मधुकरमणि आचार्य
जेठ महिनाको समय छ। वातावरणको चिसोपन देख्दा लाग्छ, यो जेठमास हैन, पुस–माघ हो। धर्ति रोइरहेछ। विश्वमा छिटपुट बाहेक लकडाउन छ।
नेपाल कोरोना सन्त्रास, सीमा विवाद र महिला हिंसामा पिरोलिरहेको छ। मतगणना जस्तो संक्रमणका तथ्यांकहरु सार्वजनिक भइरहेका छन्। युवा पुस्ता कोरोना अपडेटका लागि फेसबुकमा दिन प्रतिदिन प्रतिस्पर्धा गरिरहेका छन्। नर्स दिवसकै दिन नर्स नै पहिलो पटक संक्रमित भएको समाचार समेत बाहिरिएको छ।
कृषि क्रान्ति, उद्योगको विकास र रोजगारी वृद्धिबाट मुलुक कायापलट गर्ने र सार्वभौम मुलुकको रुपमा चिनाउने सपना बोकेको महेन्द्र सबै फुर्सदिला हुँदा समेत व्यस्त छ। आज महेन्द्रको घरमा १० वर्ष अघिका सहपाठीहरु रमेश, प्रमिला, गणेश, मदन, नीता र दिनेश भेटिन्छन् र उसको आँप फर्ममा गफिएर सुख–दुःखका कुरा गरिरहेका छन्।
नीता बाल्यकालदेखिको महेन्द्रकी प्रेमिका हो। धनी परिवारमा जन्मिएकी ऊ अमेरिकामा भाग्य र भविष्य देखेर अमेरिकाको भिसा भएको केटासँग विहे गरी उतै गएकी छ र नेपालको नागरिकता त्यागिसकेकी छ।
मदन पेसाले स्वास्थ्यकर्मी हो, गाउँको अस्पतालमा काम गर्छ र त्यही अस्पतालकी स्टाफ नर्ससँग विहे गरेको छ। समाजमा स्वास्थ्य सेवा गरिरहेको छ। गणेश चीनमा एमबिबिएस पाँचौ वर्षमा पढ्दैछ। लामो समय महाराजगन्जमा नाम ननिस्केपछि त्यता गएको ऊ चर्चित नेताको छोरा पनि हो।
पारिवारिक रहर र बाध्यताले वैदेशिक रोजगारी गएको दिनेश रोजगारी गुमेपछि नेपाल आएको हो। प्रमिला श्रीमान् र सासुले दिएको पीडा खप्न नसकी माइतमा आएर बसेकी छन्।
विभिन्न पेसामा आवद्ध सबै साथीका फरकफरक पीडा रहेका छन्। फरकफरक रुपमा जीवन जिइरहेका छन्। यही मौकामा आपm्ना कथा र व्यथा सुनाउँछन् एकअर्कालाई। आफ्नाआफ्ना मुलुकको अवस्था बताउँछन्। चीनको वुहानमा मुहान भएको कोरोनाले गरेको क्षति अनि आफू रहेको मुलुकको प्रयास सुनाउँछन्। नेपालको राजनीतिलाई गाली गर्छन्। लिम्पियाधुरा विवादमा सबैले नेतालाई गाली गर्छन्। आफू आवद्ध राजनीतिक दल बाहेकको यसमा गल्ती भएको सुनाउँछन्। छिमेकीलाई गाली गर्छन्। राष्ट्रवादका नारामा नीता अगाडि देखिन्छिन्।
नीता आफू बाँच्नको लागि नेपाल आएको भन्छिन्। अन्य मुलुक आर्थिक विकासमा अगाडि बढ्ला भन्ने डरले लकडाउन नगरेको तर अहिले काम गर्ने त्यहाँ वातावरण नभएकोले जन्मभूमिमा जस्तो कामको सम्मान नभएको जे गरे पनि नेपालमा गर्ने भन्छिन् र महेन्द्रलाई लात मार्दा दिएको बातले पश्चाताप गर्छिन्। नेपाली नागरिकता त्यागेकोमा आफैंलाई धिक्कार्छिन।
मदन अहिलेको विषम परिस्थितिमा सेवा गर्न पाएकोमा हर्ष व्यक्त गर्छ। अरु बेला स्वास्थ्यमा काम छैन भन्नेलाई कटाक्ष गर्दै ऊ अरु फुर्सदिला भए पनि आफू व्यस्त भएको तर सुरक्षा सामग्री नपाएकोमा दुखेसो प्रकट गर्छ। दिन रात नभनी वार्डमा काम गरेकी श्रीमतीको आरडिटी पोजेटिभ भएको र पिसिआर जाँच हँुदै गरेको बताउँछ। अनि थर्मल गन कालोबजारीमा सरकारले बरामद गरेको अनि सात लाख थान मास्क एयरपोर्टमा बरामद भएको समाचारको कुरा गर्दै गलल हाँस्छन र यस्तो अवस्थामा कमाउधन्दाले देश बिग्रियो भन्छन् उसका साथीहरु। कुनै कुराको वास्ता नगरी आज क्वारेन्टाइनमा ड्युटी छ भन्दै मदन आझेल पर्छ।
गणेशलाई वुहान प्रान्तमा महामारी फैलिनेवित्तिकै सरकारले कोरोनाबाट बचाउन ल्याएको हो। ऊ सरकारको प्रशंसा गर्छ। चीनको जस्तो राम्रो मेडिकल शिक्षा कतै नभएको भन्दै गुनगान गाउँछ। उसले समाजमा देखाउने रवाफ पनि उस्तै छ।
दिनेशले विश्वव्यापी कोरोना महामारीका कारण उद्योगधन्धा बन्द हुँदा रोजगारीबाट हात धुनु परेको अनि थुप्रै साथी बिरामी भएको र जति काम गरे पनि खासै उपलब्धि नभएपछि अब नेपालमै पसिना बगाउने उद्देश्यले आएको बताउँछ। साथै सँगै विदेश गएका साथीहरु म्यानपावर र अन्य कारणले बिचल्ली भएको सुनाउँछ। मर्नुपरे पनि नेपालमा मर्छु भनी नेपाल आएको तर प्रवेश गर्न नदिएपछि महाकाली नदी तरेर आएको र कतिपय साथी चोर बाटोबाट पनि सीमा प्रवेश गरेको सुनाउँछ।
आफ्नो देश प्रवेश गर्न नपाएकोले देश निकाला भएको महसुस भएको गुनासो गर्छ ऊ। कतिपय साथी अझै खाडी मुलुकमा रहेको र आउन नपाएकोमा फेसबुकमा बिलौना गरेको बताउँछ। ‘चुनावमा सञ्जिवनी बुटी सोची भोट हालियो, मतपत्रबाट देश अरुलाई बुझाएर गइएछ। आफ्नो मुलुकमा आउन नपाउने क्या जमाना आएछ। क्या रोग आएछ भन्छ,’ ऊ भन्छ।
प्रमिला आफ्नै ब्यथा सुनाउँछे। लगातार दुई सन्तान छोरी भएपछि श्रीमान्ले सौता ल्याएको अनि श्रीमान्ले रक्सि खाएर कुट्ने गरेको, नन्दको टोकसो सहनुपरेको, मेरो पेटमा छोरी भएकोले भ्रुण हत्या गर्न नन्दले श्रीमानलाई उक्साएको, सासुले एसिड छर्कन प्रयास गरेको, माइतीको नाम समेत जोडेर गाली गरेकोले सहन नसकी पारपाचुके गरेर माइत बस्नुपरेको बाध्यता सुनाउँछे ऊ। निर्मला पन्त हत्या स्मरण गराउँछे।
महेन्द्र कृषि क्रान्तिबाट विकास गर्ने भनेर विभिन्न कृषि फर्म सञ्चालन गरेको र मनग्ये आम्दानी गर्दै हजारौँलाई रोजगारी दिएको सुनाउँछ। श्रीमतीले पनि मास्क उद्योग सञ्चालन गरेको, लकडाउनमा पनि सेवा निरन्तर भएको आम्दानी भइरहेको तर विदेशबाट करोडौँको प्रतिदिन तरकारी आयात हुँदा पनि यातायात ठप्प हुँदा सस्तोमा बेच्नुपरेको यसबारे राज्यको ध्यान जानुपर्ने भनी दुःख प्रकट गर्छ।
सबैले आफ्ना कथा–व्यथा अनि पिर–मर्का सुनाएर जान्छन्। अनि महेन्द्र देशको अवस्था, नेपालप्रति हेर्ने दृष्टिकोण, सँगै गुच्चा खेलेका, सँगै मायाप्रेम गरेका साथीको अवस्था सुनेर चिन्तित हुन्छ। उसलाई आज काममा जान मन छैन। ऊ सोचमग्न हुन्छ। र, पत्रिका पढ्न थाल्छ।
अखबारका पानामा समाचारमा देख्छ– पूर्वी सीमामा पनि भारतको किचलो। पाँचथरमा नेपालपट्टिको दसगजा क्षेत्रसमेत आफ्नै भएको दावी। समुदायमा व्यापक बन्दै संक्रमणः टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षण गराउनेको भीड, फर्कन बाध्य। अस्पताल गएका ६०१ मध्ये सोधपुछपछि चिकित्सकले जाँच गर्न आवश्यक छैन भनी ३०९ जनालाई फर्काइदिएको समाचार हेर्छ अनि सोच्छ, कसरी पत्ता लागोस् त कोरोना।
त्यसपछि ऊ चिन्तित हुन्छ। अनि मनमनै सोच्छ, जबसम्म आफू आत्मनिर्भर भइँदैन, तबसम्म अरुलाई गाली गर्नु व्यर्थ छ। कृषि, उद्योग, पर्यटन, स्वास्थ्य क्षेत्रमा टेवा पु¥याएमा मात्र विदेशीसँग लड्न सकिन्छ। नुनदेखि सुनसम्म आयात गर्ने वैदेशिक रोजगार र विप्रेषणमा भर पर्दा अगाडि बढ्न नसकिने कुरामा विश्वस्त हुन्छ।
महात्मा गान्धीले पनि घरेलु उद्योग धन्धामा टेवा पु¥याएर मात्र भारत स्वतन्त्र बनाउन सकेको यसका लागि आफैं नेपालले पनि पहलकदमी गर्नुपर्ने विचार गर्छ। जसका लागि करको दायरा बढाउँदै लगानीमैत्री वातावरण सिर्जना गर्ने, वैदेशिक सहयोगको साटो नेपालीको सेयरबाट उद्योग, पर्यटनमा लगानी, पेट्रोलियम पदार्थको साटो विद्युतीय उपकरणमा जोड दिने, कृषि, उद्योग, पर्यटन, खानीबाट विश्व बजारमा प्रतिस्पर्धा गर्नुपर्ने अनि सबल अर्थतन्त्रबाट मात्र सफल हुने विचार गर्छ।
सीमामा आएको विवादलाई प्रमिलासँग जोड्छ। महिला नै फ्लोरेन्स, सुशीला र विद्या बनेका छन्, उसले नारकीय जीवन व्यतित गर्नुपरेको छ। यदि ऊ राम्रोसँग पढेर रोजगार भएको भए प्रताडना सहनुपर्ने थिएन। सीमामा छिमेकीले कमजोर ठानेर थिचोमिचो गरेको सोच्छ। त्यसैले आफू सबल हुने प्रण गर्छ।
कोरोना संक्रमित हुने जान्दाजान्दै सरकार विरुद्ध आन्दोलन गर्नेलाई सत्रुसँग भन्दा बाबुआमासँग लड्नु सहज हुने र नीताको विदेश मोह सम्झिन्छ। अनि उसले विश्लेषण गर्छ, अब कोरोनाको कारण नेपालमा १० लाख युवा २०७७ मा बेरोजगार बन्नुपर्नेछ। त्यसैले आगामी बजेटमा स्वरोजगार र स्वदेशमै प्राविधिक सिपको कार्यक्रम ल्याउनुपर्नेछ।
वैदेशिक रोजगारीले सीता द्रौपदी बन्न विवश भएको, आधुनिक मदन विदेशबाट फिर्दा न आमा रहेको न मुना रहेको अनि गाउँमा युवा नहुँदा शिव व्राह्मणबाट गोमा बलात्कृत हुनु परेको सोच्न बाध्य हुन्छ। विकासको मूल यहीँ फुटाउनुपर्छ, परनिर्भर हुनुहुन्न, यति गरे न छिमेकी धावा बोल्छ न कोही डराउनु पर्छ। संघ, प्रदेश र स्थानीयले कार्यक्रममा अनि आगामी बजेटमा समावेश गर्नैपर्छ। देशको नागरिकता त्याग्नेले देश प्रेम भनेको सुहाउँदैन।
कुनै मुलुकबाट पनि आर्थिक सहयोगको अपेक्षा गर्नुपर्दैन। स्वतः मुलुक स्वाभिमान बन्छ र अरु कसैले आँखा गाड्दैनन्। विवादित ठाउँमा एक पक्षले अतिक्रमण गर्ने र अर्को पक्ष टुलुटुलु हेर्नुपर्दैन। सरकारले सजिलै कूटनीतिक पहल गर्छ र सफल हुन्छ। आफू कमजोर भएमा कूटनीतिक पहल गाह्रो हुन्छ। देशका विषम समस्या समाधन गर्न सकिन्छ।
अब हामीले कलमको अनि विचारको युद्ध जित्नुपर्छ। खुकुरीको युद्धले काख रित्याउने र सिन्दुर पुछ्ने काम मात्र गर्छ। स्वावलम्बनबाट नै स्वाधिनता कायम राख्नुपर्छ। अनि मात्र जनता खुसी देखिनेछन्। यो गरेमा सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ को परिकल्पना साकार हुन्छ।