डा नवीनकुमार सिंजाली
२१ डिसेम्बर २०१९ का दिन जन्मिएको कोरोना भाइरस (कोभिड-१९) को नाम यति धेरै पटक उच्चारण गरिसकियो कि, अब त नाम लिन पनि मन नलाग्ने भइसक्यो। चीनको वुहानबाट सुरु भएको यो भाइरसको फैलावट आज पृथ्वीको करिब/करिब शतप्रतिशत देशहरुमा पुगिसकेको छ।
संसारमा राज गरिरहेका विकसित सहरहरु, तंग्रिँदै गरेका र उठ्दै गरेका मानव बस्तीहरु, भर्खरभर्खर आधारभूत मानिएका विकासका लहर समाउने कोसिस गर्दै गरेका आश्रय स्थलहरु, कुना/कन्दरा, डाँडापाखामा छहारी दिएका झुपडीहरु कोरोना भाइरसका कारण सुनसान छन्।
यो भाइरसले लन्डन, पेरिस, न्युयोर्क, बम्बई, दिल्ली, काठमाडौं कसैलाई छाडेन, सबैलाई अचल बनाइदियो, सबैलाई निःशब्द बनाइदियो।
विकासले सधैं मानवजातिलाई फाइदा मात्र गरेन, सुख मात्र दिएन, बेलाबेलामा दुःख दियो, पीडा दियो अनि विनाश दियो। यो सिलसिला जारी नै छ। विकासले नै हिरोसिमा र नागासाकीमा न्युक्लियर बम पड्कायो, विकासले नै समाजलाई व्यक्तिवादी बनाइदियो, परिवारहरु भत्काइदियो। भौतिक सुखसुविधा प्राप्तिलाई जीवन सफलताको कडी बनाइदियो। हो असंख्य सुख प्राप्तिका सूचकांकहरु निर्माणको लागि उद्योग कलाकारहरू बनाइयो, थरीथरीका मेसिन उपकरणहरु बनाइयो।
कतिले हाम्रो जीवनशैलीलाई सहज पार्यो होला, धेरैले आजको पृथ्वीलाई चाहिनेभन्दा चिसो पारिदियो, चाहिनेभन्दा तातो पारिदियो। जीवन जिउन पाइलैपाइलामा रोगहरुको थुप्रोसँग लड्नपर्ने वातावरण निर्माण गरिदियो। अनि यी र यस्तै भाइरसहरुलाई हुर्कन, बढ्न र फैलन सजिलो बनाइदियो। खै थाहा छैन यो किरा पनि पर्यावरणीय परिवर्तनको परिणाम पो होकि! वा कुनै खास समुदायको अन्धविश्वास र भोजन ग्रहणको फल।
आज संसारका सबै चेतनशील मानिसहरू यो किरादेखि डराएका हुन त? यसमा के छ त्यस्तो जसले मानिसहरूको घमण्ड, मानव जातिप्रतिको गर्व, अतिवादीहरुको रास्ट्यितालाई मात खुवाएर मानवजातिलाई नै घुँडा टेक्न बाध्य बनायो। पलपलमा हात धुन लगायो, माया गर्नेहरुबीच दूरी राखिदियो। एउटा पहाडबाट अर्को पहाड, फेरि दुई/तीन सय वर्षअघि जस्तै बिरानो बनाइदियो।
सदियौंदेखि रम्दै आएको, मनाउँदै आएको चाडबाड, उत्सव सबै त्याग्न लगाइदियो। मनोरञ्जनका पाटाहरु, डान्सबारहरु, दोहोरीहरु, परजीवी खानाका स्रोतहरु, रेस्टुरेन्टहरु, नाटक र परिकल्पनाका प्रस्फुटनहरु, फिल्म हल, मलहरु सबै खाली गराइदियो। सारा संसार एउटै आँगनजस्तो भइसकेकोमा फेरि समुद्र वारिको-पारीको फरक-फरक दुनियाँ बनाइदियो। फेरि दूरीहरु किलोमिटरमै नाप्नपर्ने बनाइदियो।
मानिस स्वार्थी हुन्छन् भन्थे हो रहेछ। डराएको भाइरसदेखि हैन, मृत्युदेखि रहेछ। त्यसै हैन सच्चा सहिदहरुप्रति शीर झुकाउनु परेको, जो मृत्युदेखि पनि डराएनन्। हो मानिसलाई कुनै कुराको सबैभन्दा बढी डर हुन्छ भने त्यो मृत्यु नै हो। तर हामी यस्तो मृत्युको लागि डराइरहेका छौँ जसलाई महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका थिए कि मृत्युसँगको डरहरुमध्येको सबैभन्दा अनुचित डर हो, किनकि मृत शरीरलाई कुनै दुर्घटनाको डर हुँदैन।
चिकित्सकहरु कुनै रोगलाई कति धेरै खतरनाक भनेर त्यो रोग लागेको मानिसमा हुने मृत्युको सम्भावनालाई हेरेर भन्छन्। जति धेरै मृत्युदर हुन्छ, त्यति धेरै खतरनाक वा प्राणघातक मानिन्छ। कोभिड-१९ लाई हेर्ने हो र यसले हालसम्म निम्त्याएको मृत्युदरलाई हेर्ने हो भने यो रोग वृद्धबृद्धालाई बढी खतरायुउक्त देखिन्छ।
विभिन्न तथ्यांकहरुका अनुसार साठी वर्षभन्दा माथि उमेर समूहका मानिसमा मृत्युदर उच्च छ। ६० देखि ६९ मा ३.६ प्रतिशत, ७० देखि ७९ मा ८ प्रतिशत र ८० वर्षभन्दा माथिमा करिब १५ प्रतिशत र ६० वर्षभन्दा मुनि असाध्यै न्यून ०.२-१.३ प्रतिशत मृत्युदर छ।
वृद्धवृद्धामा मृत्युदर बढी हुनुमा उमेर बढेसँगै हुने विभिन्न रोगहरु जस्तैः मधुमेह, उच्च रक्तचाप, मुटुरोग, दम जस्ता रोगहरुले रोगसँग लड्ने क्षमतामा ह्रास ल्याउनुले पनि हो। समग्रमा हेर्दा मृत्युदर दुईदेखि चार प्रतिशत देखिन्छ। यसमा पनि धेरै पत्ता नलागेका र लक्षण नभएका संक्रमितहरुलाई समायोजन गर्ने हो भने मृत्युदर अझै घट्ने देखिन्छ।
अब प्रश्न आउँछ।, यति न्यून मृत्युदर भएको रोगसँग हामी किन डराइरहेका छौँ त? कारण यस्ता छन्, यो रोगबारे अझै धेरै तथ्यहरु पत्ता लागिसकेको छैन। यसले महामारीको रुप लिइसकेको छ भने निदानको उपाय र निर्मूल पार्न औषधि पत्ता लागिसकेको छैन। अबका दिनहरुमा यो रोगमाथिको नियन्त्रण तीन अवस्थामा मात्र सम्भव छ।
एक, भाइरसलाई धेरै फैलन नदिने, यसैको लागि लकडाउन गरिएको हो। दोस्रो, यो भाइरस विरुद्धको खोप र औषधि (यदि हालसम्म पत्ता लगाइएको खोप प्रभावकारी प्रमाणित भएमा) प्रयोगमा आउनको लागि कम्तीमा एकदेखि डेढ वर्षसम्म लाग्न सक्छ। तेस्रो भनेको सम्पूर्ण जनसंख्याको साठी प्रतिशत जति जनसंख्यामा यसको संक्रमण भएपछि। यस्तो अवस्थामा धेरै मानिसले ज्यान गुमाउनुपर्ने हुनसक्छ।
हामीसामु अहिले रहेको भाइरस विरुद्ध गर्न सकिने उपाय भनेको रोग फैलाइटमाथिको नियन्त्रण नै हो। त्यसैका लागि हामीले विभिन्न क्रियाकलापहरु जस्तैः हात धुने देखि सामाजिक दूरी कायम राख्नेसम्म अबलम्वन गरिरहेका छौँ। सामाजिक दूरी कायम राख्न नै लकडाउन गरिएको हो। तर लकडाउन, यो शून्यता, यो अचलता, बन्दी जीवन कति दिनसम्म लम्ब्याउन सकिएला? भण्डारण गरिएको खानेकुरा सकिएपछि मानिसहरुलाई कसरी घरभित्रै राख्न सकिएला?
विश्वकै महाशक्ति अमेरिका जस्तो देशमा त सन् २००८ यताकै सबैभन्दा न्यून भण्डारणको अवस्थामा त्यहाँको उपभोग्य वस्तुको बजारहरु पुगेको तथ्यहरु सार्वजनिक भइरहेको अवस्थामा विकासोन्मुख र अविकसित देशहरूको अवस्था के होला? गाँस, बास र कपासमध्ये गाँसको अभाव भोग्न कठिन हुन्छ। गाँस वा खाना प्राप्तिको माध्यम भनेको कि आफैंले उत्पादन गर्नु पर्यो कि खरिद गर्नुपर्यो।
अति उपभोग्य वस्तुहरुको भण्डारण न्यून रहेको नेपाल जस्तो देशले कति दिन बजारमा खाद्य सामग्री उपलब्ध गराउन सक्ला? अझ झन् ज्याला/मजदूरी गरेर खाने मानिसहरुको अवस्था के होला? विकसित देशहरूमा खेतीपातीमा थोरै मानिस खटिन्छन्। धेरै काम मेसिन औजारहरु बाट गराउँछन्। कम समय र श्रमको लगानीमा धेरै उत्पादन गर्छन्। तर हाम्रो जस्तो देशमा पाँच जनाको परिवार पाल्न पाँचै जना वर्षभरि खेतबारीमा खटिनुपर्ने हुन्छ।
यहाँ आधुनिक प्रविधिबाट खेती गर्ने चलन नै विकास भएको छैन। त्यसो भए अबका दिनमा कोरोना रोक्न लकडाउन लाई लम्ब्याउँदै लानपर्ने हुँदा मानिसहरुको घरमा खाना सकिँदै जाँदा सम्भावित रोग र त्यसले निम्त्याउन सक्ने मृत्युलाई रोज्लान् वा भोकले निम्त्याउन सक्ने मृत्यु, रोग वा भोकमा के रोज्लान्?
कतै हामीले हाम्रो देश, परिस्थिति, चालचलन, रहनसहन, भौगोलिक अवस्था, आर्थिक हैसियत र उत्पादनको अवस्था हेरेर हामीलाई सुहाउँदो फरक तरिकाहरु त अपनाउनुपर्ने हैन? विकसित र आत्मनिर्भर देशहरूको जस्ताको तस्तै सिको गर्न नसकिने पो होकि! नसुहाउने पो होकि! यो अदृश्य बैरीसँग लड्न हामीले हाम्रै माटो सुहाउँने तरिकाहरु विकास गर्नुपर्ने पो होकि। जसले धेरैभन्दा धेरैको अमूल्य जीवनहरु बचाउन सकोस्, भोक र रोग दुवैबाट।