बिरामीको रिपोर्ट प्रयोगशाला पिच्छे फरक आउने गरेको छ। बिरामी प्रयोगशालाको रिपोर्ट सही नभएर बिरामी निको नहुने देखिएको छ। यसले गर्दा नेपालको स्वास्थ्य सेवालार्इ सेवाग्राहीले बिश्वास नगर्ने, नेपालको चिकित्सा पद्धति र चिकित्सक माथि बिस्वास नगर्ने, सामान्य स्वास्थ्य सेवा लिन पनि विदेश जानुपर्ने बाध्यता बढ्दै गएको छ।
यसको प्रमुख कारण स्वास्थ्य सेवामा विभिन्न क्षेत्रको सहकार्य नहुनु हो। खासगरी रोगको पहिचान, उपचार र उपचारको निरन्तरताको लागि डाइग्नोस्टिक सेवा जस्तै प्याथोलोजिकल र रेडियोलोजिकल सेवाको गुणस्तर महत्वपूर्ण मानिन्छ। डाइग्नोष्टिक सेवा प्रदान गर्ने जनशक्ति र चिकित्सक बीचको समन्वयमा कमी हुनु हो। यी दुर्इ बीचको सम्बन्ध सहकार्यमा आधारित नहुनु हो। यी दुर्इको सम्बन्ध लेनदेनमा आधारित हुनु गुणस्तरलार्इ तिरस्कार गर्नु हो।
खासगरी प्रयोगलाको सेवाको गुणस्तरमा ध्यान नदिँदा सामान्य रोगको पहिचान हुन नसक्ने, रोग पहिचान नहुँदा चाहिने भन्दा बढी औषधी प्रयोग हुने, औषधि रेसिस्टेन्ट हुने, धेरै औषधिको कारणले स्वास्थ्यमा नराम्रो असर पर्ने, औषधि-औषधि बिचको अन्तरक्रियाले नराम्रो असर पार्नु, बिरामी निको नहुनु जस्ता समस्या निम्तिएर सम्पूर्ण स्वास्थ्य प्रति जनताको बितृष्णा पैदा हुनु हो ।
चिकित्सा र प्रयोगशाला सेवाबीच तहगत समन्वयको कमी
चिकित्सा सेवा र प्याथोलोजी प्रयोगशाला सेवा बीच तहगत समन्वय रहेको पाइँदैन। यसले गर्दा चिकित्सा सेवा र प्याथोलोजी सेवा प्रति जनताको विश्वसनियतमा प्रश्न उठ्ने गरेको छ। असिष्टेन्ट हेल्थ वर्कर (अहेब) चिकित्सा सेवाको प्राथमिक तह हो र ल्याब असिष्टेन्ट प्रयोगशाला सेवाको उही तहगत जनशक्ति हो। हेल्थ असिष्टेन्ट (एचए) र ल्याब टेक्निसियन दोस्रो तहका जनशक्ति हुन्।
मेडिकल अफिसर र प्याथोलोजी अफिसर (मेडिकल टेक्नोलोजिष्ट) जनरलिष्ट तहका जनशक्ति हुन्। विज्ञ तहका कन्सल्टेन्ट चिकित्सकहरुका लागि विज्ञ तहका प्याथोलोजी प्रयोगशालाका विज्ञ कन्सल्टेन्टहरु, जस्तै बायोकेमिष्ट (बायोकेमिकल प्याथोलोजिष्ट), माइक्रोबायोलोजिष्ट (माइक्रोबियल प्याथोलोजिष्ट), हिस्टोसाइटोप्याथोलोजिष्ट र हेमाटोलोजिष्ट (हेमाटो प्याथोलोजिष्ट) तहका जनशक्ति विज्ञ तहका जनशक्तिहरु हुन्।
त्यस्तै सुपर स्पेसियालिष्ट विज्ञ जस्तै डी. एम. तथा एम. सी. एच. तहका कन्सल्टेन्टका लागि प्याथोलोजी प्रयोगशालाका सुपर स्पेसिएलिष्ट विज्ञ कन्सल्टेन्ट जस्तै भाइरोलोजिष्ट, पेडियट्रीक बायोकेमिस्ट्र जस्ता जनशक्ति चाहिन्छ। तर माथि उल्लेखित जनशक्तिहरुको बीचमा सहकार्य नेपालमा देखिँदैन। यसकारण चिकित्सीय सेवामा गुणस्तर कायम गर्न सकिएको छैन | उपकरणहरु उच्च टेक्नोलोजीको भए पनि रिपोर्टको गुणस्तर कायम राख्नको लागि त्यहि स्तरको उपकरणको टेक्नोलोजी बुझ्न सक्ने, उक्त टेक्नोलोजीका राम्रो नराम्रो पक्ष बुझ्न सक्ने, रिपोर्ट क्रस चेक गर्न सक्ने, प्री, पोस्ट र जाँच गर्ने बेलामा गरिने गुणस्तर, इन्टर पारामिटर क्रस जाँच गर्न सक्ने जशक्ति र उक्त तहका कन्सल्टेन्ट चिकित्सकसँग समन्वय गर्न सक्ने कन्सल्टेन्ट प्याथोलोजिका जनशक्ति चाहिन्छ।
मेडिकल /स्वास्थ्य व्यवसायी काउन्सिलको भूमिका
प्याथोलोजी प्रयोगशालामा चाहिने मात्रामा र विधागत विज्ञ जनशक्तिहरुको ब्यबस्था भएको अबस्था छैन, जसले गर्दा तहगत आधारमा आफुले गर्न सक्ने कार्य र नेपाल मेडिकल / हेल्थ प्रोफेसनल काउन्सिलले दिएको अधिकार अनुसार गर्ने कार्य भन्दा बाहिर गएर प्रयोगशाला जाँच गर्ने अबस्था विद्यमान छ। साथै आफूले हासिल गरेको विज्ञता बाहेक अन्य बिग्यताका क्षेत्रमा कार्य गर्ने जस्तै प्याथोलोजिष्ट (हिस्टोप्याथोलोजिष्ट) ले बायोकेमेष्ट्री वा माइक्रोबायोलोजीको कार्य गर्ने वा उक्त क्षत्रमा विज्ञता नभएको प्याथोलोजी ओफिसर वा प्याथोलोजी सहायकबाट गराउने र हिस्टोप्याथोलोजिष्टले सहि गर्ने अबस्थाले जाँचको गुणस्तरमा कमी हुने वा गलत रिपोर्ट हुने गर्दछ।
सामान्यतया बायोकेमिष्ट वा माइक्रोबायोलोजिष्टले साइटोलोजी तथा हिस्टोप्याथोलोजीको जाँच गरेको पाइँदैन। मेडिकल इथिक्स मान्ने हिस्टोप्याथोलोजिष्टले बायोकेमेष्ट्री वा माइक्रोबायोलोजीको कार्य अहिले पनि गर्दैन। सबै हिस्टोप्याथोलोजिष्टले पहिले पहिले बायोकेमेष्ट्री वा माइक्रोबायोलोजीको कार्य गर्दैनथेँ तर हाल आएर केही हिस्टोप्याथोलोजिष्टले बायोकेमेष्ट्री वा माइक्रोबायोलोजीको कार्य गर्ने वा नगरे पनि रिपोर्टमा सहि गर्ने गरेको पाईन्छ | यस्तो अभ्यास हुनुमा मेडिकल काउन्सिल दोषी देखिन्छ र भारतको राष्ट्रिय एक्रिडीटेसन बोर्ड फोर लेबोरेटोरी संथाको प्राबधानलार्इ नेपालमा लागु गर्नु पनि हो।
प्याथोलोजी प्रयोगशालाको लागि अन्तर्राष्ट्रिय गुणस्तरको मापदण्ड (आइ. एस. ओ. १५१८९) को मापदण्ड संसारभरी प्रयोगमा ल्याइएको छ। नेपाल मेडिकल काउन्सिल अन्तर्गतका बायोकेमिष्ट र माइक्रोबायोलोजिष्टले मेडिकल काउन्सिलको मौनताले यस्तो अनिथिकल अभ्यास नेपालमा फस्टाएको स्वीकार्छन्।
प्रयोगशालामा काम गर्ने जनशक्तिको नाम, डिग्री, काउन्सिल दर्ता केहि प्रयोगशालाको रिपोर्टमा हुँदैन तर उक्त बिषयमा अध्ययन नगरेका, जाँचमा कुनै किसिमको सहभागिता नभएको विज्ञको नाम, काउन्सिल दर्ता भएको जनशक्तिको सही भएको रिपोर्ट भएको रिपोर्ट दिने चलनलार्इ कडाइका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मेडिकल र स्वास्थ्य ब्यबसायी काउन्सिलले अनुगमन गर्नुपर्छ र इथिकल अभ्यासलाई कायम गर्नु पर्दछ।
- (मिश्र नारायणी उपक्षेत्रिय अस्पतालको प्याथोलोजी प्रमुख हुन्।)