव स्वास्थ्यका लागि खतरनाक हुन्छ।
छोटो समयमा नै यसको असरले तन्तु प्रतिक्रिया र छाला जल्ने, मोतियाविन्दु, रांै खुइलिने, बाँझोपन हुने, आँखाको नानी गुम्ने, र मृत्यु समेत हुन सक्दछ भने लामो असर (क्यान्सर, वंशाणुगत) पर्दछ। मेसिन राखिएको कोठामा दुई प्रकारका रेडियोधर्मी विकिरण हुन्छन्। प्राइमरी र एस्क्याटर। यी रेडियोधर्मी विकिरणको असर आम मानिस, बिरामी र कामदार (रेडियोग्राफर, टेक्नेसिएन, नर्स, रेडियोलोजिस्ट र हेल्पर) मा कम गर्न मेसिन भूइँतलामा राखी प्रयोग गर्नुपर्छ। माथिल्लो तल्लामा प्रयोग गर्ने हो भने सोहीअनुसारको परीक्षण गर्नु आवश्यक हुन्छ। कोठा छान्दा कोठाको भित्ता, सिलिङ, झ्याल, ढोकामा उचित परीक्षण हुनुपर्दछ. त्यस्तै ढोकाको जोइन्ट, झ्यालको जोइन्टमा विशेष ध्यान दिनुपर्दछ। यदि जोइन्ट ठूलो छ भने थप परीक्षण गर्नुपर्छ।
पावर सप्लाई गर्दा बन्ने प्वालको उपयुक्त परीक्षण हुनुपर्दछ। जुन दिशातिर एक्स–रे बिम पारिन्छ त्यहाँ बढी परीक्षण गर्नु पर्दछ। परीक्षणको लागि उपयुक्त मोटाइ (साधारणतया लिड ०.५९ ५ एमएम) भएका वस्तुहरु लिड, इँटा, जिप्सम, कंक्रिट ब्लक, लिडग्लास प्रयोग गर्न सकिन्छ।
सम्भावित रेडियोधर्मी विकिरणको असरबाट बँच्न र बचाउन उक्त कोठामा सबैको नजर पर्नेगरी रेडिएसन संकेत र बत्ती प्रयोग गर्नुपर्दछ। अर्को महत्वपूर्ण कुरा, सो कोठालाई अस्पतालको अरु भागसँग छुट्याउनु हो।
रेडियोथेरापी तथा न्युक्लियर मेडिसिनको लागि अझ विशेष प्रकारको कोठा आवश्यक पर्दछ। कन्ट्रोल कन्सोललाई उपयुुक्त तवरबाट बिरामीको गतिविधि अवलोकन गर्न मिल्ने हुनुपर्छ।
रेडियोधर्मी विकिरण उत्सर्जन गर्ने मेसिनमा काम गर्ने रेडियोग्राफर, प्राविधिक, रेडियोलोजिस्टहरु रेडिएसनसँग एक्पोज हुन्छन्।
उनीहरुले के–कति मात्रामा रेडिएसन लिइरहेका छन् भनेर बारम्बार निरीक्षण गरिनुपर्दछ। ताकि उनीहरुले प्राप्त गरेको डोज लेवल भन्दामाथि नजाओस्। उक्त कुरा मोनिटोरिङ गर्न उनीहरुलाई रेडिएसन मोनिटोरिङ डिभाइस उपलब्ध गराउनुपर्दछ।
त्यस्ता उपकरणहरु माटिएलडी, ओसएल, फिल्म ब्याच, इलेक्ट्रोनिक डोजिमिटर आदि पर्दछन्। मेसिनको क्षमता तथा प्रकारअनुसार यी उपकरणलाई छातीमा एप्रोनको भित्र–बाहिर, कलर तथा टोपीमा लगाउन सकिन्छ। औंलाको लागि रिंगडोजिमिटरको प्रयोग गर्न सकिछ। यी डोजिमिटरहरु हरेक १ देखि ३ महिना भित्रमा रिडिङ चेक गर्नुपर्दछ। यदि रिडिङ डोज भन्दा बढी भएमा अस्पताल प्रशासनलाई जानकारी गराई आवश्यक कदम चल्नुपर्दछ।
कामदारलाई सम्भावित विकिरणबाट बचाउन लिड एप्रोन, थारोइडप्रोटेक्टर, लिडचस्मा प्रयोग गर्नुपर्दछ। यदि एक्सरे मेसिन १०० केबीको हो भने ०.२५ एमएमलिडएप्रोन तर १०० केबी भन्दा बढी भए ०.३५ एमएमलिडएप्रोन प्रयोग गर्नुपर्दछ। सँगसँगै वातावरणको पनि निरीक्षण गर्नु पर्दछ।
अन्तर्राष्ट्रिय अभ्यास
कुनै पनि रेडियोधर्मी विकिरण उत्सर्जन गर्ने उपकरण खरिद गरिसकेपछि त्यसको कोमिसनिङ गरिन्छ अर्थात् कम्पनीले दाबी गरेअनुसार उक्त मेसिनले विकिरण दिन्छ वा बढी–घटी के–कति दिन्छ नापिन्छ।
त्यसबाट प्राप्त नतिजालाई भविष्यमा पनि क्वालिटी कन्ट्रोलमा नाप लिंदा आधार मानिन्छ। भनेको भन्दा तलमाथि भएमा उपकरणको आवश्यक मर्मत गरिन्छ। अन्तर्राष्ट्रिय उर्जा संस्थाको आधारभूत सुरक्षा गुणस्तर तथा आइसिआरपीको सिफारिसअनुसार १८ वर्ष भन्दा माथिका कामदारको लागि अकुपेसनल एक्सपोजर डोजलिमिट पनि तोकिएको छ–छैन जाँच गरिन्छ।
डोजिमिटरले नापेको डोज तोकिएको लिमिटभन्दा माथि हुनुहुँदैन। प्रत्येक स्वास्थ्य संस्था जहाँ रेडियोधर्मी विकिरण उत्सर्जन गर्ने उपकरण प्रयोग गरिएका छन्, तिनले आइएइए आधारभूत सुरक्षा गुणस्तर, अमेरिकन एसोसिएसन एफ फिजिसिस्ट इन मेडिसिन र इन्टरनेसनल कमिसन अन रेडिएसन प्रोटेक्सनको सिफारिस अनुशरण गर्नुपर्ने हुन्छ।
नेपालले आइएइएको सदस्यता सन् २००८ मा लिएको हो। आइएइएका अनुसार हरेक सदस्य राष्ट्रले रेडिएसन रेगुलेसनको लागि एक स्वतन्त्र रेडिएसन रेगुलेसन बडी (प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष निगरानी) मा हुनुपर्छ। तर, हालसम्म नेपालमा न त रेडिएसन रेगुलेसन बडी छ न त सोसम्बन्धी कानुन नै बनेको छ।
यसले गर्दा रेडियोधर्मी विकिरणसँग काम गर्ने सबै प्रभावित छन्। नेपालमा रेडिएसनले के–कस्तो असर परिराखेको छ भन्ने कुनै अध्ययन÷अनुसन्धान पनि हुन सकेको छैन। रेडिएसन रेगुलेसन बडी भन्नाले रेडिएसन विज्ञहरु संलग्न आयोग हो।
केही पहिले मुस्ताङ जिल्लामा प्राकृतिक इयुरानियम रहेको भन्ने समाचार आएको थियो। त्यसबाट उत्सर्जन हुने रेडिएसनले के–कस्तो असर परेको छ र अस्पतालहरुमा उत्सर्जन हुने रेडिएसनको निगरानी तथा हरेक प्रकारका मेडिकल उपकरणको सही प्रयोग भए/नभएको, निरन्तर उपकरणको क्वालिटी कन्ट्रोल गरे÷नगरेको, उपकरण राख्दा उल्लेखित अन्तर्राष्ट्रिय अभ्यास पालना गरे/नगरेको र रेडिएसनसँग काम गर्नेहरुलाई निरन्तर तालिम तथा सनिगरानीको लागि र आमजनताको स्वास्थ्य सुरक्षाका लागि नेपालमा रेडिएसन रेगुलेशन बडी आवश्यक छ।
यदि समयमै रेडिएसन रेगुलेसन बडी गठन नगरेमा आइएइएबाट हुने सहयोग रोकिन पनि सक्छ। तसर्थ, रेडिएसनको निगरानी र यससम्बन्धी हरेक समस्या समाधानको निमित्त नेपाल सरकारले रेडिएसन रेगुलेशन बडी गठन गर्न ढिलाइ गर्नुहुँदैन।
(अधिकारी आइसिटिपिर युनिभर्सिटी अफ तेरेस्ते इटालीमा मेडिकल फिजिक्समा अध्ययनरत छन्।)