महिला स्वास्थ्य स्वयंसेविका दिवस के हो ?
नेपालका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन तथा उच्च सम्मान प्रदान गर्दै सरकारद्वारा अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस (डिसेम्बर ५) लाई महिला स्वास्थ्य स्वयंसेविका दिवसको रुपमा मनाउन थालिएको हो। यसवर्ष मनाइने महिला स्वास्थ्य स्वयंसेविका दिवसको नारा ‘महिला स्वास्थ्य स्वयंसेविकाको निस्वार्थ सेवा, स्वस्थ, समृद्ध राष्ट्र निर्माणको टेवा’रहेको छ।
महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम चाहिं कस्तो कार्यक्रम हो?
महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम विशुद्ध स्वयंसेवी कार्यक्रम हो। आधारभूत स्वास्थ्य सेवालाई जनताको घरदैलोमै पुर्याउने उद्देश्य प्राप्त गर्नभारतको आँगनवाडी कार्यक्रमलाईमूर्तरुप दिई नेपालमा स्वास्थ्य स्वयंसेवक कार्यक्रमको सूत्रपात गरिएको हो।यसरी शुरु गर्न लागिएको स्वास्थ्य स्वयंसेवक कार्यक्रम केन्द्रीय जनवर्गीय महिला संगठनको अनुरोध र स्वास्थ्य मन्त्रालयको समन्वयमा सुरु भएको हो।
सो कार्यक्रममा महिलालाई नै परिचालन गर्ने आपसी निर्णय भएको हो। फलस्वरुप सुरुमा तराईका २७ जिल्लामा र क्रमैसँग देशका सबै जिल्लामा महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम लागू भई सञ्चालन भइरहेको छ। यो स्वास्थ्य कार्यक्रममाहरेक वडामा स्थायी बसोबास गरिरहेका महिलाको समूह गठन हुन्छ। सोही समूहबाट छनोट हुने २५ वर्ष उमेर नाघेका, गर्भवती र सुत्केरी र अरु स्थानीय वडाबासी महिला स्वास्थ्य स्वयंसेविका वार्ड स्वास्थ्य कार्यक्रममा परिचालित हुन्छन्। जनस्वास्थ्य कार्यक्रमका सम्वाहक र सहयोगीका रुपमा सेवारत स्वयंसेविकाले वार्डका स्वास्थ्य सेवाग्राहीलाई निर्दिष्ट सेवा पुर्याउने स्वयंसेवक कार्यक्रम नै महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम हो।
महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमको पृष्ठभूमिके छ?
भारतको आँगनवाडी कार्यक्रमलाई रुपान्तरण गर्दै आर्थिक वर्ष २०४५/४६देखि नेपालमा स्वास्थ्य सेवक कार्यक्रमको थालनी भएको हो। सुरुमा नेपालका तराई क्षेत्रका २७ जिल्लामा र क्रमैसँग सबै जिल्लामा सो कार्यक्रमलागू गरिएको हो। केन्द्रीय जनवर्गीय महिला संगठनको अनुरोध तथा स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा सुरु भएको सो स्वयंसेवक कार्यक्रममा महिलालाई नै परिचालन गर्ने निर्णय भएको हो।कार्यक्रमको थालनी गर्दा हरेक वडामा १ जना सेविकाका दरले परिचालित हुनेगरी सुरु भएको महिला स्वास्थ्य स्वयंसेविकालाई स्थानीय वडाबाटै छनोट गरी १५ दिनको आधारभूत तालिम प्रदान गरी परिचालित गरिएको हो। यो कार्यक्रम स्वयंसेवा कार्यक्रम भएकाले स्वयंसेविकालाई तालिम, गोष्ठी वा अन्य कार्यमा परिचालन गरिएमा खाजा भत्ता र मासिक रु. एक सय पारिश्रमिक पाउनेगरी कार्यक्रम सुरु गरियो।
महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमको उद्देश्य के हो?
यस कार्यक्रमको प्रमुख उद्देश्य जनताको आधारभूत स्वास्थ्य सेवा सन्देश सम्वाहकका रुपमा मुलुकका हरेक वार्डका स्थायी बासिन्दालाई स्वास्थ्य स्वयंसेवक छनोट गरी तालिम दिई सेवामा परिचालन गर्नु हो।
महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमको वर्तमान अवस्था कस्तो छ?
आजभन्दा झन्डै ३० वर्ष पहिले हरेक वडामा १ जनाका दरले परिचालित हुनेगरी सुरु भएको महिला स्वास्थ्य स्वयंसेविकालाई आफ्नै वडामा तालिम र प्राथमिक उपचारका औषधि समेत प्रदान गरी खटाइएको हो। तर पछि जनसंख्याको आधारमा पहाड र तराईमा क्रमशः ५ सय र २ सय ५० जनसंख्यामा १ जनाका दरले छनोट गरी परिचालित गरिएका छन्। हालसम्म देशका ग्रामीण तथा सहरीक्षेत्रमा गरी जम्मा ५१ हजारभन्दाबढी महिला स्वास्थ्य स्वयंसेविका सेवारत छन्।महिला स्वास्थ्य सेविकाको आधारभूत तालिम १५ दिनबाट परिमार्जन गरी सुरुमा ९ दिन तालिम प्रदान गरी सेवामा परिचालन गर्ने गरिन्छ। यसरी परिचालित भएको ६ महिनाभित्र पुनः ९ दिने तालिम गरी १८ दिने तालिम प्रदान गरिन्छ भने समयसापेक्ष पुनर्ताजगी तालिमका साथै विभिन्न गोष्ठीमा सहभागिता गराइँदै आएको छ।
महिला स्वास्थ्य स्वयंसेविकाका काम र कर्तव्य केके हुन्?
आफ्नो वडाका गर्भवती तथा सुत्केरी समेतको सहभागितामा ‘आमा समूह’ गठन गर्ने, आमासमूहको विस्तार गर्दै जाने, कम्तीमा हरेक महिनाको एकपटक विभिन्न स्वास्थ्य समस्यामा बैठक बसाल्ने। यस्तै वडाका बासिन्दाका आधारभूत प्राथमिक स्वास्थ्य सेवाभित्र पर्ने खोप, सुरक्षित मातृत्व, परिवार नियोजन, झाडापखाला, श्वासप्रश्वास नियन्त्रण र पोषणलगायत बालस्वास्थ्य तथा समुदायमा आधारित स्वास्थ्य कार्यक्रमको प्रवद्र्धन गर्ने। यसैगरी स्वास्थ्य सेवाग्राहीलाई साधन वितरण, प्राथमिक उपचार तथा प्रेषण गर्ने र स्वास्थ्य सन्देश फैलाउनुकासाथै राष्ट्रिय स्वास्थ्य कार्यक्रममा सघाउनु सेविकाका काम र कर्तव्य हुन्।
महिला स्वास्थ्य स्वयंसेविकालाई सरकारको सहयोग कस्तो छ?
नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान गरेको भन्दै बखान र पुरष्कृत गर्दै गएको छ। पहिले वडा संख्याका आधारमा मनोनित महिला स्वास्थ्य स्वयंसेविका२०५० देखि जनसंख्याका आधारमा मनोनित भई तालिम समेत प्राप्त गरेका छन्। सेविकाको उच्च सम्मान गर्दै २०६४ देखि वर्षेनि असोज १५ गतेलाई महिला स्वास्थ्य स्वयंसेविका दिवसको रुपमा मनाउन थालियो। स्वयंसेवालाई अझ मर्यादा र प्रोत्साहनगर्दै अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस डिसेम्बर ५ तारिखलाई महिला स्वास्थ्य स्वयंसेविका दिवसको रुपमा मनाउन थालिएको छ। कुनै कारणवस छोड्न चाहेका महिला स्वास्थ्य स्वयंसेविकाका सिफारिसमा आफ्नै नाता पर्ने महिलालाई छनोट गरी तालिम दिई काममा परिचालन गर्ने नीतिसँगै कार्यान्वयन हुँदै आएको छ।
मुलुकभरिका सेविकालाई पालैपालो गरी उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा छनोट गरी एकजोर कपडा (साडी, चोलो आदि) सेट वितरण गर्न थालिएको छ भने हरेक महिला स्वास्थ्य स्वयंसेविकालाई पोशाक भत्ताकोरुपमा वार्षिक रु ६ हजार र स्वयंसेविका कोषकोरुपमा वार्षिक रु१० हजार उपलब्ध गराएको छ। त्यतिमात्र नभई हरेक महिला स्वास्थ्य स्वयंसेविकाको नाममा रु ५० हजारका दरले अक्षय कोषसमेत स्थापना गरिदिएको छ।
स्वास्थ्य क्षेत्रका महत्वपूर्ण र सम्पूर्ण उपलब्धि हासिल भएको भनी हरेक सेविकालाई एक–एकवटा मोबाइल फोनकासाथै जनस्वास्थ्य कार्यक्रममा सेविकालाई निमन्त्रणा गरी सहभागिता गराउँदै आएको छ।योग्य र सक्रिय महिला स्वास्थ्य स्वयंसेविकालाई अक्जुलियरी नर्स मिडवाइफको तालिम दिने व्यवस्थासमेत गरिएको छ।
निष्कर्षः
म महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमको थालनीदेखिनै प्रशिक्षक प्रशिक्षणदेखि आधारभूत तालिम प्रदान गर्दै झन्डै ४० वर्ष लामो सरकारी सेवाको सिलसिलामा सेविकालाई परिचालन, सुपरिवेक्षण, अनुगमन समेत गर्दै आएको छु। कार्यक्रमको सुरुमा छनोट भई १५ दिने तालिमपश्चात मासिक पारिश्रमिक रु एक सय मात्र पाउनेगरी परिचालित महिला स्वास्थ्य स्वयंसेविकाले राम्रो सेवा पुर्याएका थिए।
वैदेशिक सहयोगबाट मासिक पाउने पारिश्रमिक कटौती भएपछि महिला स्वास्थ्य सेविकामा नैराश्यता बढ्न थाल्यो। तालिम तथा गोष्ठीमा भत्ता र खाजा मात्र उपलब्ध हुन थाल्यो भने महिला स्वास्थ्य स्वयंसेविकाले आफू स्वयंसेवकको रुपमा सेवारत भन्ने तथ्य चटक्क बिर्सेर घरदैलोबाट पुर्याउने सन्देश, सामग्री वितरण र सल्लाहसमेत दिन छाडे। तर नेपाल सरकारले भने महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदानको फलस्वरुपनै देशले स्वास्थ्य क्षेत्रकासम्पूर्ण उपलब्धि हासिल भएको भनी बखान र पुरस्कृत गर्दै वार्षिक रकमको व्यवस्था, उत्कृष्टका नाममा पालैपालो सबैलाई लुगा भत्ता, मोबाइल फोन, अक्षय कोष र हरेक कार्यक्रममा मन्त्री तथा राजनीतिक पदाधिकारीको बखान हुँदै गयो।
तर यतिका सेवा–सुविधा प्राप्त गरेका महिला स्वास्थ्य स्वयंसेविका भने विभिन्न ट्रेड युनियनमा आबद्घ छन् भने हरेक मञ्च र कार्यक्रममा सरकारसँग तलब, भत्ता, सुविधा नपाएको गुनासो मात्र गरेका छन्।
जे होस्, सरकारले सेविकावाट जनस्वास्थ्य कार्यक्रम प्रवद्र्धन, स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चारसम्बन्धी सन्देश वडाबासीलाई पु¥याउन र प्रेषण कार्य गरी सरकारी स्वास्थ्य संस्थालाई सघाउन परिचालन गरेको हो।
स्वास्थ्यकर्मीको सबल नेतृत्व र सेविकाको सहयोगमा मातृ–शिशु स्वास्थ्य, शिशु तथा बालबालिका स्वास्थ्यसम्बन्धी लक्ष्यअनुसार उपलब्धि हासिल हुन सघाउ नपुगेको भने होइन। त्यसैले महिला स्वास्थ्य स्वयंसेविकाले वडास्तरमै जनतालाई स्वास्थ्य सूचना, शिक्षा र सञ्चारसम्बन्धी सन्देश पु¥याई गरेको योगदानको कदर भएकै छ। त्यसकारण आफू स्वयंसेविका भएको र सरकारले यतिका सुविधा पुर्याउँदा पुर्याउँदै तलब, भत्ता सुविधाको माग गर्दै आन्दोलन उत्रने महिला स्वास्थ्य सेविकाको निस्वार्थ सेवा कसरी पुग्ला? र स्वस्थ, समृद्ध राष्ट्रनिर्माणमा टेवा पुग्ला? यसमा ठूलो प्रश्नवाचक चिह्न नलाग्ला र!
- (लेखक स्वास्थ्य सेवामा ४० वर्ष सेवा गरी निर्देशकवाट सेवा निवृत हुन्)