डा कृष्णचन्द्र अधिकारी
'मलाई यो रोग लाग्यो कि क्या हो?,' म अलि डराउँछु। डराउँदै किताबका पानाहरु पल्टाउँछु र लेखिएका हरफहरु पनि डराउँदै पढ्छु।
पढ्दै जाँदा नयाँ लक्षणहरु भेटाउँछु र मनमनै भन्छु- ए, अघिको होइन, मलाई त यो रोग पो लागेको हुनुपर्छ। लक्षणहरु ठ्याक्कै मिल्छन्। म झनै डराएर किताब बन्द गर्छु र मनमा लक्षणहरुको हिसाबकिताब गर्दै आफ्नोसँग मिलाउने गर्छु।
कहिलेकाहीँ टाउको दुख्ने, कहिले पेट दुख्ने, कहिले आँखा फरफर गर्ने अनि कहिले शरीरको कुनै भाग झमझम गर्ने त कहिले श्वास फेर्न गाह्रो भएजस्तो हुने।
जति मनमा कुरा खेलाउँदै जाँथें, मलाई त यो रोग लागिसकेको रहेछ अथवा त्यो रोग लाग्यो भने त म मर्छु होला। त्यो रोग होइन, यो रोग होला। त्यो रोग लाग्यो भने त उपचारपछि ठिक पनि हुन्छु होला। ठिक भइन भने?
यस्तै विचारहरुले बितेका थिए मेरा एमबिबिएस तेस्रो वर्षका सुरुवाती क्षणहरु। जति क्लिनिकल प्राक्टिसका पानाहरु मनमा पल्टिँन्थे उति नै म डराउँथे। जब पहिलो चोटी रोगका लक्षणहरु र रोगका बारेमा पढ्न थालेको थिएँ, त्यति बेलादेखि म डराउन थालेको थिएँ।
मान्छेमा डर हुनु स्वाभाविक हो। जसमा डर, भय, आँसु, खुसी समेटिएको सबैजसो भावना समेटिएको हुन्छ। कोही मानिस आफ्नो परिस्थिति अनुसार डराउँछ। तर कतिसम्म डराउनु ठिक हो त? कोही मानिस यतिसम्म डराउँछन् कि, त्यो डरले उसका आफ्ना सबै कर्तव्यहरुलाई नै ओझेलमा पारिदिन्छन्। भय उसका अगाडि ठूलो पहाड बनेर उभिइदिन्छ अनि ऊ भयको अगाडि हार मान्छ। र, आफ्नो पथबाट विमुख हुन्छ।
कतिपय मानिसको स्वभाव यस्तो हुन्छ, उनीहरु त्यति मात्र डराउँछन्, त्यसलाई आफूले लिनुपर्ने कदमहरुको माध्यम बनाएर आफ्नो कर्तव्यहरु पूरा गर्छन्।
आज लकडाउनको प्रन्धौं दिन। म एक चिकित्सक र मेरी गर्भवती श्रीमतीको बिसाँै हप्ता अर्थात् हाम्रो परिवारमा अर्को एक सदस्यको आगमन हुन मोटामोटी सोह्र हप्ता बाँकी।
बिहानको ६ बजे, उनी रोएको आवाजले खुलेको मेरो निद्रा। किन रोएको?, प्रश्न खस्न नपाउँदै आँशु खसाल्दै उनी बोलिन( मलाई ऐंठन भयो। मलाई बुझ्न कठिन भयो र मैले सोधें( के भनेको यस्तो?
मैले पढेको क्लिनिकलको लक्षण सम्बन्धी किताबमा नभएको लक्षण होकी, मेरो भाषिक कमजोरी हो, मैलेबुझ्न सकिनँ। उनले मलाई टिठलाग्दो तरिकाले हेरिन् र छेउको टेबलको मोबाइल फोन उठाउँदै आफ्नो आमालाई फोन गरेर सबै कुरा बेलिविस्तार लगाइन्।
अब भने मैले बुझें। नराम्रो सपना देखेकी रहिछिन्। गर्भवती हुँदा कहिलेकाहीँ नराम्रा सपना देख्नु नौलो होइन। मैले पहिले नै एमबिबिएस गर्दा पढेको थिएँ। तर पनि उनको आँसु र डरले मलाई विभत्स तुल्यायो। म फेरि पनि एकचोटी डराएँ। एमबिबिएस पढ्दा यो रोग वा त्यो रोग लाग्यो भनेर डराएजस्तै जबदेखि कोरोना भाइरसले आफ्नो जरा विस्तारै विश्वभरि फैलाउँदै थियो, ममा पनि डरको जरा गाडिँदै थियो।
त्यो त्रास जराबाट टुसामा परिणत भएर प्रस्फुटन पनि भयो। नेपालमा कोरोना भाइरसको अवैज्ञानिक व्यवस्थापनले त अझै त्रास बढ्ने नै भयो । हो, म पनि डराउन थालें। अस्पतालबाट संक्रमण सर्छ कि भनेर डराउन थालें। मेरो मम्मीजी चालीसौं वर्षदेखि आस्थामाको औषधि खाइरहनुभएको छ। उहाँको नजिक जान डराउन थालें। मेरो श्रीमती जो गर्भवती छन्, उनको सापिप्यमा जान डराउन थाले। मेरो परिवारका अन्य सदस्यको छेउमा जान डराउन थालें।
सँगसँगै बोल्न डराउन थाले। संक्रमण भयो भने म त ठिकै हुँला तर सबै ठिक हुन्छन् कि हुन्नन् भनेर डराउन थालें। दीर्घरोगी, गर्भवती अवस्था त कमजोर इम्यिुनिटी भएको अवस्था हो नि होइन र? तर पनि म यो भयलाई सम्हालेर भनौं वा एकछिन बिर्सेर भए पनि अस्पताल जान छोडेको छैन। मैले प्रत्यक्ष रुपमा कोरोना भाइरसको बिरामीहरु नहेरे पनि दम, खोकीका बिरामीहरु हेर्न छाडेको छैन। के थाहा? त्यही खोकीकोबिरामीमध्ये कुनै एकमा पो संक्रमण छ कि?
डर असीमित छन्, जसले प्रत्यक्ष रुपमा कोरोना संक्रमित हेरेका छन्। उनीहरु पनि त डराएका होलान् परिवारको छेउमा जान। इमर्जेन्सीमा काम गर्न स्वास्थ्यकर्मीका पनि त छोराछोरी, बुबाआमा छन्। वार्डमा काम गर्नेका पनि श्रीमान्श्रीमती छन्।। खोइ? सम्बन्धित मन्त्रालय र नेपाल सरकारको स्वास्थ्यकर्मी बचाउने योजना?
हो, डर असीमित छन्। तर मेरो मम्मी मेरो नजिक आउन हिच्किचाउनु हुन्नँ। उहाँलाई मेरो नजिक आउँदा हुनसक्ने संक्रमणबाट डर छैन। हेर, तँलाई केही हँुदैन भन्नुहुन्छ। बरु अलि सावधानी अपनाउन भन्नुहुन्छ। आज ड्युटी हो? भनेर सोध्नुहुन्छ। उहाँको अरु दिन भन्दाको मलिन स्वरले मेरो माया झल्काउँछ। छोरालाई चाहिँ केही नहोस भनेर मनमनले भनेको झल्काउनुहुन्छ मेरो मम्मी। म पनि मनमनै हजुरलाई चाहिँ केही नहोस भन्छु।
मेरी श्रीमती पनि मेरो सामिप्यतासँग डराउँदिनन्। मलाई खोकी लाग्दा पनि ह्या हजुरलाई केही भएको छैन भनेर नजिकिन्छिन्। मलाई केही पनि डर लाग्दैन भन्छिन्। अनि जिस्क्याएर झन् नजिक आउँछिन्।
म सोध्छु, अनि किन रोएकी त तिमी? उनी रुँदै बोल्छिन्, मैले सपनामा आफू र बच्चालाई कसैले बेस्सरी घाँटी थिचेको देखें। मैले कति चिच्याएर हजुरलाई बोलाएँ, हजुर बोल्नु भएन। मलाई बचाउन कोही आएन।
म भन्छु, धत् त्यो त सपना मात्र पो हो त, अनि ब्युँझिसकेपछि पनि यसरी रुनुपर्छ त? उनश्र उत्तर दिन्छिन्, सपना भनेर हुन्छ त। आफूलाई कस्तो गाह्रो भयो। उनमा डर प्रशस्त मात्रामा थियो।
उनी अझै पनि सुँक्कसुँक्क गरिरहेकी थिइन्। मैले भनें, मैले अस्पतालबाट संक्रमण आउन सक्छ भन्दा त तिमीलाई अलिकति पनि डर लाग्दैन। सपनाको चाहिँ डर? उनी रिसाएर भन्छिन्, बच्चालाई केही भयो भने? मैले बुझिहालेँ। उनको डर बेग्लै रहेछ। मातृत्वको माया मैले बुझें। सबैको डर फरक कुरामा र परिस्थितिमा हुने रहेछ भन्ने बुझें।
ममा रहेको एम बिबिएस तेस्रो वर्षमा क्लिनिकल विषय पढ्दा आएको डर, अहिले कोभिड १९ को स्थितिमा बिरामी हेर्नु पर्दाको डर, मेरो आमाको डर, र एक गर्भवती नारीको डर। मैले उनलाई सुम्सुम्याएँ र भने, नडराऊ केही हुँदैन, जसरी उनी मलाई खोकी लाग्दा पनि मायाले छ्या हजुरलाई केही हँुदैन भन्छिन् ।
ओहो ७ बजेछ। मेरो आँखा निरन्तर चलिरहेको भित्ताको घडीमा पुग्छ। इन्टरनेटमा नयाँ अध्ययनहरु आएका होलान् कोभिड १९ को विषयमा। नयाँ उपचारको विधि पत्ता लाग्यो कि? एकैछिन भए पनि पढ्नु पनि त पर्यो। आफ्नो कर्तव्य पूरा गर्न जसरी नेपाल लगायत विश्वभरका चिकित्सक, नर्स, सम्पूर्ण स्वास्थ्यकर्मीहरु गएका छन्। जसरी सरोकारवालाहरु गएका छन्, अनेकन भ्रम र निर्भयको विषयमा समानान्तर दूरी राखेर आफू पनि बच्नुपर्ने भय र संसारलाई पनि बचाउनुपर्ने निर्भयको भावना राखेर।
-तस्बिर सौजन्य: सिएनएन