काठमाडौं- नेपाल फार्मेसी संघले सरकारद्वारा गठित औषधि नीति सुझाव समितिको प्रतिवेदनलाई आवश्यक र समयानुकूल रहेको भन्दै स्वागत गरेको छ।
संघले विज्ञप्ति जारी गर्दै औषधि तथा स्वास्थ्य क्षेत्रको सुधारको उद्देश्यसहित प्रस्तुत प्रतिवेदनलाई संघले आवश्यक र समयानुकूल रहेको भन्दै सकारात्मक रुपमा लिएको हो।
'सञ्चार माध्यमहरू, विभिन्न संघसंस्थाहरू र सरोकारवाला निकायबाट उठाइएका सुझाव, प्रतिक्रिया र जिज्ञासालाई नेपाल फार्मेसी संघले गम्भीरतापूर्वक अध्ययन गरेको छ। औषधि तथा स्वास्थ्य क्षेत्रको सुधारको उद्देश्यसहित प्रस्तुत उक्त प्रतिवेदनलाई संघले आवश्यक र समयानुकूल पहलको रूपमा लिएको छ र यसका सन्दर्भमा सकारात्मक स्वागत गर्दछ,' संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
संघले सधैं सर्वसुलभ, गुणस्तरीय र सुरक्षित औषधिको पहुँचलाई प्राथमिकतामा राख्दै बिरामी उपभोक्ता, स्वास्थ्यकर्मी, औषधि व्यवसाय र औषधिको गुणस्तरसँग सम्बन्धित विषयहरूलाई समान महत्त्व दिँदै आएको विषय पनि विज्ञप्तिमा रहेको छ।
औषधिलाई नागरिकको जीवन र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील सेवाको रूपमा लिँदै संघले यसको गुणस्तर, मूल्य र आपूर्ति प्रणालीमा राज्यको जिम्मेवार, प्रभावकारी र उत्तरदायी भूमिका हुनुपर्नेमा जोड दिएको छ।
हेरौं विज्ञप्तिको पूर्णपाठ
