डा संसारबाबु तिवारी
संसारमा कोभिड-१९ को विषयमा जेजति खोज र अनुसन्धान भएका छन्, सायद अन्य विषयमा यत्तिको खोजी भएको छैन होला।
अमेरिका र युरोपका विभिन्न विकसित देशहरुलाई समेत हम्मेहम्मे बनाइराखेका बेला नेपाली भने ठूलो लडाईँ जितेर बसेको जस्तोगरी साधारण जीवनशैलीतर्फ फर्किन लागेको भान पर्न थालिसकेको छ।
अमेरिकामा काम गर्ने मेरो एउटा साथीसँग फोनमा कुरो हुँदा उसले 'बिरामी त रातारात डेटेरिओरेट हुन्छ यार, बेलुका राम्रै भएको बिरामी बिहान राउन्डमा जाँदा भाइटल्स पूरै नराम्रो हुन्छ' भन्दा म झसंग भएँ।
आजसम्म त मैले कोरोना लागिहाले पनि मरिनै त हालिन्नँ होला भनेर सोचिरहेको थिएँ। यस्तैमा कोरोनाले साँच्चै दीर्घ रुपमा कस्ताकस्ता असर पुर्याएउँछ होला भन्ने कौतुहलता जाग्यो। त्यसपछि हिनारी खोलेर मैले रिसर्च पेपरहरु पढ्न थालें। जतिजति पढ्दै गएँ, त्यति नै डर बढ्दै गयो। अब त मेरो मन कोरोनाले मृत्यु हुनेभन्दा पनि यसले पुर्याेउने दीर्घकालीन असरहरुको डरले तर्सिन थालेको छ।
धेरै अनुसन्धानकर्ताहरु यतिबेला यही विषयको सूक्ष्म अनुसन्धानमा केन्द्रित भएको पाइन्छ। जस्तै: इटाली र नेदरल्याण्डका केही प्याथोलोजिस्ट्हरुले यसले फोक्सोमा पार्ने असरको बारेमा सूक्ष्म रुपमा अनुसन्धान गरेका रहेछन्। यस किसिमको अध्ययन गर्नका लागि जीवित मानव शरीरबाट निकालिएको अङ्गको नमुना आवश्यक पर्छ। यसको सम्भव नभएमा मृतकको शरीरबाट अटोप्सी (पोस्ट मोर्टम) गर्दाको बखत अङ्गहरु निकालेर प्रयोगशालामा अध्ययन अनुसन्धान पनि गर्न सकिन्छ।
यस किसिमका अध्ययनबाट पत्ता लागेका कुराहरुमार्फत हामीलाई यस रोगको प्रवृत्ति र पार्ने असरहरुलाई नजिकबाट नियाल्न सजिलो हुन्छ। यस्ता अध्ययनहरु पनि प्याथोलोजी विधा अन्तर्गत नै पर्छन्। नेपाल जस्ता विकासोन्मुख देशहरुलाई आफ्नो मुलुकको चिकित्सा क्षेत्र सुदृढ बनाउन अध्ययन/अनुसन्धान पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने पाठ कोरोनाले सिकाएको छ।
मुख्यतया: यस रोगले फोक्सोमा असर गर्छ। यसले एक प्रकारको कडा खालको निमोनिया गराउँछ, जसलाई एआरडिएस भनिन्छ। खासगरी यस्तो निमोनिया सार्स, मर्स र इन्फ्लुएन्जाले गर्दा पनि हुन्छ। तर जुन प्रकारले यसले फोक्सोका धमनीहरुलाई प्रभाव पार्छ, त्यो अरु रोगमा भन्दा अलि भिन्न किसिमको हुने अध्ययन/अनुसन्धानले देखाएका छन्। फोक्सोका धमनीहरुमा रगतका स-साना ढिक्काहरु जम्मा भएर बस्छन्। यसले गर्दा अन्त्यमा फोक्सोमा फाइब्रोसिस भएर अझ बढी समस्या निम्त्याउन सक्ने प्रबल सम्भावना रहन्छ।
साथसाथै यस्ता रगतका ढिक्काहरु शरीरका अन्य अङ्गमा पनि गएर असर पुर्यााउन सक्छन्। यसकै कारणले गर्दा डी-डाइमर नामक पदार्थ रगतमा बढी मात्रामा देखिन्छ। केही अनुसन्धानहरुबाट संक्रमण जति गाढा हुँदै जान्छ यो डी-डाइमरको मात्रा पनि त्यही अनुसार बढ्दै जान्छ भन्ने पत्ता लागेको छ।
यसरी बनेका रगतका ढिक्काहरु मस्तिष्कमा गएर स्ट्रोक (पक्षघात), मुटुमा गएर हार्ट अट्याक आदि गराउन सक्छन्। मिर्गौला, कलेजो जस्ता अङ्गहरुमा पनि यसको असर पर्ने कुरा अनुसन्धानले देखाएका छन्। कतिपय वैज्ञानिकहरुले एसपिरिन, क्लोपिड जस्ता रगत पातलो बनाउने औषधि को सेवन गर्नाले यस्तो स्थितिबाट बच्न सकिने प्रस्तावहरु पनि राखेका छन्। यद्यपि यसको ठोस नतिजा आउन केही समय भने अवश्य पर्खनुपर्ने देखिन्छ।
यो सार्स-कोभ-२ नामक भाइरस एसिई-२ नामक रिसेप्टरमा गएर टाँसिने हुनाले शरीरमा कुनै तरिकाले यस्तो रिसेप्टर बढ्नु भनेको भाइरसलाई बढाउनु जस्तो देखिन्छ। प्रेसरका बिरामीले खाने औषधिले (जस्तै लोसार्टान र इनालाप्रिल जातिका) पनि यस्ता रिसेप्टर बढाउने हुनाले यो क्षेत्रको अनुसन्धानले पनि यतिबेला ठूलो महत्व पाएको छ।
यस्ता खालका औषधिको फाइदा हाल जति भइरहेको छ, त्यसको तुलनामा असर न्यून हुने भएकाले तत्काल यस किसिमको औषधि सेवनमा रोक लगाइहाल्न भने नहुने विज्ञहरु बताउँछन्। त्यस्तै गरेर डाइबिटिजका बिरामीमा पनि यो रिसेप्टर बढी हुने भएकाले यस्ता बिरामीहरु पनि उच्च जोखिममा हुन्छन्।
यिनै कारणले गर्दा पनि मुख्यत: उच्च मनोबलका साथ लकडाउनमा धैर्यता गर्न तत्पर देखिएका युवा लगायत सबै उमेर समूहका मानिसले कोरोनासँग पौठेजोरी खेल्नु भनेको आपसमा एउटा दुस्साहसको सृष्टि गर्नु जस्तै हो, जसले गर्दा मानव शरीरमा जटिल असर पर्ने अनुमान विज्ञहरुले गर्न थालिसकेका छन्।
रामायणमा सीताले धैर्यताको सीमा नाघेर लक्ष्मणरेखा नाघेकी थिइन् र त्यत्रो कष्ट व्यहोर्नुपर्योे। यस्तै यतिबेला सबैले आ-आफ्नो लक्ष्मणरेखा आफैँले कोर्नुपर्ने बेला आएको छ। यसो गर्नाले कलियुगमा फेरि एउटा ठूलो संकटबाट बच्न सकिन्छ।
सरकारलाई पनि यतिबेला लकडाउन निल्नु न ओकेल्नु भएको छ। लकडाउनको सुरुवात गर्न जति सजिलो थियो, त्यसको अन्त्य गर्न त्यति सरल पक्कै छैन। यसको लागि एउटा विज्ञहरुको समिति बनाई इटाली, अमेरिका, चीन जस्ता देशहरुको अनुभवहरुबाट पाठ सिकेर वैज्ञानिक तवरबाट गृहकार्य यतिबेला अत्यावश्यक देखिन्छ।