पहिलेको तुलनामा देशभरिको स्वास्थ्य प्रयोगशालाको स्थिति हेर्ने हो भने सुधारोन्मुख नै भन्न सकिन्छ। अन्तर्राष्ट्रिय मापदण्ड आइएसओ स्ट्यान्डर्डहरु जुन छन्, तिनीहरुको तुलनामा हामी पछाडि नै छौँ। तर काठमाडौंभित्र हेर्ने हो भने अन्तर्राष्ट्रिय स्तरका प्रयोगशालाहरु आइसकेका छन्।
तर कागजमा लेखिएको जुन मापदण्ड छ, त्यसलाई धेरैले टेरेको पाइँदैन। पछिल्लो समयमा म मोफसलका विभिन्न अस्पतालको ब्लड बैंक र प्रयोगशाला अवलोकनमा गएको थिएँ। धेरैमा जनशक्तिको अभाव रहेको पाएँ भने प्रयोगशालका भवन पुराना भइसकेको अवस्थामा थिए। त्यसैगरी अस्पतालहरुमा प्रयोगशाला व्यवस्थित नभएको र उपकरणहरु बिग्रिएको अवस्थामा भेटिए। कतिपय ठाउँमा टेस्टको मूल्यसूची कहीँ टाँसिएको, कहीँ नटाँसेको पाइयो। त्यसमाथि उपकरण पनि अपुग थिए।
जनकपुर अञ्चल अस्पतालमा साढे ३ सय बेडको क्षमता छ। त्यहाँ प्रयोगशालको काम पनि धेरै हुन्छ तर जनशक्ति चाहिँ कम छ। अझै पुरानो दरबन्दीको छ। वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल पुग्दा सामान्य रुपले व्यवस्थित राख्न सकिने चिज पनि राम्ररी राखिएको देखिएन। प्रयोगशालामा प्रयोग हुने समान पनि भुइँभरि असरल्ल थिए, मेसिनहरु बिग्रेका थिए। बिग्रेका मेसिन बनाउन पनि कुनै पहल भएको देखिएन। अञ्चल अस्पतालहरुमा पहिला चलेको माइक्रोबायोलोजी सेवा बन्द भएको पनि पाइयो। धेरैमा जनशक्तिको कमी भएको पाएँ।
प्रयोगशालाको गुणस्तर सुधार्नका लागि लगानी छैन। लगानी नै नभए गुणस्तरको मापन र आशा कसरी गर्ने ? बजेट पनि यसका लागि अपुग छ। गुणस्तर तीन चीजमा भर पर्छ, प्राविधिक, उपकरण अनि क्वालिटी सिस्टम। यी तीनैलाई व्यवस्थित रुपमा लगियो भने गुणस्तर मेन्टेन हुन्छ। सरकारले जसरी स्वास्थ्यका अरु क्षेत्रमा थोरै–थोरै भए पनि बजेट छुट्याएको छ, प्रयोगशाला गुणस्तर सुधारका लागि पनि छुट्याउन आवश्यक छ।
वर्गीकरणमा परेका प्रयोगशालामा जाँदा विश्वस्त हुने अवस्था छ। हुन त कुनै पनि प्रयोगशालाको अर्को प्रयोगशालासँग दुरुस्त परिणाम मिल्छ भन्ने पनि छैन। किनकी उमेर, लिंग, समय, वातावरणले परिणाम धेरथोर परिवर्तन गरिदिन्छ तर परिणामको फरक ३ प्रतिशतभन्दा माथि हुनु हुँदैन। त्यसमाथि गलत परिणाम आउने कुरामा १ प्रतिशतमाथि हुनु हुँदैन।
गल्ली–गल्लीमा गैरकानुनी रुपमा खुलेका धेरै प्रयोगशालाले जनतालाई ठगिरहेका छन्। त्यस्ता प्रयोगशालाले राम्रो सेवा दिँदैनन्।
हरेक प्रयोगशालाले मेसिनहरु आफ्नो आवश्यकताअनुसार समय–समयमा क्यालिबेरेसन गरेको हुुनुप¥यो। मेसिनलाई क्युसी रिफेरेन्स मेटेरियलले रन गरेको हुुनुप¥यो। त्यसलाई चलाएर बिहान कागजमा लेखिनुपर्छ। जस्तैः उच्च रक्तचाप भनेको कतिसम्म हो ? लेखिएको हुनुपर्छ।
हामीले अनुगमन तथा निगरानीका लागि प्राविधिक र प्रशासनिक स्टाफहरु मिलाएर गर्छौं। विभिन्न जिल्लामा खटाएका छाँै। प्रतिवेदन आउन बाँकी छ।
दर्ता नभई खुलेका प्रयोगशालालाई सालैपिच्छे दर्ता हुन आउनुस् भनेर आह्वान गर्छौं। सरकारीलाई त गर्छौं नै, प्राइभेटलाई पनि दर्ता भइसकेकालाई अनुगमन गर्छौं।
ल्याबको अवस्था सुधार गर्नका लागि नीति बनेको छ। निर्देशिकाभन्दा माथिल्लो कानुन नै बनाउनुपर्छ। नियमावली बनाउनुपर्छ। रक्तसञ्चार सेवामा पनि कानुन बनाउनपर्छ।
आइएसओ १५१८९ अन्तर्राष्ट्रिय मापदण्ड हामीले पनि फलो गर्नुपर्ने हो, त्यसमा पुग्नको लागि धेरै पूर्वतयारी गर्नुपर्छ। हामी त्यसको तयारी गर्दैछाँै।
(राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा उप्रेतीसँगको कुराकानीमा आधारित)