मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने महत्वपूर्ण क्षेत्र हो स्वास्थ्य। जब व्यक्ति स्वस्थ हुन्छ, तबमात्र उसले शारीरिक तथा मानसिक रुपमा कार्य गर्न सक्छ। अस्वस्थ व्यक्तिले स्वस्थ विचार निर्माण गर्न सक्दैन। विचार नै स्वस्थ बन्न नसकेपछि एउटा व्यक्ति मात्र होइन, समग्र स्वास्थ्य क्षेत्र नै अस्वस्थ हुन जान्छ।
देश संघीय संरचनामा गएसँगै संघीय, प्रादेशिक र स्थानीय तहमा स्वास्थ्यको कार्यविभाजन हुने अवस्थामा छ। यस्तो अवस्थामा विभिन्न तहमा प्रस्तावमा रहेका स्वास्थ्यका अंगहरुलाई नियमित, प्रभावकारी र गतिशील रुपमा सञ्चालन गर्नु चुनौतीको विषय बनेको छ।
संघीय संरचनासँगै देशले समाजवादउन्मुख दिशा लिन र अन्ततः समाजवादको परिकल्पनालाई सार्थक तुल्याउन स्वास्थ्य क्षेत्रमा पनि आमुल परिवर्तन हुनु जरुरी छ। जसका लागि औचित्य र आवश्यकताको आधारमास्वास्थ्य संरचनाको गठन गर्नुपर्ने छ। सो संरचनाको नेतृत्व रसंगठनभित्र बसी कार्यसम्पादन गर्ने कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहने गर्दछ।
स्वास्थ्य संरचनालाई तत्काल खारेज गर्दा त्यसबाट हुनसक्ने खतरा तथा जिल्लास्थित कार्यालयहरु खारेजी नगर्दा संघीयताको मर्म र भावनामाथि प्रश्नचिह्न खडा हुने कुरालाई नजर अन्दाज गर्न पक्कै पनि मिल्दैन।
केन्द्रको मन्त्रालयदेखि स्थानीय तहसम्म रहेका स्वास्थ्य चौकीहरुमा काम गर्ने स्वास्थ्यकर्मीलाई व्यवस्थापन गर्दा उनीहरुको शैक्षिक योग्यता, क्षमता र अनुभवको कदर हुनु आवश्यक छ। तर अनुभवलाई मात्रै आधारमानी पदीय व्यवस्थापन गर्दा उच्च शिक्षा अध्ययन गरी उच्च मनोबलकासाथ अहोरात्र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका स्वास्थ्यकर्र्मीको भावनामा ठेस पुग्न गई समग्र स्वास्थ्य सेवा नै धरासायि हुनसक्ने खतरा बढ्न जान्छ ।
केही कर्मचारी संगठनले आफ्ना पक्षमा रहेका केही झुन्डको पक्षमा मात्र वकालत गरी कर्मचारीको पद व्यवस्थापनमा ध्यान दिने हो भने बाँकी रहेका सम्पूर्ण उच्चशिक्षा तथा सिप हासिल गरेका क्षमतावान स्वास्थ्यकर्मीको मनोबलमा प्रहार हुनेछ।
अहिले केन्द्रस्तरबाट नै स्वास्थ्य संरचना र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा नराखिएको अनुभूति गर्न सकिन्छ। हालसम्म पनि स्थानीय तहमा स्वास्थ्यको दरबन्दी सिर्जना गर्न नसक्नु, अस्थिर रुपमा रहेको स्वास्थ्य मन्त्रालयको नेतृत्व, प्रदेश तथा स्थानीय तहमा रहेको स्वास्थ्य संरचना प्रशासनलाई हस्तान्तरण गर्नु, हालै प्रमाणीकरण गरिएको कर्मचारी समायोजन अध्यादेशमा स्वास्थ्यको मर्म नसमेटिनु, समूह अमिल्दो स्वास्थ्यका सहसचिवलाई जिम्मेवारी दिई समूह मिल्नेलाई जिम्मेवारविहीन बनाउनु र स्वास्थ्यलाई कमजोर तुल्याई स्वास्थ्यको नेतृत्व प्रशासनको जिम्मा लगाउनु जस्ता क्रियाकलापले स्वास्थ्य क्षेत्रलाई राजनीतिक तहबाटै भूमरीमा पार्न खोजिएको महसुस हुन्छ।
तसर्थ, स्वास्थ्यलाई संवेदनशील क्षेत्र ठानेर तत्काल आवश्यक पर्ने दरबन्दी सिर्जना गरी स्थानीय, प्रदेश तथा संघीय स्तरमा पदीय रुपमा समान सेवा–सुविधा दिई कर्मचारीहरुको समायोजन गर्नु जरुरी छ। यस्तै समूह मिल्ने पदमा समूह मिल्नेमात्र कर्मचारी व्यवस्थापन गर्नु आवश्यक देखिन्छ।
यस्तै स्वास्थ्य क्षेत्रको नेतृत्व स्वास्थ्यले नै गर्नेगरी आवश्यक देखिएका जिल्लास्थित स्वास्थ्य कार्यालय, प्रदेशस्थित स्वास्थ्य तालिम केन्द्र, मेडिकल स्टोर, रिफरेन्स ल्याबजस्ता स्वास्थ्यका अत्यावश्यक संरचनामा समायोजन गरिए मात्र स्वास्थ्य क्षेत्रले प्राप्त गरेको उपलब्धिको रक्षा सँगसँगै कर्मचारीहरुलाई थप ऊर्जा प्राप्त हुने र थप उपलब्धि हासिल गर्न सकिने छ।
-(लेखक रिमाल स्वास्थ्यसेवा महाशाखा,सामाजिक विकास मन्त्रालय प्रदेश नं. ५ बुटवलमा कार्यरत छन्।)