केही दिन अघिको कुरा हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको दन्त विभागमा थिए। ड्युटी सकिने समय हुनै लागेको थियो। इमर्जेन्सीबाट फोन आयो।
‘क्लिनिकमा दाँत निकाल्नुभएको रहेछ। उहाँलाई समस्या भएर आउनुभएको छ। सिजर जस्तो छ तपाईंले आएर हेरिदिनुपर्यो,’ सिस्टरले फोनमा भन्नुभयो।
म हतारिँदै इमर्जेन्सी वार्ड पुगें। एकजना महिला हुनुहुन्थ्यो। पूरै काँपिरहनुभएको थियो। हातखुट्टा छामें, चिसो हुँदै गएका थिए र मुखबाट फिँज आइरहेको थियो।
मैले उहाँको स्वास्थ्य अवस्था जाँच्न सुरु गरें।
बिरामीको नाम जलजली कार्की। उमेर ५२ बर्ष।
चार महिनाअघि दाँत दुख्ने समस्या भएपछि उहाँ एउटा निजी क्लिनिकमा जानु भएको रहेछ। त्यहाँ दाँत निकाल्नुपर्ने देखिएको बताइएपछि दाँत निकालिएको रहेछ।
कार्कीले भन्नुभयो, ‘दाँत निकाल्दा पनि गाह्रो भएको थियो। केही हुदैँन भन्दै जबरजस्ती निकाले। एक घण्टा लगाएर दाँत झिकेका थिए।
‘औषधि दिएको थियो तर आमालाई झन् गाह्रो भयो,’ सँगै आएकी उहाँकी छोरीले भनिन्।
उहाँहरुले आफुसँगै क्लिनिकमा दिएको औषधि पनि बोकेर आउनुभएको थियो।
औषधि हेर्दा तहेरें। ‘निमेसुलाइड’ नामको एउटा र साथमा अरु एन्टिबायोटिक थिए। उहाँलाई औषधि सेवन गर्दा गाह्रो भएको रहेछ। अौषाधिको साइड इफेक्टका कारण उहाँमा त्यस्तो समस्या आएको रहेछ।
म जुम्ला आएको ६ महिनाको समयावधिमा करिब २० भन्दा बढी बिरामी निजी क्लिनिकमा दाँतको उपचार गराएर समस्या आएपछि यहाँ आइपुगेका छन्। उनीहरुका साझा समस्या छन्– दाँत लगाएको अहिले असाध्यै दुखिरहेको छ। मुखबाट रगत आउछ, ब्रस त गर्नै मिल्दैन। केही पनि खानै मिल्दैन। खान थाले दुख्छ। मुख पोल्छ। मुखभरि घाउ नै घाउ भएको छ।
विशेष गरी पाका उमेरका बिरामीले बताउने समस्या हुन् यी।
मकहाँ आउनुभएको अर्को बिरामीको कृत्रिम दाँत राखिएको रहेछ। हेर्दा मिलेको थिएन। जसलाई रिमुभेवल पार्सियल डेन्चर आरपीडि भनिन्छ।
नाम नै रिमुभेवल छ। यसलाई निकाल्न मिल्ने र पुन सोही स्थानमा राख्न मिल्ने भन्ने हो। हरेक बिहान बेलुका खाना खाइसकेपछि यसलाई सफा पानिले सधैं सफा गर्नुपर्छ। निकालेर सफा गरेन भने भित्रभित्रै फोहर जमेर संक्रमण हुन्छ।
तर यहाँको दृश्य अर्कै थियो। बिरामीलाई आरपीडिलाई फिक्सड पार्सियल डेन्चर एफपीडी बनाएको छ। रकम पनि फिक्सडकै लिइन्छ।
एफपीडी भनेको बिल्कुलै फरक कुरा हो। तर आरपीडी बनाउँदा पूरै मुखको नापो लिइ बाहिरै त्यो नापअनुसार को कृत्रिम दाँत बनाएर मुखमा फिट गराउनु पर्दछ। तर यहाँ मुखमा जसरी पनि अड्याउनको लागि मुखैमा केमिकल (मोनोमर र पोलीमर)लाई मिक्स गरिदिन्छन् । त्यसले बिरामीलाई निकै पोल्छ। अनि तारले दाँतमा फन्को मारेर अड्यायर पठाउने गरिन्छ।
दाँत झरेका बिरामी सुरुमा त मुखमा दाँत देखेर दंग पर्छन्। त्यसैमा पनि अझ फिक्स्ड दाँत झिक्नै नमिल्ने कहिल्यै झर्दैन भनेर पनि।
बिडम्बना दाँत लगाएको केही समयमा नै बिरामी माथि उल्लेख गरिएका समस्याले छटपटिन थाल्छन्। यस्तो समस्या लिएर आउने बिरामीको कुरा सुन्दा जनताको स्वास्थ्यमा लापरबाही गर्नेप्रति रिस उठेर आउँछ।
उनीहरुले लगाएको दाँत हटाएर उपचार गर्नुपर्ने हुन्छ। त्यसका लागि राजी गर्न पनि निकै मेहनत गर्नुपर्छ।
बिरामीलाई भन्नुपर्छ, ‘यो भन्दा राम्रो मैले दाँत लगाइदिन्छु र यो दाँत निकालिएन भने तपाईलाई क्यान्सर हुन सक्छ।’ यी दुई कुराले मात्र बिरामी पहिले लगाएको दाँत निकाल्न राजी हुन्छन्।
त्यो दाँत हटाउन आधा घण्टा भन्दा बढी समय लाग्छ। मेसिनले काट्नुपर्ने हुन्छ। अड्याएको अवस्था देख्दा मन खिन्न हुन्छ। खुलेयाम जनताको स्वास्थ्यमा लापरबाही गर्नेप्रति घृणा जागेर आउँछ।
कति बिरामीको मुख पाकेर पूरै इन्फेक्सन भएको, जता छोयो त्यतै रगत बग्ने भइसकेको हुन्छ। त्यस्तो समस्या भएका मध्येका एक हुन् वीरबहादुर सार्की। उमेर ५६ वर्ष। कुनै निजी क्लिनिकमा उहाँले दाँत निकाल्नुभएको रहेछ।
उहाँले मलाई बताएअनुसार दाँत झिकेपछि निकै दुख्न थाल्यो। उहाँ फेरि त्यही क्लिनिकमा जानुभयो। दाँत निकाल्दा जरा अड्केर होला भनेर गिँजामा कोट्याएर हेरिएछ। उहाँ तेस्रो पटकसम्म त्यही समस्या लिएर जानुभयो, त्यसैगरि गिँजा कोट्याएर हेर्ने अनि एन्टिवायोटिक दिएर पठाउने काम भयो।
दाँत निकालेको ६, ७ महिनापछि उहाँ चौथो पटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दन्त विभागमा आउनुभयो।
घाउ हेर्दा पूरै संक्रमण भइसकेको थियो। गिँजामा ठूलो भ्वाङ भइसकेको घाउ लाइ हेर्दा पूरै पिप भरिएको जस्तो देखिने तर निचोर्दा केही पनि ननिक्लने थियो।
त्यहि ठाउँबाट संक्रमण फैलिएर छेउका दाँतहरु पनि पूरै हल्लिएका थिए। हामीले संक्रमण भएका दाँत निकाली हप्तादिनको औषधि दिएर फ्लोअपमा बोलायौं।
तर घाउ निको हुने जस्तो देखिएन। हामीलाई घाउ र मासुको अवस्था हेर्दा क्यान्सर पो हो कि भन्ने शंका लाग्यो।
त्यही शंकाले उहाँको बायोप्सीका लागि मासु नेपालगञ्ज पठायाैँ। हाम्रो शंका सही थियो। उहाँलाई क्यान्सर भइसकेको रहेछ।
क्यान्सरको उपचार जुम्ला सम्भव नभएकाले हामीले कोहलपुर मेडिकल कलेजमा रिफर गर्यौँ।
त्यहाँ ओरल एण्ड मेक्जिलो फेसिएल सर्जन डा. अरुण महतले शल्यक्रिया गर्नुभएछ । उहाँको आर्थिक अवस्था कमजोर भएकाले डा महतले सम्पूर्ण उपचार, शल्यक्रिया र औषधि निःशुल्क गराइदिनु भएछ।
शल्यक्रियापछि उहाँलाई चितवनमा रेडियोथेरापीको लागि जान भनिएको रहेछ। तर उहाँ जानुभएन। निकै समय उहाँ सम्पर्कमा आउनुभएन। फेरि एक दिन पुनः त्यही समस्या लिएर मकहाँ आउनुभयो। फेरि क्यान्सर फैलिसकेको रहेछ।
मैले डा महतलाई सम्पर्क गरें। उहाँले रेडियोथेरापी नगर्दा समस्या भएको बताउनुभयो। उहाँ अहिले चितवन क्यान्सर अस्पतालमा रेडियोथेरापी गराउँदै हुनुहुन्छ।
सही ठाँउमा उपचार नगराउँदा र सामान्य तालिम लिएका व्यक्तिको उपचारले बिरामी क्यान्सरको शिकार हुनुपर्यो।
पटक–पटक घाउलाइ कोट्याउने तर बिरामीलाई चिकित्सककहाँ रिफर नगरिनुले यस्तो समस्या आइपरेको हो।
धेरै बिरामी बाहिरै दाँत निकाल्ने र पछि आउने समस्याले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आउँछन्। धेरैको एक्सरे गरेर हेर्दा दाँत निकाल्दा जरा छुटेको हुन्छ। जरा निकाल्नै समस्या हुन्छ।
सफा गर्दा दुखाइएका, आरसिटी फेल भएका केसहरु पनि दिनानुदिन आउँछन्।
नेपालमा त्यसै पनि मुख स्वास्थ्य सम्बन्धि बिरामीलाई राम्रो जानकारी छैन। त्यसमा पनि जुम्लाजस्तो विकट ठाउँमा अवस्था झन् विकराल छ।
दाँत सहनै नसकिने गरि नदुखेसम्म बिरामी डाक्टरकहाँ आउदँनन्। डाक्टरको काम दाँत निकाल्नु मात्र नभएर दाँत जोगाउने कोशिस गर्नुपनि हो। त्यसबाहेक दाँत दुखेपछि निकाल्नुपर्छ भन्ने मानसिकता पनि बदल्नुपर्छ।
त्यही मानसिकताको फाइदा उठाएर क्वाक (दाँतसम्बन्धी विभिन्न तालिम लिएका व्यक्ति)हरुले फाइदा/बेफाइदा नसम्झाइ दाँत निकाल्दिन्छन्।
पहिले दाँत जोगाउन सकिथ्यो भन्ने थाहा पाएर थाहा पाउछन् त्यस पछि पश्चाताप गर्छन्।
मैले माथि भनेका कुरा मैले जुम्लामा हरेकदिन फेस गर्ने घटनाका केही उदाहरण मात्र हुन्।
मैले यस विषयमा लेख्नुपर्छ भन्ने ठाने। देशभरि च्याउसरी प्राइभेट डेन्टल क्लिनिकले नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका डेन्टल डाक्टर आफुखुसि सामान्य तालिम लिएको भरमा बिरामीको उपचारमा गर्छन्।
जसको नतीजा बिरामीहरुमा माथिका जटिलताहरु उत्पन्न हुन्छन्। जसले सामान्य समस्या पनि बिरामीको ज्यान जानसक्ने कारण बन्न पुग्छ। अर्कोतिर उपचारमा महंगो शूल्क तिर्दा आर्थिक भार पनि उत्तिकै छ।
यो जुम्लामा मात्र नभएर देशैभरिको समस्या हो। बिरामीलाई के थाहा को डाक्टर हो ? को क्वाक ?
बिरामीलाई त क्लिनिकमा बसेर उपचार गरिरहेको हरेक मानिस डाक्टर नै होला भन्ने लाग्छ।
बिरामीले नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको डाक्टरहरुकोमा मात्रै उपचार गराउनुपर्छ भन्ने कुरा बुझ्नुपर्छ। अन्यथा जो पनि यस्ता पिडितहरुको सूचीमा पर्न सक्छौँ।
सरोकारवाला निकायले पनि नेपालको सम्पूर्ण जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्यचौकीमा डेन्टल डाक्टरहरुको दरबन्दी राख्न आवश्यक छ।
स्वास्थ्य मन्त्रालयले डेन्टल डाक्टरहरुको दरबन्दी कम खुलाउने कारणले पनि सबै ठाउँमा डेन्टलका डाक्टर नहुँदा यस्तो समस्या आएको हो।
देशैभरिका प्राइभेट डेन्टल क्लिनिकहरुमा नियमन र निगरानी गरी सरोकारवाला निकायहरु नेपाल सरकार, नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसोसियसन, नेपाल डेन्टल एसोसियसनले पनि क्वाकका क्लिनिकहरुलाई तत्काल बन्द गराउन पहल गर्नुपर्छ।
(डा काफ्ले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा डेन्टल सर्जनका रुपमा कार्यरत छन्)