केही समयअघि एक विश्वविद्यालयका उपकुलपति भइसकेका प्राध्यापकले छलफलका क्रममा प्रश्न उठाउनुभयो, ‘विद्यालय शिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीको रोजाइ चिकित्सा हुन्छ। तर, चिकित्सा क्षेत्रको अवस्था किन दयनीय बन्दै गइरहेको होला?’
उक्त छलफलमा चार जना अन्य प्राध्यापक पनि हुनुहुन्थ्यो। उहाँहरुले थप्दै जानुभयो, ‘एसियाकै कुरा गर्दा चिकित्सा शिक्षा अध्ययन विद्यार्थीको प्रमुख रोजाइ हुन्छ। उत्कृष्ट अंक ल्याउनेमध्ये ९० प्रतिशत चिकित्सा क्षेत्रमा छन्। तर, चिकित्सक काम गर्ने थलोको अवस्था हेर्ने हो भने त्यस्तो देखिँदैन।’
छलफल गहन हुँदै गयो। निचोड मुश्किल थियो। छलफलले मेरो मनमा प्रश्न उब्जायो, ‘साँच्ची गुणस्तरीय कच्चा पदार्थको उत्पादन चाहिँ ‘कमसल’ कसरी भइरहेको छ ? अर्थात् मेधावी विद्यार्थीहरुले अपनाएको पेशा किन समस्याग्रस्त बन्दै गइरहेको छ?’
यो प्रश्नले मेरो दिमागमा लामो समय डेरा जमायो। धेरैपल्ट यसको उत्तर पहिल्याउन खोजेँ तर सकिनँ। त्यसपछि फेरि यसलाई बहसमै ल्याउन कर लाग्यो। यसको उत्तरका लागि बहसको प्रारम्भ गर्नकै निम्ति आफ्ना अनुभूतिहरु प्रस्तुत गर्न थालेँ।
चोरऔंला अरुतिर सोझ्याउँदा चार औंला आफैंतिर फर्किन्छन्। त्यसैले आफैंतिर अर्थात् हामी चिकित्सकहरुतर्फ नै औंला तेस्र्याउँदै छु आज। हामी आफैंले आफैंलाई सोध्नुपर्छ, ‘के शैक्षिक रुपमा राम्रो अंक ल्याउने व्यक्ति व्यावहारिक रुपमा पनि सक्षम हुनसक्छ?’
तीक्ष्ण दिमाग भएकाहरुले चिकित्सा रोजेका छन्। ती व्यक्तिबाट सानैदेखि घरपरिवारले मात्रै होइन, छरछिमेक, आफन्त र समाजले अपेक्षा गरेको हुन्छ। परिवारले आर्थिक उन्नतिको अपेक्षा गर्ला तर बाँकी समाजले सुधारका मार्गमा अगुवाइको अपेक्षा गरिरहेका हुन्छन्। तर, चिकित्सकहरु समाजको यो अपेक्षाबाट आफूलाई छुट्याएर छुट्टै समाज पो बनाउन थाल्यौं कि ! व्यक्तिगत स्वार्थमा केन्द्रित भएका कारण समाजको बाँकी क्षेत्रले हामीप्रति फरक व्यवहार गर्न थालेका हुन सक्छन् भन्ने कुरामा हामीले हेक्का राख्नैपर्छ।
समाजलाई सही बाटोमा लगाउने वर्गको नेतृत्व गर्नुपर्ने चिकित्सा वर्ग व्यक्तिगत लाभका लागि राजनीतिक रुपमा ध्रुवीकरण भइरहेका छौं। हामी राजनीतिक आधारमा विभाजन हुने होइन, राजनीतिक शक्तिलाई खबरदारी गर्ने हैसियतमा हुनुपथ्र्यो। मेधावी विद्यार्थीहरु मात्रै रहेको पेशाकै व्यक्तिहरुकै मनोबल कमजोर रहेको अवस्था छ। समाजको नेतृत्व गर्न सक्षम हामीहरु आफ्नै आफ्नै बिनासुवास खोजेर भौँतारिइरहेको कस्तुरी जस्ता भएका छौं।
चिकित्सा शिक्षा वा पेशा सुधार जरुरी रहेको महसुस धेरैले गरिरहेका छौं। समकालिन साथीहरु पनि सुधार जरुरी छ भन्छन्। अग्रज प्राध्यापकहरु चिकित्सा क्षेत्रको अवस्था पहिले जस्तो रहेन भन्नुहुन्छ। कहीँ न कहीँ हामी असन्तुष्ट छौं। जे भइरहेको छ, सही भइरहेको छैन भन्ने आत्मस्वीकृतिमा छौं। मेधावीहरुको भीड भएको क्षेत्रमा सुधार अरुले गरिदेला भन्ने अपेक्षा व्यर्थ हो।
संसारमा धेरै देशका उदाहरण छन्। जहाँ चिकित्सकले नेतृत्व गरेर देश कायापलट गरेका छन्। धेरै देशमा त्यस्ता उदाहरण छन्, जुन देश बनाउने खाका राजनीतिज्ञलाई चिकित्सकले दिएका छन्। तर, चिकित्सा क्षेत्रका विभिन्न ठाउँ स्वास्थ्य मन्त्रालय होस् कि मेडिकल काउन्सिल, विभिन्न युनिभर्सिटी हुन् कि अस्पतालको नेतृत्व गरिरहेकाहरु, आफ्नो पद टिकाउन राजनीतिज्ञका गलत कदममा पनि कदम मिलाएर हिँडिरहेका छौं।
विद्रोह गर्ने साहस चिकित्सकसँग हुनुपर्छ। किनभने यो पेशा संवेदनशील मात्रै होइन, अहिले नेपालमा ‘बार्गेनिङ पावर’ धेरै भएको पेशा पनि हो। तर, यही कारण अहिले हाम्रो क्षमतामाथि समाजले प्रश्न उठाइरहेको छ। हामी ङिच्च दाँत देखाएर हाँसिरहेका छौं। के तपाईंहरुलाई बेला–बेला यस्तो महसुस हुँदैन?
चिकित्सकका संगठनहरु नयाँभन्दा नयाँ खुलिरहेका छन्। यो चिकित्सा दिमागले खुलेको होइन। राजनीतिज्ञले चिकित्सलाई आफूअनुकूल प्रयोग गर्न बिछ्याएको जाल हो। तर, हामी सजिले उनीहरुको जालमा परिरहेका छौं। राता–हरिया झन्डामुनि आफूलाई राखेर पेशाको मर्यादा पढाइरहेका छौं। यसको परोक्ष प्रभाव तपाईं अस्पतालमा देख्नुहुन्छ। हिजो बाटोमा हिँड्दा पनि श्रद्धाले शीर निहु¥याएर अभिभादन गर्ने मान्छे आज ‘बिरामी बचाइनस् भने ठिक हुँदैन’ भनेर औंलो ठड्याउँछ।
हामी विभाजित भएर कमजोर हुँदैछौं, त्यही कमजोरीमाथि यी औंलाहरु उठिरहेका छन्। यदि हाम्रो मेडिकल काउन्सिल चिकित्साका खराबहरुलाई तह लगाउन सक्षम हुन्थ्यो भने आज अस्पतालमा ‘थ्रेट’ खेप्नु पर्दैनथ्यो। नियामक निकाय कमजोर हुँदा नागरिक आफैं नियामक बन्छ। त्यसको सिधा उदाहरण हो यो। चिकित्साका जिम्मेवार निकायमा रहेकाहरुले सानातिना स्वार्थका लागि गरेका अनियमितताले आज पेशाप्रतिकै दृष्टिकोण वक्र बनाएको छ। विभिन्न समयमा बनाइएका छानबिन कमिटीमा नामको अघि ‘डा’ लागेकाहरु दोषी ठहर भइरहेका छन्। त्यो देश पूरै चिकित्सा क्षेत्रले बेहोरिरहेको छ।
गुणस्तरीय कच्चा पदार्थ मेडिकल कलेज नामक उद्योगमा पठाइएको भए पनि उत्पादन कमसल कसरी भए ? वर्तमान चिकित्सा शिक्षामाथि प्रश्न यही कारण उठिरहेको हो। हाम्रो चिकित्सा शिक्षामा विद्यार्थीलाई उपचार गर्न त दुःखसुख सिकाइन्छ। तर, चिकित्सक बनेपछि समाजकै अंगका रुपमा रहनुपर्छ भन्ने विषय सिकाइँदैन। सबै वर्ग, क्षेत्र र सोचाइका मान्छेहरुसँग सम्बन्धित पेशाका रुपमा लिन सिकाइँदैन। बरु त्यहाँ अर्थोपार्जनका लागि हुने सबै प्रकारका तिकडमको प्रत्यक्षदर्शी बन्नुपर्छ। समाजभन्दा छुट्टै वर्ग निर्माणका लागि अभ्यस्त हुनुपर्छ।
विश्वविद्यालयहरुमा प्राध्यापक होइन, कलेज सञ्चालक हावी हुन्छन्। प्राध्यापकहरु ठगिन्छन्। प्राध्यापकहरुलाई शैक्षिक बहस र अनुसन्धानमा सक्रिय हुने वातावरण छैन। चिकित्सा शिक्षाका विषयमा यसबेला प्राध्यापकहरु खुलेर बोल्न सक्नुपथ्र्यो। तर, उहाँहरु उल्टै विद्यार्थीहरुलाई प्रश्न सोधिरहनुभएको छ। किनभने भने उहाँहरु ब्हसमा उत्रिँदा सही पक्ष समात्नुपर्छ। सही पक्ष समात्दा पनि राजनीतिक रुपमा ध्रुवीकृत गर्ने क्रम बढेको छ। त्यो गन्जागोलभित्र पस्नुभन्दा बाहिरै बसेर रमिते बन्नु जायज ठह¥याइरहनुभएको छ। आइरिस राजनीतिज्ञ एडमन्ड बर्क असल मान्छेहरूको मौनता सबैभन्दा घातक हुन्छ भन्थे, त्यस्तै भइरहेको छ। उनको भनाइ थियो, ‘दुष्टहरूको विजयका निम्ति एउटै चिज आवश्यक हुन्छ, असल मान्छेहरूले केही पनि नगरिदिनु।’
क्लिनिकल अभ्यासमा असाध्यै सक्षम चिकित्सकहरु छन् देशमा। तर, अभाव ‘हेल्थ लिटरेसी’ को हो। अभाव वौद्धिक चिकित्सकको हो। किनभने चिकित्सकहरुलाई समाजले बौद्धिक समूहका रुपमा लिइरहेको हुन्छ। जब आफूले अपेक्षा गरेअनुसार उसको व्यवहार पाउँदैन, तब ऊ रुष्ट हुन्छ। निराश हुनुपर्ने क्षेत्र अरु पनि छन्। तर, अरु क्षेत्रबाट कम निराश हुनुको कारण के हो भने अपेक्षा नै कम छ। समाजले चिकित्सा वर्गलाई ‘बौद्धिक’ ठहर्याउने तर चिकित्सकहरु ‘प्राविधिक’ बढी हुँदै जाने वर्तमान अवस्था एउटा कारण हो कि ? पढेलेखेको हुनु र विद्वान हुनु दुई फरक कुरा हुन्। ती भेद समाज र हामी आफैंले छुट्याउन नसक्दा आजको दिन निम्तिएको पो हो कि !
प्राविधिक रुपमा अब्बल चिकित्सकहरु सरकारी अस्पतालमा टिकाउनसक्ने अवस्था छैन। उनीहरु निजी कर्पोरेट अस्पतालमा छन्। उनीहरुमाथि गरेको लगानीको ध्वाँस देखाएर अस्पताल सञ्चालकले उपचार सेवा महँगो बनाइरहेको छ। तर, बिरामीमाथि भार थपिरहेको छ। व्यापारीले यसरी बिरामीमाथि गरेको अन्यायको सजाय चिकित्सकले पाइरहेका छन्। व्यापारीले बिरामी तान्दा जसरी पनि ठिक पार्ने तहको कुरा गरेर पैसा असुल्छ। उपचार गर्ने चिकित्सकसँग सीमा हुन्छन्। यही समस्याले चिकित्सक बिरामी बीचको खाडल गहिरिँदै गएको हो।
त्यसैले हाम्रो पेशा, हाम्रो क्षेत्र र बौद्धिकतासमेत अहिले संकटमा छ। निश्चित उद्देश्यमा केन्द्रित राजनीतिज्ञ र तिनीहरुसँग साँठगाँठ भएका माफियाको कब्जामा हामी छौं। यसबाट उम्किने बाटो खोज्न हामी लाग्नैपर्छ। संगठित हुनैपर्छ।