आजकल रेस्टुरेन्टको मेनुमा अक्सर भेटिन्छ– ‘हुक्का एभाइलेवल’। रेस्टुरेन्टहरुमा विभिन्न रङ र साइजका हुक्का सजाएर राखिएको हुन्छ। कति रेस्टुरेन्टको नाम नै ‘हुक्का बार’हुन्छ। हुक्कालाईशिशा, नर्घिल, अर्घिले, वाटरपाइप, हुब्बल बब्बल, गोजाजस्ता नामले समेत पुराकिन्छ।यसैबाट प्रस्ट हुन्छ–तान्नेहरुका बीचमा हुक्का कति लोकप्रिय छ।
आजकल फेसन जस्तै बनेको छ हुक्का। तर, धेरै कमैलाई मात्र थाहा होला, हुक्का पिउँदाका बेफाइदा। एउटा हुक्का पिउनु २ सय खिल्ली चुरोटपिउनुभन्दा बढी हानिकारक हुन्छ। चुरोटको सर्को कहिल्यै नतानेका आजका युवायुवतीले हुक्काको स्वाद चाखिसकेका छन्।
स्याउ, आरु, नरिवल, आँप, पुदिना, कोला, स्ट्रबेरीका फ्लेबरमा उपलब्ध छन् हुक्का। हुक्कामा राखिएको फ्लेबर सूर्तीलाई चारकोलको कोइला प्रयोग गरी सल्काइने गरिन्छ। चारकोलको धुँवाबाट कार्बनमोनोअक्साइड र पोल्यारोम्याटिक हाइड्रोकार्बोन निस्कन्छ, जुन मानव स्वास्थ्यलाई अत्यन्त हानिकारक हुन्छ।
बाबुबाजेका पालादेखि चिरपरिचित हुक्का नेपाली संस्कृति होइन। इतिहासअनुसार यसको उत्पति ५ सय वर्षअघि पर्सियामा भएको पाइन्छ। पछि यो भारत हुँदै नेपाल भित्रियो। गाउँघरतिर बुढापाकाले तान्ने गरेको हुक्का नेपालमा पर्यटकको आगमन हुन थालेपछि विस्तारै व्यवसायको रुपमा देखिन थाल्यो।
पहिले पित्तल र काठबाट निर्मित हुने तमाखु हुक्कालाई अहिले काँचका फ्लेबर हुक्काले प्रतिस्थापित गरेको छ। कुनै बेला सम्भ्रान्त वर्गको बैठकको सान हुने हुक्का अहिले हरेक सहरका गल्ली र चोकमा खुलेका रेस्टुरेन्ट, बारमा पाइन्छ।
लेकसाइड पोखराको एक रेस्टुरेन्टमा भेटिएका एक १९ वर्षे पारखीले हुक्कालाई धूमपान मान्न नै अस्वीकार गरे। पुदिना फ्लेवरको हुक्काको सर्को तान्दै उले भने, ‘हुक्कामा सूर्ती हुँदैन। फ्लेवर मात्र हुन्छ। फेरि यो धुँवा त पानीबाट पास भएर फिल्टर भएर आएको हो। यो धुँवामा चुरोटको जस्तो निकोटिन पनि हुँदैन।’
हुक्कालाई फेसन र मनोरञ्जनको साधनको रुपमा लिनेहरुको तर्क जेसुकै होस्, यथार्थमा अध्ययनहरूले भने हुक्कालाई चुरोट सेवनभन्दा कैयौ गुणा घातक हुने निष्कर्ष निकालिसकेका छन्। विश्व स्वास्थ्य संगठनको रिपोर्ट भन्छ– हुक्का सेवन गर्नेहरूले चुरोट सेवन गर्नेभन्दा २ सय गुणा बढी हानिकारक धुँवा सेवन गरिरहेका हुन्छन्।
चुरोटभन्दा हुक्का यस कारणले पनि बढी हानिकारक हुन्छ, एक खिल्ली चुरोट पिउन ५देखि१० मिनेट समय लाग्छ भने हुक्का पिउन आधा घन्टादेखि १ घन्टासम्म लाग्छ। चुरोट एक वा बढीमा २ जनाले सेयर गरी पिउने गरिन्छ भने हुक्का ४देखि ५ जनाभन्दा धेरैले सामूहिक रुपमा पिउने गरिन्छ। जसले गर्दा एक व्यक्तिमा भएको रोग अर्कोमा सजिलै संक्रमण हुन सक्छ। त्यसैगरी हुक्काको पाइप राम्रोसँग सफा नगरेको अवस्थामा विभिन्न प्रकारका सरुवा रोगसमेत लाग्ने खतरा बढी छ। रेस्टुरेन्टहरुमा ग्राहकको भिड बढेको बेला हुक्का र पाइप राम्रोसँग सफा गरिन्छ भन्ने ग्यारेन्टी पनि हुँदैन।चुरोटभन्दा ३ गुणा निकोटिन, १० गुणा कार्बनमोनोअक्साइड, २५ गुणा टार, ५० गुणा लिडको मात्रा हुन्छ हुक्कामा।
सूर्तीजन्य वस्तु चुरोट, बिँडी, पान, गुट्का, हुक्का आदिले स्वास्थ्यमा पर्ने असर बारेमा विभिन्न देशमा विभिन्न समयमा अध्ययन–अनुसन्धान भइरहेका हुन्छन्।विश्वमा सूर्ती सेवनको कारण वार्षिक ६० लाख मानिसको ज्यान जाने गरेको छ। ती सबै अध्ययनको निष्कर्ष,‘सूर्तीजन्य पदार्थको सेवनले क्यान्सरलगायत प्राणघातक रोग लाग्न सक्छ।’
युवामाझ लोकप्रिय हुक्काले पनि ज्यानै लिने रोगहरु उत्पन्न गराउन सक्छ। हुक्का सेवनअन्य सूर्तीजन्य पदार्थजस्तो हानिकारक होइन भन्ने गलत विश्वास र भ्रमका कारण यसका प्रयोगकर्ता दिनानुदिन बढ्दै गएका छन्।
चुरोट, बियर तथा वाइन पिएको फोटो देखाउन लाज मान्नेहरु हुक्का पिएको फोटो भने सजिलै सामाजिक सञ्जालमा अपलोड गरिरहेका हुन्छन्। जसले गर्दा किशोर–किशोरीहरु पनि त्यसबाट प्रभावित भएका हुक्काको कुलतमा लागेको देखिएको छ। रेस्टुरेन्टहरुमा १५ देखि २५ वर्ष उमेर समूहका युवायुवती नियमित हुक्काको प्रयोग गर्ने गरेको एक सर्वेक्षणले देखाएको छ।
क्यान्सर इपिडिमियोलोजी, बायोमार्कर्स एन्ड प्रिभेन्सन जर्नलमा सान डिआयो स्टेट युनीभर्सिटीका शोधकर्ता नाडा कासिमले उल्लेख गरेअनुसार हुक्का प्रयोग गर्ने र त्यसको धुवाँ सुँघ्न बाध्य मानिसमा खतरनाक रसायन बेन्जिनको प्रभाव परेर रक्तक्यान्सर ल्युकेमिया हुने सम्भावना बढ्ने देखिएको छ। विश्व स्वास्थ्य सङ्गठनले बेन्जिनलाई एक नम्बरको क्यान्सरजन्य तत्व मानेको छ। बेन्जिनको कुनै पनि स्तरको मात्रा मानिसलाई हानिकारक हुन्छ।
हुक्कामा प्रयोग गरिने लोकप्रिय सूर्ती मोजेलमा स्वादका लागि ३० प्रतिशत सूर्तीलाई मोलासेस तथा ग्लेसेरिन रसायनिक तत्वसँग मिसाएर तयार पारिएको हुन्छ। कासिमको टोलीले सन् २०१३ मा अनुसन्धान गर्दा अमेरिकी कलेजका २६.६ प्रतिशत पुरुष र २३.२ प्रतिशत महिलाले कुनै बेला हुक्का प्रयोग गरेको तथ्य थाहा पाएको थियो। कासिमको अनुसन्धानको निष्कर्षअनुसार हुक्काले ल्युकेमियाको खतरामा मात्र बढाउँदैन, फोक्सो र मुखको क्यान्सर तथा मुटुको रोग लाग्न सक्छ।
अनुसन्धान टोलीले हुक्का प्रयोग गर्ने १ सय ५ जना र प्रयोग नगर्ने १ सय ३ जनाको पिसाबमा बेन्जिनको एक स्वरूप एस– फिनायलमरक्याप्चरिक एसिड (एसपीएमए) जाँच गरेको थियो। जसअनुसार हुक्का प्रयोग गर्नेहरूको पिसाबमा एसपिएमएको मात्रा ४.२ गुणाले बढको देखियो। अर्कोतर्फ हुक्का प्रयोग गर्नेहरूको समूहमा बसेका धूमपान नगर्नेहरूको पिसाबमा समेत २.६ गुणाले एसपीएमए बढेको थियो।
विशेषज्ञले भनेका छन्– हुक्कामा प्रयोग हुने तम्बाकु (सूर्ती) शिशामा पनि त्यही कार्सिनोजेनिक तत्व हुन्छ, जुन सिगरेटको तम्बाकुमा पनि हुन्छ। युसिएलका शोधकर्ताले हुक्का पिउनेमा कम अवधिमा मुटुको बिरामी हुने उत्तिकै सम्भावना हुने गर्छ जति धूमपान गर्नेमा हुन्छ।
ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित अध्ययनमा भनिएको छ कि, हुक्कामा प्रयोग गर्ने तम्बाकुमा फल र केन्डी जस्तै फ्लेवर हुने गर्छ। प्रमुख शोधकर्ता मेरी रेजाक हानाका अनुसार यही कारणबाट यो युवामा अधिक लोकप्रिय छ। धेरै मानिसलाई लागेको छ कि, विभिन्न फ्लेवरको धुँवा पानीबाट पास भएर फोक्सोसम्म पुग्दा फिल्टर भइसक्छ। यही भ्रमले गर्दा तम्बाकु (सुर्ती) भन्दा सुरक्षित छ बन्ने गलत विश्वास लिन पुग्छन्।
हुक्कालाई धूमपानको रूपमा नलिने युवा धेरै छन्। तर वास्तविकता भने डरलाग्दो छ। विशेषज्ञले बताएका छन्, ‘हुक्कामा तम्बाकुसँगै निकोटिनलगायत तार, कार्बनमोनोअक्साइड, आर्सेनिक, लिड, क्रोमियम, कोबाल्ट, निकेल, एक्रोलिन जस्ता अनेकौं प्राणघातक तत्वहरु रहेका हुन्छन्।
हुक्काप्रतिको भ्रम र सत्य
– हुक्काको कुलतमा सजिलै फसिँदैन भन्नेभ्रम रहेको छ। तर आजकल रेस्टुरेन्टमा हेर्दा युवायुवतीको पहिलो रोजाइ नै हुक्का हुने गरेको छ। नियमित हुक्का प्रयोग गर्ने किशोरकिशोरीको संख्या दिनप्रतिदिन बढ्दो छ।
– हुक्कामा निकोटिन हुँदैन भ्रम रहेको छ। तर हुक्कामा निकोटिन मात्र होइन, विभिन्न क्यान्सरजन्य पदार्थ रहेको अनुसन्धानबाट पत्ता लागिसकेको छ। हुक्कामा सूर्तीलाई तातो बनाई धुँवा उत्पन्न गर्न बलिरहेको चार्कोल प्रयोग गरिन्छ, यसअतिरिक्त अन्य विषाक्त तत्वहरु पनि हुन्छन्।हुक्कामा निकोटिन, तार, कार्बनमोनोअक्साइड, आर्सेनिक, बेन्जिन, लिड, क्रोमियम, कोबाल्ट, निकेल, एक्रोलिन जस्ता अनेकौं हानिकारक तत्व रहेका हुन्छन्।
– हुक्कालाई धूमपान मानिंदैन भन्ने अर्को भ्रम। तर हुक्का चुरोटभन्दा २ सय गुणा बढी हानिकारक हो भन्ने पुष्टि भइसकेको छ। साथै हुक्कामा कार्बनमोनोअक्साइड समेत हुने गरेको तथ्य पत्ता लागेको छ।
– एक हुक्का ४ भन्दाधेरै साथीसँगसेयर गर्न सकिन्छ भन्नेअर्को भ्रमछ। वास्तवमा एउटै हुक्कालाई धेरै जनाले सेयर गर्ने हुनाले यो चुरोटभन्दा झन् विशालु हुने गर्दछ। साथै धेरै जनाले सेयर गर्दा विविध रोगहरुको संक्रमण हुने सम्भावना रहन्छ।
– हुक्काको धुँवाले क्यान्सर लाग्दैन भन्ने ठूलो भ्रम रहेको छ। हुक्काको धुँवामा क्यान्सर गराउने बेन्जिन, तार, कार्बनमोनोअक्साइड, आर्सेनिक तथा अन्य क्यान्सर जन्माउने तत्वहरु रहेको हुन्छ।
– हुक्काको असर दीर्घकालीन हुँदैन भन्नेअर्काे भ्रम रहेको छ।सूर्तीजन्य पदार्थहरुले जस्तै हुक्काले पनि दीर्घकालीन असर गर्दछ। जस्तै दम, मुटुसम्बधी रोग, श्वासप्रश्वाससम्बन्धी रोग, मुख, घाँटी, पेटकोक्यान्सर, पल्मोनरी इन्फेक्सनजस्ता दीर्घकालीन रोगहरु लाग्ने सम्भावना हुक्का प्रयोग गर्नेहरुलाई हुन्छ।
आजको युवापिँढीले पिएको चुरोट र हुक्काको धुँवाले भोलिको पुस्तालाई समेत रोगी बनाइरहेको छ। सरकारी तथा गैरसरकारी सबै तह र तप्काका व्यक्ति तथा संस्थाहरुले सबै प्रकारका धूमपान तथा मध्यपानको कुलतमा नलाग्न र कुलतमा परेकाहरुलाई छुटाउन समयमै ध्यान दिन जरुरी छ।
समयमै सचेत होऔं, रोग लाग्नबाट बचौं!