डा रमेश केसी
विश्वभरि फैलिएको कोभिड–१९ को संक्रमणलाई नियन्त्रण गर्न सरकारले लकडाउनको घोषणा गरेसँगै एक महिनादेखि मानिसको दैनिकी घरभित्र सीमित भएको छ। घरभित्रको बसाइले एकातर्फ संक्रमणको जोखिमवाट बचाई सरकारलाई संक्रमण नियन्त्रण गर्न आवश्यक तयारी गर्न अतिरिक्त समय उपलब्ध गराएको छ भने अर्कोतर्फ सहरी क्षेत्रमा बसोबास गर्ने मानिसलाई अति व्यस्त र अस्वस्थकर जीवनशैलीबाट छुटकारा दिलाएको छ।
अस्वस्थकर जीवनशैलीको कारण सहरी मानिसहरु उच्च रक्तचाप, मोटोपना, मधुमेह, मुटुरोग, क्यान्सरजस्ता जीवनशैलीजन्य रोगबाट पीडित छन्। साथै रोगप्रतिरोधात्मक शक्ति पनि तुलनात्मक रुपमा कमजोर छ। अतः यो समय आफ्नो जीवनशैलीको स्व–मूल्यांकन गर्ने र अधिकतम सुधार्ने सही अवसर पनि हुनसक्छ।
सम्पूर्ण जीवित प्राणीहरुमा शरीर सञ्चालनार्थ आन्तरिक दैनिक समयतालिका र कार्यपद्घतिको व्यवस्था छ। चौबीस घण्टामा सुत्ने–उठ्ने, हर्मोनहरु स्राव हुने, चयपचय प्रक्रिया (मेटाबोलिज्म) आदि हुने निश्चित समय छ, जसलाई जैविक घडी भनिन्छ। शरीर सञ्चालनको यो विशिष्ट व्यवस्था मानिसले जन्मजात लिएर आएको छ र यो समय तालिकाले ब्रह्माण्ड (पृथ्वी) को समय तालिकासँग सामञ्जस्यता राख्छ।
पृथ्वीमा निश्चित समयमा घाम लाग्ने अस्ताउने, गर्मी जाडो हुने कुरा जस्तै मानिसहरुलाई निद्रा लाग्ने, निद्रा खुल्ने, भोक लाग्ने, मल विसर्जन हुने आदि कार्य निश्चित समयमा हुने नियम छ। जैविक घडी अनुसार शरीरको कार्यात्मक अवस्था (फिजियोलोजी) फरक भइरहेको हुन्छ र हाम्रा दैनिकी पनि सोही अनुसार ज्ञातअज्ञात रुपमा सञ्चालन गरिरहेको हुन्छौं। यो जैविक घडीको पालना गरेमा मानव शरिर स्वस्थ रहन्छ भने उल्लंघन गरेमा रोगी बन्दछ।
आधुनिक चिकित्सा विज्ञान अनुसार जैविक घडी हाइपोथालामस ( मस्तिष्कको एक भाग) मा रहेको हुन्छ। दिनको चौबीस घण्टामा हुने मेलाटोनिन एवं कोर्टिसोल हर्मोनको स्राव, सुत्ने–उठ्ने समय र तापक्रम नियन्त्रणको विषयमा केही अध्ययन–अनुसन्धान भए पनि जैविक घडीबारे व्यापक अध्ययनअनुसन्धान भएको छैन वा हुने क्रममा छ।
वैज्ञानिक जेफ्री हल, मिकेल रोसवास र मिकेल योङले ड्रोसोफिलामा जैविक घडीबारे गरेको अध्ययनलाई सन् २०१७ मा फिजियोलोजी र मेडिसिन विधाको नोबेल पुरस्कार प्रदान गरिएको थियो। मुसामा गरिएको एक अध्ययन अनुसार मस्तिष्कमा एक केन्द्रीय जैविक घडी (सेन्ट्रल क्लक) र शरीरका अंगहरुमा स्थानीय जैविक घडी (पेरिफेरल क्लक) हुने र तिनीहरुले एक अर्कासँग सामञ्जस्यतामा काम गर्ने देखाएको छ। जैविक घडीको पालना नभएमा रोग निम्तिने पनि केही अनुसन्धानहरुले देखाएका छन्।
पोषण वैज्ञानिक गेर्डा पोटले बेलायतमा ५००० भन्दा बढी मानिसको आहार सेवन गर्ने र सुत्ने समयको अध्ययन गर्दा सधैं एकै समयमा आहार सेवन नगर्ने र राति नसुती काम गर्ने मानिसहरुमा क्रोनिक फ्याटिक सिन्ड्रोम, पेटको रोग, मोटोपना, डायबिटिज र मुटुसम्बन्धी रोग बढी हुने गरेको पाएका थिए।
विश्वमा प्रचलित विभिन्न परम्परागत चिकित्सा विज्ञानहरुमा जैविक घडी र त्यसले शरीरको कार्यप्रणालीमा पार्ने असर एवं तद् अनुकूलको जीवनशैली उल्लेखित छ। आयुर्वेद चिकित्सा विज्ञान, चिनियाँ चिकित्सा विज्ञान र प्राकृतिक चिकित्सा विज्ञानमा उल्लेखित जैविक घडी एवं शरीरको कार्यप्रणाली र जीवनशैली यहाँ सरल रुपमा चर्चा गरिएको छ, जुन रोगबाट बच्न र रोगको उपचारमा समेत उपयोगी छन्।
चराचर जगत विभिन्न प्रकारको ऊर्जा (इनर्जी), पदार्थ (म्याटर) र सूचना (इनफरमेसन) को गति (ट्रान्सपोर्टेसन), रुपान्तरण (कन्भर्सन) र भण्डारण (स्टोरेज) बाट सञ्चालित छ। मानिसको जीवन पनि प्रकृति वा विज्ञानको यही शाश्वत नियममा बाँधिएको छ। यी तीन आधारभूत कार्य मानव शरीरमा क्रमशः वात, पित्त र कफले सम्पादन गर्दछन्।
आयुर्वेद चिकित्सा विज्ञान यिनै त्रिदोष– वात, पित्त र कफको सिद्घान्तमा आधारित छ। दोषहरु सम (सन्तुलित) अवस्थामा रहँदा शरीर स्वस्थ रहन्छ भने विषम (असन्तुलित) अवस्थामा रहँदा रोग लाग्छ। शरीरमा वात, पित्त र कफको सक्रियताको अवस्था समय अनुसार फरक–फरक हुन्छ। जस्तैः वात बढी सक्रिय हुँदा पित्त र कफ कम सक्रिय हुन्छन् र शरीरमा वातप्रधान कार्य सम्पादन हुन्छ। हाम्रो आहारविहारले दोषहरुको प्राकृतिक सन्तुलनलाई प्रभाव पार्छ। शरीर स्वस्थ राख्न दोषहरुको प्राकृतिक सन्तुलन मैत्री आहारविहार गर्न जरुरी छ।
आयुर्वेद चिकित्सा विज्ञान अनुसार ब्रह्ममुहूर्तमा (सूर्योदय भन्दा १ घण्टा ३० मिनेट पहिले) उठ्नुपर्छ। बिहान ६ बजेदेखि १० बजेसम्म शरीर कफप्रधान हुन्छ। बिहान उठेपछि ध्यान साधना, पृथ्वीप्रति सम्मान, पानी सेवन, शौच कर्म (मलमूत्र विसर्जन), दाँत एवं मुखको सफाइ, योग प्राणायाम, शारीरिक व्यायाम, स्नान, लघु (लाइट÷हलुका) एवं सात्विक आहार सेवन आदि गर्न सुझाइएको छ।
बिहान १० बजेदेखि अपराह्न २ बजेसम्म शरीर पित्तप्रधान हुन्छ। यस बेला शरीरको पाचन शक्ति बढी हुने भएकाले दिनको मुख्य भोजन सेवन गर्नुपर्छ। र, यो समय शारीरिक रुपमा बढी सक्रिय हुन सकिने समय पनि हो।
दिउँसो २ बजेबाट साँझ ६ बजेसम्म वातप्रधान अवस्था रहन्छ। यो बेला मानसिक एवं रचनात्मक कार्य गर्न उपयुक्त हुन्छ। साँझ ६ बजेबाट राति १० बजेसम्म शरीर पुनः कफप्रधान हुन्छ। सूर्यास्तसँगै रात्रि लघु (हलुका) आहार सेवन गरी लगभग १० बजेतिर शान्तपूर्वक सुत्नुपर्छ।
रातिको १० बजेदेखि २ बजेसम्म शरीर पुनः पित्तप्रधान हुन्छ। यस समयमा शरीरको आन्तरिक शुद्वीकरण, पुनः निर्माण एवं मर्मत गर्ने कार्य हुन्छ। बिहान २ बजेदेखि ६ बजेसम्म शरीर पुनः वातप्रधान हुन्छ। प्रायः सपना सहितको निद्रा यही समयमा लाग्छ।
चिनियाँ चिकित्सा विज्ञान अनुसार शरीरका मुख्य अंगहरु हँुदै मेरिडियनमार्फत निश्चित समयमा विशेष शक्ति (ऊर्जा) प्रवाह हुन्छ। १२ वटा मेरिडियनमार्फत मुख्य अंगहरु २–२ घन्टा बढी सक्रिय वा ऊर्जाशिल रहन्छन्। यसका साथै ती अंगहरु सोही समयमा रोगी हुनसक्ने वा रोगी भए कडा लक्षण देखिने मान्यता समेत छ।
रातिको १ बजेदेखि ३ बजेसम्म कलेजो, ३ बजेदेखि ५ बजेसम्म फोक्सो, बिहान ५ बजेदेखि ७ बजेसम्म ठूलो आन्द्रा, ७ बजेदेखि ९ बजेसम्म आमासय (पेट÷स्टोमक), ९ बजेदेखि ११ बजेदेखिसम्म फियो, ११ बजेदेखि अपराह्न १ बजेसम्म मुटु, १ बजेदेखि ३ बजेसम्म सानो आन्द्रा, ३ बजेदेखि ५ बजेसम्म पिसाब थैली, साँभm ५ बजेदेखि ७ बजेसम्म मिर्गौला, ७ देखि ९ बजेसम्म मस्तिष्क र प्रजनन अंग, राति ९ बजेदेखि ११ बजेसम्म थाइरोइड र एड्रिनल ग्रन्थी, ११ बजेदेखि १ बजेसम्म पित्त थैली बढी सक्रिय रहने बताइएको छ।
बिहान ५ बजेदेखि ७ बजेसम्म ठूलो आन्द्रा सक्रिय हुने भएकाले सोही समयमा उठ्ने, मल विसर्जन गर्नुपर्दछ। ७ बजेदेखि ९ बजेसम्म आमासय सक्रिय हुने भएकाले बिहानी खाजा सेवन गर्नुपर्दछ। दिउँसो ११ बजेदेखि १ बजेसम्म मुटु बढी सक्रिय हुने भएकाले मुटुमैत्री व्यवहार गर्नुपर्दछ र दिउँसोको खाना सेवन गर्नुपर्दछ। दिउँसो ३ बजेदेखि ५ बजेसम्म पिसाबथैली बढी सक्रिय हुने भएकाले आवश्यक पानी (चिया) सेवन गरी पिसाबको माध्यमबाट शरीरको शुद्धि गर्नुपर्दछ।
साँझ ५ देखि ७ बजेसम्म बेलुकीको भोजन सेवन गर्नुपर्छ। राति ७ देखि ९ बजेसम्म पारिवारिक निकटता बढाउने, मनोरञ्जनात्मक कार्य गर्ने, उष्णपादस्नान (तातो पानीमा खुट्टा डुबाउने), मालिस गर्ने गर्नुपर्छ। राति ११ बजेसम्म सुतिसक्नुपर्छ।
यी उल्लेखित मान्यताहरु स्वस्थ जीवनशैली र रोगबारे धेरै कुरा जान्न सकिन्छ। जस्तैः बिहान ५ बजेदेखि ७ बजेको समयमा क्याफिनयुक्त चिया सेवन नगरी मनतातो पानी र कागती सेवन गर्ने। किनकी यो समय ठूलो आन्द्रा बढी सक्रिय हुने समय हो र यही समयमा दिसा गरिसक्नुपर्छ। क्याफिनयुक्त चिया सेवन गरेमा पानीको उपलब्धता ठूलो आन्द्रामा कम भई मिर्गौलातिर बढ्छ (क्याफिन डाइयुरेटिक्स हो), जसले गर्दा ठूलो आन्द्राको पूर्णः सफाइ र मल विसर्जनमा बाधा पर्छ।
त्यस्तै पित्तथैलीमा पत्थरी वा अन्य रोग भएमा बिरामीलाई दुखाइ वा असहजता राति ११ बजेदेखि १ बजेसम्म बढी हुने पाइएको छ, जुन समय पित्तथैली बढी सक्रिय हुने समय हो। यसैगरी पेटको समस्या (ग्यास्ट्राइटिस) बिहान ७ बजेदेखि ९ बजेसम्म बढी हुने पाइएको छ। त्यस्तै हृदयघात तुलनात्मक रुपमा बिहान बढी हुने गरेको पाइन्छ।
यसैगरी प्राकृतिक चिकित्सा विज्ञानमा जैविक घडी र गतिविधिलाई ३ चरणमा बाँडिएको छ– बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म शरीरको शुद्घीकरण (डिटक्सिफिकेसन फेज) अवस्था, दिउँसो १२ बजेदेखि साँझ ८ बजेसम्म पाचन (डाइजेस्टिभ फेज) अवस्था र राति ८ बजेदेखि बिहान ४ बजेसम्म मर्मत (रिपेयर फेज) अवस्था। शुद्घीकरणको अवस्थामा शरीरबाट मलमूत्र विसर्जन, पसिना उत्सर्जन, प्राणायाम योग, मेडिटेसन, शारीरिक व्यायाम गरेर शरीर र मन शुद्घ बनाउनुपर्छ।
बिहानको नास्ताको रुपमा शरीरको शुद्घीकरणमा सघाउ पुर्याउने आहार (फलाहार) सेवन गर्नुपर्दछ। त्यस्तै पाचन अवस्थामा दिनको मुख्य आहार सेवन गर्नुपर्दछ। रात्रि भोजन ८ बजेसम्म गरिसक्नुपर्छ। मर्मतको अवस्थामा शरीरको विकृत कोष र विजातीय (विषाक्त) पदार्थहरु हटाउने एवं कोषहरुको मर्मत र नयाँ निर्माण गर्ने कार्य हुन्छ। यो समयमा निदाई शरीरलाई आफैं मर्मत गर्न दिनुपर्छ। यदि रातिको आहारको सेवन ढिलो वा सुत्न/निदाउँन ढिलो भएमा शरीर मर्मतको अवधि र कार्य प्रभावित हुन्छ। यही अवस्था भइरहेमा शरीरको आन्तरिक मर्मत र शुद्घीकरण राम्रोसँग हुन नपाई कालान्तरमा रोग निम्तिन्छ।
हजारौ वर्षको इतिहास बोकेका यी तिनै चिकित्सा विज्ञानहरु जैविक घडीप्रति जानकार रहेको पाइन्छ। यिनीहरुले सुझाएको जीवनशैलीमा पनि निकै समानता देखिन्छ। जस्तैः बिहान सूर्योदयपूर्व उठी मलमूत्र त्याग गर्ने सल्लाह सबैमा दिइएको छ। आयुर्वेद चिकित्सा विज्ञान अनुसार यो समय शरीरमा वातप्रधान हुने समय हो र वातले मलोत्सर्गमा सहयोग गर्दछ। तर ६ बजेपछि विस्तारै कफप्रधान समय सुरु हुन्छ, जसले मलोत्सर्गमा बाधा पुर्याउँछ।
चिनियाँ चिकित्सा विज्ञान अनुसार यो ठूलो आन्द्रा बढी सक्रिय हुने समय हो भने प्राकृतिक चिकित्सा विज्ञान अनुसार शरीर शुद्घीकरणको समय हो, जुन शरीरको मल विसर्जन गर्न उपयुक्त समय हो। चिकित्सकीय अनुभवको आधारमा भन्नुपर्दा पनि बिहान ढिलो उठ्ने वा दिसा गर्नेहरुमा कब्जियत लगायतका पेटसम्बन्धी समस्याहरु धरै हुने गरेको पाइन्छ। जीवनशैली र रोगहरुबारे यस्ता अनेकौ सम्बन्धहरु वैज्ञानिक रुपमा बुझ्न र स्थापित गर्न सकिन्छ।
हाल फैलिएको कोरोना संक्रमणको सन्दर्भमा कुरा गर्दा शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाई रोगबाट बच्न आयुर्वेद एवं प्राकृतिक जीवनशैली महत्वपूर्ण हुनसक्छ। शरीरको जीवनी शक्ति (इम्युनिटी) बढाउन भिटामिन र मिनरल्सयुक्त आहारले महत्वपूर्ण भूमिका खेल्छ। भिटामिन सी, ए, ईले रोग प्रतिरोधात्मक क्षमता बढाउँछन्, जुन पहेंला फलफूल र हरिया सागपातमा पाइन्छ। त्यस्तै भिटामिन डीले पनि रोगसँग लड्न सघाउ पुर्याउँछ, जुन सूर्यको किरणको उपस्थितिमा शरीरले बनाउँछ।
पूर्वीय आहार संस्कृतिमा नियमित प्रयोग गरिने लसुन, जिरा, धनियाँ, बेसार, दालचिनी, मरिच आदिले पनि रोग प्रतिरोधात्मक क्षमता बढाउँछन्। परम्परागत रुपमा प्रयोग गरिँदैआएको औषधि गुणयुक्त जडिबुटीहरु जस्तैः तुलसी, दालचिनी, मरिच, जेठीमधु, अदुवा, पिपली, गुर्जो, असुरो आदिलाई चियाको स्वरुपमा तयार गरी सेवन गर्न सकिन्छ। त्यस्तै दूधमा बेसार राखी सेवन गर्नु लाभदायक हुन्छ। च्यवनप्रासको सेवनले पनि रोग प्रतिरोधात्मक क्षमता वृद्घि गर्छ।
यसैगरी हातबाट विषाणु (कोरोना भाइरस) हटाउन साबुनपानीले हात धोए जस्तै नाक एवं मुखबाट हटाउन एवं स्थानिक क्षमता बढाउन तेलको प्रयोग गर्न सकिन्छ। दुवै नाकमा बिहान र साँझ तिल तेल वा नरिवल तेल वा शुद्घ घ्यू राख्न सकिन्छ भने मुखमा एक चम्चा तिल वा नरिवल तेल राखी (३ मिनेट जति) कुल्ला गरी पुनः मनतातो पानीले कुल्ला गर्न सकिन्छ।
आयुर्वेद चिकित्सा विज्ञान अनुसार वसन्त ऋतुमा कफ बढ्ने भएकाले धेरै गुलियो, नयाँ अन्न, डेरी प्रोडक्ट सेवन र दिनमा सुत्ने गर्नु हुँदैन। सुपाच्य अन्न सेवन गर्नुपर्छ। कफ निर्हरण एवं शरीरको आन्तरिक शुद्घिको लागि वमन वा कुञ्जल (विशेष प्रक्रियाले गरिने उल्टी), रसाहार वा फलाहार उपवास (फास्टिङ) गर्न सकिन्छ।
घरभित्र गर्न सकिने व्यायामहरुमा योग पूर्ण व्यायाम हो। विधिपूर्वक गरिने सूक्ष्म व्यायाम, आसन, प्राणायाम अभ्यासले एरोविक र रेसिस्टेन्ट दुवै प्रकारको व्यायामको लाभ प्रदान गर्छ। यसको अतिरिक्त योग एक मनोरञ्जनात्मक (रिक्रियसलन) व्यायाम हो, जसले शारीरिक मात्र नभई मानसिक र आध्यात्मिक लाभ समेत दिन्छ, जुन हालको विषम परिस्थियितसँग जुध्न सहयोगी हुन्छ।
प्राणायामको अभ्यासले श्वासप्रणालीलाई बढी सक्रिय र मजबुत बनाउँछ। यो लकडाउनको अवधि योगाभ्यास सिक्ने र गर्ने सही अवसर हुनसक्छ। यसका अलावा लकडाउनको समय आफ्नो रुचि अनुसारका विभिन्न काम गरी सिर्जनशील र उत्पादनमूलक एवं सम्झनयोग्य बनाउन सकिन्छ।
गीतसंगीत सुन्ने, सिक्ने, पुस्तकहरु पढ्ने, लेख्ने, कलाकारिता (आर्ट) अभ्यास गर्ने, सम्बन्धको विस्तार, पाक कला, सौन्दर्यकला, सूचना प्रविधिहरु आदि सिक्ने सही समय पनि यो हुनसक्छ। साथै धूमपान, मद्यपान आदि जस्ता कुलतहरु छाड्ने प्रयास गर्न सकिन्छ।
निष्कर्षमा भन्नुपर्दा जैविक घडी अनुसारको जीवनशैली जिउनु नै स्वस्थ जीवनको आधार हो। तिनै चिकित्सा विज्ञानको साझा मतानुसार सामान्यतयाः बिहान ४ देखि ५ बजेभित्र उठ्ने, शौच कर्म, सरसफाइ, योग–प्राणायाम एवं शारीरिक व्यायाम गर्नुपर्छ। शरीरको सफाइमा सघाउ पुर्याउने कागती पानीप् वा फलरस र नास्ताको रुपमा फलाहार सेवन गर्नुपर्छ
यसैगरी अपह्रान्न १२ बजे दिनको मुख्य आहार लिनुपर्छ। बेलुकीको खाना साँझ ७ बजेसम्म खाइसक्नुपर्छ र राति १० बजेदेखि ११ बजेभित्र निदाइसक्नुपर्छ। दिनको समय आफ्नो काम अनुसार आर्थिक एवं सामाजिक रुपमा उत्पादनशील रुपमा बिताउनुपर्छ।