डा पुष्कर काफ्ले
दाँतको दुखाई एक्कासी हुँदैन। यो क्रमिक रुपमा हुने प्रक्रिया हो।यसर्थ सहनै नसक्ने गरी दाँत दुख्नुभन्दा पहिले नै केही न केही संकेत दिनेगर्छ। अकस्मात् कुनै पनि बेला दाँतमा दुखाइ हुने र कुनैबेला मन्द किसिमको झन्झनावट दिइरहेको हुन्छ। जुन मानिसले सहन सक्ने किसिमको हुन्छ। यसमा हामीले वेवास्ता गरियो भने यसको दुखाई खप्न नसक्ने प्रकृतिको हुन सक्छ। हामी धेरै नेपाली लकडाउनमा छौं। यसबेला दाँतसम्बन्धी धेरै समस्या कति धेरैले भोगिरहेका पनि छौं।
तिहारको बत्तीमा एउटै तारमा लगाएका धेरै झिलिमिलि बत्ति लगाएजस्तै एकपट्टिको कुनै एउटा दाँत दुख्दा त्यो साइडको मुखदेखि टाउकोसम्म दुख्ने हुन्छ। त्यही भएर दाँत निकाल्न आउँदा एउटा सुइ लगाउँदा सिंगो एक भाग नै लटिएको अनुभव हुने हो। सुइको असर साढे १ घण्टादेखि २ घण्टासम्ममा आफै हराएर जान्छ।
कोभिड महामारीमा हामी दाँतको समस्या लिएर डेन्टल क्लिनिकमा पुगेपनि उपचार सोचेजस्तो सजिलो छैन। किनभने दाँत तथा मुखको उपचार गर्दा कोरोना भाइरसको सक्रमण हुने सम्भावना बढी नै हुन्छ। दाँतको उपचार गर्दा बिरामी र उपचारमा संग्लन हुने डाक्टरबीचको दुरी २५ देखि ४० सेमी मात्र हुने साथै उपचारमा प्रयोग हुने उपकरण पानी र हावाको दबाब तथा चापले चल्ने हुँदा डाक्टर, उपचारमा संग्लन हुने सहयोगी र बिरामीमा संक्रमण सर्न सक्ने जोखिम हुनाले दाँतको उपचार गर्न विशेष सततर्कता अपनाउनु पर्ने हुन्छ।
लकडाउनको यस परिवर्तित जीवनशैलीले बिहान ढिलो उठी ब्रस गर्ने र २/३ दिनमा एकपटक दाँत घोटेर एकैपटक जमेको फोहोर निकाल्नुपर्छ भन्ने सोचाइ छ। विशेषगरी तराई क्षेत्रमा सूर्तीजन्य पदार्थको सेवन अत्यधिक भइरहेको देखिएको छ। यस्ता पदार्थले दाँत तथा मुखका मांसपेशी तथा पाचन प्रक्रियामा भाग लिने अंगमा नकारात्मक असर पर्दछ। यी र यस्ता पदार्थले मांसपेशीलाई कडा बनाइदिने र फाइबर बन्डल मांसपेशीलाई टाइट बनाएर साँघुरो पार्ने फलस्वरुप मुख खोल्न समस्या हुनुको साथै आन्द्राको मांसपेशी खुम्चिएर साँघुरो हुने हुन्छ। तसर्थ सुर्तीजन्य पदार्थको सेवन दाँत र मुखको स्वास्थ्यको लागि निकै हानीकारक मानिन्छ।
सहनै नसक्ने गरी दुखाई नभएसम्म दाँतसम्बन्धी समस्या निकै हलुका ढंगले लिने मानिस धेरै छन्। स्वास्थ्य संस्था वा डेन्टल क्लिनिकमा पुगी आवश्यक सरसल्लाह गर्ने पद्धति एकदमै न्यून छ। शहरमा भन्दा ग्रामीण क्षेत्रमा दाँत तथा मुखको हेरचाह, सल्लाह तथा परामर्श लिने अभ्यास कम छ। लकडाउनका बेला त झन् धेरै गलत अभ्यास गरेको पाइन्छ। दाँत तथा मुखसम्बन्धी समस्या जटिल बन्दै गए सुन्निने तथा पिप जम्ने समस्या जटिल हुँदै जाँदा श्वासप्रश्वासमै अवरोध गर्ने संक्रमण लुडविक एनजाइना, सेलुलाइटिस भई बिरामीलाई भेन्टिलेटरको समेत आवश्यकता पर्न सक्ने भएकाले मुख तथा स्वास्थ्यको स्वास्थ्यमा संवेदनशीलता तथा सर्तकता अपनाउनुपर्ने हुन्छ। अहिले दाँतसम्बन्धी कुनै समस्या भएमा घरेलु तवरले नै समाधान गर्ने गरिएको छ। जसमा केही धारणा, अभ्यास भने गलत देखिएका छन्।
अंगालिएका गलत अभ्यास
१. दाँतमा डिजेल/पेट्रोल राख्ने
२. पिपले भरिएको सुन्निएको गाला तातोले सेक्ने,
३. ल्वाङको तेल मुखको अन्य भागमा पर्ने गरी राख्नु
४. दुखाइको पीडामा लामो समयदेखि थन्किएका औषधि खाइदिने,
५. धामीझाँक्रीकोमा गई दुखाई कम गर्ने आश्वासन थाप्ने,
६. सुर्तीजन्य पदार्थको सेवन गर्ने
७. अम्लियो पदार्थले दाँत पहेंलो भयो भनेर सफा गर्ने गरिएको,
८. ब्रसलाई पुरै खिइने गरी घोट्ने गरिएको,
गर्नुपर्ने सही काम
१. दाँतको भित्री नसालाई केही समयको लागि निष्क्रिय गराइ दुखाईकम गराउन सानो कटन/रुई लाई ल्वाङको तेलमा डुबाई पानीपट्टी लगाउँदा निचोरेजस्तै गरी ओसिलो बनाई दाँतमा मात्र पर्नेगरी राख्ने
२. पिपले भरिएको ठाउँमा तातोले नसेक्ने वा हातले नथिच्ने
३. दाँत दुखेमा फेलेक्सन लिने। गर्भवती महिलालले सामान्य पारासिटामोल मात्र खाने(मिति हेरेर),
४. पिप जमेको अवस्थामा एमोक्सोसिलिन या बिटाल्याक्टम ग्रुपको एन्टिबायोटिक्स औषधि खाने,
५. मुखमा घाउखटिरा आए मनतातो पानीमा नुन/फिटकिरी राखी ओठ बन्द गरेर २ मिनेटसम्म कुल्ला गर्ने,
६. धामीझाँक्रीकोमा पुगेर ठिक भयो भन्नु मनको शान्ति र भ्रममात्र हो।
७. बढीमा ४ महिनाभन्दा बढी एउटै ब्रस प्रयोग नगर्ने।