मनमा कौतुहलता बढ्दै थियो। मेरी उनी अर्थात् श्रीमती मायाको कोखमा जुम्ल्याहा बच्चा हुर्कंदै थिए। जिल्ला अस्पातलका डाक्टरले बच्चा जन्माउन गाह्रो हुनसक्ने भएर सुविधासम्पन अस्प्तालमा सुत्केरी गराउनुहोला भनी सुझाव दिनुभएको थियो।
२०७५ मङ्सिर १०। उनी, म र सासू आमा काठमाडौंमा मिस्त्री काम गरी जीवन गुजारा गर्दै आएका भाइ–बुहारीकोमा पुग्यौं। भोलिपल्ट ११ गते सिधै थापाथली प्रसूतिगृहमा उनको भिडियो एक्सरे तथा अन्य जाँच गरायौं। अनि अर्को दिन डाक्टरले रिपोर्ट राम्रै भएको तर उनको प्रेसर अलिकती बढी भएको बताए। डाक्टरले नुन कम खाने, बिहान बेलुका प्रेसर जचाउने र केही अप्ठ्यारो हुन लागेमा तुरन्तै सम्पर्कमा आउन सुझाव दिनुभएको थियो। हामीहरु सुझाव लिएर जोरपाटीको एउटा गल्लीमा भएको कोठामा पुग्यौं।
बेलुकापख ओछ्यानमा पल्टिन खोजेको थिएँ तर निन्द्राले साथ दिएको थिएन। देओस् पनि कसरी? एकातिर आमाको र बच्चाको चिन्ताले सताएको थियो भने अर्कातिर खर्चपानी पुर्याउन समस्या पर्ने देखिएको थियो। गाउँमा खेती–किसानी गरी जीविकोपार्जन गर्ने हामीजस्ताले के नै गर्न सक्थ्यौं र? तर पनि भएको ५ रोपनी जग्गा धरौटी राखी, लैनो भैंसी, बाख्रा अनि सुत्केरीलाई खुवाउनुपर्ला भनी पालेका ३ वटा लोकल कुखुरा बेचेर जम्मा गरेको पैसा लिएर काठमाडौं पसेका थियौं। त्यो पैसाले कति नै दिन पुग्ला भनी सोचमग्न भएको थिएँ। सोच्दसोच्दै बिहानको करिब ५ बजिसकेको थियो।
"बच्चा जन्मिने समय पुस १८ लाई दिए पनि मङ्सिर १३ मा नै उनले तल्लो पेट दुख्न लाग्यो भन्न थालिन्। त्यसपछि हामी थापाथली ल्याउने तयारी गर्दै थियौं। एक्कासि टाउको दुख्यो भन्दै उनको शरीरहरु काम्न थाल्यो, श्वास फेर्न गाह्रो भयो। तुरन्तै नजिकैको मेडिकल कलेज लिएर गयौं। त्यहाँ डाक्टरले बच्चा र आमा दुवैको ज्यान खतरामा रहेको र तुरन्तै अपरेसन गर्नुपर्छ भन्नु भयो।
अपरेसन सुरु भयो तर त्यति नै बेला आमा बेहोस हुनु भएकोले विभिन्न औषधिको प्रयोग र मुखबाट पाइप हाली कृत्रिम श्वासप्रश्वास गराइराखेको जानकारी भयो। साथै बच्चा निस्सासिएर नरोएकोले दुवैको मुखबाट पाइप लगाई श्वास दिन थालियो। आमा र दुई बच्चाको अवस्था नाजुक भएकाले तीनै जनालाई भेन्टिलेटर भएको आइसियूमा राख्नु पर्ने र त्यहाँ एनआइसियू खाली नभएकोले तुरन्तै अन्तै लैजान सल्लाह दिइयो।
हामी एकछिन अत्तालियौं, सासूआमाको आँसुको धारा बग्न थाले। मेरा पनि गहभरि आँसु भरिए। त्यसपछि दुवै बच्चालाई एम्बुलेन्समा राखी ब्यागबाट श्वास दिने गराउँदै नेपालको एक मात्रै सरकारी बाल अस्पतालको इमर्जेन्सीमा पुग्यौं।
गरिब जनताको आशाको भरोसा रहेको त्यस अस्पतालमा सरकारले ध्यान पुर्याउन सकेको रहेनछ। देशका ७७ वटै जिल्लाबाट बिरामी लिएर आउने र सर्भसुलभ दरमा उपचार हुने यस अस्पतालमा जनशक्ति थोरै, आइसियू बेड पनि सीमित मात्र रहेछ। बेड नपाएपछि हामी निरीह भयौं। त्यसपछि एक जना सिस्टरले हामीलाई विभिन्न अस्पताल र त्यहाँको सम्पर्क नम्बर टाँसेको कागज देखाई फोन गरी बुझ्न भन्नुभयो। धेरै प्रयासपछि एउटा प्राइभेट अस्पतालमा बेड खाली भएको जानकारी आयो र हामी कान्तिमा पछि बेड खाली भएपछि पुन: आउने भनी त्यतै लाग्यौं।
यता उनी अझै अचेत नै थिइन्। हे दैव! म गरिबलाई कति दु:ख दिन सकेको भनी एक टक भई सोचिराखें। जीवनमा आउने खुसीहरुमध्ये बुबा बन्ने क्षण पनि एक हो भन्छन् तर यहाँ त तीनै जना जीवन र मृत्युको युद्धमा छन्; म कसरी खुसी हुनसक्थें र? बच्चाहरुलाई त्यहाँ उपचार गरेको तेस्रो दिन मात्रै भएको थियो। बिल भने ६० हजारको आइसकेको थियो।
कान्ति बाल अस्पतालमा दिनहुँ दिउँसो १२ बजे राउन्डपछि बेड खाली छ कि भनेर हामी जाने गर्थ्यौं। संयोगबस भनौं या दैवको चमत्कार, त्यो दिन कान्तिमा एउटा एनआइसियू बेड खाली भएको रहेछ। त्यसपछि प्राइभेट अस्पतालबाट बच्चा निकाली कान्ति अस्पतालमा ल्याउँदा पैसा अपुग भएपछि त्यहाँ अस्पतालमा कार्यरत डाक्टर तथा अन्य सिस्टरहरुले आफैं केही पैसा उठाएर सहयोग गर्नुभयो।
"कान्तिमा एउटा बच्चा एनआइसियू र अर्को बच्चा एनआइएमसियू वार्डमा अतिजोखिम मन्जुरिनामामा हस्ताक्षर गरी राख्ने निधो गरे। उता मेरी उनीको अवस्था त्यस्तै थियो। आँखा भए पनि चिन्न नसक्ने, कान भए पनि सुन्न नसक्ने र मुख भए पनि बोल्न नसक्ने। केवल मेसिनको सहयोगमा श्वास भित्र–बाहिर गरिरहेकी जिउँदो लाश भएर लम्पसार परेकी थिइन्।
आफूसँग भएको पैसा सिद्धिसकेको थियो। यसो बीचमा समय निकालेर होटेलमा भाँडा माझ्दै पैसा जम्मा गर्न खोज्दथे। अनि तीनै जनालाई भेट्न तीनतिर भौंतारिन्थें। रोउँ भनी आसुँ झार्न खोजेको तर बिडम्वना मेरा त आसुँ पनि सुकिसकेका रहेछन्।
अचानक त्यो बेमौसमी समयमा बादल गड्गडायो। मेरी उनीले संसार छोडिसकेकी रहिछन्I यमराजको निम्तो पो आएको रहेछ भन्ने खबरपछि पो बुझें। मुटु छियाछिया भयो। म एक्लो भएँ, मेरा सन्तान टुहुरा भए। मनलाई थामेर उनको पार्थिव शरीरलाई निकाल्न खोजेको तर अस्पतालको नियम अनुसार उपचार खर्च तिर्न नसकेपछि अर्को समस्या आइपर्यो । फेरि एक जना समाजसेवीको सहयोगमा गाउँमा गई रितपूर्वक काजकिरिया गरियो। यो बीचमा मेरा दुवै बच्चाको हेरचाह कान्ति अस्पतालकै स्टाफहरुले नै गर्नुभएको थियो।
"१३औं दिन उनको र मेरो मायाको निसानीको अवस्था के कस्तो छ भनी कान्ति अस्पतालका एक चिकित्सकलाई काठमाडौं आउनुअघि सोधी हेरें। उहाँको जवाफ सुनेर मेरो हारिसकेको थकित मन फेरि उजागर भएर आयो। अहिले दुवै बच्चामा क्रमिक सुधार आएको छ रे। अबको केही दिनमा घर लिएर जान मिल्छ रे।
मेरो जिन्दगीको यो मोडमा साथ दिने विशेषगरी दोस्रो आमाको भूमिका निर्बाह गर्ने कान्ति बाल अस्पताललाई, अनि रात दिन नभनी, अफ्ठ्यारो झिझो-झर्को नमानी साथै मेरा सन्तानको क्रमिक सुधारमा खुसी भइइदिने एनआइएमसियू–एनआइसियू–इआरका सम्पूर्ण आदरणीय व्यक्तित्वहरु, त्यस्तै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा साथ दिने सम्पूर्ण सहयोगी हातहरुलाई यो अभागीले धन्यवाद टक्र्याउन चाहन्छु। कान्ति अस्पतालको आमारुपी स्वरुपलाई सलाम छ।"
यति भनेर ती दाजुले आफ्नो मनको भारी बिसाएI
माथि लेखिएको कथा एक सत्य घटनामा आधारित छI कथाको पात्रसँग गरिएको कुराकानीको सम्पादित अंश हो। यो त केवल एउटा उदाहरण मात्रै हो। देशकै बाल उपचारको केन्द्र रहेको हाम्रो यस कान्ति बाल अस्पतालले निकै नै राम्रो सम्भावना बोकेको छ। यहाँका कर्मचारीहरुले तन, मन र धन अनि आफ्नो ज्ञान–क्षमताले भ्याएसम्म सहयोग गर्ने गरेका छन् तर सीमित स्रोत, सीमित जनशक्ति र सीमित बेडमा काम पनि सीमित नै हुनेरहेछ। गरिब दीनदु:खी, भोका, नाङ्गाको आशाको केन्द्रबिन्दु भएको यस अस्पताललाई सम्पूर्ण सरोकारवालाले ध्यान दिनु जरुरी छ। आउनुहोस्, हामी सबै मिलेर यस अस्पताललाई अघि बढाउन सक्दो सहयोग गरौं।
धन्यवादI
-(लेखक डा बिक कान्ति बाल अस्पतालका आवासिय चिकित्सक हुन्)