आज जन्मघर घर बुढो भएको छ। मझेरीको कुनामा गुन्द्रीमा राखेर तोरीको तातो तेलमा मसाज गर्ने हजुरआमा थाकेकी छन्। निष्क्रिय भएकी छन्। दमको रोग बढेको छ। निधारमा हात राखेर मृत्यु कुरेर बसेकी छन् हजुरआमा।
रातो माटोले आँगन नलिपेको पनि वर्षौं भएछ। आँगनको छेउमा लेउ टाँसिएका छन्।
बुढेसकालमा साहारा भनी जन्माएको सन्तान विदेशीएका छन्। टिलिक्क टल्किएका घर बाटोमा बुहारी/ज्वाइसँग मस्त छन्। गाउँको घरमा मक्काएर बसेकी आमा, फगत महिनाकी एक दुई फेर स्मरणकी पाहुना बनेकी छन्।
बिहानै कुखुरा बासेसँगै पञ्चाङ्ग गर्ने कोठामा गाईको गोबरले लिप्न हात लम्कन्छन्, दियो बल्छ अनि दुई दशकअघि बाजे सम्झन्छिन्। अनि आफूलाई पनि चाँडै पुनर्मिलन गरिदेऊ भनी भगवानसित बिलौना गर्छिन्। आस्थाको घन्ट बजाउँछिन्, धुप बाल्छिन्। थरथर काँपेका हात र रित्तो गोडा, आँखाबाट झर्दै गरेका आँसु हजुरआमाका पर्याय बनेका छन्।
ढलपल गर्दै हजुरआमाका गोडा भान्छा कोठामा चिया बसाल्न लम्कन्छन्। कुनै बेला खसमले लैनो भंैसीको दुध मधेर मोही पारेको सम्झन्छिन्। त्यसपछि आजसम्म चियाको सर्को परेको छैन उनको मुखमा।
विदेशमा रहेका छोराहरूले ल्याइदिएको ग्यास बाल्दै फिक्का चिया बनाउन थाल्छिन्।
‘पापी पेट पाल्नै पर्यो,’ हजुरआमा गुनगुनाउन थाल्छिन्, ‘खाना के पकाउने, दाल उमालुँ कि, तरकारी पनि बनाउँ कि?’
तर भाँडामा न दाल हुन्छ, न बोरामा चामल। हजुरआमा निराश हुन्छिन्।
पिँढीमा आउँछिन् र हातमा फिक्का चिया पिउँदै उदाउँदै गरेको घाममा न्यानो पनको महशुस गर्छिन्।
सबै जना टाढा भएपनि त्यो मधुर बिहानी र सुकोमल सौर्य उर्जा हिजो जस्तै थियो आज पनि उस्तै छ।
सबै जना टाढा भएपनि त्यो टाढाको चिज भने नजिक भएको छ।
घर छेबैको डहरमा छिमेकीका नाति नातिना दौडिएको आवाज सुन्दा हजुर आमालाई भक्कानो उठ्छ। तर, हिजो मात्र छोराले पठाइदिएको मोबाइलमा नातिको आवज सुनेको सम्झँदै मन सम्हाल्छिन्।
आँगनको डिलमा धान खान आउने ढुकुर अनि भंगेरा आजभोलि देखिन्नन्। आऊन् पनि कसरी? आँगनमा मान्द्रो भरि धान सुकाउने रमाइला दिन रहेनन्। आजकल अन्य बिष्कुनको त कुरै छाडौँ। धानका वियो झुण्डिएका अजङ्गको परालको टौआ छैनन्।
बेलुकी घाम अस्ताउँछ । हजुरआमाको अनुहार पनि अस्ताउँछ। हजुरआमाको आशा पनि अस्ताउँछ।
पाको उमेरसँगै बढेका रोग र समस्या भने झनै उदाउँदै जान्छन्।
वर्षौंदेखि विदेशीएका छोरा छोरीको पर्खाइमा दिन बिताइन् हजुरआमाले। अब उनले पर्खन छाडेकी छन्, छोराछोरीलाई। उनको एउटै प्रतीक्षा र आशा छ,‘त्यो डाँडामाथिको घामले एकदिन मलाई पनि सँगै लैजानेछ।’
हजुरआमा आँखा चिम्लन्छिन्, अनि रात पर्छ।