मिर्गौला फेल भएकाहरुका लागि सबैभन्दा उत्तम उपचार पद्धति भनेको मिर्गौला प्रत्यारोपण नै हो। एक पटक मिर्गौला प्रत्यारोपण गरेपछि उक्त मिर्गौलाले सँधै काम गर्छ भन्ने हुँदैन। प्रत्यारोपण गरिएको मिर्गौला पनि निश्चित समयपछि फेरि फेल हुन्छ। अमेरिकाको तथ्यांकलाई केलाएर हेर्दा प्रत्यारोपण गरिएको मिर्गौलाले औसतमा १३/१४ वर्ष काम गरेको पाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पनि प्रत्यारोपण गरेको १२ वर्षपछि मिर्गौला फेल भएको छ। अब उहाँको सामु दुई विकल्प छन्। एउटा फेरि मिर्गौला प्रत्यारोपण गर्ने र अर्को नियमित डायलाइसिस गर्ने।
एक पटक प्रत्यारोपण गरेका व्यक्तिको फेरि पनि अर्को मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि फेरि मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ। अमेरिकामा पनि एक लाख जना मानिस मिर्गौला प्रत्यारोपणको पर्खाइमा छन् भने २५ हजार जना प्रधानमन्त्री ओलीजस्तै दोस्रो पटकको प्रत्यारोपण गर्ने हुन्छन्।
मिर्गौला फेल भएकाहरुको हकमा डायलाइसिसभन्दा प्रत्यारोपण फाइदाजनक हुन्छ। डायलाइसिस गरेका ४० प्रतिशत बिरामी ५ वर्ष बाँचेको तथ्यांकले देखाउँछ। यस्तै डायलाइसिस गरिरहेका १७ प्रतिशत मानिस १० वर्ष बाँचेको तथ्यांक छ।
डायलाइसिसको तुलनामा प्रत्यारोपणका मुख्य तीन फाइदा छन्।
पहिलो : बिरामीको जीवन डायलाइसिस गर्नेको तुलनामा धेरै राम्रो र गुणस्तरको हुन्छ।
दोस्रो : डायलाइसिस गर्नेभन्दा प्रत्यारोपण गर्ने तीन गुणा बढी बाँच्छन्। र
तेस्रो : प्रत्यारोपण गर्न महँगो खर्च लागे पनि समग्रमा डायलाइसिसको तुलनामा धेरै कम खर्च हुन्छ।
त्यसकारण डायलाइसिसभन्दा प्रत्यारोपण नै राम्रो हो ।
पहिलो पटक प्रत्यारोपण गरिएको मिर्गौलाको तुलनामा दोस्रो पटक प्रत्यारोपण गरिएको मिर्गौलाले त्यति लामो समय काम गर्दैन। दोस्रो पटक प्रत्यारोपण गरिएको मिर्गौलाले ८/९ वर्षसम्म काम गर्छ।
अमेरिकाको कुरा गर्ने हो भने मिर्गौला प्रत्यारोपण गरेका ५० प्रतिशतको मृत्यु मिर्गौलाले काम गरिरहेको अवस्थामा नै हुन्छ। बाँकी रहेको ५० प्रतिशतको भने प्रत्यारोपण गरेको मिर्गौला फेल भएपछि डायलाइसिस वा अर्को प्रत्यारोपण हुन्छ।
प्रधानमन्त्री ओलीको पनि दोस्रो प्रत्यारोपण गर्ने वा डायलाइसिस गर्ने भन्ने विषयमा छलफल चलिरहेको खबर बाहिर आइरहेको छ। पहिलो पटक प्रत्यारोपण गर्दा उहाँको उमेर ५३/५४ वर्ष थियो। अहिले उहाँको उमेर ६८ वर्षको छ।
त्यसकारण दोस्रो प्रत्यारोपणमा जानुअघि उहाँको सम्पूर्ण स्वास्थ्य जाँच र शरीरका अंगहरुको अवस्था भने हेर्न आवश्यक छ। उहाँको मुटु तथा फोक्सोको अवस्थाका बारेमा जाँच हुनैपर्छ। अझ उहाँमा मधुमेहको समस्या छ भने त त्यसले झन् समस्या निम्त्याउन सक्छ।
यदि उहाँको सबै कुरा राम्रो छ भने मात्र दोस्रो प्रत्यारोपणमा जानु उचित हुन्छ। होइन भने जबरजस्ती प्रत्यारोपणमा जाँदा त्यसले झनै जटिलता निम्त्याउने खतरा रहन्छ।
सामान्य अवस्थामा पनि प्रत्यारोपणको शल्यक्रिया गर्दा जोखिमहरु हुने गर्छन्। प्रत्यारोपण गरेका व्यक्तिमा प्रत्यारोपण गरेको तीनदेखि चार महिनाभित्र हृदयाघात हुने जोखिम तीन गुणा बढी हुन्छ। त्यसकारण प्रधानमन्त्रीको उमेर, उहाँको शरीरको अवस्था सबै कुरालाई मध्यनजर गरेर मात्र अर्को प्रत्यारोपणको निर्णय गर्नुपर्ने हुन्छ।
डायलाइसिसपछिको जीवन
प्रत्यारोपण गर्न नमिल्ने अवस्था रहेछ भने उहाँलाई नियिमित डायलाइसिस नै गर्नुपर्ने हुन्छ। प्रधानमन्त्रीको मनोबल निकै उच्च छ। उहाँ मिर्गौला रोगीहरुका लागि आदर्श नै हुनुहुन्छ। तर प्रत्यारोपणपछिको जीवनको तुलनामा डायलाइसिसपछिको जीवनलाई त्यति राम्रो मानिँदैन। हप्तामा नियमित २ वा ३ पटक डायलाइसिस गर्नुपर्ने हुन्छ। एक पटकको डायलाइसिसमा ४ घन्टा बिताउनुपर्ने हुन्छ। डायलाइसिसभन्दा अघि र पछिको तयारी पनि गर्नुपर्ने हुन्छ।
नियमित डायलाइसिस गर्नुपर्ने अवस्थामा पुगेपछि जीवनशैली नै पूरै परिवर्तन हुन्छ। जसका कारण मानिसको मनोबल गिर्दै जाने, केहीमा त डिप्रेसन नै हुने समस्या पनि निम्तिन्छ। थकाई धेरै लाग्ने, खानामा रुचि नहुने, स्वाद नआउने, शरीर चिलाउने समस्या देखिन्छ।
२४सै घन्टा काम गर्नुपर्ने मिर्गौला फेल भएर डायलाइसिसमा जानु परेपछि मिर्गौलाले गर्ने काम डायलाइसिस मेसिनले हप्तामा ३ दिन मात्र गर्नुपर्ने हुन्छ। अर्थात् हप्तामा १ सय ६८ घन्टा काम गर्नुपर्ने मिर्गौलाले ३ दिनको डायलाइसिसका क्रममा जम्मा १२ घन्टा मात्र काम गरेको हुन्छ। डायलाइसिस भनेको एक प्रकारको कृत्रिम मिर्गौला नै हो भन्दा हुन्छ। यसले मिर्गौलाले गर्ने काम गर्छ। अब १ सय ६८ घन्टा काम गर्नुपर्ने मिर्गौलाले जम्मा १२ घन्टा मात्र गर्नुपर्ने भएपछि शरीरमा विस्तारै खराब तत्वहरु बढिरहेको हुन्छ। र, यसले नराम्रो असर देखाउँदै जाने गर्छ।
त्यसकारण यो समयमा आफूलाई सहज हुने काम गर्न आवश्यक छ। डायलाइसिसमा गइसकेपछि खानपान र जीवनशैलीमा पनि धेरै परिवर्तन गर्नुपर्छ। प्रधानमन्त्रीले पनि डाइटिसियन तथा चिकित्सकहरुको परामर्शअनुसार खानपान र जीवनशैली अपानाउनु पर्छ। डायलाइसिसमा रहँदा धेरै मोटाउनु पनि उचित हुँदैन।
उहाँलाई नियमित डायलाइसिस गर्ने हो भने अस्पतालभन्दा पनि प्रधानमन्त्री निवासमा नै विशेष व्यवस्था गर्नु उत्तम हुन्छ। डायलाइसिस गर्दा कतिपयलाई क्याथेटर राखेर गरिन्छ। तर, क्याथेटरभन्दा फिस्टुला बनाएर गर्नु नै राम्रो हुन्छ। क्याथेटरबाट गर्दा संक्रमणको जोखिम बढी हुन्छ। एक पटक डायलाइसिस गर्दा एक मिनेटमा ४ सय मिलिलिटर रगत शरीरबाट निस्केर डायलाइसिस मेसिन हुँदै पुनः शरीरमा आउनुपर्छ।
एक पटक प्रत्यारोपण गरिएको मिर्गौला फेल भएर पुनः डायलाइसिसमा गएकाहरुमा डायलाइसिसको नतिजाका विषयमा भिन्नाभिन्नै विवरणहरु भेटिन्छन्। क्यानडा र फ्रान्समा गरिएको अध्ययनले पहिला र प्रत्यारोपणपछि गरिएको डायलाइसिसको नतिजामा कुनै फरक नहुने देखाएको छ। यस्तै, अमेरिकामा गरिएको अध्ययनले भने प्रत्यारोपणपछि पुनः डायलाइसिसको नतिजा पहिलाको तुलनामा आधा नराम्रो हुने देखाएको छ।
प्रधानमन्त्री ओलीलाई हेर्दा उहाँ बिरामी जस्तो देखिनुहुन्न। उहाँको फेल भएको मिर्गौला शरीरबाट निकाल्नु हुँदैन। विभिन्न अध्ययनअनुसार फेल भएको मिर्गौलालाई शरीरबाट निकाल्नु भनेको झन् खतरा हुनु हो। उक्त मिर्गौलालाई विगतमा दिइएको औषधिको मात्र घटाउँदै व्यवस्थापन गर्नुपर्छ।
-(डा पराजुली अमेरिकाको युनिभर्सिटी अफ विसकोन्सिन स्कुल अफ मेडिसिन एन्ड पब्लिक हेल्थका एसिस्टेन्ट प्रोफेसर हुन्। उनी युनिभर्सिटीको मेडिसिन विभागअन्तर्गत नेफ्रोलोजी (मिर्गौला) प्रत्यारोपण डिभिजनमा कार्यरत छन्। विश्वचर्चित पुस्तक प्रकाशक कम्पनी स्प्रिन्जरले डा पराजुलीद्वारा सम्पादित पुस्तकसमेत प्रकाशनमा ल्याएको छ।)
यो पनि :