मीनराज पन्थी
सारा विश्व कोरोना भाइरस (कोभिड-१९) ले अक्रान्त भएका बेला नेपालमा भने फ्रन्टलाइनमा खटेर काम गरिरहेका स्वास्थ्यकर्मीको मनोबल घटेर गएको छ। अहिले स्वास्थ्यकर्मीहरु विभिन्न ठाउँमा खटिएर कोभिड-१९ विरूद्ध लडिराखेको अवस्था छ।
हरेक अस्पतालको ज्वरो क्लिनिक, कोरोना अस्पताल, कन्ट्र्याक ट्रेसिङ, क्वारेनटाइनको नमुना संकलन, प्रयोगशालाको नमुना जाँच, हेल्थ डेक्स, निजी अस्पताल तथा क्लिनिकमा प्रत्यक्ष रूपमा संलग्न भएर स्वास्थ्यकर्मीहरुले काम गरिरहेका छन्। सेवाग्राहीको परामर्श, निदान तथा उपचारमा खटिइरहेका उनीहरुको एउटै उद्देश्य छ, कसरी कोभिड-१९ लाई हराउने।
तर, अहिले ती कर्मठ स्वास्थ्यकर्मीलाई पुरस्कृत गर्नुको सट्टा दिइरहेको सुविधा समेत कटौती गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनोबल घटाउने काम गरेको छ। कामको प्रकृति हेर्दा हरेक ठाउँमा काम गर्ने स्वास्थ्यकर्मी जोखिमपूर्ण अवस्थामा हुन्छन्। तर स्वास्थ्यकर्मीको अभिभावक बनेर काम गर्नुपर्ने स्वास्थ्य मन्त्रालय तथा नीति योजना बनाउने र कार्यान्वयन गर्नेहरुको अदूरदर्शीताको कारण स्वास्थ्यकर्मी मनेबल घटेको हो।
जब महामारी फैलिन्छ तब स्वास्थ्यकर्मीहरू अगाडि लाग्छन्। जुनसुकै महामारीमा खटिँदा पनि कहिल्यै प्रोत्साहन भत्ताको बारेमा सौदाबाजी नगरी सिधै मैदानमा खटिन्छन्। तर कोभिड-१९ विरुद्ध लड्दैगर्दा सुरूमा सतप्रतिशत उपलब्ध गराउने भनिएको प्रोत्साहन भत्ता अहिले निश्चित ठाउँको लागि मात्र उपलब्ध गराउने भन्ने सूचना बाहिर आएको छ। जसले धेरै स्वास्थ्यकर्मीले आफ्ना अभिभावक ठानेका माथिल्लो निकायका नीति योजनाकारहरूलाई अदूरदर्शी व्यवस्थापक ठान्न बाध्य भएका छन्।
दिनरात जोखिम मोलेर उपचारमा खटिँदा प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने बेलामा उल्टै सुविधा कटौती गर्दा प्रत्यक्ष रूपमा धेरै स्वास्थ्यकर्मी पीडित हुनेछन्। स्वास्थ्यकर्मी, नर्स, चिकित्सकहरूले जोखिम मोलेर महामारीमा काम गरेका छन्। त्यसैले सम्पूर्ण ठाउँमा काम गर्ने स्वास्थ्यकर्मीहरूको लागि एउटै सुविधा उपलब्ध गराउँदा सबैको मनोबल उच्च हुन्छ।
महामारी भनेको एक पटक मात्रै आउने होइन। त्यसैले यस्तो बेलामा काम गर्ने सम्पूर्ण स्वास्थ्यकर्मीका लागि विशेष व्यवस्था गरी सबै ठाउँमा काम गर्नेको लागि सुविधा दिनुपर्छ। यस्तो महामारीका बेला सरकारी होस् वा गैरसरकारी हरेक क्षेत्रले राज्यलाई सहयोग गर्नुपर्छ र राज्यले पनि सहयोग लिनुपर्छ। तर अहिले ठूलो संख्यामा निजी क्षेत्रमा रहेको स्वास्थ्यको दक्ष जनशक्तिलाई राज्यले सदुपयोग गरेको छैन। किन यस्तो जनशक्ति परिचालनमा राज्यको ध्यान पुग्दैन।
अर्कोतर्फ राज्यबाट परिचालित जनशक्ति पनि सन्तुष्ट भएको पाइएको छैन। स्वास्थ्य सेवामा कर्मचारी समायोजनको पीडा कम नहुँदै कोभिड-१९ सँग लड्दैगर्दा विभेदकारी र अन्यायपूर्ण सुविधा कटौतीको मारमा स्वास्थ्यकर्मी परेका छन्। यसरी सधैं विभेदकारी एननियमको लगाम लगाउँदै जाने हो भने पछि आउने महामारीसँग लड्न स्वास्थ्यकर्मीको बाटो हुनसक्छ।
स्वास्थ्यकर्मीलाई निरास बनाउनेतिर नीति तथा योजनाकारहरू नै अग्रसर भएको अहिलेको परिस्थितिले बताउँछ। यो अवस्थामा सुधार नल्याउने हो भने अबको परिस्थितिमा आउने महामारीमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरू उच्च मनोबलका साथ जोखिम मोलेर मैदानमा खट्न गाहो पर्ने प्रष्ट देखिन्छ।
(पन्थी नेपाल स्वास्थ्यकर्मी संघका उपमहासचिव हुन्)