डा नवीनकुमार सिंजाली
म एक डाक्टर। अचेल म बिरामीदेखि डराउँछु, साथीहरू देखि, सहयात्रीदेखि र सबै मानिसहरुदेखि डराउँछु।
करिब दस वर्षको चिकित्सा विज्ञान अध्ययनमा मलाई कसैले यो सिकाउनु भएन कि, बिरामीको उपचार गर्दा सुरक्षाकवचको अभावले, औजार र उपकरणको अभावले मैले आफ्नो ज्यानको बाजी मार्नुपर्ने हुनसक्छ। त्यति धेरै विशेषज्ञताहरुमा मलाई कसैले छुट्टै महामारीसँग जुध्ने विशेषज्ञता हुन्छ र अध्ययन गर्नुपर्छ भनेर सिकाउनु भएन। न त कहिल्यै बिरामीको उपचार गर्दा जानीजानी आफ्नै ज्यानको हानिनोक्सानी पनि बेहोर्नुपर्छ भनेर सिकाइयो।
विश्वभरि, अझ हाम्रो जस्तो देशमा त स्वास्थ्यकर्मीले लगाउनुपर्ने सुरक्षाकवच (पिपिई)को चरम अभाव भएको अवस्थामा, धेरैभन्दा धेरै स्वास्थ्यकर्मीहरु बिना सुरक्षा उपचारमा होमिनुपर्ने अवस्था आउन सक्छ।
विगत एक/दुई महिनादेखि साथीहरूबीच, अग्रजहरुबीच ड्युटीको कुरा हुँदा, ओपिडिमा बस्ने वा इमर्जेन्सीमा राउन्ड लिने कुरा हुँदा कुनै युद्धमा जान लागेको जस्तो महसुस हुन्छ।
डाक्टरको लापरबाही भन्दै हातपात र गालीगलोजको घटना बग्रेल्ती देखिने हाम्रो देशमा अचेल पोसाकको स्वास्थ्यकर्मीलाई अभार प्रकट गरिरहेको, धन्यवाद दिइरहेको फाट्टफुट्ट देख्न थालिएको छ। यस्ता दृश्यहरुले भने मेरो डरलाई केही कमी गराइदिन्छ।
मनै त हो,अदृश्य भाइरस कति खेर मेरो शरीरमा प्रवेश गर्ने हो! कतै मैले अरु बिरामीलाई त सार्ने हैन, अरु कुनै सहकर्मीलाई त सार्ने हैन? यी र यस्ता प्रश्नहरू फेरि सल्बलाउन थाल्छन्। किनकी मलाई थाहा छ, संक्रमण भएको सबैलाई लक्षण नदेखिन पनि सक्छ।
हप्तामा बल्लबल्ल बढीमा दुई पटक पूरा शरीर नुहाउने म अचेल ड्युटीपछि घर पुगेपछि पूरा शरीर नुहाउँछु। अस्पताल जाँदा लगाएको कपडा सरफपानीमा भिजाइहाल्छु। घरका अन्य सदस्यहरुको नजिक सकेसम्म नजाने कोसिस गर्छु। ढोकाहरुको लक समात्न, धाराको टुटी खोल्न, पानी पिएको जुठो ग्लास नपखाली छाड्न डर लाग्छ।
मेडिकल कलेजको पहिलो वर्षमा हुँदा कलेजको जर्नलको लागि गरिएको पोलमा एउटा प्रश्न राखिएको थियो, सियोको टुप्पो जति ठाँउमा पनि करोडौं जीवाणु अटाउन सक्छ भनेर विश्वास लाग्छ कि लाग्दैन? भन्ने। त्यसै बेलाको त्यो ज्ञानको असर अहिले पूरा परेको छ। अस्पतालको कुना कुनामा, नर्सिङ स्टेसनमा, बिरामीको बेडमा, मेसिनहरुमा, औषधिको बट्टाहरुमा, बिरामीको चार्टहरुमा त्यो म भन्दा करोडौं गुणा सानो अदृश्य सत्रु कुरिराखेको जस्तो लाग्छ। कहिलेकाहीं त हात सफा गर्ने स्यानिटाइजरको माथिपटि बसी मलाई छलेर गिज्याइरहेको त छैन जस्तो हुने! त्यसैले कति पटक थोरै लिएर पहिला टाउको नुहाइदिएपछि आफ्नो हातमा रगडेको पनि छु।
राम्रो डाक्टर हुन बिरामीको सम्पूर्ण इतिहास राम्ररी लिनुपर्छ भन्ने भनाइ चिकित्सा विज्ञानमा स्थापित छ। बिरामीको इतिहास लिनु एउटा कला पनि हो। बिरामीले कुनै लक्षण भनेपछि त्यो लक्षणको धेरै पाटो केलाउनु पर्ने हुन्छ, रोग पत्ता लगाउन। आजभोलि ज्वरो, थकान महसुस, खोकी वा श्वासप्रश्वासमा समस्या जस्ता लक्षणहरु जुनकुनै रोगको बिरामीले भने पनि उसको शरिरभरि कोरोना भाइरस सल्बलाइरहेजस्तो भान हुन्छ। नजिक जान अप्ठ्यारो लाग्छ। औंलाले बिरामीको छाती छुन त झन् साह्रै डर लाग्ने!
यति धेरै डरहरु मनमा उब्जिए पनि भलै कोही डाक्टर होला, जो बिरामीलाई सहयोग नगर्न यो पेसा रोजेको होस। ड्युटीमा हुँदा थोरै मात्र बिरामीको श्वासप्रश्वासमा समस्या आओस् वा मुटुको चाल बढोस्, शरीरको कुनै भाग दुखेको बताओस्। खै त्यो डर कहाँ भाग्छ। दौडँदै बिरामीको नजिक पुग्छु, बिर्सन्छु कुन मास्क लगाएको छु। बिर्सन्छु कतै मैले भाइरसलाई मतिरको बाटो त देखाइरहेको छैन!
अचेल सोसल मिडियाको जमाना छ। डाक्टरहरुको पनि ग्रुप छ फेसबुकमा। हामी त्यहाँ आफ्नो सुरक्षा पहिला भन्छौं। राजनीति गर्ने मानिसहरु र सरकारले आफूहरुको महत्वलाई नबुझेको वा बुझ्न अस्वीकार गरेकोमा दुखेसो पोख्छौं। तर जब काममा जान्छौं, बिरामी पहिला भन्ने मान्यतामा हुर्किएको हामी सब थोक बिर्सन्छौं।
हाम्रो बानी नै हो, कोहीलाई गाह्रो परे टाढा भाग्ने हैन नजिक जाने हो। कथंकदाचित हाम्रो देशमा पनि महामारी फैलिइहाले (प्रार्थना गर्छु त्यस्तो नहोस) डराएको म र म जस्ता डाक्टरहरुलाई हौसला, प्रोत्साहनहरु दिन सक्नुभएन भने पनि कम्तीमा गालीगलोज नगरिदिनुहोला। हतोत्साहित नपारिदिनुहोला। इतिहास र समयको यो कालखण्डले मागेको हाम्रो भूमिकाबाट हामी कदापि भाग्दैनौं।