फार्मासिस्ट औषधिका विज्ञ हुन्। औषधिको खोज, अनुसन्धान, गुणस्तर, व्यवस्थापन, भण्डार, वितरण, गुणस्तर नियमन, प्रयोगपछि देखिने दुष्प्रभावलगायत औषधिसम्बन्धी हरेक क्रियाकलापका जानकार हुन्छन् फार्मासिस्ट।
संविधानले मौलिक हकको रुपमा व्याख्या गरेको स्वास्थ्यलाई जनतामाझ प्रत्याभुति दिलाउन गुणस्तरयुक्त, जनसुरक्षित र असरयुक्त औषधि आवश्यक पर्छ। त्यसको प्रत्याभुति दिलाउन फार्मेसी जनशक्ति अपरिहार्य हुन्छ।
राज्य पुनर्संरचना हुँदैगर्दा नेपाल सरकारले समयसमयमा अँगालेको स्वास्थ्य नीति, औषधि नीति कार्यान्वयनका निम्ति पनि स्थानीय तहमा फार्मासिस्ट राख्न अति जरुरी छ।
स्थानीय तहमा फार्मासिस्टले यस्ता काम गर्न सक्छन्
– केन्द्र तथा स्थानीय सरकारले औषधि खरिदका निम्ति बजेट व्यवस्थापन गरेको छ। तर उक्त बजेटबाट औषधि कसरी खरिद गर्ने?, आपm्नो स्थानीय क्षेत्रमा कति औषधि आवश्यक छ?, खरिद गर्न लागिएको औषधिको गुणस्तर प्रत्याभूति कसरी गर्ने? लगायत औषधिसँग सम्बन्धित अन्य प्राविधिक जटिलता रहँदै आएको छ। सो जटिलता समाधानमा फार्मेसी जनशक्तिले प्रभावकारी भूमिका निभाउन सक्छ।
– स्थानीय तहमा औषधिको टेक्टिकल स्पेसिफिकेसन निर्माण एवं मूल्यांकन गर्ने।
– नेपालभरि केही स्थानीय तहले आफ्नो छुट्टै औषधि भण्डार कक्ष निर्माण गरेका छन् र अरु केही स्थानीय तह पनि निर्माणको प्रक्रियामा छन्। तर त्यहाँ आपूर्ति हुने औषधिको उचित व्यवस्थापन, भण्डारण, वितरण तथा अभिलेख राख्न दक्ष जनशक्तिको अभावले समस्या थपिंदै गएको छ। सो समस्याको निराकरणमा फार्मेसी जनशक्तिको अहं भूमिका रहन्छ।
– म्याद नाघेका औषधिको व्यव्स्थापन गर्ने।
– स्थानीय तहमा रहेका निजी औषधि पसल, क्लिनिक बेलाबेलामा अनुगमन–निरीक्षण गर्न स्थानीय, प्रदेश र केन्द्र सरकारलाई सहयोग गर्ने र सोको रिर्पोट तयार गर्ने।
– औषधि तथा खोप प्रयोगका दुष्प्रभाव नेसनल फार्माकोभिजिलेन्स सेन्टरको डाटाबेसमा रिर्पोट गर्ने।
– र्यासनल ड्रग युज र एन्टिमाइक्रोविएल रेसिस्टेन्सबारे स्वास्थ्यकर्मीलाई सजग गराउने।
अन्त्यमा, ‘जहाँ औषधि, त्यहाँ फार्मासिस्ट’ को नारालाई आत्मसात गर्दै माथि उल्लेखित बुँदाहरुको प्रभावकारी कार्यान्वयन गराउन फार्मेसी जनशक्तिलाई स्थानीय तहमा स्थान दिन अति जरुरी छ।
-(फार्मेसी अधिकृत तिमिल्सेना स्वास्थ्य कार्यालय, प्युठानमा कार्यरत छन्।)