एनिका दाहाल आचार्य, निर्मला दाहाल
अहिले विश्व नै कोरोना भाइरस (कोभिड–१९) महामारीबाट आक्रान्त छ। यो भाइरसले विश्वलाई नै एउटा चुनौती दिएको छ। आज विश्व नै यस विषयको कुनै समाधानको निष्कर्षमा पुग्न नसकिरहेको अवस्था छ।
संसारका ठूलाठूला शक्तिसम्पन्न विकसित राष्ट्र समेत यस महामारीबाट अछुतो रहेनन् र महामारीबाट पराजय भोगीरहेका छन्। विश्वका ठूलाठूला वैज्ञानिकहरुलाई समेत कोभिड–१९ ले मात खुवाएको अवस्था छ। कोही वैज्ञानिक भन्छन्, कोभिड–१९ अप्राकृतिक भाइरस हो। कोही भन्छन्, प्राकृतिक भाइरस हो। कोही भन्छन्, प्रकृति विनासको उपज हो। वास्तवमा के हो त कोभिड–१९? आजसम्म ठोस निष्कर्ष निकाल्न नसकी विश्व नै अन्योलमा रुमलिएको अवस्था छ।
अहिलेको अवस्थामा मानिसहरुले प्रतिरोधात्मक क्षमता वृद्धि गर्न एक आपसमा दूरी कायम राख्ने र स्वास्थ्यको विशेष निगरानी गर्ने पद्धति अपनाइएको अवस्था मात्र छ। विश्वभरका व्यक्तिले घरभित्र आफूलाई सीमित राख्नु बाहेक अन्य विकल्प नभएको समेत देखिएको अवस्था छ।
यसरी घर, समाज, सहर, राष्ट्र नै लकडाउन गर्नु परिरहेको छ। लामो समयसम्म लकडाउन गर्नुपर्दा राष्ट्रहरु नै आर्थिक, सामाजिक र शैक्षिक कुराहरुबाट पछाडि पर्ने अवस्था जगजाहेर नै छ। यसरी एउटा निश्चित क्षेत्रभित्र सीमित भएर बस्नु पर्दा त्यहाँ विभिन्न घरेलु हिंसा नहुने भन्ने हुनै सक्दैन। किनकि मानिसहरु अन्य समयमा आ–आफ्नो काममा व्यस्त हुँदा आर्थिक, सामाजिक क्रियाकलाप अगाडि बढाइरहेको हुन्छ। लकडाउनको समयमा त्यत्तिकै खाली बस्नु पर्दा विभिन्न नकारात्मक सोचको विकास भई घरेलु हिंसा निम्तिन सक्छ। यस्तो घरेलु हिंसाबाट विकसित राष्ट्रहरु पनि अछुतो छैनन्। हरेक वर्ष युनाइटेड स्टेटमा ३ लाखभन्दा बढी घरेलु हिंसाका मुद्दा दर्ता हुने गरेका छन् भने ४ हजारभन्दा बढी घरेलु हिंसाबाट पीडितको ज्यान गएको एक अध्ययनले देखाएको छ।
हाल कोभिड–१९ को संक्रमण सुरु भएपश्चात् विभिन्न राष्ट्रहरुले संक्रमण फैलन नदिन देशभर लकडाउन गरे। लकडाउन गरेसँगै विभिन्न घरेलु हिंसाको वृद्धि भएको छ। बेलायतमा लकडाउनको बेला कूल उजुरीमध्ये २५ प्रतिशत घरेलु हिंसा भएको विभिन्न समाचारमा आइरहेका छन्। अस्ट्रेलियामा पनि लकडाउनको बेला ४० प्रतिशत घरेलु हिंसा पीडितले सहयोग मागेको थिए भने ५ प्रतिशत घरेलु हिंसा वृद्धि भएको थियो।
त्यसैगरी बेल्जियममा लकडाउन भएको तेस्रो हप्तामा नै ७० प्रतिशतले घरेलु हिंसामा वृद्धि भएको देखियो। कोभिड–१९ को उद्गमस्थल मानिएको चीनमा २०१९ फेब्रुअरीमा भन्दा २०२० फेब्रुअरीमा ३ गुणा बढी घरेलु हिंसा सम्बन्धी मुद्दा दर्ता भएका थियो। त्यहाँको घरेलु हिंसा सम्बन्धी मुद्दा हेर्ने सम्बन्धित निकायमा बुझ्दा घरेलु हिंसा वृद्धि हुनुको कारण कोभिड–१९ नै भएको बताए। फ्रान्स (पेरिस) को प्रतिवेदन हेर्ने हो भने लकडाउन समयमा ३६ प्रतिशतले घरेलु हिंसा वृद्धि भएको थियो। त्यसैगरी भारतमा लकडाउनको समयमा मार्च महिनाको पहिलो हप्तामा ११६ वटा घरेलु हिंसाको उजुरी परेको थियो भने मार्चको अन्तिम सम्ममा २५७ जना वृद्धि भएको थियो। लकडाउनभरिमा त्यहाँ ४५ प्रतिशतले घरेलु हिंसामा वृद्धि भएको थियो।
नेपालमा पनि सदियौंदेखि अत्यधिक मात्रामा घरेलु हिंसा हुँदै आइरहेको छ। कतिपय घरेलु हिंसा अझै पनि बाहिर निस्कन सकेको छैन। मुख्यगरी गरिबी, आशिक्षा, परम्परावादी सोच र बेरोजगारले घरेलु हिंसा बढ्नुमा भूमिका खेलेको छ। विगतका विभिन्न समयको अध्ययन अनुसन्धानहरुबाट पनि हेर्न सकिन्छ कि घरेलु हिंसा नेपालमा कतिसम्म मौलाएको थियो भनेर।
सन् २०१४ को एक अध्ययन अनुसार महोत्तरी जिल्लास्थित एक गाउँपालिकाका केही वडामा विवाहित महिलामा गरिएको अनुसन्धान अनुसार घरेलु हिंसाबाट पीडित हुने ४० प्रतिशत महिलाको उमेर २० देखि २९ वर्षसम्मको थियो। ३३ प्रतिशत घरेलु हिंसा अशिक्षित र गरिब परिवारभित्र भएको थियो र २० प्रतिशत हिंसा हुनुको कारण श्रीमान्ले मादक पदार्थ सेवन गर्नु थियो। अन्य कारणहरुमा पुरुषवादी सोच, समाजले पुरुषलाई बढी विश्वास गर्नु, समाजमा पुरुषको बाहुल्यता बढ्नु र सम्पत्तिमा पुरुषको पहुँच हुनु थियो। त्यस्तै ७८.३ प्रतिशत महिला मानसिक दुव्र्यवहार, ३३.३ प्रतिशतमा शारीरिक दुव्र्यवहार भएको र १० प्रतिशतमा यौनजन्य दुव्र्यवहार भएको थियो। ३५ प्रतिशत घरेलु हिंसाबाट पीडित महिलामा मानसिक समस्या देखिएको थियो भने २३ प्रतिशतमा प्रजनन् स्वास्थ्य समस्या भएको थियो।
घरेलु हिंसा हुनुको मुख्य कारण नेपाल जस्तो देशमा पुरुषको मादक पदार्थ सेवन गर्ने बानीले घरमा विभिन्न हिंसाहरु निम्त्याएको छ। कमाएको पैसा अधिक मात्रामा मादक पदार्थ सेवन तथा नशालु पदार्थ र धूमपानमा खर्च गर्ने अनि घरायसी कामको लागि पैसा अभाव हुने हँुदा महिलामाथि अनावश्यक यातना, दबाब दिने, समाजले पनि पुरुषको विश्वास गर्ने एक किसिमले समाजमा पुरुष बाहुल्यताको दबदबा देखिन्छ।
यस्तो घरेलु हिंसा धेरैजसो अशिक्षित समाजमा मौलाएको छ। घरपरिवार भित्रैबाट आफ्नै परिवारमाथि आर्थिक, मानसिक र शारीरिक तनाब समेत दिइएको छ। बेरोजगारी पनि घरेलु हिंसाको प्रमुख स्रोत हो। रोजगारी नभएपछि आफ्नो सामान्य आवश्यकता पूरा गर्न पनि अरुको मुख ताक्नु पर्ने, मादक पदार्थ र धूमपान आदि गर्नुपर्ने, पत्नीसँग दाइजो माग गर्ने, नल्याए शारीरिक तथा मानसिक रुपमा तनाव दिने हुँदा कतिपय पीडितले मानसिक रोगको सिकार हुनुपरेको साथै आफ्नो प्रजनन् क्षमता समेत गुमाएका छन्।
सन् २०१६ मा नेपालमा गरिएको एक अध्ययन अनुसार शारीरिक वा यौनजन्य हिंसाका पीडितहरुमध्ये ६६ प्रतिशतले कुनै सहयोग नखोजेको देखियो। नेपालमा साल वसाली दर्ता हुने उजुरीमध्ये ४० प्रतिशत उजुरी यौनजन्य हिंसाले ओगटेको छ। यसमध्ये ९० प्रतिशत हिंसा पति–पत्नी बीचको रहेको देखियो।
हाम्रो देश नेपालमा घरेलु हिंसा हुँदा धेरैजसो पीडितले न्याय खोज्न नगएको र पीडा सहेर बसेको देखिन्छ। यसका विभिन्न कारण हुन सक्छन्। जस्तैः
आर्थिक रुपले सक्षम नहुनु (गरिबी),
समाजमा बेइज्जत हुने डर हुनु,
घर परिवारको डर हुनु,
आफ्नो बालबच्चाको भविष्य खराब होला भन्ने सोच हुनु,
पिडकबाट झन् यातना होला भन्ने डर हुनु,
न्याय खोज्न बाहिर निस्किँदा न्यायलयबाट आफूलाई न्याय मिल्ला भन्ने विश्वास नहुनु,
पिडक परिवारको सदस्य समेत हुने भएको हुँदा माया हुनु, अब फेरि सुध्रेला भन्ने सोच हुनु।
नेपालमा सन् २०१८ मा गरिएको अध्ययन अनुसार सो साल १७५१ जना महिलामा अनुसन्धान गर्दा ६६ प्रतिशत महिलामाथि भएको हिंसा घरेलु हिंसा थियो भने १७ प्रतिशत सामाजिक हिंसा थियो र ७% महिलामाथि बलात्कार भएको थियो। घरेलु हिंसामा परेका महिलामा ७६ प्रतिशतलाई आफ्नै पतिबाट हिंसा भएको थियो र २४ प्रतिशत हिंसा परिवारका सदस्यहरुबाट भएको थियो।
नेपालमा धर्म, जात र संस्कृतिको आधारमा पनि जानी नजानी घरेलु हिंसा हुँदै आएको छ। जस्तै घरमा बुहारीले घरपरिवारका सबै सदस्यले खान खाइसकेपछि मात्रै बाँकी बचेको खाना खानुपर्ने, आफ्नो कुरा खुलेर राख्न नपाउने, पतिको जुठोे थालमा खाना खानुपर्ने, महिला घरबाट बाहिर निस्कन नहुने, अन्य पुरुषलाई हेर्न नहुने, पुरुषले तलाक ३ पटक भन्ने बित्तिकै सम्बन्ध विच्छेद हुने जस्ता कुरीति कायम छ।
कोभिड–१९ ले गर्दा देशको सब संयन्त्र त्यतै लागेको हुँदा घरेलु हिंसालाई हेर्ने फुर्सद नहुँदा घरेलु हिंसा दिनदिनै बढ्दै गइरहेको छ। लकडाउनमा हिंसा हँुदा पनि पीडित न्याय खोज्न जान नसकिरहेको अवस्था छ। एक अर्कामा आफूलाई पीडा भएको कुरा भन्न नपाउँदा घरेलु हिंसा मौलाउन मलजल मिलेको छ। अझ गाउँ घरसमाजमा घटना बाहिर आए पनि त्यो समाजमा ठूला भनाउँदाहरुबाट मिलाएर सामसुम बनाउँदा घटना त्यतिकै दबिन्छ।
महिलामाथि नै घरेलु हिंसा बढी किन हुन्छ?
महिलाले उत्पादनमूलक काम गर्न सक्दैनन् वा योग्य छैनन् र घरको काममा मात्र योग्य छन् भन्ने सोच्नु
महिला चुल्होचौकोमा मात्र सीमित हुनुपर्छ भन्ने सोच हुनु
तराई क्षेत्रमा दाइजो प्रथालाई बढावा दिनु
बोक्सीको आरोप लगाउनु
समाजमा महिलालाई होच्याउने सोच हुनु
अशिक्षाको कारण महिलाले महिलामाथि हिंसा गर्नु, जस्तैः सासु–बुहारी, नन्द–भाउजु, दिदी–बहिनी
महिला मानसिक, शारीरिक तथा आर्थिक रुपले कमजोर हुन्छन् भन्ने सोच
महिलाहरु मनोरञ्जनका साधन हुन्, जे गरे पनि हुन्छ भन्ने सोच
महिलालाई बिहे गरेर ल्याएपछि घरको सब काम उनीहरुले नै गर्नुपर्छ भन्ने सोच अर्थात् कुनै पनि पारिश्रमिक दिनु नपर्ने नोकर सोच्नु,
महिलाको मासिक श्रावमा (महिनावारी) भान्सा कोठामा छिर्न नदिने, छुट्टै कोठामा राख्ने, पौष्टिक खान नदिने, विभिन्न उत्पादनमूलक काममा रोक लगाउने र छाउपडी जस्तो पुरातनवादी सोचबाट उनीहरुमाथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हिंसा भइरहेको हुन्छ।
नेपालमा कोभिड–१९ को संक्रमणपछि अगाडिको तुलनामा १५ प्रतिशतले घरेलु हिंसा बढेको छ। नेपालमा लकडाउनपछि महिलामाथि सबैभन्दा बढी घरेलु हिंसा भएको पाइएको महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले जनाएको छ। ओरेकका अनुसार १३ वटा जिल्लाबाट लकडाउन सुरु भएदेखि ८३ वटा महिला तथा बालिकामाथि घटेका हिंसाका घटना अभिलेखीकरण भएका छन्। यसमा ४६ वटा घरेलु हिंसा, ९ वटा सामाजिक हिसा, १४ वटा बलात्कार, २ वटा बलात्कारको प्रयास, १ वटा हत्या, १ वटा हत्या वा आत्महत्या अनुसन्धानको क्रममा रहेको, २ वटा यौन दुव्र्यवहारका घटना, ६ वटा आत्महत्या, २ वटा हत्याको प्रयासका घटना रहेका छन्।
यस्तो घरेलु हिंसा रोक्न नेपालमा कानुन र त्यससम्बन्धी धेरै संघसंस्था नभएका त होइनन्। तर त्यस्ता घरेलु हिंसा सम्बन्धी कानुनबारे पिडक र पीडितलाई कतिसम्म चेतना छ त त्यो कुराले प्रभाव परेको छ। घरेलु हिंसा सम्बन्धी शिक्षा दिन बजेट कार्यक्रम पनि नभएका होइनन्। तर प्रभावकारी ढंगबाट कार्यक्रम प्रभावित क्षेत्र पुग्न नसकिरहेको अवस्थामा यस्ता हिंसा दिन दुई गुणा रात चार गुणाले वृद्धि भइरहेको अवस्था छ। आखिर घरेलु हिंसा रोक्न के गर्न सकिन्छ त?
नागरिकमा घरेलु हिंसा के हो र कुनकुन कुरा घरेलु हिंसा हुन् यसको जानकारी गराउनुपर्छ
महिलालाई आर्थिक र सामाजिक रुपमा सशक्त बनाउने
घरेलु हिंसासम्बन्धी कानुन बनेको छ, यसमा के व्यवस्था छ जनचेतना जगाउने
बालविवाह, बहुविवाह, अन्मले विवाह रोक्नु
दाइजो प्रथालाई समाजबाट निर्मुल पार्नु
सबै क्षेत्रलाई छाउपडी मुक्त क्षेत्र बनाउनु
महिलालाई शिक्षा र रोजगारीका अवसर मिलाउन सरकारले पहल गर्नुपर्ने
लकडाउन समयमा बाहिरी काम गर्न नसकिने हुँदा सो समयमा घरमा रचनात्मक कामहरु गर्ने
सञ्चार माध्यमबाट सकारत्मक कुराहरु पढ्ने, हेर्ने
भविष्यको योजना बनाउने
परिवारमा एकआपसमा सम्मान गर्ने
स्थानीय जनप्रतिनिधिलाई घरेलु हिंसासम्बन्धी चेतना दिएर जनचेतना जगाउन खटाउने
अहिले संसार कोरोना भाइरसको संकटसँग संघर्ष गरिरहेको छ। तर यसबेला जोखिमयुक्त परिस्थितिमा बस्नेकालाई बिर्सिनु हँुदैन। जोकोही घरेलु हिंसामा परेर बसिरहेका छन् भने उनीहरुलाई तुरुन्तै र उचित सहयोग र साथ दिनुपर्छ र पीडितले पनि हिंसा विरुद्ध कडा कदम चाल्नुपछर्।
‘अशक्त र निर्दो तिमी अवश्य पनि होइनौ
आफ्नो लागि आफैं नउठे अरु कोही छैन’