स्वास्थ्य व्यवस्थापनमा सक्षम नेतृत्व नै गुणस्तरीय स्वास्थ्य सेवाको पूर्व-सर्त हो। विद्यमानऐन/कानूनअनुसार स्वास्थ्य सेवालाई ५० भन्दा बढी समूह/उपसमूहमा विभाजन गरिएको छ। नेतृत्वदायी भूमिकामा फरक-फरक सेवा समूहका कर्मचारी रहने गरी पद सृजना गरिएको छ। सोहीअनुसार लोकसेवाले कर्मचारी छनोट गरी सिफारिस गर्ने गरिएको छ। सुरुमा सेवा समूह मिल्ने पदमा पदस्थापना भएतापनि कामकाज गर्नेगरी जुनसुकै पदमा पठाउने प्रचलन पनि उतिकै व्याप्त छ।
सेवा अन्तर्गतका कुन महाशाखा/केन्द्रमा कुन समूहको प्रमुख हुने भन्ने स्पस्ट व्यवस्था भएपनि यसलाई लागू गर्न नसकिएको अवस्था छ। यसैकारण अहिलेको अवस्थामा कुनै पनि निकायको प्रमुखको जिम्मेवारी सम्हाल्नु भनेको 'म्युजिकल चेयर'जस्तै हुन्छ। गीत बजिरहन्छ, कुर्सी ओगट्न नसक्नेले बाहिरिनुपर्छ, चाहे ऊ विज्ञ नै किन नहोस्। म्युजिकल चेयरमा गीत बज्न छोडेजस्तै दुई तीन महिनामा एउटा प्रक्रिया बन्द हुन्छ, जसले सक्छ ऊ त्यो चेयरमा आसीन हुन पुग्छ।
बारम्बार महाशाखा/केन्द्रमा हुने नेतृत्व परिवर्तनले स्वास्थ्य क्षेत्रको समग्र व्यवस्थापनलाई कमजोर र निस्प्रभावी बनाएको देखिन्छ। किनभने महाशाखा प्रमुखले २-३ महिनामा बल्लतल्ल कार्यविवरण बुझी आफ्नो क्षमतालाई प्रयोग गर्न थालेको मात्र के हुन्छ, फ्याट्ट सरुवा भैहाल्छ।
सेवा समूह/उपसमूहलाई ख्यालै नगरी 'म्युजिकल चेयर' प्रणाली अनुरुप हुने नेतृत्व परिवर्तनले स्वास्थ्य सेवा ऐन/नियमावलीमा भएको समूह/उपसमूहको व्यवस्थाको औचित्यतामाथि प्रश्न तेर्स्याएको छ। उच्च-पदस्थ कर्मचारीहरू म्युजिकल चेयर प्रतिस्पर्धामा आ-आफ्नो शक्ति प्रदर्शनमा केन्द्रित देखिन्छन्। यो एक कसिमको दीर्घरोग नै बनिकसकेको छ।
तर यसको पनि उपचार हुँदै नभएको चाँहि होइन। म्युजिकल चेयर प्रणालीलाई निस्तेज पार्न ४-४ वर्षे कार्यकालको व्यवस्था ऐनमै गर्न सकिन्छ। यसका साथै सेवा समूह/उप-समूहबीचको द्वन्द्व समाप्त गर्न एघारौं तहमा दुई मात्र समूह राख्न सकिन्छ।
१. प्रसाशन तथा व्यवस्थापकीय समूह
यो समूहका कर्मचारीले विभाग, महाशाखा, केन्द्र, निर्देशनालय, स्वास्थ्य कार्यालय, अस्पतालजस्ता निकायको नेतृत्व गर्न सक्ने व्यवस्था गर्न आवश्यक छ। हाल रहेका हेल्थ इन्सपेक्सन, पब्लिक हेल्थ एडमिन्ट्रेसन, मेडिकल जनरलिस्ट, जनरल हेल्थ सर्भिसेज, मेडिकल सुपरिटेन्डेन्ट, स्वास्थ्य शिक्षा, एकीकृत चिकित्सा आदिलाई राख्न सकिन्छ।
यी क्षेत्रमा काम गर्ने कर्मचारी उल्लेखित संस्थामा जहाँ पनि जान सक्ने गरी व्यवस्था गर्न जरुरी छ। जस्तै: मेडिकल सुपरिटेन्डेन्ट महाशाखा प्रमुख हुनसक्ने र हेल्थ इन्सपेक्सनका जनस्वास्थ्य प्रसाशक अस्पताल प्रमुख हुनसक्ने अवसर प्राप्त हुन्छ। यस्ता पदहरूमा पदपूर्ति गर्दा चिकित्सा विज्ञानमा विशेषज्ञलगायत सबै पृष्ठभूमिका कर्मचारीलाई अवसर दिएमा प्रतिस्पर्धा हुन गई उत्कृष्ट कर्मचारी छनोट हुने सम्भावना बढ्छ। यसका धेरै फाइदा हुन सक्छन्। समूह/उपसमूहबीचको टकराव कम भई सर्व-स्वीकार्य नेतृत्वनिर्माण हुन सक्छ। संयुक्त प्रतिस्पर्धामा पछाडि परेकाले अगाडि जानेलाई सजिलै स्वीकार्ने अवस्था सृजना हुन्छ।
२. विशेषज्ञ तथा विशिष्टीकृत सेवा समूह
चिकित्सा विज्ञानमा विशेषज्ञ क्षमता हासिल गरेका स्वास्थ्य क्षेत्रका जनशक्तिलाई यस समुहमा राख्न सकिन्छ। यो समूहमा आवश्यकताअनुसार उप-समूह राख्न सकिन्छ। उदाहरणका लागि बालरोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ, न्युरोलोजिस्ट, युरोलोजिस्टइत्यादि।यस समूहमाउपसमूह बनाउन सकिन्छ।यस समूहका जनशक्तिले विशेषज्ञ तथा विशिष्टीकृत सेवा प्रदान गर्छन् र आवश्यकताअनुसार अस्पताल प्रमूख वा विभागीय प्रमुखको भूमिकामा नेतृत्व समेत प्रदान गर्न सक्छन्।
केही चिकित्सक तथा अन्य विशेषज्ञ स्वास्थ्यकर्मीहरु समेत प्रशासन तथा व्यवस्थापकीय भूमिकामा काम गर्न रुचाउने हुन सक्छन्। विशेषज्ञ स्वास्थ्यकर्मीलगायत सबै पृष्ठभूमिका कर्मचारीहरुलाई 'प्रसाशन तथा व्यवस्थापकीय समूहमा' प्रतिस्पर्धा गर्ने अवसर दिनु मनासिब हुन्छ।प्रतिस्पर्धामा जो अगाडि आउँछ, उसले नेतृत्व पाउँछ।
संघीयता कार्यान्वयनलाई एउटा अवसरको रुपमा प्रयोग गरी कार्यान्वायनमा आउन लागेको संघीय निजामती ऐन तथा नियमावलीमा उपरोक्त व्यवस्था गर्न सकेमा म्युजिकल चेयरप्रणाली तथा समूह/उपसमूह बीचको टकरावबाट सृजित स्वास्थ्य क्षेत्रको दीर्घरोगबाट मुक्त गर्न सकिन्छ। यसले शान्ति र सुरक्षाजतिकै संवेदनशील स्वास्थ्य क्षेत्रमा सक्षम नेतृत्व सृजना गर्दछ।
(शर्मा जन-स्वास्थ्य चिकित्सक हुन्।)