काठमाडाैं– म खोटाङको एउटा सामान्य परिवारमा जन्मिएको व्यक्ति। अन्य नेपाली युवाजस्तै म पनि गत वैशाखमा धन कमाउन मलेसिया गएको थिएँ। मलेसियामा एक होटलमा कुकको काम गर्दै थिएँ। काम पनि ठिकै चल्दै थियो।
कमाइ पनि राम्रै हुन्थ्यो। होटलमा बस्ने व्यवस्था थिएन। तर होटलले सबै स्टाफलाई बस्ने कोठाको व्यवस्था भने गरेको थियो। दिनभरि काम गरेर राति हामी कोठामा आराम गर्न आउनुपथ्र्याे।
६ महिनासम्म यसरी नै चलेको थियो। काम पनि राम्रै चलेको थियो। सधैंजस्तै दसैंको फूलपातीको अघिल्लो दिन पनि आफ्नो काम सिध्याएर राति कोठामा जाँदै थिएँ। कोठामा जाँदा बाटो काट्दै थिएँ। अचानक बाइकले ठक्कर दियो। म बेहोस भएछु। होसमा आउँदा मलेसियाको एक अस्पताको बेडमा थिएँ। दुवै खुट्टामा ब्यान्डेज गरिएको थियो भने टाउकोमा पनि औषधि गरेर पट्टि लगाइएको थियो।
पछि बुझ्दै जाँदा थाहाँ भयो, बाइकले हानेर मेरो दुवै खुट्टा भाँच्चिनुका साथै टाउकोमा पनि चोट लागेको रहेछ। खुट्टा भाँच्चिएको थाहा पाउँदा धेरै रोएँ। अब कसरी काम गरेर खाने होला भनेर चिन्ता पर्यो।
खुट्टामा भाचिएको थाहा पाउनासाथ मेरो परिवारले नेपाल झिकाउने धेरै प्रयास गर्नुभयो। तर मलाई नेपाल झिकाउन धेरै गाह्रो भयो। एक महिनापछि मेरो भिनाजु आफैं मलेसिया गएर मलाई लिएर आउनुभयो।
गएको कात्तिक २६ गतेदेखि म राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गर्दै आएको छु। अहिले टाउकोको चोट पनि निको भएकोे छ भने एउटा खुट्टाको अपरेसन भइसक्यो। अर्को खुट्टाको अपरेसन गर्न डाक्टरले शुक्रबारको समय दिनुभएको छ।
यो एक महिनाको बसाइमा मेरो श्रीमतीले रेखदेख गर्दै आएकी छन्। सरकारी अस्पताल भएर पनि यो अस्पताल अन्य अस्पतालको तुलनामा धेरै राम्रो रहेछ। तर कहिलेकाहीं दुःख पनि पाउनुपर्छ। कहिले अस्पतालमा औषधि पाइँदैन भने कहिले अस्पतालका कर्मचारीहरु झर्किएर बोल्नुहुन्छ। सायद धेरै बिरामी हेर्नु परेकाले पनि होला। त्यही कुरा राम्रोसँग सानो स्वरमा भने पनि बुझ्ने थियौं जस्तो लाग्छ।
अझै कति दिन लाग्ने हो थाहा छैन। हामी बिरामी त बेडमा बस्छौं। लुगा ओड्छौं, तातो हुन्छ तर कुरुवालाई धेरै सास्ती छ । एउटा म्याट भुइँमा ओछ्याएर सुत्नुपर्ने बाध्यता छ। बिरामी कुरुवा नै चिसो लागेर बिरामी पर्ने हो कि भन्ने चिन्ता लाग्छ। यो मेरो मात्र समस्या होइन, सबै बिरामी कुरुवाको समस्या हो।
-(सिर्जना खत्रीसँगको कुराकानीमा आधारित)