डा मीरा लामिछाने
भोलि बिहानै ड्युटी जानु छ, तर पटक्कै निद्रा परेन। उठेर मोबाइल खोलें, जताततै कोरोनाको त्रास, झन् छट्पटी भयो। बत्ती निभाएर निदाउने प्रयास गरें। मनमस्तिष्कमा विभिन्न तरङ्गहरु सल्बलाउन थाले।
दिउँसो अस्पतालमा कोभिड-१९ को पोजिटिभ केस आएको र सबै स्वास्थ्यकर्मीको ड्युटी लगाउने कुरा सम्झें। विद्या भन्दै थिई, 'मेरो पाँच महिनाको दूधे बालक छ। कोरोना युनिटमा काम गर्नासाथ कम्तीमा पनि ३ हप्ता छुट्टिनुपर्छ, त्यो पनि सबै राम्रो भएको अवस्थामा। मिल्छ भने मलाई अलिपछिको सिफ्टमा राखिदिनु।' आशाले थपी, 'मेरा सासु-ससुरा बुढा छन्, रोगी छन्, अक्सिजन र औषधिको भरमा बाँचेका छन्। बुढा पनि विदेश, म यता बसे भने बुढाबूढी भोकभोकै मर्छन्, अलिदिन समय पाए केही व्यवस्था गर्ने थिएँ।'
प्रकृतिले त्यसमा थप्दै भनी, 'हरेकको घरमा समस्या हुन्छ, सबै पन्छिन खोज्छन्, दायित्व सबैको हो।' त्यतिकैमा विभागीय प्रमुखले भन्नुभयो, 'यो विषम परिस्थितिमा सबैले मिलेर काम गर्नुपर्छ, एकअर्काको मद्दत र हौसला बढाउनुपर्छ, सक्नुहुन्छ भने आफूहरु मिलेर ड्युटी मिलाउनुहोस नत्र वर्णानुक्रम अनुसार म सबैको नाम राख्छु।'
हिजोसम्म एउटै फूलको माला भई बसेका साथी आज कोरोनाको डरले चुडिँन पुगे। दोषी कसलाई मान्ने?
अचानक आमाले साँझमा भनेको सम्झिएँ, 'यो जागिरले तिमीलाई आखिर के नै दियो? न नाम, न दाम, न आराम। म बूढी त मन बुझाउँला, उपचारको क्रममा तिमीलाई केही भएमा यो नाबालकलाई कसरी सम्हाल्ने, उसको जीवनमा तिम्रो ठाउँ कसैले लिन सक्दैन। तिम्रो ठाउँमा म गएर हुने भए जान्थें। म बूढी मरेर खासै फरक पर्दैन तर तिमी नहुँदा यो सुन्दर परिवार सदाको लागि उजाडिने छ।'
आमा थप्दै हुनुहुन्थ्यो, 'विश्वका धनी र सम्पन्न देशका स्वास्थ्यकर्मी भकाभक मरेको सुनेकी छैनौं तिमीले? जानीजानी आत्महत्या नगर, यो छोरीलाई टुहुरो नबनाऊ। तिमी बाँचे ठिकै छ तर मरेको खण्डमा न त राज्यले तिम्रो बच्चाको भविष्य सुनिश्चित गर्छ, न तिम्रो लासमा सहिदलाई झैं तोपको सलामी अर्पण गर्छ, न त यी बिरामीका आफन्तले फूलको गुच्छाले तिम्रो अन्त्येष्टि गर्छन्। तिम्रो लासलाई बेवारिसे झैं अन्त्येष्टि गरिन्छ। भैगो नानी, बिन्ती गर्छु यो जागिर छोडिदेऊ, ज्यान रहे दुई छाक जसरी नि खाउँला।'
भित्तामा झुन्डिएको सेतो कोटमा म अनि छेउमा गर्वसाथ उभिएकी आमा देखेँ। सधैं महिला/पुरुष समान हुन्, तिमी घरधन्दामा सीमित नहुनु भन्दै सम्झाउने आमा आज कमजोर पाएँ। उनको आँखामा ढलपल गरेको आँसुमा म उजाडिन लागेको जीवनको छायाँ देख्दै थिएँ। मनै गरुङ्गो भयो, लामो श्वास फेरें।
कोल्टे फेर्दा मस्त निद्रामा रहेकी छोरीलाई देखें अनि अँगालो हालेर रोएँ, एक गिलास पानी पिएँ। बिरामी बच्चाहरूलाई निको पार्दा ती अभिभावकको आँखामा देखेको खुसी सम्झिएँ। उपचारको क्रममा मृत्यु हुने परिवारको पीडा सम्झिएँ। त्यही पीडामा आफ्नो पनि केही दिन निद्रा बिग्रेको, छट्पटी भएको सम्झेँ। म बाँचेर सारा देश रोएको हेरेर म कसरी खुसी हुन सक्छु! मेरो जीवन एउटा जिउँदो लास बन्नेछ। लाग्यो मनमा २०७२ सालको भन्दा ठूलो भूइँचालो आइरहेछ।
आफ्नो मनलाई सम्झाउँदै भनें, 'अजम्बरी कोही छैन। काल नआई कोही जान्नँ। भूइँचालोमा पनि बाचेकै हुँ। आजसम्म कसैको कुभलो गरेकी छैन, सके सबैको भलो नै गरेकी छु।' यस्तो समयमा म जस्तो स्वास्थ्यकर्मी पछि हटे भने, यो सहरमा मान्छेभन्दा धेरै लास हुनेछ। सुन्दर काठमाडौं सहर एक चिहान बन्नेछ। अहँ म पछि हट्नु हुन्नँ। मेरो अग्निपरीक्षा यही हो, यो बेला देश र बिरामीलाई मेरो खाँचो छ, घर परिवारको मायामा भुलेर कमजोर हुने समय छैन। फेरि संक्रमण लाग्दैमा मरिहल्ने पनि त हैन। म पूर्ण सावधानीका साथ लड्नेछु, बिरामीलाई सकेसम्म बचाउनेछु, विजयी हुनेछु र कथंकदाचित मरेछु भनें पनि मेरो फोटो हेरेर मेरी छोरी गर्वसाथ मलाई सलाम गर्न सकोस् र भनोस्, मलाई मेरो आमामा गर्व छ, म पनि तपाईं जस्तै बन्न सकूँ।
अघि बढेर लड्ने काम मेरो। सहकर्मीको मनोबल बढाउने काम मेरो अनि मलाई र मेरो परिवार, अनि समाजको सुरक्षाको जिम्मा सरकार, जनता अनि बाबा पशुपतिनाथको। यत्तिकैमा अलार्म बज्छ र म ड्युटीलाई तयारी गर्न थाल्छु।