एमबिबिएस उत्तीर्णमध्ये कतिपय नेपाल मेडिकल काउन्सिलको परीक्षामा फेल हुन्छन्। यसका अनेकन कारणमध्ये पठन-पाठन र विद्यार्थी मूल्याङ्कन विधिहरु सम्बन्धित शिक्षण संस्थाले ढङ्ग पुर्याीएर लागू नगरेको हुन सक्छ। यसको निश्कर्ष कमजोर व्यक्तिलाई एमबिबिएस उत्तीर्ण गराइयो भन्ने बन्दछ। त्यसैले यो लेख चिकित्सा क्षेत्रको पठन-पाठन विधिमा केन्द्रित छ।
यदि कुनै एमबिबिएस पढिरहेको विद्यार्थीलाई "के तिमी बिरामी हुँदा तिमीजत्ति नै जानेको डाक्टरले औषधि गरेमा तिमीलाई मन्जुर छ?" भनेर सोध्दा त्यो विद्यार्थीले ‘मन्जुर छैन’ भन्यो भने त्यो विद्यार्थी राम्रो डाक्टर हुने बाटोमा छैन।
पढाउनुको उद्देश्य सिकाउनु हो। अङ्ग्रेजीमा भनिने गरिएको टिचिङ-लर्निङ्लाई हिजोआज चिकित्सा शिक्षाविद्हरु लर्निङ-टिचिङ भन्छन्। अर्थात्, सिकाइ पक्षलाई बढी महत्व दिन्छन् पढाउने पक्षलाई भन्दा। शिक्षकले पढाएपछि विद्यार्थीहरुले सिकेनन् भने त्यस्तो पढाउनुको अर्थ छैन। पढाउँदा विषयवस्तुको अलावा विद्यार्थीहरुले कसरी पढ्ने, बुझ्ने र सिक्ने भन्ने प्रक्रिया समेत सिकाउनु पर्छ। सफल शिक्षक हुन सजिलो छैन भनेर यदि शिक्षकहरुले बुझे भने भावी जनशक्तिको गुणस्तरमा धेरै सुधार आउन सक्छ।
ज्ञान प्रवाहको लागि पहिलेदेखि चलिआएको पढाउने विधि लेक्चर वा भाषणले विद्यार्थीहरुको ठूलो समूहलाई छोटो समयमा धेरै सूचना प्रवाह गर्न सक्छ। यसलाई प्रभावकारी बनाउन यसमा केही क्रियाकलापहरु थपेर कक्षालाई अन्तरक्रियात्मक बनाइन्छ। शिक्षाको शोधकार्यले भन्छ कि कुनै लेक्चर सकिएको तेस्रो दिनमा नै विद्यार्थीहरुको दिमागमा त्यहाँ सुनाइएको (१०० प्रतिशत) मध्ये १० प्रतिशत मात्र बाँकी रहन्छ।
त्यसैले लेक्चरको प्रभावकारिता बढाउनु आवश्यक छ। त्यसको एउटा उपाय हो, विद्यार्थीहरुलाई पढाइने शीर्षकहरुको तालिका बेलैमा दिनु ता कि उनीहरुले लेक्चर अगावै पढेर आउन्। उनीहरुले नबुझेका कुरा लेक्चरमा छोटो-मीठो छलफल चलाउने परिपाटी बसोस्। भाषण सार्थक बनाउने अर्को उपाय कक्षाकोठामा बसेका विद्यार्थीहरुलाई "आफ्नो बगलका साथीसँग जोडी बनाएर छलफल गर" भनेर कुनै एउटा महत्वपूर्ण बुँदामा एक-दुई मिनेटको लागि गुनगुनाउन दिनु हो। जसरी हुन्छ शिक्षकले लेक्चरमा विद्यार्थीहरुको सक्रियता बढाउनु पर्छ। पढाएको कुरो विद्यार्थीले बढी सिक्छन्। साथै शिक्षकले आफ्नो पढाउने सिप तिखार्न सूक्ष्म शिक्षण अभ्यास गर्नुपर्छ। यसमा शिक्षकले एउटा छोटो शीर्षक ५-१० मिनेटमा विद्यार्थीहरुको सानो समूहलाई पढाएको भिडिओ खिचेर आँफूले "कस्तो पढाएछु" भनेर आँफैलाई सुधार्ने उद्देश्यले मूल्याङ्कन गर्छन् अनि वास्तविक कक्षामा पढाउँछन्।
विद्यार्थीहरुको सिकाइ अझ प्रभावकारी बनाउन उनीहरुलाई साना समूहमा विभाजन गरेर छलफल गर्न अवसर दिइन्छ। यसका लागि समस्यामा आधारित सिकाइ विधि प्रचलित छ। यस विधिमा डाक्टरले जीवनमा भोग्नुपर्ने बिरामीको कथा-व्यथाको लिखित दस्तावेज विद्यार्थीहरुमाझ अंश-अंशमा प्रस्तुत हुन्छ। विद्यार्थीहरुले समस्याको शब्द-शब्द केलाएर त्यसलाई बुझ्न आवश्यक विषयवस्तु पढ्छन् र छलफल गर्छन्। समस्याहरुलाई विभिन्न कोणबाट बुझ्ने क्षमताको अभ्यास गर्छन्। त्यसैगरी शिक्षण प्रोजेक्ट वा समुदायमा आधारित सिकाइ विधिहरु प्रयोग गर्न सकिन्छ।
पठन-पाठन सुधार्ने अर्को मुख्य हतियार हो विद्यार्थी मूल्याङ्कन विधिको अवलम्बन। चिकित्सा शिक्षाविद् झं-झाक गिल्बेर भन्छन्- विद्यार्थी मूल्याङ्कनले नै शैक्षिक कार्यक्रमलाई आम रूपमा नियन्त्रण गर्छ। नाम कहलिएका विश्वविद्यालयहरु पाठ्यक्रममा तोकिएका पठन-पाठन र मूल्याङ्कन विधिअनुसार विद्यार्थी पढाउँछन्, परीक्षा लिन्छन् अनि ती विधिलाई अध्यावधिक गर्छन्। तर नेपालका अधिकांश पाठ्यक्रमहरुमा ती विधिहरु उल्लेख गरिए तापनि व्यवहारत: कार्यन्वयनमा कमजोरी छ। विद्यार्थी चयनको परीक्षा, पठन-पाठन र विद्यार्थी मूल्याङ्कन विधिहरुमा ध्यान पुर्या उन सकियो भने शिक्षाको गुणस्तर अवश्य माथि उठ्छ। त्यसैले, विद्यार्थी पठन-पाठन र मूल्याङ्कनमा नेपाल मेडिकल काउन्सिल, विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग जिम्मेवार हुन जरुरी छ।
चिकित्सा शिक्षा र यसका समस्या
नेपालमा विश्वविद्यालय (मानित समेत) १५ वटा छन्। तीमध्ये चार वटामा एमबिबिएस पढाइन्छ। मेडिकल कलेजहरु भने डेढ दर्जनभन्दा बढी छन्। तर एमबिबिएस उत्तिर्णहरुको गुणस्तर चिताए जस्तो छैन, किनभने तिनीहरुमध्ये कतिपय (नेपाल भित्रै पढेका भए पनि) काउन्सिलले लिने गरेको लाइसेन्स लिने/दिने परीक्षामा फेल हुने गरेका छन्। त्यसैले प्रश्न उठ्छ, तिनीहरु सायद पढ्नै नसक्ने खालका पो थिए कि? एमबिबिएस छिर्ने बेलामा नै डाक्टर बन्न आवश्यक विषयवस्तुको प्रवेश परीक्षा लिइएन कि भन्नेबारे यसअघिको लेखमा विश्लेषण गरिएको छ। यस प्रसँगमा एक जना चिकित्सा शिक्षाका मित्रले एमबिबिएस पढ्ने विद्यार्थीलाई सोध्ने गरेको प्रश्न यहाँ प्रस्तुत छ।
उनले सोध्ने गरेका रहेछन्, "के तिमी आफू बिरामी हुँदा तिमीजत्ति नै जानेको डाक्टरले औषधि गरेमा तिमीलाई मन्जुर छ?" भनेर। यदि कुनै विद्यार्थीले ‘मन्जुर छैन’ भन्यो भने त्यो विद्यार्थीले राम्रो डाक्टर हुने बाटो पक्डिसकेको छैन भन्ने बुझ्नु पर्छ। हामीले त्यस्तै विद्यार्थीलाई डाक्टर बनाइरका छौं कि? यदि अवस्था त्यस्तै छ भने यसलाई निरन्तरता दिने त? हाम्रो आवश्यकता भनेको भविश्यका डाक्टरहरु अहिलेका भन्दा असल हुनु हो। तिनीहरुले गर्ने औषधोपचार अहिलेभन्दा राम्रो गर्नुपर्योि। त्यसो भएमा स्वास्थ्योपचारमा विकास भयो भन्न मिल्छ। त्यसरी नै जीवन र समाजका अन्य क्षेत्रहरुमा पनि सुध्रिँदै गयो भने पूरै देशको विकास हुन्छ।
यो लेख हाम्रा विश्वविद्यालयहरुमा शिक्षा क्षेत्रको पठन-पाठन विधिहरुमा के-कस्तो सुधार गर्दा राम्रो हुन्छ भन्ने बारेमा छ। यस लेखका पाठकहरु स्वास्थ्य विज्ञानका शिक्षकहरु, डिनहरु र विश्वविद्यालयका पढादिकारीहरु हुन्। यस लेखमा उल्लेखित पठन-पाठन विधिहरु अन्य विधाहरुमा समेत लागू हुने हुनाले त्यहाँका शिक्षक तथा पदाधिकारीहरुलाई पनि उपयोगी हुने देखिन्छ।
पठन-पाठन र विद्यार्थी मूल्याङ्कन विधिहरु गुणस्तरका सूचक भएकाले विश्वविद्यालयहरुले तिनीहरुलाई यथोचित रूपमा अङ्गिकार गरेनन् कि भन्ने प्रश्न महत्वपूर्ण छ। पाठ्यक्रममा उल्लेख गरिएका विधिहरु व्यवहारमा ढङ्ग पुर्या्एर लागू नगरिएका कारण कमजोर व्यक्तिलाई उत्तीर्ण गराइयो कि(?) भन्ने निश्कर्ष पनि बन्न सक्दछ।
देशमा विद्यमान एमबिबिएस पाठयक्रमहरु कसरी लागू गरिएका छन् भनेर हेर्दा के थाहा हुन्छ भने हामी स्तरीय पाठ्यक्रम त बनाउँछौं तर त्यसको कार्यन्वयन गर्न भने जान्दैनौं। यस मामिलामा हामी विश्वका राम्रा विश्वविद्यालयहरु भन्दा धेरैनै पछाडि छौं। यो विषय हाम्रा जनप्रतिनिधिहरुले संविधान लेखे जस्तै भइरहेको छ। उनीहरुले दुनियाँमा भएका व्यक्ति अधिकारका सबै चिजहरु संविधानमा प्रतिबद्धता जनाए। सायद गर्नु नै पर्दथ्यो। तर लागू गर्ने बेलामा कसरी सम्भव हुन्छ भनेर सोच नपुगेको थाहा हुन आउँछ। त्यस्तै हालत चिकित्सा विज्ञानका पाठयक्रमहरु लागू गर्ने क्रममा पनि देखिन्छ। भनाइ र गराइमा फरक परेको छ। शिक्षण संस्थामा पठन-पाठनका स्तरीय विधिहरु लागू गर्ने व्यावहारिक ज्ञान र सीपमा यथेष्ट दख्खल नभएको हुनाले यस्तो अवस्था आएको हो भन्न मिल्छ। नेपालका अधिकांश विश्वविद्यालय चुकिरहेका छन्, कामको नभएर नाम मात्रको पठन-पाठन विधि अपनाइरहेका छन्। यस मामिलामा नेपाल मेडिकल काउन्सिल त अनभिज्ञ छ नै, तर चिकित्सा शिक्षा आयोग त्यस्तो नहोस् भन्ने सम्बन्धित शिक्षाविद्हरुको चाहना छ। यो स्तम्भकारलाई लाग्दछ कि स्वास्थ्य क्षेत्र बाहेकका अन्य विधाहरुमा पनि यस्तै पाठ्यक्रममा प्रतिबद्धता व्यक्त गर्ने तर लागू गर्नमा चुक्ने अवस्था होला।
कहलिएका विश्वविद्यालयमा यथोचित प्रवेश परीक्षा पार गरेर भर्ना भएका विद्यार्थीको पठन-पाठन र मूल्याङ्कन विधि उच्चस्तरका भएकोले नै उनीहरुको नाम चलेको छ। उनीहरु आफ्नो पाठ्यक्रममा प्रतिबद्धता जनाइएका विधि र प्रक्रियाअनुसार विद्यार्थी पढाउँछन्, परीक्षा लिन्छन्। त्यति मात्र हैन, उनीहरु ती पठन-पाठन र विद्यार्थी मूल्याङ्कन विधिहरुलाई अरु परिष्कृत बनाउँदै लान्छन् पनि। हामी भने यी विधिहरु पाठ्यक्रममा जे लेखियो त्यसैलाई राम्रो छ भनेर दावी गर्दै मख्ख परेर बसिरहेका छौं। पाठ्यक्रममा तोकिएका ती विधिहरुलाई परिष्कृत बनाउनुको सट्टा अधोगतितर्फ उन्मुख हुँदा पनि मुकदर्शक भएर हेरिरहेका छौं।
माथि उल्लेखित पठन-पाठनको गहनता बुझेपछि केही हप्ताअघि संसदको शिक्षा र स्वास्थ्य समितिको उपसमितिले भने जस्तो हरेक वर्ष १० प्रतिशत एमबिबिएस सिट बढाएर भेडा-बाख्रा खोरमा राखे जस्तो गरेर मान्छे डाक्टर हुन्छन् भनेर बुझ्नु गलत हुन्छ। कुनै विद्यार्थी कुनै पाठ्यक्रममा भर्ना भयो भन्दैमा त्यो व्यक्ति पाठ्यक्रमले बनाउन खोजे अनुसारको दक्ष जनशक्ति बन्छ भनेर बुझ्नु झन् गलत हो।
पढाउने कि सिकाउने?
पढाउनुको उद्देश्य सिकाउनु हो। पढाइ-सिकाइ प्रक्रियामा चुरो कुरो त विद्यार्थीले सिक्यो कि सिकेन भन्ने हो। अर्थात्, शिक्षकले पढाएपछि विद्यार्थीले सिकेको हुनुपर्यो्। यदि छैन भने त्यस्तो पढाउनुको अर्थ भएन, जे पढाइयो त्यो व्यर्थ भयो। स्रोत-साधन र समयको दुरुपयोग भयो। त्यसैले शिक्षकले योजनवद्ध रूपमा पढाउने विधि/शैलीहरुबारे कक्षामा जानुअघि तयार भएर जानुपर्योी। शिक्षकले “मैले कसरी पढाएँ भने विद्यार्थीहरुले सिक्छन्” भनेर सोच्नु पर्योा। डाक्टरीमा शिक्षकको त्यस्तो आचरण चाहिन्छ किनभने एमबिबिएस पढाउने भनेको ज्ञान, सिप र आचरण सबैको विकास हुने गरी एउटा सिङ्गो डाक्टरी पेसाकर्मी बनाउने हो। कुरो कहाँ सजिलो छ र असल शिक्षक हुन। अमेरिकीहरु भन्छन्, ५०० डलरमध्ये ४९९ चाहिँ कसरी पढाउने भन्ने प्रक्रियामा खर्चिनु पर्छ र बाँकी एक विषयवस्तुमा पारङ्गत हुनु हो। अर्थात्, शिक्षकले कसरी पढाउने भन्ने प्रक्रियामा मनग्गे ध्यान दिनु पर्छ। शिक्षकले शिक्षण प्रविधि/विधिमा भएका नवीनतम अभ्यास वा प्रगति बुझेर त्यसैअनुसार पढाउनुपर्ने आजको आवश्यकता हो। यो विश्वव्यापी मान्यता हो।
ज्ञान, सिप र आचरण विकासका लागि अलगअलग पठन-पाठन विधिहरु छन्। तर यस लेखमा भने ज्ञानको लागि नवीनतम केही विधिहरुको बारेमा मात्र व्याख्या गरिएको छ।
सिक्ने तौर-तरिका कसरी सिकाउने
पढाउँदा विषयवस्तु मात्र सिकाएर पुग्दैन। विद्यार्थीहरुको पढ्ने, बुझ्ने र सिक्ने प्रक्रिया समेत विकास होस भन्ने विषयमा ध्यान दिनु पर्छ। विद्यार्थीहरुमा जीवनभर सिक्ने प्रवृत्तिको विकास गर्नु आवश्यक छ। सिकाइ प्रक्रियालाई समेत ध्यानमा राखेर विषयवस्तु पढाइयो भने विद्यार्थीहरुलाई दीर्घकालीन फाइदा हुन्छ।
आजभोलि त इन्टरनेटमा जे पनि पढ्न पाइन्छ। के पढ्ने, कुन वेबसाइटमा जाने, कहाँदेखि कहाँसम्म पढ्ने भन्ने सीमा तोकिएन भने मान्छे हराउँछ। पाठ्यपुस्तकमा पनि नजानी नहुने र अतिरिक्त ज्ञानको बीचमा सीमा तोक्नु राम्रो हुन्छ। त्यस्तो सीमा तोक्ने काम शिक्षकको हो। इन्टरनेटमा यदि प्रेरणादायक भाषण कुनै प्रख्यात व्यक्तिबाट छ भने शिक्षकले त्यस्तो गतिविधिको समन्वय बेलैमा गरेर विद्यार्थीहरुलाई सूचित गर्नु पर्छ ता कि उनीहरुले त्यसबाट अधिकतम फाइदा लिन सकून्। अर्थात्, एक सफल शिक्षकमा उपलब्ध स्रोत-साधन आफूले कसरी प्रयोग गर्ने भन्ने कौशलताको विकास गर्नु आवश्यक छ। त्यसैले लेक्चर दिएर वा भाषण छाँटेर मात्र राम्रो सिकाइ-पढाइको लागि नपुग्ने कुरो जगजाहेर छ।
शिक्षण गुणस्तर बढाउने उपाय
क. ठूलो समूहलाई पढाउने विधिहरु
ज्ञान प्रवाहको लागि पढाउने विधि कक्षाकोठामा विद्यार्थीहरुको सङ्ख्यामा निर्भर गर्छ। साधारणतया ३० वा सो भन्दा बढीको विद्यार्थीहरुको सङ्ख्यालाई ठूलो समूह भनिन्छ। लेक्चरद्वारा विद्यार्थीहरुको ठूलो समूहलाई छोटो समयमा धेरै सूचना प्रवाह गर्न सकिन्छ। ठूलो समूहका लागि पहिलेदेखि चलिआएको मुख्य विधि- लेक्चर वा भाषणमा केही थप गतिविधि अवलम्बन गरेर कक्षालाई रोचक र अन्तरक्रियात्मक बनाएर यसको प्रभावकारिता बढाउन सकिन्छ। यसका विकसित तरिकाहरु छन्। हाम्रा एमबिबिएस पाठ्यक्रमहरुमा पनि ती तरिकाहरु उल्लेख गरिएका छन्। दुर्भाग्यवश, लेक्चरमा अधिकांश शिक्षकहरुले पुरानै किसिमले एकोहोरो बोल्छन्।
शिक्षकले रोचक तरिकाबाट पढाउन सिक्नुपर्ने आवश्यकता छ। पढाउने स्थापित केही यस्ता तौर-तरिका छन्, जसको अवलम्बन गरेमा विद्यार्थीहरुले विषयवस्तु बढी बुझ्दछन्। विद्यार्थीहरु त्यही चाहन्छन्। शिक्षा क्षेत्रको शोधकार्यले भनेको छ कि कुनै लेक्चर सकिएको तेस्रो दिनमा नै उनीहरुको दिमागमा सो कक्षामा सुनाइएको (१०० प्रतिशत) मध्ये १०प्रतिशत मात्र बाँकी रहन्छ। यो यथार्थ हो। त्यतिले विद्यार्थीलाई नपुग्ने हुनाले उनीहरुले लेक्चर वा भाषणमा मात्र भर परेर हुँदैन। लेक्चरको सो यथार्थता हाम्रा लागि भने विधिको विडम्बना हो किनभने हामी आफूले पढाएपछि विद्यार्थीहरुले शतप्रतिशत बुझ्दछन् भन्ने ठान्दछौं। कुरो सोचनीय र गम्भीर छ। हामी अरु सुध्रिन बाँकी छ।
देशका क्रियाशील अधिकांश एमबिबिएस पाठ्यक्रमहरुमा विद्यार्थी-केन्द्रित पठन-पाठन हुनेछ भनेर उल्लेख गरिएको छ। पाठ्यक्रम कार्यान्वयन विद्यार्थी-मैत्री छ छैन भनेर उनीहरुलाई सोध्ने र उनीहरुबाट प्रतिक्रिया लिने प्रणाली हामीकहाँ विकास भइसकेको छैन। अधिकांश शिक्षकहरुलाई विद्यार्थी-केन्द्रित पाठ्यक्रम वा पठन-पाठन भनेको के हो थाहा नहुन पनि सक्छ। विद्यार्थीको तर्फबाट हेर्दा अधिकांश चिकित्सा शिक्षाका शिक्षकहरु “जुन जोगी आए पनि कानै चिरेका” जस्ता छन् भन्न सकिन्छ। तर केही शिक्षकहरु भने जन्मजात असल छन्। उनीहरु थप सिकेर उत्तम बनेका पनि छन्। पढाउँदा विद्यार्थीहरुलाई रोचक हुने किसिमले पढाउँछन्, बुझाउँछन्, र सिकाउँछन् पनि।
पढाउनुको उद्देश्य नै सिकाउनु हो। यदि शिक्षकले पढाएपछि विद्यार्थीहरुले सिकेनन् भने त्यस्तो शिक्षणको अर्थ छैन। त्यसैले अङ्ग्रेजीमा भनिने गरिएको टिचिङ-लर्निङलाई हिजोआज चिकित्सा शिक्षाविद्हरु लर्निङ-टिचिङ भन्छन्। अर्थात्, उनीहरु विद्यार्थीको सिक्ने पक्षलाई बढी महत्व दिन्छन् पढाउने पक्षलाई भन्दा।
विद्यार्थीले त्यतिबेला पढाइमा ध्यान दिन्छ र सिक्छ जतिबेला उसको आधारभूत न्यूनतम ज्ञान छ, निद्रा पुगेको ताजा छ, धेरै खाएको वा भोको पनि छैन, दाइजोको लालच नभएर आफ्नै इच्छाले पढ्न आएको छ, आर्थिक समस्याले पिरोलिएको छैन, आदि। त्यसैगरी शिक्षकले पनि त्यतिबेला राम्रो सिकाउँछ जतिबेला उसँग विषयवस्तुको साथै वरिपरिका विषयहरुको समेत ज्ञान छ, सरल भाषामा पढाउँदछ, पढाउँदा अन्तरक्रियात्मक रोचक तरिका अपनाउँछ आदि। शिक्षक र विद्यार्थी बाहेक वातावरणीय अवस्था (कक्षाकोठाको तापक्रम, बाहिरको हल्ला नआउने, बस्न सहज कुर्सी, प्रसँग अनुसारको बिरामीको उपलब्धता, आदि) पनि उत्तिकै महत्व राख्दछन्। यसरी शिक्षक, विद्यार्थी, र वातावरणीय पक्षहरुको मेल गराइयो भने मात्र विद्यार्थीहरुले पढाएको कुरा राम्रो सँग बुझ्दछन्। देशैभरि यी मुद्दाहरुप्रति सोच पुर्या्उनु आवश्यक छ। यदि सिकाइ-पढाइ प्रक्रियाबाट विद्यार्थीहरुले विषयवस्तु बुझेका छैनन् भने सम्बन्धित शिक्षक, कलेज वा विश्वविद्यालयले यस समस्यालाई सम्बोधन गर्नेतर्फ जिम्मेवार हुनु पर्छ।
विद्यार्थीहरुले त्यति बेला सिक्छन् जतिबेला उनीहरु पढाइएको विषयवस्तु सिक्ने प्रक्रियामा सक्रिया रूपमा प्रत्यक्ष हुन्छन्। त्यसैले शिक्षकले पढाउने प्रक्रियामा विद्यार्थीहरुलाई कसरी संलग्न गराउन सकिन्छ भनेर पहिले आफूले सिक्नुपर्छ र उनीहरुलाई प्रत्यक्ष संलग्न गराउने उपाय जोड्नु पर्छ। लेक्चर प्रभावकारी बनाउने केही उपायहरु निम्न प्रकार छन्।
विद्यार्थी र शिक्षकले पढ्ने पुस्तकहरु एउटै हुन्। इन्टरनेट पनि सबैको लागि उही हो। यदि विद्यार्थी आफ्नो ज्ञान आर्जन गर्ने भाषामा प्रवीण छ भने उसलाई कक्षा कोठामा बसिरहनुपर्ने आवश्यकता छैन। यदि कुनै शिक्षकको लेक्चर गुणस्तर छैन भने हाजिरीको लागि त्यो विद्यार्थीलाई सो कक्षामा पट्ट्यार लाग्ने गरी राख्नु कत्तिको जायज हो? कक्षा रोचक हुन्छ, नबुझेको कुरा वा गाँठो परेको कठिन अवधारणा बुझिन्छ, कक्षामा जाउँ-जाउँ लाग्छ भने त्यस्तो लेक्चरमा विद्यार्थीहरुको उपस्थिति अत्यधिक हुन्छ। त्यस्तो नभएर कक्षामा विद्यार्थीहरु मोबाइलमा व्यस्त हुने, केटा-केटी जिस्किने, इशारामा कुरा गर्ने, सोध्न नपाइने, अन्तरक्रिया नहुने, शिक्षकले बोलेको नबुझिने, सान्दर्भिक उदाहरण बिना किताबी कुरा मात्र पढाइने, हल्ला हुने अवस्था छ भने विद्यार्थीहरुले कसरी ध्यान दिन्छन् पढाइमा?
१. शिक्षण संस्थाले विद्यार्थीहरुलाई पढाइने शीर्षकहरुको तालिकामा समय, मिति, र शिक्षकको नाम खुलाएर बेलैमा प्रकाशन गर्नु पर्छ। त्यसो भए कतिपय विद्यार्थीहरुलाई कक्षा हुनु भन्दा पहिले नै पढेर आउन अवसर दिन्छ। अन्यलाई पनि पढेर आउनु, कक्षामा बढी बुझिन्छ भन्ने सन्देश पुर्याढउनु पर्छ। अनि उनीहरुले पढेर आउने र नबुझेका कुरामा शिक्षकले छोटो-मीठो छलफल चलाउने वातावरण बनाउनु पर्छ। त्यो छलफलमा कतिपय प्रश्नहरुको उत्तर विद्यार्थीहरुबाटै आउन सक्छ। उनीहरुबाट उत्तर नआए शिक्षकले दिने अनि विषयवस्तु अगाडि बढाउने। यस्तो विधिलाई देशैभरिका शिक्षण संस्थाहरुले प्रणालीको रूपमा लागू गर्नु आजको आवश्यकता हो। शिक्षकको ध्येय धेरै भाषण गर्नु भन्दा जति पढाइन्छ त्यो कुरो विद्यार्थीले सिकून् भन्ने हुनुपर्छ।
२. लेक्चरलाई प्रभावकारी बनाउने अर्को उपाय हो “सोच, जोडी बनाउ र भन” भन्ने विधि। यसमा कक्षा कोठाका विद्यार्थीलाई आफ्नो बगलमा बसेको साथीसँग जोडी बनाउ भनेर कुनै एउटा सानो महत्वपूर्ण बुँदामा एक-दुई मिनेटको लागि गुनगुनाउन दिइन्छ। त्यसपछि केही प्रतिनिधि विद्यार्थीहरुलाई बोल्न दिइन्छ। यसरी विद्यार्थीहरुलाई पढाइ भइरहेको शीर्षकमा सक्रिय रूपमा व्यस्त गराइन्छ। यस्तो गतिविधि एक घण्टामा ३-४ पटक गर्न सकिन्छ जसले गर्दा विद्यार्थीहरु विषयवस्तुप्रति आकर्षित भइराखून्।
यसरी विभिन्न किसिमले लेक्चरलाई रोचक बनाउन सकिन्छ। विद्यार्थी कक्षाकोठामा उपस्थित भएको सार्थक हुन्छ।
ख. सूक्ष्म शिक्षण अभ्यास
यो विधि शिक्षकले आफ्नो पढाउने सिप तिखार्ने एक सर्वोत्तम उपाय हो। शिक्षकले आफ्नो पढाउने गुणस्तर सुधार्न वास्तविक विद्यार्थीहरुको (नमुना) सानो समूह र केही आफ्ना शिक्षक साथीहरु सामुन्ने छोटो समयमा (५-१० मिनेट) पढाउन सकिने एउटा छोटो शीर्षकमा बोलेर/पढाएर गरिने अभ्यास हो यो। सो अवधिको भिडिओ खिचेर निज शिक्षकलाई नै दिइन्छ। अनि शिक्षकले आफूले "कस्तो पढाएछु" भनेर आफैंलाई मूल्याङ्कन गर्ने अवसर पाउँछन्। साथै सुन्न बसेका विद्यार्थीहरु र शिक्षक साथीहरुले पनि सो अभ्यासको प्रभावकारिताबारे छोटो लिखित वा मौखिक प्रतिक्रिया दिन्छन्। यो प्रतिक्रिया र आफ्नो भिडिओ हेरेर सिकेर शिक्षकले लेक्चरको प्रभावकारिता सुधार्न सक्छन्।
ग. साना समूहलाई पढाउने विधिहरु
पेसाकर्मी बनाइने पाठ्यक्रमहरु जस्तै डाक्टरी, इन्जिनियरिङ, कृषि, खाना पकाउने आदि विधाहरुमा सिप विकासको नितान्त आवश्यक हुने हुनाले विद्यार्थीहरुको साना समूह (७ देखि १० जनालाई) बनाएर सिकाउने-पढाउने विधिहरु उपयुक्त हुन्छन्। साना समूहमा गरिने पढाइका विधिहरु भने धेरै छन्, जस्तै समस्या वा प्रोजेक्ट वा कार्यमा आधारित सिकाइहरु आदि। यी विधिहरु चिकित्सा शिक्षामा त नभई हुँदैन। त्यसैले नेदरल्यान्डको मास्ट्रिक्ट विश्वविद्यालयका विभिन्न संकायहरुमा यी विधिहरुलाई अवलम्बन गरिएका छन्।
१. समस्यामा आधारित सिकाइमा जीवनमा हुने वास्तविक वा हुनसक्ने घटना वा परिस्थितिलाई समस्याको रूपमा लिखित दस्तावेज विद्यार्थीहरुमाझ प्रस्तुत गरिन्छ। समस्याको प्रस्तुति अंश-अंशमा गरिन्छ ता कि विद्यार्थीहरुको उत्सुकता कायम रहोस्। विद्यार्थीहरुले त्यस समस्याको शब्द-शब्द केलाउँछन्। समस्या बुझ्न प्रयासरत हुन्छन्, त्यस उपर चिन्तन गर्छन्। त्यस समस्यालाई बुझ्न आवश्यक विषयवस्तु पढ्छन् र अर्को दिन आएर आफ्नो समूहमा त्यस उपर फेरि छलफल गर्छन्। यहाँ शिक्षकले पढाउँदैनन्, एक सहजकर्ताको भूमिका मात्र निर्वाह गर्छन्। त्यस प्रक्रियामा विद्यार्थीहरुको छलफललाई सही दिशामा जान मद्दत गर्छन्। छलफल अगाडि बढ्न नसकेर अड्किएको अवस्थामा गाँठो फुकाउने मात्र काम गर्छन्। यहाँ विद्यार्थीहरुले आफ्नो दिमाग लगाएर भविष्यमा आइपर्ने खालका समस्याहरुसँग जुध्न सक्ने मन-मस्तिष्क तयार पार्छन् भन्ने चिकित्सा शिक्षाविद्हरुको निष्कर्ष छ। यसरी विद्यार्थीलाई परिस्थिति मूल्याङ्कन गर्ने र समस्यालाई विभिन्न कोणबाट बुझ्ने क्षमताको अभ्यास गराउनु पर्छ।
२. अर्को सानो समूहमा गरिने विधि हो बिरामीको कथा-व्यथामा आधारित सिकाइ। यस विधिमा माथि उल्लेखित शिक्षण प्रक्रिया प्रयोग गरेर बिरामीको वास्तविक समस्याको समाधानमा ध्यान दिइन्छ। समस्यामा आधारित सिकाइमा समस्या बुझ्नमा ध्यान केन्द्रित हुन्छ भने बिरामीको कथा-व्यथामा आधारित सिकाइमा समस्याको समाधानमा ध्यान केन्द्रित हुन्छ।
३. अर्को सानो समूहमा गरिने विधि हो परियोजना वा प्रोजेक्टमा अधारित सिकाइ। यसमा समूहका सबै विद्यार्थीले जिम्मेवारी बहन गर्नुपर्ने हिसाबले कार्य तोकिन्छ। विद्यार्थीहरुले आफूहरुबीच कार्य विभाजन गरी एकल वा सामूहिक दुवै रूपमा काम गर्न सिक्छन्। यसरी सहकार्य गरी सिक्ने प्रक्रिया राम्रो मानिन्छ किनभने एक्लैले गर्न सक्ने सामाजिक काम समाजमा विरलै हुन्छन्। अधिकांश सामाजिक कार्यहरु सामूहिक रूपमा गर्नुपर्ने हुन्छ। त्यसैले समूहमा काम गर्न सिक्नु आजको हाम्रो आवश्यकता हो।
४. माथि उल्लेख गरेजस्तै मुद्दा वा क्षेत्र वा समुदायमा आधारित सिकाइहरु पनि अभ्यासमा छन्। यी सबै विधिहरुमा विद्यार्थीहरुले प्रत्यक्ष रूपमा सरिक भई काम गर्दै सिक्छन्।
घ. मूल्याङ्कन विधि नै पठन-पाठन गुणस्तरको मुख्य सूचक
विद्यार्थी मूल्यांकनलाई दुई भागमा छुट्ट्याउन सकिन्छ: विद्यार्थीहरुलाई सुझाव दिन वा उनीहरुको श्रेणी निर्धारण गर्न। कुन विद्यार्थी “कति पानीमा छ” भनेर सुझाव दिइने उद्देश्यले गरिने मूल्यांकनले विद्यार्थीलाई थप सिक्न वा प्रगतिउन्मुख हुन अभिप्रेरित गर्छ। यसको अङ्क मार्कसिटमा जाँदैन। अर्को हामीले जानी आएको मूल्याङ्कनले विद्यार्थीहरुलाई श्रेणीमा विभाजन गर्छ। यो चाहिँ विद्यार्थीले सिके वा सिकेनन् भनेर पास-फेल गर्ने वा पहिलो, दोस्रो भनेर श्रेणीमा विभाजन गर्ने हो।
विद्यार्थी मूल्याङ्कन विधिले पाठ्यक्रमलाई नियन्त्रण गर्छ भन्ने अन्तर्राष्ट्रिय बुझाइ छ। चिकित्सा शिक्षाविद् झं-झाक गिल्बेर भन्छन्- कुनै एक शैक्षिक कार्यक्रम वा पाठ्यक्रमको गुणस्तर विद्यार्थी मूल्याङ्कन विधिले निर्धारण गर्छ। यदि कुनै शिक्षण संस्थामा मूल्याङ्कनलाई स्तरीय बनाइयो भने सो संस्था पढाइ राम्रो छ भनेर चिनिन्छ। विद्यार्थी मूल्याङ्कनबारे एक उदाहरण यहाँ प्रस्तुत छ।
अमेरिकी डाक्टरी लाइसेन्स लिने परीक्षाका लागि एमबिबिएस पास गरेका हाम्रा व्यक्तिहरु २-३ वर्ष घरै बसेर तयारी गर्छन्। किन उनीहरुले पास गरिसकेको एमबिबिएस पछि फेरि २-३ वर्ष थप पढ्नु पर्योष? किनभने हामीले पढाएर डाक्टर बनाए पनि ती व्यक्तिहरु अमेरिकाको मापदन्ड अनुसार अझै डाक्टर भएका रहेनछन्। त्यस्तो परीक्षाले एमबिबिएस पास गरेकाहरुलाई थप पढ्नुपर्ने अवस्था सिर्जना गर्दो रहेछ। अर्थात्, विद्यार्थीले के-कति पढ्ने भन्ने कुरो स्तरीय परीक्षाले निर्णय गर्दो रहेछ। त्यसो भए हामीले के पढाएछौं त(?) भनेर जो कोहिले पनि प्रश्न गर्न सक्ने भयो। त्यसैले पठन-पाठन गुणस्तर बनाउन शिक्षण संस्थाले विद्यार्थी मूल्याङ्कनमा ध्यान दिन आवश्यक छ। झं-झाक गिल्बेरले भनेझैं विद्यार्थी मूल्याङ्कनले नै शैक्षिक कार्यक्रमलाई नियन्त्रण गर्छ भन्ने कुरो सही हो भनेर बुझ्नु पर्यो । त्यसैले हामीले गरी आएको विद्यार्थी चयनको परीक्षा, पठन-पाठन र विद्यार्थी मूल्याङ्कन विधिहरुमा प्रश्न उठाउन जायज हुन आउँछ।
निष्कर्ष
एमबिबिएस उत्तीर्ण व्यक्तिहरुको पठन-पाठन विधिमा सिकाइलाई उपयुक्त ध्यान नदिइएको कारण उनीहरु काउन्सिलको परीक्षामा फेल हुन्छन्। देशमा एमबिबिएस पाठ्यक्रमहरुमा तोकिएका पठन-पाठन र मूल्याङ्कन विधि अनुसार विद्यार्थी पढाए वा परीक्षा लिएमा शिक्षाको गुणस्तर राम्रो हुन्छ। बहुप्रचलित पठन-पाठन विधि लेक्चरलाई प्रभावकारी बनाउन शिक्षकले विद्यार्थीहरुलाई कक्षामा अधिकतम सक्रिय बनाउनु पर्छ। विद्यार्थीमा सिक्ने प्रक्रियाको समेत विकास गर्नेतर्फ पनि ध्यान जानु जरुरी छ। उनीलाई साना समूहमा छलफल गराएर उनीहरुको सिकाइ प्रभावकारी बनाउनु पर्छ। शिक्षकहरुले आफू सफल हुन प्रयासोन्मुख भए भने भावी जनशक्तिको गुणस्तरमा सुधार आउने छ। शिक्षकले आफ्नो सिप तिखार्न सूक्ष्म शिक्षण अभ्यास अवलम्बन गर्नु पर्छ। यस मामिलामा नेपाल मेडिकल काउन्सिल, विश्वविद्यालयहरु, चिकित्सा शिक्षा आयोग जिम्मेवार हुन जरुरी छ।
(डा पौडेल चिकित्सा शिक्षाविद् र चिकित्सकीय शरीरक्रिया विज्ञान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक हुन्)