ताचल निरौला/सन्दीप पहाडी
स्वास्थ्य क्षेत्र आफैंमा भव्य एवं संवेदनशील छ। बितेको डेढ महिनामा पत्रपत्रिका तथा मिडियाहरुमा यस क्षेत्रका समाचार, सूचना, लेख आदि जुन गतिमा आएका छन्, तिनको प्रभाव सबैतिर परेको छ। फलस्वरूप जनतामा चेतना आएको छ र त्यो चेतनाको स्तर साँच्चै उच्च छ। हुन पनि अहिलेको विकराल परिस्थितिमा स्वास्थ्य विषयलाई प्राथमिकतामा राख्नु जरुरी थियो।
हाल कोरोना महामारीकै कारण किन नहोस् राज्यले स्वास्थ्य क्षेत्रमा परिवर्तन तथा सुधार गरेको छ। अस्पतालहरुको मुहार परिवर्तन भएको छ र कतिपय सुविधा जुन सामान्य अवस्थामा दशकौंपछि समेत कल्पना बाहिर थियो, ती आज नै उपलब्ध भएका छन्। यो सुखद पक्ष हो।
तर, यो कुरा गरिरहँदा यस तथ्यलाई समेत नकार्न सकिन्न कि, हाम्रो देशको स्वास्थ्य क्षेत्र दयनीय अवस्थाबाट गुज्रिरहेको रहेछ। बिरामीहरुको निजी स्वास्थ्य संस्थाप्रतिको विश्वास र लगावको कारण आज हामी सबैले बुझिसकेका छौं। कारण अनगिन्ति होलान् र समयसँगै तिनको समाधान पनि निस्किँदै जाला। तर हालसम्म सरकार र सम्बन्धित पक्षले 'चलाऊ र फ्याँक' को नीति लागू गरेर आफ्नो अनुकूलता अनुसार उपभोग गरिरहेको स्वास्थ्य क्षेत्रकै मेरुदण्डको रुपमा रहेका वायोमेडिकल इन्जिनियरहरु भने यस कहर कटिसकेपछि समेत छायाँमा पर्ने निश्चित छ।
हालसालै मात्र कोरोना महामारी रोकथाम तथा उपचारका लागि वायोमेडिकल इन्जिनियरहरुले विभिन्न उपकरण निर्माण तथा मर्मत गरेर आफ्नो भूमिकाको विषयमा प्रष्ट पारेका खबरहरु आइरहँदा यसभन्दा अगाडि पनि विभिन्न निजी फर्म, अस्पताल, स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायहरुमा रहेर गरेको योगदानलाई सायदै कसैले याद गर्ला। भोलि फेरि पनि हामी यस महामारीलाई जितेर सामान्य अवस्थामा फर्किंदा वायोमेडिकल इन्जिनियरहरु सधैँझैँ आफ्नो कर्ममा तल्लिन देखिनेछन्, तर फेरि पनि वायोमेडिकल इन्जिनियरहरु उपेक्षित हुने लगभग निश्चित छ।
नेपालमै वायोमेडिकल इन्जिनियरिङ अध्ययन-अध्यापन हुने एउटा मात्र कलेज: कलेज अफ वायोमेडिकल इन्जिनियरिङ एण्ड अप्लाइड साइन्सेजलाई सम्बन्धित मन्त्रालय तथा निकायहरुले सन् २००५ मा अनुमति तथा सम्बन्धन प्रदान गर्दा ४ वर्षे इन्जिनियरिङ सकेर निस्किएको जनशक्तिलाई नो अब्जेक्सन सर्टिफिकेट दिएर देश बाहिर पठाउने नीति र योजना नै थियो भने त यस विषयलाई यहीं बिट मारे भइहाल्यो। नत्र स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायहरुमा करिब एक दशकदेखि सेवा प्रदान गरिरहेका वायोमेडिकल इन्जिनियरको हालसम्म न त कतै स्थायी दरबन्दी सिर्जना गरेर राखिएको छ, न त यस सम्बन्धी कुनै ठोस योजना नै बनाइएको छ। ती निकाय प्रमुखहरुको स्वार्थ, काममा प्रत्यक्ष-अप्रत्यक्ष हस्तक्षेप र युद्धमा प्रयोग हुने ढाल-तरबारसरहको पक्षपाती जिम्मेवारीबीच वायोमेडिकल इन्जिनियरहरु पिसिने गरेको सत्य अकाट्य छ।
उक्त अवस्था आत्मसात नगरौं, खाइपाई आएको आय-स्रोत गुम्ने चिन्ता, आत्मसात गरौँ, टाउकोमा तरबार झुण्ड्याएर काम गर्नुपर्ने बाध्यताले 'नखाउँ भने दिनभरिको सिकार, खाउँ भने कान्छाबाउको अनुहार' भन्ने उखान चरितार्थ हुन गएको छ। यसरी प्राविधिक रुपमा सक्षम तथा सबल जनशक्तिलाई प्रभावित पारेर स्वास्थ्य क्षेत्रमा अनुचित असर पार्दा हाम्रो स्वास्थ्य क्षेत्र अधोगति त लाग्ने हैन? अनुभवी तथा विज्ञ इन्जिनियरहरु यस्तै माहोल र उपेक्षादेखि वितृष्णा जागेर विदेशिनु पर्दा अन्ततोगत्वा कसलाई असर पर्ला त? विदेशको परिवेशमा अत्यन्तै धेरै माग र पारिश्रमिक साथै मूल्य-मान्यता भएका वायोमेडिकल इन्जिनियरलाई आफ्नै देशमा केही गर्छु भन्दा समेत हतोत्साहित पारी विदेशिन बाध्य बनाउने कि यहाँ नै अनुकूल वातावरण सिर्जना गरेर भरपूर फाइदा उठाउने? सवाल गम्भीर छ।
हालसालै मात्र तराई भेगका २ अस्पतालमा आठ वर्ष अगाडि नै खरिद भएर प्याकेजिङ समेत नखोली राखिएका मेडिकल उपकरणहरु इन्जिनियरहरुको अग्रसरताले जडान भएको छ। खरिद गरेको समयबाट २ वर्षको वारेन्टी रहने ती उपकरण बिग्रिएका थिए भने अस्पताल लाचार हुने थियो। आठ वर्षदेखि उक्त भेगका जनताले पाउनुपर्ने सेवाबाट वन्चित थिए। नयाँ उपकरणको त त्यो अवस्था छ भने बिग्रिएर थन्किएको उपकरणको त कुरै नगरौं। या त ती उपकरण भण्डार शाखामा थुप्रिएर मुसाले गुँड बनाएको भेटिन्छ या त लिलामीमा कौडीको भाउमा कसैले उठाइसकेको हुन्छ। तार चुँडिएर वा फ्युज मात्र बिग्रिएर बसेका ती उपकरण बनाउनेभन्दा पनि नयाँ उपकरण खरिद गरेर आफ्नो दुनो सोझ्याउने गर्दा राज्यको ढुकुटीमा प्वाल परेको र सँस्था दुब्लाउने र व्यक्ति मोटाउने गरेको जगजाहेर नै छ।
सम्पूर्ण रुपले सहज तराई भेगको त यो हविगत छ भने पहाडी तथा हिमाली भेगमा रहेका स्वास्थ्य संस्था र त्यहाँका उपकरणहरुको अवस्था सम्झिँदा आङ जिरिंग नहोला र? अनि फेरि पनि हामी कुन नैतिकताले ती संस्थाहरुमा जनताले विश्वास गर्नुपर्छ भनेर भन्न सक्छौं? यसमा जिम्मेवारी कसले लिने? खरिदकर्ताले वा बिक्रीकर्ताले वा दुवैले?
तर, अहिले पनि नेपाली बजारमा रहेका करिब १०० जना मात्रै पनि इन्जिनियरलाई सही ढंगले परिचालन गर्ने हो भने यस समस्याको ८० प्रतिशत समाधान निस्किन सक्छ। ज्वलन्त उदाहरणका लागि अहिले राष्ट्रिय आविष्कार केन्द्रलाई लिन सकिन्छ। बिग्रिएका, थुप्रिएका र काम नलाग्ने भनि कवाड सरह राखिएका उपकरणहरु इन्जिनियरको मद्दतले पुनः उपयोगी बनाइएका छन् र यो महासंकटमा फलदायी सावित भएका छन्।
यो मात्र नभई देशकै मेडिकल उपकरण सम्बन्धी नीति, योजना र खाका निर्माण तथा त्यसको प्रभावकारी कार्यान्वयन समेतमा वायोमेडिकल इन्जिनियरको अहं भूमिका रहन सक्छ। अतः वायोमेडिकल इन्जिनियरको सही मूल्यांकन तथा व्यवस्थापन गर्दा देशकै स्वास्थ्य क्षेत्रमा टेवा पुग्छ जस्तो लाग्छ। अब चाहिँ राज्यले यस विषयमा गम्भीर हुने कि?
(निरौला र पहाडी वायोमेडिकल इन्जिनियर हुन्)