डा निर्मल लामिछाने
गत वर्षको डिसेम्बर महिनामा चीनको वुहान सहरबाट सुरु भई हाल संसारलाई नै अक्रान्त बनाइरहेको कोरोना भाइरसको संक्रमणबाट हुने कोरोना भाइरस डिजिज-१९ को विश्वव्यापी प्रकोपले जनमानस प्रताडित रहेको छ। जनसमुदायमा यसको व्यापक असर त छ नै, अन्य रोग लागेका जस्तैः चिनी रोग, उच्च रक्तचाप, क्यान्सर आदि दीर्घ रोगीहरुमा कोभिड-१९ अझ नराम्रो रुपमा देखिएको छ।
हाल विश्वमा कोरोना भाइरस डिजिज-१९ का २४ लाखभन्दा बढी बिरामी छन् भने करिब १ लाख ६५ हजारभन्दा बढीले यसकै कारणले ज्यान गुमाइसकेका छन्। हालसम्म कुनै औषधीय उपचार र खोपको विकास नभएकाले यस रोगको संक्रमणको प्रकोपलाई घटाउन एक मात्र उपाय भनेको सामाजिक दूरी कायम गर्नु रहेको छ। सामाजिक दूरीको प्रभावकारी पालनाको लागि देशहरुले लकडाउन समेत गरेका छन्।
रोगको धेरै प्रकोप भएका देशहरुमा हेर्दा यसले स्वास्थ्य क्षेत्रमा दिएको दबाब र सेवा प्रदायनमा भएको अपर्याप्तता ज्यादै डरलाग्दा छन्। अफ्ठ्यारा, समय लाग्ने र अध्यानुन्मोख निदानका उपाय, अग्रपंक्तिका सेवा प्रदायकलाई अत्यावश्यक सुरक्षा पोसाक र सामानको कमी, अस्पतालमा क्षमताको कमी, आइसियुको कमी आदि धेरै कारणले स्वास्थ्य क्षेत्रमा एउटा युद्धभूमिको जस्तो अवस्था सिर्जना भएको छ।
यस्तो असाधारण समयमा क्यान्सर रोगको उपचारमा संलग्न जनशक्तिले अभूतपूर्व चुनौतीहरु सामना गर्नु परेको छ। अमेरिकन क्यान्सर सोसाइटीको कथन अनुसार अमेरिकाको मात्र कुरा गर्दा त्यहाँ दैनिक ५००० जना क्यान्सरका बिरामी निदान हुन्छन्। चीनबाट आएका प्रारम्भिक रिपोर्टका अनुसार यदि कोभिड-१९ क्यान्सरका बिरामीलाई सर्यो भने सो बढी प्राणघातक हुने देखिएको छ। यस परिप्रेक्ष्यमा क्यान्सर उपचारमा संलग्न हुने चिकित्सक र अन्य जनशक्तिहरुले यसको निदान, उपचार, फलोअपमा निम्न कुरामा विचार दिनुपर्छः
१) क्यान्सरको निदान र उपचारमा ढिलाइ र सम्भावित कोभिड-१९ संक्रमणको सन्तुलन।
२) सामाजिक दूरी कायम गर्नुपर्ने आवश्यकताले ल्याउन सक्ने बिरामीका सेवामा अवरोधको जोखिम।
३) सीमित स्वास्थ्य सेवाका स्रोत(साधनको यस अभूतपूर्व घडीमा उपयुक्त बाँडफाँड।
यी विषयहरुको बुँदा गत रुपमा व्याख्या गरिएको छः
क्यान्सर उपचारको ढिलाइ गर्दा हुने खतरा र कोभिड-१९ संक्रमणको सम्भावनाको सन्तुलन
कोभिड-१९ को संक्रमणले उमेर पाको समूहका मानिस, अन्य दीर्घ रोग भएका मानिसलाई बढी हानि पुर्याएको अध्ययनहरुले देखाएका छन्। अध्ययनहरुले तत्काल निदान भएका वा पुराना र उपचारको क्रममा रहेका वा फलोअपमा रहेका क्यान्सरका बिरामीलाई कोभिड-१९ को संक्रमणले बढी हानि गर्ने देखिएको छ। चीनमा भएका अध्ययन अनुभव अनुसार कोभिड-१९ संक्रमित क्यान्सरका बिरामीहरु धेरैजसो बढी जटिल रुप लिएको, भेन्टिलेसन सेवा चाहिएको र धेरै को मृत्यु समेत भएको देखिएको छ। एक महिनाको समयभित्र केमोथेरापी गरेका, सर्जरी गरेका बिरामीमा यसका लक्षणहरु उपचार नै नगरेका बिरामीमा भन्दा कडा र जटिल रुपमा देखिएको छ।
क्यान्सरका बिरामीलाई चाहिने निदान उपाचारमा अस्पताल आवतजावतको क्रममा पर्याप्त सामाजिक दूरी कायम हुन नसकेर कोभिड-१९ संक्रमण हुने सम्भवनाबाट बचाउन यो महामारीको निकै गार्हो पर्ने देखिन्छ। उपचारमा अप्रेसन सेवा, केमोथेरापी सेवा, रेडियो थेरापी सेवा आदिको राम्रो नतिजा समेत कोभिड-१९ को संक्रमणको कारणले जोखिममा पर्न सक्छ। हामीले रोगको प्रकृति हेरी केही समुचित वर्गीकरण गर्न सके बिरामीले उच्चतम लाभ पाउने सम्भावना रहन्छ। जस्तैः केही असाध्यै छिटो बढ्ने सम्भावना रहेका रोग जस्तैः फोक्सोको क्यान्सर, पेन्क्रियाज ग्रन्थीको क्यान्सर, एक्युट लिउकेमिया आदि रोगलाई तुरुन्त निदान र उपचार गरे राम्रो हुन्छ भने अन्य केही अर्ली स्टेजका ढिलो बढ्ने क्यान्सर जस्तैः स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर, पाठेघरको मुखको क्यान्सर, छालाका क्यान्सर आदिलाई त्यति हतारिनुपर्ने देखिंदैन।
हुन त सबै खाले क्यान्सर रोगलाई यस अवस्थामा एकैखाले सिद्धान्त लागू गर्न त मिल्दैन तर एउटा अनुभवी क्यान्सर रोग विज्ञ वा विज्ञ समूहले सो क्यान्सर रोगको बायोलोजिकल बिहेबियर, रोगको प्रोग्नोस्टिक इन्डिकेटर आदिको आधारमा रोगीलाई कोभिड संक्रमणको जोखिमबाट बचाउँदै सन्तुलित उपचारको निर्णय लिनु न्यायोचित हुने देखिन्छ। यी निर्णयहरु कोभिड संक्रमणको माहामारीको अवस्था हेरी समयोचित समायोजन गर्दै लगिने नै छ।
हाल केही सरकारी र व्यावसायिक स्वास्थ्य सेवा संगठनहरुले समय सापेक्ष गर्नुपर्ने ट्रायजका सिफारिसहरु सेवा प्रदायकहरुलाई दिइसकेका छन्। जुन क्यान्सर उपचारको अन्तिम अवस्थामा वा प्यालियेटिव केमोथेरापी उपचारमा छन् भने, उनीहरुलाई यो कोभिडको सन्त्रासको बीचमा उपचारको व्यर्थताको बारेमा समेत पूर्ण जानकारी दिनु पनि अति अवश्यक छ।
सामाजिक दूरी पालना गर्नुपर्ने कारणले गर्दा क्यान्सर उपचार सेवामा हुनसक्ने सम्झौता
प्रतिबन्धात्मक सामाजिक दूरी कायम गर्नु लाई यस्ता खालका माहामारीको सुरुआती अवस्थामा नियन्त्रणको अति प्रभावकारी उपायको रुपमा लिइन्छ। कोभिड-१९ को संकटको समयमा यो रणनीतिलाई धेरैजसो देशहरुले अपनाएको देखिन्छ। यो रणनीतिले 'कम गर्ने' धारणालाई बढावा दिन्छ। यसले अस्पतालमा एकै समयमा श्रोतको बढीभन्दा बढी उपभोग गर्ने परिबन्धलाई घटाउने प्रयत्न गरिन्छ। यसले श्रोतको समुचित परिचालन गरी कोभिड-१९ का संक्रमितलाई बढीभन्दा बढी बचाउन प्रयोग गर्ने र सकेसम्मका मृत्युलाई टाल्न सकियोस् भन्ने हो।
सबै क्यान्सरका बिरामीहरुको सेवाको वितरणको प्रकार र प्रक्रिया हेर्दा यो सामाजिक दूरी कायम गरेर गर्न सकिने र मिल्ने खालको हुँदैन। बिरामी देखाउन आउने, रगत तान्ने, ल्याबोरेटरी रिपोर्ट बनाउने, इमेजिङका रिपोर्ट बनाउने, बायोप्सी गर्ने, अप्रेसन गर्ने, केमोथेरापी लगाउने, रेडिएसन थेरापी प्लानिङ गर्ने, रेडियेसन थेरापी उपचार दिने, अस्पतालमा भर्ना हुने आदि धेरै काम धेरै पटकको आवतजावत र समयमा गर्नुपर्ने हुन्छ। साथमा परिवारका सदस्य वा सहयोगीको पनि साथ हुने भएकाले धेरै पट , धेरै ठाउँमा विभिन्न व्यक्तिसँग भेट गर्नुपर्ने भएकाले भाइरस सर्ने सम्भावना अत्यन्त बढी भएर जान्छ।
अझ विकशित देशमा त क्लिनिकल ट्रायल मेडिकल अंकोलोजी र क्यान्सर केयरको अभिन्न अंग हो। यसमा समाहित हुनका लागि त बिरामीले अझ केही अतिरिक्त भिजिट समेत गर्नुपर्ने देखिन्छ। यसमा प्रयोग हुने औषधिको आपूर्तिको पर्याप्तता समेत यस्तो विषम परिस्थितिमा सजिलो नहुने भएकाले उपचारमा सहजता नहुने हुन्छ।
अहिलेको समयमा गैर परम्परागत शैलीमा आधुनिक सूचना प्रविधिको अधिकतम प्रयोगले बिरामीको फलोअप उपचार गर्दा अहिलेको सार्वजनिक स्वस्थ्य क्षेत्रको दबाबलाई केही हदसम्म कम गर्न सकिने देखिन्छ। यसलाई अझ प्रविधि मैत्री तरिकाले शिष्टाचार व्यवस्थापन र नियमन गरी सञ्चालनमा ल्याउन सके यो लेजिटिमाइज्ड भएर भविष्यको हेल्थ केयर डेलिभरीको नयाँ आयाम समेत बनेर जानसक्ने देखिन्छ।
स्वास्थ्यसम्बन्धी स्रोत-साधनको समुचित वितरण
क्यान्सरको उपचार एक अति नै स्रोत-साधन परिचालन गर्नुपर्ने विधा हो। यो कोभिड-१९ को प्रकोपका बीच पनि क्यान्सरका बिरामीले अस्पतालका बेड, आइसियु बेड, भेन्टिलेटर, औषधिहरु, रगत र कम्पोनेन्ट उत्पदनहरु, आधारभूत अस्पतालजन्य अपूर्तिहरुको खपत, मानव संसाधनको खपत आदि कारणले जुधेको देखिन्छ। क्यान्सरको निदान बिरामी र आफन्तका लगि मानसिक रुपमा समेत डरलाग्दो समस्याको रुपमा देखिन्छ। सामान्यतयाः क्यान्सर उपचारलाई 'इलेक्टिब' मानिँदैन र तुरुन्त उपचार दिनुपर्ने मानिन्छ। यति हुँदा पनि माहामारीको रुपमा आएको संक्रमणको उपचार 'अति जरुरी' को सिद्धान्तका आधारमा स्रोत-साधनको पुनर्वितरण र फेरबदल नै गरेर भए पनि गर्नुपर्ने देखिन्छ।
अन्त्यमा, क्यान्सर केयर र कोभिड-१९ को उपचारको मिसिएको यो विषम परिस्थितिमा बिरामी तथा केयर दिने दुवै समूहले निकै कठिन चुनौती सामना गर्नुपर्ने हुन्छ। यस्तो समयको लडाई योजनामा धैर्यता, परिश्रम, सञ्चारको उचित प्रयोगले समाधानमा पुग्ने परिपाटीले ठूलो महत्व राख्छ। खतराहरुको होसियारीपूर्ण सन्तुलन मिलाउँदै संक्रमण रोक्न सार्वजनिक स्वास्थ्य रणनीतिको पालना गर्दै बुद्धिमतापूर्वक सेवाको सुनिश्चितता गर्नु आजको आवश्यकता हो।
- (सिनियर कन्सलटेन्ट युरो क्यान्सर सर्जन डा लामिछाने बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष हुन्।)