डा राजीव कुमार पण्डित
कोभिड(१९ सुरु भएको ३ महिनाभन्दा बढी भइसकेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाको महामारी घोषणा गरेको १ महिना भन्दा बढी हुन लागिसकेको छ। तर सांसारका शक्तिशाली देश तथा वैज्ञानिकहरुले नियन्त्रणका लागि गरेका गरेका सबै प्रयास अहिलेसम्म असफल सावित भइरहेका छन्।
विश्वका अति विकसित र शक्तिशाली राष्ट्र अमेरिका लगायत बेलायत, इटाली, फ्रान्स, जर्मनीमा कोरोनाको संक्रमण तथा मृत्यु हुनेको सख्या हेर्दा नेपालमा भने कोरोनालाई गम्भीरतापूर्वक नलिएको हो कि जस्तो देखिएको छ।
नेपालमा अहिलेसम्म पिसिआर टेस्टबाट ३२ पोजेटिभ देखिएको छ भने धेरै आरटिडी पोजेटिभ केसहरु देखिने क्रम बढिरहेको छ। अतिविकसित राष्ट्रहरुले भोग्नुपरेको भयावह स्तिथिबाट नेपालले पनि बेलैमा पाठ सिकेर यस्तो स्तिथि आउन नदिन तयारी अवस्थामा बस्नु जरुरी देखिन्छ।
हाम्रो देशको स्वास्थ्यको स्तिथिबारे धेरैलाई सर्वविदितै छ। अस्थिर स्वास्थ्य मन्त्रालय र विभाग, अपुग स्वास्थ्यकर्मी, अपुग स्वास्थ्य संस्था, स्वास्थ्यकर्मीविहीन स्वास्थ्य संस्था, विशेषज्ञविहीन स्वास्थ्य सेवा र काठमाडौँ केन्द्रित उपचार नेपालको वर्तमान स्वास्थ्यको अवस्था हो।
यही अवस्थामा बसिराख्ने हो भने हाम्रो स्थिती अमेरिका भन्दा जटिल नहोला भन्न सकिँदैन। अपुग स्रोत र साधनको अवस्था मा हाम्रा स्वास्थ्यकर्मीहरुले गर्नुभएको काम एकदमै सराहनीय छ। र, यसको प्रशंसा सरकार र आमजनताले पनि गर्नु पर्छ। साथै कमीकमजोरीको सुधार पनि गर्नुपर्छ।
अहिलेको अवस्थामा लकडाउनले धेरै हदसम्म संक्रमण फैलिनबाट रोक्न सहयोग गरेकोेछ। प्रिभेन्सनसँगसँगै ट्टिमेन्ट पनि चुस्त दुरुस्त बनाउनु पर्छ। कोरोनाले अहिले मात्रै होइन, दीर्घकालीन रुपमा समस्या रहने कुरा विशेषज्ञहरुको आकलन छ।
समस्या र समाधानहरु
१. हेल्थपोस्ट, पिएचसिसी, नगर, जिल्ला, प्रदेश अस्पतालहरुमा विशेषज्ञ डाक्टर, मेडिकल अधिकृत, नर्स र पारामेडिक्सको अभाव : दरबन्दीअनुसार मात्रै नियुक्ति गर्ने हो भने अहिले देखिएको समस्या धेरै हदसम्म कम गर्न सकिन्छ। सरकारले करारमा स्वास्थ्यकर्मी खटाउने र काम सकेपछि बेवारिसे बनाउनुभन्दा उचित सुविधा दिई सरकारी अस्पतालमा नियुक्त गर्दा स्थानीय तहमै जनताले सेवा पाउँछन्। र सरकारलाई क्वारेन्टाइन र आइसोलेसन गर्न सजिलो हुन्छ।
२. विशेषज्ञ डाक्टरको अभावमा बिरामीलाई रेफेर गर्नुपर्नेः नगर, जिल्ला र प्रदेश अस्पतालमा एमडिजिपी, एमडी, एमडी एनेस्थेसिया, अर्थोपेडिक, गाइनो, सर्जरी, पेडियाट्रिक्स, मेडिकल अफिसर, पारामेडिक्सकोको आवश्कता हेरी सेवा स्थानीय तहमै उपलब्ध हुने हो भने रेफर गर्ने आर्थिक भार कम हुन्छ। साथै संक्रमण फैलिनबाट बचाउन सकिन्छ। यस्तो बेला वा भविष्यमा आइपर्ने कुनै पनि समयमा विशेषज्ञ सेवाको लागि काठमाडौँ वा सहर नै पुग्नुपर्ने झन्झट हुँदैन।
३. आइसियु तथा भेन्टिलेटरको अभावः अहले नगर, जिल्ला वा प्रदेश अस्पतालहरुमा आइसियु सेवा गनेचुनेको ठाउँमा मात्रै छ। अन्य ठाउँमा भए पनि कति चालू अवस्थमा छैनन् त कतिमा डाक्टर नभएर बन्द छन्। भेन्टिलेटरको त कुरै न गरौं। अवस्था सुधार्ने हो र स्वास्थ्यकर्मी राख्ने हो भने आइसियु सुविधा नगर, जिल्ला र प्रदेश अस्पतालमा राख्न नसकिने होइन। यससँगै विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मी सहित भेन्टिलेटरको सेवासुविधा पनि विस्तार गर्न सकिन्छ।
४. अहिले कोभिड-१९ को नमुना संकलनका लागि केन्द्रको अस्पतालबाट स्वास्थ्यकर्मी आउनुपर्छ र केन्द्रमा जाँचको लागि पठाउनुपर्छ, किनभने स्थानीय तहमा न त जनशक्ति छ न त प्रयोगशाला नै छ। यसले परिणाम आउन समय लाग्ने साथै आर्थिक भार बढ्ने र त्यसबेलासम्म संक्रमण फैलिने डर हुने हुन्छ। स्थानीय अस्पतालमा दक्ष जनशक्ति हुने हो भने आर्थिक भार र संक्रमण नियन्त्रण गर्न सकिन्छ।
५. अहिलेको अवस्थामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सबैभन्दा जोखिममा छन्। उनीहरुलाई सरकारले सक्दो सुविधा दिई कामप्रतिको मनोबल बढाउनुपर्छ न कि हतोत्साही गरेर।
६. सबै अस्पतालमा सबै किसिमको उपचार गर्दा संक्रमण बढ्नसक्छ। त्यसैले कुनै एउटा अस्पताललाई कोरोना उपचारको लागि तोक्ने र अरु अस्पताललाई अन्य रोग व्यवस्थापन गर्न निर्देशन दिए संक्रमण नियन्त्रण गर्न सजिलो हुने थियो।