निकै वर्षको लामो मिहिनेतपछि एउटा डाक्टर दक्ष भएर सेवामा खटिन्छ। जब उक्त डाक्टरले बिरामीको सेवा सुरु गर्छ, सुरुमा बिरामी निकै कम आउँछन्। विस्तारै उसको सेवाका विषयमा बाहिर चर्चा चल्दै जान्छ। क्रमशः व्यस्तता बढ्दै जान्छ। यहाँसम्मकि मानिसहरु त्यही डाक्टरलाई देखाउँछु भन्दै नाम लेखाएर लामो लाइनमा बस्न तयार हुन्छन्।
जब डाक्टरको नामको चर्चा बढ्दै जान्छ, बिरामीको लाइन दुई÷तीन महिना पछिसम्म पुग्छ। सुरुमा ५÷७ जना बिरामीलाई पर्याप्त समय दिएर बिरामी जाँच्ने डाक्टरले अब दैनिक ४० देखि ५० जना वा त्यो भन्दा बढी बिरामी हेर्नुपर्ने अवस्था आउँछ। यसले गर्दा डाक्टरले बिरामीलाई दिने समय घट्दै जान्छ। थोरै बिरामी हुँदा एकजना बिरामीलाई २० मिनेट समय दिने डाक्टरले बिरामीको चाप बढी भएपछि मुस्किलले २ मिनेट दिनुपर्ने बाध्यता आउँछ।
बिरामीको चाप बढी भएपछि अस्पतालले सोही डाक्टर सरहको क्षमता भएको समान हैसियत भएका अरु डाक्टर पनि नियुक्त गरेको हुन्छ। तर, त्यतिबेलासम्म हाम्रो समाज नामको पछाडि मात्र चलेको हुन्छ। उही डिग्री, उही क्षमता र उस्तै ज्ञान भएको अर्को डाक्टरकहाँ उपचार गर्न जाँदैनन्। बरु त्यही नाम सुनेको डाक्टरलाई तीन महिना लगाएर कुर्छ र दुई मिनेटभित्र जाँच गराउन बस्छ। जब डाक्टरले दुई मिनेट मात्र जाँच गरेर औषधि लेखिदिन्छ अनि डाक्टरले समय दिएन भनेर त्यही बिरामीले डाक्टरमाथि गाली गर्न सुरु गर्छ। यता उही क्षमता भएका डाक्टर भने बिरामी नपाएर खाली बस्नुपर्ने अवस्था हुन्छ।
हामी नेपालीको एउटा खराब बानी, समान क्षमता भएका गुमनाम डाक्टरलाई विश्वास नगर्ने अनि चर्चामा आएका डाक्टरको पछाडि दौडिने छ। यसले गर्दा चर्चामा आएको डाक्टरलाई समेत समस्या परेको छ। बिरामीलाई समय दिंदैन, घमन्डी छ, जथाभावी औषधि लेख्छ भनेर उल्टै गाली गर्न थाल्छन्।
बिरामी तथा बिरामी पक्षहरुको चाहना पनि डाक्टरले आफूलाई मात्र हेरिदियोस् भन्ने हुन्छ। तर, डक्टरका लागि त सबै समान हुन्छन्। त्यसकारण डाक्टरले सबैलाई समान ढंगले समय दिने कोसिस गर्छ। जब डाक्टरले आफूलाई थोरै समय दिएको जस्तो लाग्छ, त्यसपछि त्यही बिरामी वा बिरामीका आफन्तले डाक्टरलाई नराम्रो भन्न थाल्दछन्। केही समय अघिसम्म राम्रो भनेका उनीहरु आफूलाई धेरै समय नदिएको भन्दै डाक्टरलाई नराम्रो देख्न थाल्छ। यो त हाम्रै दोष होइन र ? एक जना डाक्टरलाई मात्र विश्वास गर्ने, नामको मात्र पछाडि दौडने, आफूलाई मात्र डाक्टरले हेरिदियोस् भन्ने चाहना राख्नु त स्वार्थीपन हो, गलत हो।
बिरामी तथा आफन्तको व्यवहार डाक्टरप्रति आकस्मिक अवस्थामा र वार्डमा हुँदा पनि फरक हुँदै जान्छ। जब बिरामी आकस्मिक अवस्थामा आएको हुन्छ, त्यतिबेला आफन्तले डाक्टरलाई भगवान झैं व्यवहार गर्छन्। जे गरेर भए पनि बिरामी बचाइदिनुपर्यो भनेर डाक्टरलाई पूर्ण विश्वास गरेर बस्छन्। त्यसपछि त्यही बिरामीलाई केही सुधार गरे शल्यक्रिया वा अन्य प्रक्रिया गर्नुपर्यो भने पहिलाको व्यवहारमा थेरै परिवर्तन आउँछ। शल्यक्रिया गर्ने समयसम्म सबै कुरा ठिकठाक नै हुन्छ। जब आइसियूमा राखेर नै किन नहोस्, बिरामीको अवस्था राम्रो हुँदै जान्छ अनि विस्तारै डाक्टर, अस्पताल र नर्सप्रति शंका गर्ने, केही ठूलो स्वरमा बोल्ने जस्ता व्यवहार गर्न थाल्छन्। कतिपयले त नर्सले राम्रो हेरिनँ, डाक्टर समयमा आउँदैन भनेर गाली गर्न पनि भ्याइसकेका हुन्छन्।
अब त्यही बिरामी जब वार्डमा सारिन्छ। त्यसपछि आकस्मिक, शल्यक्रिया कक्षमा भएको जस्तो व्यवहारको ठिक उल्टो व्यवहार गर्न थाल्छन्। डाक्टरले राम्रो अप्रेसन गरेन, बढी पैसा लिन खोज्यो, आइसियूमा बढी राख्यो, डाक्टर यस्तो, उस्तो भन्दै गाली बर्साउन थाल्छन्। अझ डिस्चार्जको समयमा त यति धेरै असन्तुष्टि पोख्छन् कि सुन्न पनि नसकिने हुन्छ।
डाक्टरलाई गाली गर्ने अर्को समूह भनेको गुगल हेरेर सिकाउने समूह पनि हो। अहिले गुगलमा सबै सूचना पाइन्छ। त्यही सूचना हेरेर डाक्टरलाई विश्वास नगर्ने समूह पनि छ। उल्टै डाक्टरलाई सिकाउने गर्छन्। पछिल्लो समय यो समूहले डाक्टरलाई धेरै दोषी देखाइरहेका छन्। तर, पछि समस्या बल्झिएपछि तिनै व्यक्ति डाक्टर त सही रहेछन् भन्दै आइरहेको हुन्छन्।
अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भयो भने त बिरामीका आफन्तले उक्त अस्पतालमा आफूबाहेक कोही छैन झैं व्यवहार गर्छन्। अस्पतालमा अरु सिकिस्त अवस्थाका बिरामी छन् भने पनि उनीहरुलाई मतलब हुँदैन। यो कुरामा एकपटक डा. उपेन्द्र देवकोटाले बिरामी पक्षलाई भन्नुभएको थियो, ‘तपाईंको बिरामीको मृत्युले हामी निकै दुःखी छौं। तपाईंहरुप्रति मेरो सम्मान छ र तपाईंहरुजत्तिकै सम्मान यो अस्पतालमा उपचाररत अरु बिरामीप्रति पनि छ। त्यसकारण कृपया यहाँ बसेर डिस्र्टब नगरिदिनुहोला।’ डाक्टर देवकोटाको कुरापछि बिरामी पक्षले त्यहाँ अरु बिरामीलाई सहज हुने वातावरण बनाइदिएका थिए। अहिले पनि बिरामीका पक्षले अस्पतालमा यस्तै व्यवहार गर्दा डाक्टर देवकोटाको भनाइ यदाकदा आउँछ। यस्तो अवस्थामा हामी उहाँकै भनाइअनुसार नै सम्झाउने कोसिस गर्छौं।