जनस्वास्थ्यको पाटोबाट हेर्दा, मानिसले खाने एन्टिबायोटिक कसरी खाइरहेका छन्? त्यसमा कसको पहुँच छ? राज्यले एन्टिबायोटिक प्रेस्किप्सनमा ध्यान दिएको छ कि छैन? हामी आफैँ पनि सुसूचित छौँ कि छैनौँ? भन्ने पक्षबाट हेरिनुपर्छ।
यसैगरी, जनावरमा मनोमानी ढंगले एन्टिबायोटिकको प्रयोग भइरहेको छ। त्यो एन्टिबायोटिक लिएको जनावरको उत्पादन हामीले खाँदा (मासुजन्य पदार्थ) एन्टिबायोटिक रेसिस्टेन्स ब्याक्टेरिया हामीले लिइरहेका छौँ कि छैनौँ ? मानव शरीरमा सरेको छ कि छैन भनेर हेर्नुपर्छ।
एन्टिबायोटिक रेसिस्टेन्स नेपालमा मात्रै होइन विश्वव्यापी समस्या बन्दै गइरहेको छ। केही समययता विकसित र विकासोन्मुख मुलुकमा एन्टिबायोटिकको प्रयोग यसरी गरियो कि त्यसैले समस्या निम्त्याउँदै छ। बेलैमा सोचिएन भने, हामीले भोग्ने समस्या भयावह हुन समय लाग्दैन। चिकित्सकहरुले सामान्य भन्दा सामान्य समस्यामा एन्टिबायोटिक सिफारिस गरिदिए भने परिणाम आगामी दिनमा भोग्नुपर्ने हुन्छ।
बालबालिकाहरुमा पनि एन्टिबायोटिकको प्रयोग ज्यादा गरियो। स–साना रुघाखोकीमा पनि एन्टिबायोटिकको प्रयोग ज्यादा भयो। कुनै थाह नै नभएको रोगमा पनि सोझै एन्टिबायोटिक प्रयोग गरिदिए। रोगको पहिचान हुनुभन्दा पहिले नै एन्टिबायोटिक सिफारिस गर्न थालियो। अल्पविकसित र विकासोन्मुख मुलुकमा यो समस्या बढ्दो छ। किनकि यस्ता मुलुकमा रोगको पहिचान गर्ने प्रणाली निकै कमजोर छ। हामीहरु भ्याक्सिन त्यति धेरै प्रयोग गर्दैनौँ। भ्याक्सिनको प्रयोग ज्यादा हुने मुलुकहरुमा रोग कम लाग्ने भएकाले एन्टिबायोटिकको प्रयोग पनि कम हुन्छ।
नेपालको सन्दर्भमा हेर्दा खोप अभियान प्रभावकारी बनाउनुपर्छ। खोपको प्रयोग प्रभावकारी हुन नसकेपछि रोगको समस्या बल्झिन्छ। फलतः एन्टिबायोटिकको प्रयोग बढेको छ। यसैगरी, रोगको पहिचानका लागि ‘डाइग्नोसिस’ गर्ने प्रणाली पनि कमजोर छ। कतिपय अवस्थामा जाँचका लागि विदेशमा पठाउनुपर्ने बाध्यता हुन्छ। एक हप्तासम्म लाग्छ। एक साता त्यो बिरामीले के गरेर बस्ने ? अनि डाक्टरले रिपोर्ट आउनुभन्दा अघि नै एक्टिबायोटिक सिफारिस गरिदिन्छ। जे पर्लापर्ला भनेर उसले एन्टिबायोटिक दिइहालेको हुन्छ।
हामीकहाँ देखिने रोगसँग जोडिएका अधिकांश समस्या ब्याक्टेरियासँग सम्बन्धित छ। एक्टिबायोटिक दिएपछि रोग कम हुन्छ। बिरामी पनि खुसी। डाक्टर पनि खुसी। यस्ता कारणबाट जनताले एन्टिबायोटिक बदाम खाएझैँ खाइरहेका छन्। बजारमा बदाम र एन्टिबायोटिक किन्नुमा कुनै भिन्नता छैन। बदाम र एन्टिबायोटिक दुवैलाई प्रेस्किप्सन चाहिँदैन। फरक यत्ति हो, बदामभन्दा एन्टिबायोटिक महँगो छ। एन्टिबायोटिक राज्यले प्रेस्क्रिप्सन चाहिने नियम त बनाएको छ तर कार्यान्वयन भएको छैन।
अर्कोतर्फ उपभोक्ता पनि उत्तिकै दोषी छन्। डाक्टरले पाँच दिन भनेर एन्टिबायोटिक सिफारिस गरेको हुन्छ। त्यसको निश्चित समयसीमा हुन्छ। तर हामी भने दुई दिन खाएपछि ठिक लागेजस्तो भयो भनेर छाडिदिन्छौँ। जस्तोः डाइरिया हुँदा एन्टिबायोटिक लिइन्छ। दुई दिनमा नै निको हुन्छ अनि एन्टिबायोटिक छाडिन्छ। पूरै मात्रामा लिने त नगन्य नै हुन्छन्।
पूर्ण अवधिभर एन्टिबायोटिक नखाँदा सबै ब्याक्टेरिया मर्दैनन्। ती पछि झन् बलिया भइदिन्छन्। मानवभन्दा अघि संसारको अस्तित्वमा रहेका ब्याक्टेरियाहरु आफू जोगिन विभिन्न उपाय अपनाउँछन्। शरीरमा बाँकी रहेका १० वटा ब्याक्टेरिया एक महिनामा नै करोडौं भइदिन्छन्। ती शाखा सन्तान ब्याक्टेरियाहरु आफैँले एन्टिबायोटिक नझेले पनि त्यसको प्रतिरोधका लागि तयार भएर बसेका हुन्छन्। किनकि तिनीहरुले ‘जेनेटिक इन्फरमेसन’ पास गरिसकेका हुन्छन्। अर्को पटक हामीलाई फेरि त्यही रोग लाग्यो भने पुरानै एन्टिबायोटिकले निको हुने सम्भावना कम हुन्छ। त्यसपछि डाक्टरले अझै सशक्त एन्टिबायोटिक दिन थाल्छ। यसरी नयाँ एन्टिबायोटिक पचाउँदै ब्याक्टेरिया सशक्त हुँदै जान्छ र एक दिन कुनै एन्टिबायोटिकले पनि नछुने अवस्थामा पुग्छ। यसलाई एन्टिमाइक्रोबियल रेसिस्टेन्ट भनिन्छ।
टिबी, डिसेन्ट्री, कलेरा लगायतका रोगमा ब्याक्टेरियाले आफूलाई हिजोको तुलनामा निकै सशक्त र जब्बर बनाएका छन्। अस्पतालमा हुने संक्रमणमा पनि यस्तै घटना सुनिन्छ। यसमा चिकित्सकहरु, नीति निर्माता, अस्पताल प्रशासन र हामी सबैको चासो हुनु अनिवार्य छ।
धुलोको काणमा पनि ब्याक्टेरियाहरु हुन्छन्। हामीले हाच्छिउँ गर्दा र सास फेर्दा शरीरबाट निस्किएका ब्याक्टेरियाहरु वायुमण्डलको धुलोमा मिसिएका हुन सक्छन्। दोस्रोकुरा, सडकमा जथाभावी फालिने मलमुत्रमा रहेका ब्याक्टेरिया पनि विभिन्न कारणले धुलोसँगै टाँसिएर वायुमण्डलमा डुलिरहेका हुन सक्छन्। एन्टिबायोटिक रेसिस्टेन्सका कारण मानिसको शरीरबाट निस्किएका ब्याक्टेरिया यस्तै धुलोको कणमा मिसिएर अरु मानिसमा सरेमा स्थिति भयावह हुन्छ।
केही वर्षयता काठमाडौँमा बढ्दो धुलोमा फैलिएका ब्याक्टेरियाले विभिन्न रोगको जोखिम बढाएका छन्। दमको बिरामी बढ्नुको एउटा कारण धुलो पनि हो।
एन्टिमाइक्रोबियल ब्याक्टेरिया पनि एक अर्कामा सर्ने क्रम बढ्दो छ। एकै ठाँउमा निस्क्रिय रहने ब्याक्टेरियाहरु पनि धुलोको कणका कारण हाम्रो वातावरणमा फैलन अनुकुल भएको छ।
अचेल कुखुरा व्यवसायीहरुले पनि कुखुरालाई एन्टिबायोटिक खुवाउने चलन छ। त्यसको रेसिस्टेन्स भएका ब्याक्टेरियाहरु कुखुरामा रहेका हुन्छन्। कथंकदाचित त्यो कुखुरा मारेर फालिएमा वा नपाकेको मासु खाएमा एन्टिबायोटिक रेसिस्टेन्स भएको ब्याक्टेरिया मानव शरीरमा सर्ने अवस्था हुन सक्छ।
औषधी बिभागले नियम बनाएको धेरै भइसक्यो तर यसको अनुगमन गरेको छैन। औषधी व्यवस्था विभागले जुन मन लाग्यो, त्यो एन्टिबायोटिकलाई स्वीकृति दिनु भएन। प्रेस्किप्सनबिना एन्टिबायोटिक दिन नपाउने नियम मात्रै कडाइका साथ कार्यान्वयन हुने हो भने धेरै समस्याको समाधान हुने थियो। १६ वर्षदेखि बजारमा नयाँ एन्टिबायोटिक आएकै छैनन्। यो अवधिमा संसारभर नयाँ एन्टिबायोटिकको आविस्कार भएको छैन। फस्ट, सेकेन्ड, थर्ड जेनेरेसन, लास्ट रिसोर्टका नाममा मात्रै एन्टिबायोटिकहरु बजारमा प्रचलित छन्।
विभागले कति एन्टिबायोटिक केका लागि बेचिरहेका छन् भनेर अनुसन्धान र जाँच गर्नुपर्यो। डाक्टरको प्रेस्किप्सनमा पनि परीक्षण हुन जरुरी छ। कुन डाक्टरले कति एन्टिबायोटिक किन सिफारिस गरेको छ भन्ने नियमन हुन आवश्यक छ। यहाँसम्म कि फर्मास्युटिकल कम्पनीहरुले पनि एन्टिबायोटिक उत्पादन र खपतमा संवेदना अपनाउनुपर्छ। कोटा तोकेर महिनामा यति चलाइदिए कमिसन दिन्छु भन्नु भएन। कमिसनको लोभमा डाक्टरले चलाउनु भएन।
एएमआरको सवालमा हामीले मानवका साथसाथै पशुपंक्षीलाई पनि एकसाथ हेर्न आवश्यक छ। त्यसलाई ‘वानहेल्थ’का रुपमा हेर्नुपर्छ। स्वास्थ्य मन्त्रालयले यो शब्दलाई सम्बोधन गर्न सकेको छैन तर पशुपंक्षी मन्त्रालयले यसरी हेर्न थालिसकेको छ। विकसित मुलुकमा पनि वानहेल्थको अवधारणा अगाडि राखेर नीति बनाउन थालिसकेका छन्। अब स्वास्थ्य मन्त्रालयले पनि यसरी हेर्न जरुरी छ। अबका रोगहरु र जनस्वास्थ्यमा चुनौती दिने विषयहरु मानिसबाट मानिसमा सर्ने मात्रै होइन, पशुपंक्षीबाट पनि उत्तिकै रुपमा मानवमा सरिरहेका छन्। यसतर्फ सम्बोधन हुन आवश्यक छ।
(दीक्षित ग्लोबल एन्टिबायोटिक रेसिस्टेन्स पाटर्नसिप कार्यक्रमका निर्देशक हुन्)