डा गौरव भट्ट
आज पूरा विश्व नै कोभिड-१९ को त्रासमा छ। चीनको हुबेई प्रान्तको वुहान सहरलाई इपिसेन्टर बनाउँदै विश्वभर फैलिएको यो कोभिड-१९ महामारीका कारण आज प्रकृतिलाई जित्ने होडबाजीमा लागेका शक्तिशाली राष्ट्रहरुको पनि घमण्ड तोडिएको अवस्था छ।
कोभिड-१९ को त्रासले आज सबै जना घरघरमै बस्न बाध्य छौँ। यस महामारीबाट छुटकारा पाउन विश्वका सबै राष्ट्रहरु आफ्ना सारा आर्थिक, सैनिक अनि कूटनीतिक बल लगाई संक्रमण नियन्त्रण गर्ने प्रयासमा छन्। संसारका अधिकांश राष्ट्रमा लकडाउन जारी छ।
पाइला राख्न पनि हम्मेहम्मे हुनेगरी भीड हुने काठमाडौं सहर अहिले सुनसान छ। सम्भावित कोभिड-१९ संक्रमित बिरामीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टाइनमा रखिएको छ। कोभिड-१९ बाट संक्रमित भइसकेका बिरामीहरुलाई आइसोलेसनमा राखेर उपचार गरिँदै छ।
बढ्दो कोभिड-१९ संक्रमित संख्यासँगै सातै प्रदेशमा डायग्नोस्टिक ल्याब अनि आइसोलेसनका लागि बेड संख्या बढाउन सरकार लागिपरेको छ। नेपालमा भइरहेका यी प्रयासहरु अमेरिका अनि युरोपियन राष्ट्रहरुमा भइरहेका प्रयासहरुको एउटा सानो अंश मात्र हो।
हो, आज हामी संकटको समयबाट गुज्रिरहेका छौं। हामी स्वतन्त्र भई हिँड्न सक्दैनौं। परिवारजनबाट टाढा रहेका हुनसक्छौँ। कोही कसैको हकमा त झन् यो संकटको अवस्थामा सबै परिवार सदस्य एकै ठाउँमा सँगै सुरक्षाको प्रत्याभूतिका साथ रहन नपाउँदा अनि त्यसमाथि दुर्भाग्यबस कुनै सदस्य चाहिं कोभिड-१९ को संक्रमणले अस्पतालको शय्यामा मृत्युसँग लडिरहनु भएको पनि हुनसक्छ। अनि ती परिवार र आपÞmन्तजन्हरु भने महाभारतको कुरूक्षेत्रको लडाईंमा अन्धा भई अशक्त धृतराष्ट्रले मेरा अनि पाण्डु पुत्रहरुले के गर्दैछन् भनेर सञ्जयलाई सोधी वस्तुस्थिति बुझी बस्नुपरेझैँ आफ्नो मान्छेको स्वास्थ्य अवस्था कस्तो छ भनी फोनको भरमा हालखबरमात्र बुझी खुम्चिएर बस्नुपरेको स्थिति छ।
भाग्यवश अहिलेसम्म बन्दी जीवन बिताएरै भए पनि तपाईंहामी चाहिँ संक्रमणबाट सुरक्षित छौँ। तर अहिलेसम्म कोभिड-१९ को सिकार भएका छैनौँ भनेर ढुक्क हुँदैगर्दा कोभिड-१९ को महामारीका कारण बन्दी जीवनशैलीले निम्त्याउन सक्ने मनोवैज्ञानिक एवं मानसिक समस्या भने निकै जोखिमपूर्ण पनि हुनसक्छ।
यस्तो संकटको बेलामा हामी लुप्त अथवा प्रकटित अवस्थामा रहेको तनावमा हुनसक्छौँ। आज हामी सोसल आइसोलेसन भन्दै होम क्वारेन्टाइनमा बसिरहेका छौँ। युरोपियन राष्ट्रहरु अनि अमेरिका जस्ता स्वास्थ्य सेवा अनि जनमानसमा जागरुकताका हिसाबले अब्बल मानिने राष्ट्रहरुमा मृत्यु हुनेको संख्या चुलिँदै गएको छ। हाम्रै छिमेकी राष्ट्र भारतको पनि बढ्दो संक्रमित अनि मृत्यु हुनेको संख्या हरेक दिन हरेक घण्टा गन्दै बस्दैछौँ।
नेपालमा पनि आजको मितिसम्म संक्रमितको संख्या ३० पुगिसकेको छ र संक्रमित संख्या अझ बढ्ने क्रम जारी नै छ। यस्तो अवस्थामा लकडाउन छिट्टै खुलिहाल्ने सम्भावना कम देखिन्छ। यस्तो संकटकालको अवस्था अझ लामो समयसम्म कायम रहिरहँदा हामी जोकोहीको पनि मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ। जसको कारण स्ट्रेस, एन्जाइटी, डिप्रेसन, सुताइमा समस्या, मदिराजन्य पदार्थ लगायत अन्य लागू पदार्थ सेवनको समस्या बढेर जान सक्छ।
यसका अलावा, बाल शोषण लगायत अन्य घरायसी हिँसा जस्ता समस्याहरु पनि बढेर जान सक्छन्। किनकि आज प्रकृतिले नै हाम्रो स्वतन्त्रता खोसेको अवस्था छ, पारिवारिक दूरी कायम भएको अवस्था छ, मनोरञ्जनका बाटाहरु खोसिएका छन्। व्यापार व्यवसाय सुख्खा छन्। बिहानबेलुकाको छाक टार्न हरेक दिन घन्टौं मजदूरी गर्नुपर्ने वर्गमा गाँस खोसिएको छ।
नेपालको सन्दर्भमा भन्नुपर्दा महिला घरायसी कामकाजमा धेरै सक्रिय हुनुपर्ने हुँदा महिला शोषण पनि नभइरहेको होला भन्न सकिंदैन। वयश्क उमेरमा रहेका किशोरकिशोरीहरुमा पनि स्ट्रेससँग लड्ने क्षमताको विकास नभइसकेको हुँदा यस्ता सीमारेखा वरपर पर्ने उमेर समूहमा कहिलेकाहिँ समस्याले झन् विकराल रुप लिन सक्छ। उदाहरणका लागि, देशविदेशमा लकडाउनकै कारण आत्महत्याका घटनाहरु घटिरहेका समाचार पनि सुन्नमा आइरहेका छन्।
लकडाउनको सुरुसुरुमा स्कुल बिदा भयो भनेर रमाउने हाम्रा बालबालिकाहरुको बेफिकर भई आफ्ना साथीभाइहरुसँग खेली बस्न पाउनु नै जिन्दगी हो भन्ने त्यो कलिलो मनमस्तिष्कको सोचमा अहिले प्रश्नचिन्ह उठेको छ। ती कलिला मनमस्तिष्कहरु अहिले रनभुल्लमा परेका छन्।
आफ्नो समकक्षी उमेर समूहबाट एक्लिएका अनि घर भित्रै खुम्चिएर रहन परेका बालबालिकाहरुमा परिवार सदस्यहरु नयाँ रिपोर्टेड केसहरुको अपडेट अनि अन्य राष्ट्रहरुमा महामारीका कारण बढ्दै गरेको मृत्युसंख्या गन्ति गर्दै बस्दै गरेको देख्दा अनि बिरामी भई हस्पिटल बस्नुपर्ने जस्तो कुराले बालबालिकाहरुमा पनि चिन्ता, त्रास अनि बेचैनी बढेको हुनसक्छ। यस्तो समस्या ठूलो परिवारका साथ साँघुरो बसाइमा रहने बालबालिकाहरुमा अझबढी अतिरन्जित हुनसक्छ।
स्कुल बन्द भई लामो समय घरकै कोठामा सीमित भइरहँदा बालबालिकाहरुमा स्कुल जाँदै गर्दाको दैनिकीको संरचना भङ्ग भई उनीहरुको स्वस्थ मानसिक अवस्थाका लागि अपरिहार्य साथीभाइसँग रहँदाको त्यो छुट्टै उत्तेजना अनि सामाजिक समर्थनको बोधको अवसर पनि गुमेको छ। यसका अलावा घरैमा बसिरहँदा, बालबालिकाहरुमा स्वभाविक रुपमा नै कौतुहलता बढी हुने हुँदा आफ्ना भावनाका कुरा सुनिदिने आफैं सरह व्यवहार गरिदिने साथीभाइको अभावमा अनि स्कुल जाँदा आउँदाको समयमा गृहकार्य लगायत अन्य व्यस्त राख्ने मौलिक क्रियाकलापको अभावमा उनीहरु जानीनजानी अप्रिय घरायसी घटनाको सिकार पनि हुन सक्छन्।
घरको वातावरण त्यस्तै नकारात्मक खालको छ भने घरायसी मतभिन्नता अनि झगडाको पनि लामो समयसम्म प्रत्यक्षदर्शी हुनसक्ने हुँदा यो कुराले पनि बालबालिकाहरुको मनोविज्ञानमा क्षणिक मात्र नभएर दीर्घकालीन असर पनि नपुर्याउला भन्न सकिँदैन।
समग्रमा भन्नुपर्दा यी सबै एक्कासि आएका अझै लामो समयसम्म रहनसक्ने नकारात्मक परिवर्तनका कारण हाम्रा बालबालिकाहरुलाई वस्तुस्थिति बुझ्न गार्हो भई उनीहरुमा रिस, क्रोध अनि झिज्याहट् बढेर जाने समस्या आउन सक्छ।
यी सबै समस्याहरुलाई सम्बोधन गर्नका लागि हामी विशेष रुपमा सजग हुन जरुरी छ। आफ्ना बालबालिकाहरुलाई चाहिने माया अनि हाम्रो ध्यान, हेरचाह अरु बेलामा भन्दा झन् धेरै बढाउन आवश्यक देखिन्छ। यस्तो परिस्थितिमा हामीले उनीहरु भित्र रहेको डर, त्रास अनि अन्योलतालाई हटाउनका लागि उनीहरुले बुझ्नेगरी सरल भाषामा के भइरहेको छ भन्नेबारे बुझाउन जरुरी छ।
निराशावादी होइन, बरु आशावादी सोचले सरल भाषामा उनीहरुलाई मानसिक रुपमा बलियो बनाउन जरुरी छ। उनीहरुलाई आफ्नो डर, चिन्ता, दुःख अनि खुसीका भावनाहरु पोख्न सहज वातावरण सिर्जना गरिदिन अत्यावश्यक छ। सम्भव भएसम्म बालबालिकाहरुलाई आफ्ना साथीभाइ अनि गुरु/गुरुआमाहरुसँग सम्पर्कमा राख्न भिडियो कलमा बोल्ने अवसर मिलाइदिनु जरुरी छ।
यसैगरी बालबालिकाहरुलाई घरमै बसीबसी नयाँ सिप विकासका क्रियाकलापहरुमा पनि उत्प्रेरित गर्न सकिन्छ। जस्तै चित्रकला, वाध्यवादन कला, नृत्यकला, वक्तृत्वकला आदि। र, बालबालिकाहरुको सुरक्षाका लागि त्यस्ता अप्रिय घटना घटाउन सक्ने वस्तुहरुलाई उनीहरुबाट टाढै राख्न जरुरी छ।
यसैगरी वृद्ध उमेर समूहमा पनि उहाँहरुको मनोवैज्ञानिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक असर परेको पक्कै छ। वृद्ध उमेर समूहको कुरा गर्दा हामीले युरोपलाई छुटाउन मिल्दैन। किनकि युरोपका अधिकांश राष्ट्रहरुमा वृद्ध उमेर समूहको जनसंख्या ज्यादै धेरै भएको पाइन्छ।
विश्वभर वृद्ध उमेर समूहका जनसंख्या धेरै भएका ३० वटा राष्ट्रहरुमध्ये जापानलाई छाडी बाँकी सबै युरोपियन राष्ट्रहरु नै हुन्। त्यसैले महामारीको जोखिममा पनि सबैभन्दा धेरै युरोपिएन राष्ट्रहरु नै छन्।
हालै भइरहेका अनुसन्धानका तथ्यांकहरु हेर्दा पनि ९५ प्रतिशत मृत्यु सबै ६० वर्ष माथिकै उमेर समूहमा पर्ने बिरामीहरुकै भएको पाइन्छ। र, १० मा ८ जनाको मृत्यु कोरोना संक्रमणका साथै मुटुरोग, उच्चरक्तचाप, डायाबिटिज र अन्य दीर्घकालीन रोगहरु भएको समूहमा भएको पाइएको छ।
वृद्धावस्था अनि त्यसैमाथि अन्य रोगका सिकार भैसकेकाहरुलाई तपाईं विशेषगरी जोगिनु पर्ने हुन्छ, तपाईं कोभिड-१९ संक्रमणको धेरै जोखिममा हुनुहुन्छु भन्दैगर्दा हामीले उहाँहरुमा झन् धेरै डर अनि त्रास भर्ने काम गरिरहेका हुन्छौं। जसका कारण उहाँहरुमा स्ट्रेस, इन्जाइटी अनि रिस बढेर जाने समस्या हुनसक्छ। कोही वृद्धावस्थाका बुवाआमाहरु जो पहिल्यैदेखि एक्लो हुनुहुन्छ, यस लकडाउनपश्चात् झन् एक्लिनु भई एकै ठाउँमा सीमित हुनपरेको अवस्था छ। जसले गर्दा उहाँहरुको मानसिक स्वास्थ्यमा झन् ह्रास आउने सम्भावना हुन्छ।
यसका साथै कग्निटिभ डिकलाइन अनि डिमेन्सिया जस्ता दीर्घकालीन समस्या भएका बुबाआमाहरुमा त समस्या झन् साह्रो हुनसक्छ। लकडाउनका कारण हाल अधिकांश अस्पतालहरुमा ओपिडी सेवाहरु बन्द छन्। यातायात ठप्प छन्। पहिलो कुरा, वृद्धवृद्धाहरु आफ्नो समस्या घरपरिवारसँग पोख्न सहज नठान्न सक्नुहुन्छ। दोस्रो कुरा, समस्या समाधानका लागि अस्पताल जानुपर्दा पनि यातायात व्यवस्था ठप्प छन्। तेस्रो कुरा, गार्होसार्हो गरेर यातायातको साधन मिलिहाल्यो भने पनि अस्पतालमा ओपिडी सेवाहरु बन्द छन्। इमर्जेन्सीमा देखाउन जाउँ भने, इमर्जेन्सीमा देखाउने खालको जस्तो तत्काल ज्यानै लिइहाल्ने खालको समस्या पनि नहुनसक्छ।
अनि सबै समस्याहरुलाई पन्छाउँदै अस्पताल पुगिहाले पनि आफू अनि सँगै जाने परिवार सदस्यलाई पनि कोभिड-१९ संक्रमण होला भन्ने डर छ। यस्ता समस्याले ज्यानको खतरा तत्कालका लागि नभए पनि शारीरिक एवं धेरै भन्दा धेरै मानसिक तनाव थप्ने काम गरेको छ।
यो कठिन परिस्थितिमा यस्ता वृद्धावस्थाका बुबाआमाहरुलाई हामीले ख्याल गरेनौँ भने उहाँहरुको मनोबल घटी शारीरिक रुपमा समेत कमजोर भई, चाँडो रोगको सिकार भई अरुलाई पनि संक्रमण हुने सम्भावना बढ्न सक्छ र उहाँहरुको ज्यानको खतरा पनि बढेर जान सक्छ। यस्तो अवस्थामा हामीले नझिँजिइकन उहाँहरुलाई पटक पटक दोहोर्याउन परेपनि संक्रमणको जोखिमबाट बच्नका लागि सुझाव दिन छोड्नु हुँदैन। उहाँहरुका व्यक्तिगत सरसफाइका लागि हामी आफैं पनि सक्रिय हुन जरुरी छ।
कग्निटिभ डिकलाइन अनि डिमेन्सिया जस्ता दीर्घकालीन रोगको समस्या भएका बुबाआमाहरुमा अन्य रोगको समस्या पनि छ भने उहाँहरुको दैनिक औषधि सेवनमा हामीले पनि ध्यान पुर्याएर रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउन नदिनु जरुरी छ। उहाँहरुको स्ट्रेस कम गर्नका लागि सामान्य व्यायाम गर्न पनि सहयोग पुर्याउन सक्छौं। भजन अनि धार्मिक ग्रन्थहरु सुन्ने, सुनाउने गर्दा सबै उमेर समूहका लागि लाभदायक नै हुन्छ। र, यो बेलालाई समस्यामात्र नठानेर, आफ्नो वृद्धावस्थामा रहनुभएका अग्रजहरुसँग समय बिताउने राम्रो अवसर ठानी उहाँहरुको कुरा सुनिदिए पनि उहाँहरुमा खुसी बढ्न सक्छ।
तथ्यांक हेर्दा नेपालको कूल जनसंख्याको ८.१३ प्रतिशत वृद्ध उमेर समूहको जनसंख्या रहेको पाइन्छ। संख्यात्मक रुपमा हेर्दा यो सानो संख्या होइन। त्यसैले यस महामारीसँग लड्दैगर्दा हामी यस्ता रोगसँग लड्न कमजोर समूहको अझ बढी ख्याल राख्न जरुरी छ। वृद्ध उमेर समूहमा रोगले छिट्टै आक्रमण गर्नसक्ने हुँदा यस्ता उमेर समूहका व्यक्तिहरुबाट अन्य उमेर समूहका व्यक्तिहरुमा संक्रमण बढ्ने अझ बढी सम्भावना हुन्छ।
यस्ता उमेर समूहका बुबाआमाहरुमा स्ट्रेस, इन्जाइटी जस्ता समस्याहरुले गर्दा मानसिक स्वास्थ्यमा मात्र नभई समग्रमा उहाँहरुको रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमतामा नै पनि ह्रास आउन सक्छ। यस्तो अवस्थामा उहाँहरुको मनोविज्ञानलाई ध्यानमा राखी तनावरहित वातावरण सिर्जना गर्दै मानसिक एवं शारीरिक स्वास्थ्यको ख्याल राख्न सके यस महामारीसँग लड्न अझ सजिलो हुनसक्छ।
- (डा भट्ट बेनी अस्पतालमा कार्यरत छन्।)