सरकारी अस्पतालहरुमा बेवारिसे बिरामी एउटा समस्याका रुपमा रहँदै आएका छन्। नेपाल प्रहरी, संघ संस्था, नागरिक समाजर समाजसेवी व्यक्तिको पहलमा विभिन्न ठाउँबाट बिरामी अवस्थाम उद्घार गरी स्वास्थ्य उपचारका लागि अस्पताल पुर्याइने गरिन्छ । उपचारका लागि ल्याइनेमध्ये धेरुै सडकमा जीवनयापन गरिरहेका अनाथ, अपाङ्ग, अशक्त, असहाय, वृद्ध–वृद्धा तथा मानसिक असन्तुलनको शिकार रहेकाहरु हुन्छन् । उपचारपश्चात् उनीहरुलाई पठाउने ठाउँ हुँदैन । कतिको घर र परिवार नै हुँदैन भने कतिको पत्ता नै लाग्दैन । यसले उनीहरुको मनोविमर्श, संरक्षण, सामाजिकीकरण, पारिवारिक र सामाजिक पुन:मिलन, पुन :स्थापना तथा पुन:एकीकरण हुन सकेको छैन।
त्यसैले यस्ता व्यक्तिहरु लामो समयसम्म अस्पतालहरुमै आश्रय लिँदै आएका छन् । जो देशभरका अस्पतालहरुमा उल्लेख्य संख्यामा रहेका छन् । उनीहरु लामो समयसम्म अस्पतालकै शैयामा बसिरहँदा नयाँ आउने बिरामीहरुको तथा उपचाररत अन्य बिरामीहरुको व्यवस्थापनमा समस्या पर्नेे गरेको छ । अस्पतालका स्वास्थ्यकर्मीहरु माथि उल्लेखीत व्यक्तिहरुको स्वयंसेवा तथा सेवा सुश्रुषामा अधिकांश समय खट्नुपर्ने अवस्थाका कारण पनि अन्य बिरामीहरुको व्यवस्थापनमा असर पर्ने गरेको छ।
समाधानहरु
- सडकमा रहेका अनाथ, अपाङ्ग, अशक्त, असाहाय एवं मनोरोगीको एकीन तथ्याङ्ग संकलन गर्ने अवस्था अध्ययन गर्ने ।
- स्वास्थ्योपचार, मनोविमर्श, पारिवारीक पुनर्मिलन लगायतका सूविधा भएका वेवारिसे गृहहरु ७७ वटै जिल्लामा तत्कालै स्थापना गर्ने । त्यस्ता गृहहरुमा विशेषज्ञ चिकित्सकको घुम्ती टोली बेलावखत पठाउने ।
- संविधानले हरेक नागरिकको सम्मान पूर्वक बाँच्न पाउने अधिकारलाई मौलिक हकको रुपमा व्याख्या गरेको परिपेक्षमा आवश्यक कानून वनाई खुला आकाशमुनी कष्ठपूर्ण जीवनयापन गरिरहेका व्यक्तिहरुलाई सो गृहमा स्थानान्तरण गर्ने ।
- विभिन्न जीवनोपयोगी, उत्पे्ररणात्मक, प्रेरणादायी एवं रचनात्मक सीपमूलक तालिमको व्यवस्था गर्ने ।
- सुधार पश्चात परिवार खोजि पारिवारीक पुनमिलन गराउने ।
- देशका रेडियो र टि.भि.बाट सूचना प्रशारण गरि सामाजिक पुनःमिलनमा सहयोग पुर्याउँने ।
- राष्ट्रिय मानवता प्रवर्द्धन कोष खडा गर्ने ।
- स्वयंसेवी समूह तयार गर्ने ।
- सडक मानव विहीन नेपाल बनाउने पर्यत्न गर्ने।
- सरकारी अस्पतालहरुमा आएका वेवारिशे विरामीहरुलाई लामो समयसम्म अस्पतालमै राख्नुपर्ने भएको सन्दर्भमा राष्ट्रिय ट्रमा सेन्टर सामाजिक सेवा एकाईले उठाएको मागको सम्वन्धमा वेवारिसे बिरामीको व्यवस्थाको लागि राष्ट्रिय योजना आयोगको संयोजकत्वमा गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र गैर सरकारी संस्थाहरुको बीच समन्वय गरी समस्या समाधान गर्नको लागि (राष्ट्रिय विकास समस्या समाधान समिति) मा पेश गरिएको प्रस्तावलाई कुनै ढिला नगरि अघि बढाउने।
अन्त्यमा, वेवारिसे व्यक्तिहरुको व्यवस्थापन कुनै एउटा निकायले मात्र सम्भव हुँदैन । तसर्थ अन्य सरकारी निकाय, गैरसरकारी सङ्घसंस्था, सञ्चारमाध्यम, नागरिक समाज र सर्वसाधारण सँग समन्वयात्मक वातावरण तयार गर्ने तथा आवश्यक स्थानमा उपचारात्मक सेवा सहितका वेवारिसे गृहहरु निर्माण गर्ने दिशामा अघि बढ्न कानूनी, नीतिगत र संस्थागत व्यवस्थाका लागि राज्यले आफ्नो जिम्मेवारी वोध गर्नै पर्दछ।
(भेटुवाल राष्ट्रिय ट्रमा सेन्टरका सामाजिक सेवा एकाइ प्रमुख हुन्।)