‘मेडिकल सिटी’ शब्द आफंैमा विशिष्ट शब्द हो। मेडिकल सिटीको अवधारणा कस्तो हुनुपर्छ भन्नेबारे बहस र छलफल भइरहेको छ। तर, आधिकारिक रुपमा सरकारका तर्फबाट भने काम अगाडि बढेको छैन। सरकारले नै भरतपुर मेडिकल सिटी हो भनेर प्रमाणित रुपमा पास गर्नुपर्छ। मन्त्रिपरिषद्बाट नै नीतिगत रुपमा भरतपुरलाई मेडिकल सिटी घोषणा गर्न आवश्यक छ।
मन्त्रिपरिषद्ले भरतपुर महानगरपालिकालाई म्यान्डेट दिएर भरतपुर मेडिकल सिटी हो, नेपालमा जुनसुकै स्वास्थ्यसँग सम्बन्धित कुरा गर्दा स्वास्थ्य मन्त्रालयले भरपुरलाई पनि सोध्छ भनेर अधिकारप्राप्त बोर्ड बनाउनुपर्छ। हामीले पनि सरकारसँग ‘भरतपुर मेडिकल सिटी शक्तिशाली बोर्ड’ भनेर माग गरेका छौं।
धेरै पटक चिया गफमा भरतपुरलाई मेडिकल सिटी बनाउने भनियो तर सैद्धान्तिक रुपमा भएको छैन। त्यसकारण अधिकारसम्पन्न बोर्ड भयो भने काम अगाडि बढाउन सहज हुनेछ। यता हामीले मेडिकल सिटीको कुराकानी मात्र गरिरहने अनि सरकारले अरु ठाउँमा बिनायोजना अस्पताल तथा स्वास्थ्य संस्थाको अनुमति दिंदै जाने हो भने व्यवस्थित रुपमा मेडिकल सिटीको काम अगाडि बढ्दैन। राज्यले अधिकारप्राप्त मेडिकल सिटी बोर्डलाई सोधेर मात्र देशभर स्वास्थ्य योजना बनाउनेबित्तिकै कुन–कुन कुरा चितवनमा फिट हुन्छ त्यो चितवनमा ‘गर’ भन्छ।
चितवनमा मेडिकल सिटी हुनु भनेको नजिकका जिल्ला लमजुङ, तनहुँ, नवलपरासी, मकवानपुरलाई पनि सहज वातावरण सिर्जना गर्नु हो। विकासको ढोका खोल्नु हो। मेडिकल सिटी बनाउने कुरामा अस्पताल तथा स्वास्थ्यसँग सम्बन्धित कुरा मात्र होइन, अरु कुराको पनि विकास गर्दै जानुपर्ने हुन्छ। जस्तै कोही मान्छे चितवनमा उपचार गर्न आयो तर यहाँ तीन दिन पनि टिक्न सकेन भने मेडिकल सिटी बनाउन सकिदैन।
संसारभरि मेडिकल सिटीको एउटै परिभाषा भेटिंदैन। त्यही भएर भरतपुरलाई नै भनेर एउटा मेडिकल सिटीको विशिष्ट खाका बनाउनुपर्छ। हामीले हाम्रो परिवेश, भूगोलअनुसार परिभाषित गरेर काम अगाडि बढाउन सक्छौं।
मेडिकल सिटी बनाउन आधारभूत संरचना, म्यानपावर र सद्भावनाको त्रिकोण हुन जरुरी छ। त्यसैले मेडिकल क्षेत्र, जनशक्ति र मेडिकल उपकरणहरुलार्ई कसरी सुधार्ने सुरुमै सोच्न जरुरी छ।
चितवनमा मेडिकल सिटी किन हुनु पर्छ त ? यसका आधारहरु के–के हुन् ? भन्ने जिज्ञासा आउन सक्छ। यसका आधारहरु छन्। मुख्यतः यहाँ दुई वटा ठूला सरकारी अस्पताल छन्। दुई वटा सफल मेडिकल कलेज छन्। अनि निजीस्तरमा खोलिएका अस्पताल पनि छन्। चितवनमा नै प्रतिष्ठान बनाउन मिल्ने केन्द्रको सबैभन्दा ठूलो क्यान्सर अस्पताल छ। यहाँ एउटै ठाउँ जहाँ २५ वटा ५० बेडका ठूला अस्पताल अस्पताल छन्। एउटै ठाउँ जहाँ १०० वटा भन्दा बढी डाइगोनिस्टिक क्लिनिक र पोलिक्लिनिक छन्। एउटै ठाउँ जहाँ विभिन्न प्राविधिक विषयमा पढाउने दुई दर्जन संस्था छन्। यति सब छ, इच्छा शक्ति भयो भने धेरै काम गर्न सकिन्छ। यसको अवधारणा अगाडि बढाउने राजनीतिक नेतृत्वका यहींका सांसद। पूर्वाधार त पहिलेदेखि नै तयार नै छ। अहिले चितवनमा ६ हजार जति बेड छन्।
चितवन त रोगको पनि राजधानी हो। कुनै पनि नयाँ–नयाँ बिरामी जस्तै भाइरल, स्वाइनफ्लु, डेगुं, स्क्रब टाइफस आदि सबभन्दा पहिला चितवनमै देखिएका हुन्। त्यसकारण बढ्दै गएका रोगहरुको अनुसन्धान गरेर पत्ता लगाउन पनि यहाँ मेडिकल सिटीको आवश्यकता छ।
विभिन्न रोगको बारेमा अनुसन्धान र व्यवस्थापन गर्नका लागि ल्याबहरु पनि छन्। त्यस्ता रोग पत्ता लागेको खण्डमा क्रिटिकल बिरामी राख्नको लागि हरेक अस्पतालमा फरक–फरक विषयका आइसियू पनि छन्। मेडिकललाई मेडिकल आइसियू, सर्जिकललाई सर्जिकल आइसियू, बच्चालाई बच्चाका आइसियू गरी सबै खाले आइसियूका सुविधा यहाँ उपलब्ध छन्। आइसियू बेडहरु करिब–करिब २ सयको हाराहारीमा छन्। चितवनमा नौ वटा सिटीस्क्यान मेसिन छन् भने एमआरआई दुई वटा छन्। भरतपुर अस्पतालले पनि एमआरआइको होमवर्क गरिरहेको छ। भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा विकास गर्दै सुपर स्पेसियालिटी सेवा दिने संस्थाको रुपमा अगाडि बढाउन लागिएको छ।
हामीसँग भौतिक पूर्वाधारका लागि विकास गर्न खाली जग्गाहरु छन्। महानगरले इच्छाशक्ति देखायो भने आधारभूत संरचनालाई अगाडि बढाएर लान सकिन्छ। मेडिकल क्षेत्रका म्यानपावरमा सबैभन्दा तल्लो म्यानपावरदेखि लिएर उच्च ओहोदाका सबैखाले म्यानपावरको पढाइ चितवनमा हुन्छ। यहाँ ६ देखि ७ सयको हाराहारीमा चिकित्सकहरु कार्यरत छन्।
राम्रा चिकित्सकलाई चितवनमा किन राख्न सकिन्छ भने राम्रो सडक भएको खण्डमा सडकबाट ३ घण्टा र हवाइजहाजबाट १५ मिनेटको दूरीमा काठमाडौं पुग्न सकिन्छ।
यहाँ २४ जिल्लाबाट ४० लाख जनताले सेवा लिन सक्छन्। उनीहरुलाई यहाँ उपचार गराउन आउँदा बसाइमा झन्झट पनि नहुने तथा छिटो हुने भएकाले पनि भरतपुर उपयुक्त स्थान हो।
भरतपुरहुँदै दैनिक ५४ वटा एम्बुलेन्स काठमाडौं जान्छन्। हामीले यहाँ केही मिहिनेत गरेर सेवा–सुविधा थप्ने हो भने यी सबै रोक्न सकिन्छ। भएका चिजहरुलाई पनि हामीले राम्ररी प्रयोग गर्न सकेका छैनौं। हामीसँग क्षमता नभएको होइन, सावित गरेर देखाउन मात्र नसकेका हौं।
काठमाडौंका ठूला अस्पतालले चितवनमा उपचार नभएकाले यहाँ आउनु भनेर 23 गर्ने र काठमाडौंमा धेरै कुरा छन्, चितवनमा केही छैन भनेर प्रमाणित गर्न खोज्नुले पनि बिरामीमा विश्वास घटेको छ। काठमाडौंमा बस्ने डाक्टरहरुले चितवनलाई सुविधासम्पन्न बनाउनेतिर पो ध्यान दिनुपर्छ।
हाम्रा तर्फबाट सक्दो प्रयास भइरहेको छ। त्यसका लागि हाम्रो गृहकार्य पनि सुरु भैसकेको छ। गृहकार्य भनेको वातावरण, खानेपानी, फोहोर बिर्सजनसम्बन्धी कुरामा पब्लिक प्राइभेट पार्टनरसीपको लागि एउटा मेगापिक्चर ल्याउनुपर्छ भनेका छौं। त्यो भयो भने मेडिकल सिटी बनाउन बल पुग्छ। हामीसँग धेरै अस्पतालबाट धेरै फोहोर उत्पादन भइराखेको छ।
यो पनि पढौं
स्थलगत रिपोर्ट :