हिमालय तिवारीलाई सानैदेखि संस्कृति (कल्चर) विषयमा रुचि थियो। संस्कृति पढ्नकै लागि उनले एसएलसीपछि एजुकेसन विषय रोजे। तर, उनका बुबाको भने छोरो स्वास्थ्य क्षेत्रमा लागोस् भन्ने इच्छा थियो। बुबाकै इच्छाअनुसार उनी अहेबमा पनि भर्ना भए। उनी एजुकेसन विषयको पनि सँगसँगै परीक्षा दिन्थे। १८ महिना अहेबको पढाइ पूरा गरेपछि भने काम गर्दै पढ्दै बिएड पनि पास गरे। बिएड गरिसकेपछि आफ्नो स्वास्थ्य बिग्रिएकोले पढाइलाई अगाडि बढाउन सकेनन्। २०५६ सालदेखि सरकारी सेवामा प्रवेश गरी विभिन्न जिल्लाका बिरामीको सेवा गरेका छन् उनले। स्वास्थ्य क्षेत्रमा काम गर्दाको भोगाइ तिवारीकै शब्दमाः
मेरो जन्म चितवनको माडी नगरपालिकामा भएको हो। घर नजिकैको माडी माध्यमिक विद्यालयबाट एसएलसी पास गरें। पलिलेदेखि संस्कृत विषयमा रुचि थियो। त्यसैले एसएलसी पछि एजुकेसन विषयमा भर्ना भएँ।
बुबालाई स्वास्थ्य क्षेत्र असाध्य रुचि भएकोले घरको एउटा छोरो स्वास्थ्य क्षेत्रमा होस भन्ने चाहना थियो। उहाँको इच्छाअनुसार २०५४ सालमा गोरखाको पब्लिक हेल्थ स्कुलबाट अहेब पढाइ पूरा गरें। काम गर्दै बिएड पनि पास गरें। त्यसपछि भने स्वास्थ्यले साथ नदिएर पढाइ अगाडि बढाउन सकिनँ।
२०५६ सालबाट सरकारी सेवामा प्रवेश गरें। पहिलो पोस्टिङ बारा जिल्लाको पशुरामपुर सब हेल्थ पोस्टमा भएको थियो। दुई महिना काम गरिसकेपछि काजमा कलैया अस्पतालमा जानु पर्यो। त्यहाँ २२ महिना इमर्जेन्सीमा काम गर्ने मौका मिल्यो। त्यसपछि चितवनस्थित माडीको बगौंडा स्वास्थ्य प्राथमिक केन्द्रमा ५ वर्ष काम गर्ने माका मिल्यो।
त्यसपछि लमजुङमा सरुवा भयो। त्यहाँ मेरो स्वास्थ्य स्थिति निकै कमजोर भयो। दुवै मिर्गौला बिग्रिएकोले राम्रोसँग हिँडडुल गर्न पनि सक्दिनथें। स्वास्थ्य कमजोर बन्दै गएपछि भने भरतपुर अस्पतालमा सरुवा गरियो। त्यहाँ पनि स्वास्थ्यमा सुधार आउन नसकेपछि वीर अस्पतामा सरुवा भयो।
त्यो बेलामा नेपालमा मिर्गौला प्रत्यारोपण हुँदैनथ्यो। त्यसैले साउथ इन्डिया तमिल नाडुबाट २००८ मा किड्नी ट्रान्सप्लान्ट गरें। मेरो आमाले मलाई किड्नी दिएर पुनर्जन्म दिनुभयो। अहिले वीर अस्पतामा स्वास्थ्यकर्मीको रुपमा कार्यरत छु।
भुल्न नसक्ने ती घटना
सरकारी जागिर सुरु गरेपछि मेरो पहिलो पोस्टिङ बाराको पशुरामपुर सब हेल्थ पोस्टमा भएको थियो। सबै जना भोजपुरी बोल्ने म चितवनको मान्छे नेपाली मात्र बुझ्ने। बिरामी जँचाउन आउँदा एक–अर्कालाई हेरेर हाँस्ने। उहाँहरुले बोलेको मैले नबुझ्ने मैले बोलेको उहाँहरुले नबुझ्ने निकै गाह्रो भयो।
तीन–चार दिन यस्तो सिलसिला चल्यो। चार दिनपछि एक जना चिनेको दाइलाई मेरो समस्या भनें। मैले भाषा नबुझुल्नजेल मेरो र बिरामीबीच संवाद गर्न सहज बनाउन उहाँ आफैं बस्नु हुन्थ्यो। अहिले सम्झँदा यस्तो पनि भएको थियो भनेर हाँसो उठ्छ। भाषा नबुझे पनि बिरामीसँग एक किसिमको आत्मीयता थियो।
कलैया अस्पतालमा काम गर्दा प्रायः जस्तो ड्युटी रातिमा पथ्र्यो। इमर्जेन्सीमा म एक्लै राति ड्युटी बस्नुपर्ने। त्यो बेलामा म फुच्चे–फुच्चे नै थिएँ। इमर्जेन्सीमा आउने बिरामी मलाई एक्लै देखेपछि अस्पतालमा को छ बाबु भनेर सोध्ने। मै हो भन्दा तिमी ट्रेनिङ गर्न आएको भनेर होला भनेर हैरान पार्थे। धेरै बेर सम्झाएर उपचार गरेर पठाउँथे। अहिले सोच्दा अचम्म लाग्छ।
त्यही अस्पतामा काम गर्ने बेलामा म इमर्जेन्सीमा बसेको थिएँ। अन्दाजी ९ बजेको थियो। एक जना अन्दाजी २५ वर्षकी महिलाले विष खाएर अस्पतालमा ल्याइएको थियो। होस आउनासाथ उनी सानो बच्चा र श्रीमान्लाई अँगालो हालेर खुब रोइन्। घरायसी खटपटका कारण श्रीमान्सँग रिसाएर विष खाएकी रहिछन्। उनले धेरै विष खाएकोले शरीरभरि फैलिएको थियो। त्यसैले त्यहाँ उपचार गर्न नसक्ने भएपछि उनलाई हामीले वीरगञ्ज अस्पताल पठायौँ। पछि उनको मुत्यु भयो।
सानो गल्तीले आफन्तलाई सधैंको लागि छोडेर जानुपर्यो उनलाई। धेरै दिनसम्म नरमाइलो लाग्यो। ती महिला र सानो बच्चा मेरो आँखा अगाडि धेरै दिनसम्म घुमिराखे। अहिले पनि याद आउँछ। त्यो बच्चा कत्रो भयो होला भन्ने लाग्छ।
त्यही अस्पतालमा काम गर्दा ग्याङ फाइट परेर एक जनाको मृत्यु भएको थियो। त्यो बेलामा ग्याङ फाइट परेर आँखा अगाडि मान्छे मरेको पहलो पटक देखेको हो। धेरै दुःख लाग्यो त्यो घटनाले। किन फाइट गरे होलान् जस्तो लाग्यो।
बगौडा पिएसीमा काम गर्दा प्रायः नाइट ड्युटी पथ्र्यो। पिएसी चारैतिरबाट राष्ट्रिय निकुञ्जले घेरेको थियो। त्यही भएर पनि होला त्यहाँ धेरै बिरामी जनावरले टोकेर घाइते भएका आउँथे।
नजिक घर भएकोले चाडबाडको समयमा सबै साथी घर जाने, मलाई घर नजिक छ भन्दै ड्युटी पारिदिन्थे। दसैं र तिहारमा जहिले एक्लै ड्युटी गर्नुपथ्र्यो। चाडबाडका बेला भालुले टोकेका धेरै बिरामी आउँथे अरु बेलामा भन्दा। साथीभाइले अब यसको ड्युटी पर्यो भालुले टोकेका बिरामी आउन सुरु हुन्छन् भन्दै जिस्क्याउँथे।
एउटा घटना अहिले पनि याद आउँछ– दसैं बिदामा सबै घर गएका थिए, म एक्लै थिएँ। एक जना दिदी मेरो टाउकोमा भालुले टोकेर कपाल निकालिदियो भनेर बालुवा नै बालुवा भएको कपाल हातमा बोकेर आएकी थिइन्। त्यति बेलामा सामान्य टाका लगाइदिएँ। पछि भरतपुर अस्पतालमा सजरी गराइन्।
वीर अस्पतालमा धेरैजसो वृद्धवृद्धाहरु एक्लै अस्पतालमा आउने गर्छन्। किन एक्लै अस्पताल आएको भन्दा गर्दा कसैले छोराछोरी आउन मान्दैनन् भन्छन्। कसैले घरमा कोही छैनन् भन्ने जवाफ दिन्छन्। बुझ्दै जाँदा कसैका छोराछोरी काममा व्यस्त भएकोले आमाबुबालाई समय नदिने रहेछन् भने कसैका छोराछोरी विदेश गएको हुने रहेछन्। छोराछोरी भइसकेपछि आफ्नो आमाबुबाको निमित्त एक–दुई घन्टा समय सबैले निकान्नुपर्छ जस्तो लाग्छ। बाटोमा लडेर केही भयो भने कति पीडा हुन्छ।
मिर्गौला फेल हुँदा जीवनमा धेरै बाँच्दिन जस्तो लागेको थियो। तर मेरी आमाले मिर्गौला दिएर पुनर्जन्म दिनुभयो। अहिले म जीवनदेखि निकै आशावादी छु। मिर्गौलाका बिरामी मसँग सुझाव माग्छन्। आफूले जानेको बताइदिन्छु। आफूले सक्ने सहयोग गर्छु।