वीर अस्पतालको रेडियोलोजी विभाग सम्हालेको ३ वर्ष भयो। रेडियोलोजी विभाग भनेको सबै विभागको साझा विभाग हो। डाक्टरले बिरामीहरुलाई हेर्छन्, त्यसपछि रोग तथा समस्याको डाइग्नोसिस (पहिचान)का लागि रेडियोलोजी विभागमा रेफर गरिन्छ र उपचारका निम्ति पनि रेडियोलोजी विभागको सहयोग उत्तिकै आवश्यक हुन्छ। रेडियोलोजी विभाग सम्पूर्ण विभागको ‘रेफरल’ विभाग पनि हो। सोही कारण पनि यस विभागको आफ्नै महत्व छ। यस विभागमा ‘डाइग्नोस्टिक’ मात्र होइन ‘थेरापेटिक’ पाटो पनि जोडिन्छ।
वीर अस्पतालको रेडियोलोजी विभागमा नयाँ–नयाँ उपकरणहरु आएका छन्। भित्रिएका नयाँ संयन्त्र सञ्चालनका लागि प्रविधिकहरु पनि ‘अपडेट’ हुनु जरुरी छ। नयाँ डाइग्नोस्टिक प्रक्रिया तथा उपचारात्मक प्रक्रियाहरुमा पनि दक्ष जनशक्ति आवश्यक पर्छ। ५–६ वर्ष अगाडिको समय हेर्ने हो भने नेपालका धेरै अस्पतालहरुमा एक्स–रे र अल्ट्रासाउन्डको मात्रै सेवा उपलब्ध थियो। पछिल्लो समयमा भने सिटी स्क्यान, एमआरआई, पेट सिटी स्क्यान जस्ता उपकरणहरु आइसकेका छन्।
चिकित्सा विज्ञानको क्षेत्रमा नयाँ–नयाँ प्रविधि तथा उपकरणहरु विश्व बजारमा भित्रिएकोले यसमा काम गर्ने जनशक्ति पनि तालिमप्राप्त हुनुपर्छ। यहाँ जनशक्तिलाई आवश्यकताअनुसार तालिम दिने व्यवस्था छैन। कहिलेकाहीँ छिटफुट रुपमा हुने गर्छन्, तर, त्यो ज्यादै अपुग देखिन्छ।
अहिले वीर अस्पतालमा २ वटा सिटी स्क्यान मेसिनहरु छन्। एउटा १६ स्लाइस र अर्को १ सय २८ स्लाइसको। १ सय २८ स्लाइसको मेसिन विद्युत आपूर्ति अपुग भएर सञ्चालनमा ल्याइएको छैन। ट्रमा सेन्टरमा १६ स्लाइसको थप अर्को सिटी स्क्यान मेसिन छ। एमआरआई मेसिनको संख्या भने एउटा मात्र छ। एमआरआई मेसिन १.५ टेस्लाको छ। तर, अन्य निजी अस्पतालहरुमा भने ३ टेस्लाका मेसिन भित्रिसकेका छन्। वीरमा भने २ वर्ष अघिनै किनिएको हो।
यस अस्पतालमा अल्ट्रासाउण्ड मेसिनहरु भने पर्याप्त छन्। मेमोग्राम तथा एक्स–रे मेसिनको संख्या पनि पर्याप्त नै छन्। तर, उपकरणहरु ल्याइए पनि जनशक्तिको भने अभाव छ। वीरमा रेडियोलोजिस्टमा ६ जनाको दरबन्दी छ। यो दरबन्दी यसअघि एक्स–रे र अल्ट्रासाउण्ड हुँदाको मात्र दरबन्दी हो। एमआरआई र सिटीस्क्यान आएपछि भने यस विमागमा दरबन्दी संख्या थप भएको छैन। विसं २०५० भन्दापछि दरबन्दी थप भएको छैन। हामीले दरबन्दी थप्ने विषयमा प्रयास गरिरहेका छौँ।
चिकित्सा क्षेत्रका उपकरणमा १ वर्षको ‘वारेन्टी’ हुन्छ। यस्ता उपकरणहरु बिग्रिएमा मर्मतका लागि बायोमेडिकल इन्जिनियरको आवश्यकता पर्दछ। तर, वीर अस्पतालमा बायोमेडिकल इन्जिनियरहरु नै छैनन्। त्यसका लागि आवश्यक दरबन्दीको पनि व्यवस्था गरिएको छैन। मेसिनहरु बिग्रिएपछि बनाउन समस्या छ। बाहिरबाट प्रविधिकहरुलाई बोलाएर मर्मत गर्नुपर्ने अवस्था छ। यसले गर्दा पनि सहज र छिटो सेवा प्रवाहमा समस्या छ।
वीर अस्पतालमा बिरामीको चाप बढ्दो छ। दैनिक अल्ट्रासाउण्ड गराउन मात्रै करीब १ सय ५० जना बिरामी आउँछन्। सिटी स्क्यानमा दैनिक ३५ जना तथा एमआरआई गराउने २० जना जति बिरामी हुन्छन्। ४ वटा मेसिन लगातार चलाउँदा पनि हामीले भ्याउँदैनौँ। परीक्षणपछिको रिपोर्टका लागि बिरामीलाई लामो समय दिनुपर्ने स्थिति आउन थालिसकेको छ। शुल्क सस्तो भएकाले पनि यस अस्पतालमा चाप बढी भएको हुनसक्छ। निजी अस्पतालमा अल्टासाउण्ड गरिएको एक हजारदेखि १ हजार २ सय रुपैयाँसम्म लिने गर्छन् तर, यहाँ भने मात्र ४ सय रुपैयाँ लाग्छ।
कुनै पनि विभाग राम्रो बनाउन सुरुमा त पूर्वाधारको आवश्यकता पर्दछ। रेडियोलोजी विभागमा सुरुवाती समयमा एक्स–रे मेसिन मात्र हुँदा जस्तो पूर्वाधार थियो, अहिले पनि अवस्थामा खासै सुधार आउन सकेको छैन। हामीले विस्तार गर्न सकेका छैनाँै। ठाउँको अभाव छ। नयाँ भवन बन्दैछ। सायद, त्यसपछि भने क्षेत्र तथा पूर्वाधार विस्तार गर्न हामीलाई सहज हुनेछ।
अर्को महत्वपूर्ण विषय जनशक्ति हो, जसको दरबन्दी संख्याले आवश्यकताको न्यून मात्रै क्षेत्र ओगटेको छ। रेडियोग्राफर, टेक्निोलोजिस्ट छन्, तर, उनीहरुको दरबन्दी प्रायः प्रविणता प्रमाणपत्र तह वा सो–सरहको मात्रै छ। अब चाहीँ स्नातक, स्नातकोत्तर पढेकाको पनि दरबन्दी खुलाउन आवश्यक छ।
समयअनुसार नयाँ उपकरणहरु पनि थप्नुपर्ने हुन्छ। राष्ट्रिय तहको अस्पतालमा ४ वटा मेसिन मात्र चलाएर देशभरका बिरामीको चाप थेग्न मुस्किल पर्छ। अल्टासाउण्ड मेसिन ८–१० वटा नै चाहिन्छ। यी सबै भएपछि बिरामीलाई सहज हुने छ।
-(वीर अस्पतालको रेडियोलोजी विभाग प्रमुख डा शर्मासँग बुनु थारुले गरेको कुराकानीमा आधारित )