धीरज मैनाली
विश्व आज कोरोनाको महामारीले आक्रान्त छ। चीनबाट सुरुवात भएर विश्वव्यापी महामारीको रुप लिएको कोरोनाले मानव सभ्यतामाथि नै धावा बोलेको आवस्था छ। कैयनले अकालमा ज्यान गुमाएका छन्, कतिले आफन्त गुमाएका छन् अनि सबैलाई मानसिक त्रास छ।
धर्मशास्त्र भन्छ, जसको आयु सकिएको हुन्छ, त्यो जे गरे पनि बाँच्दैन। जसको आयु बाँकी रहेको हुन्छ उसलाई जति नै घातक समस्या किन नहोस्, चमत्कार भएर उसले पुनःजीवन पाउँछ। तर आज कोरोनाको त्रासले जसको आयु सकिएको छ, उसलाई कालले आफ्नो गाँस बनाएको छ। त्यसैले आफूलाई पनि कोरोनाले निल्ने हो कि भन्ने डर हटाऔंं।
हरेक अस्पतालमा भगवानको मन्दिर राखिएको हुन्छ। यसको सांकेतिक अर्थ के हो भने, यो एउटा आस्थाको केन्द्र हो। जीवन मृत्युको निधारणकर्ता त्यो अदृश्य शक्ति मात्र हो। बचाउनु छ भने विभिन्न चमत्कारी बहाना सहित कहिले ऊ चिकित्सकको रुप लिएर बचाउँछ भने कहिले कसको रुप लिएर बचाउने गर्छ। तर आयु सकिएकै हो भने सबै स्रोत–साधन हुँदाहुँदै पनि केही गर्न सकिँदैन। यसको मतलब यो होइन कि, लापरबाही गरियोस्। मनलाग्दी गर्नु। आत्मबल चाहिँ उच्च राख्नुपर्छ।
प्राकृतिक सत्ताभन्दा ठूलो कोही छैन। मानव जीवनका लागि उपयोगी परापूर्वकालदेखिको अनुभव तथा खोजको उपज हाम्रा लागि विभिन्न जीवन जिउने सिद्धान्त तथा कला निर्देश गरिएको छ। कति बजे उठ्ने, के खाने, के नखाने, कस्तो कर्म गर्ने अनि व्यवहार गर्ने सबै परापूर्वकालदेखि पूर्वीय दर्शनमा निर्देशित छ। त्यसको सही अनुशरण हामीबाट भएन। त्यस कारण हामी विभिन्न समस्याले समयसमयमा आक्रान्त हुन्छौं।
जीवन जिउने अनुशासन तथा नियम, कानुन सबैको जीवनरक्षा तथा सुखका लागि निर्देशित भएका हुन्छन्। तर हामी त्यसलाई गम्भीरताका साथ लिइरहेका हुँदैनौं। सरकारले हाल गरेको लकडाउन पनि जनताको स्वास्थ्यलाई मध्यनजर गरेर गरिएको एक निर्देशन हो। बाली लगाएको छ, अनि छेकबार लगाएन भने त्यो बालीलाई कुनै न कुनै बखतमा चौपायले खान्छ नै भने जस्तो लापरबाही गरियो भने एक न एक दिन हामी रोगले आक्रान्त हुन्छौं, त्यसमा दुईमत रहँदैन। जनताका हितमा जारी भएका नीति–निर्देशिकालाई अवमूल्यन गर्दा रोगबाट मरिनहाले पनि दुःख पाउने त निश्चित रहन्छ।
सरकारले लकडाउनको समयमा देशमा अस्पतालको शय्या थप्ने, भेन्टिलेटर तथा मोनिटर थप्ने कार्यलाई अविलम्ब सुरुवात गर्नुपर्छ। सामान्य अवस्थामा समेत भेन्टिलेटर अभावमा बिरामीलाई यता र उता रिफर गरिन्थ्यो भने यो संकटको घडीमा यही गतिमा कोरोना बढ्दै जाँदा देशमा रहेका सीमित भेन्टिलेटरले नपुग्ने निश्चित छ।
स्वास्थ्य समस्या तथा रोगको प्रकृति दिनानुदिन फेरिँदै तथा बढ्दै गएको छ। हाल गरिएको तयारीले भविष्यलाई समेत टेवा पुग्नेछ। सीमित संख्यामा रहेका अस्पतालका सघन शय्या, भेन्टिलेटर तथा मोनिटर थप्न सरकार नतात्ने, कानमा तेल हालेर बस्ने र जनतालाई दिग्भ्रमित पार्ने कार्य गर्दै जाने हो भने कोरोनाको बढोत्तरीले देश भयावह स्थितिमा जाने निश्चित छ। त्यस कारण नीति निर्माताले आत्मबल दह्रो बनाएर योजना तर्जुमा गर्नु अति आवश्यक छ।
नियत सफा राखेर प्रत्येक स्थानीय तहमा कम्तीमा पाँच शय्याको सघन उपचार कक्ष, कम्तीमा दुई वटा भेन्टिलेटर तथा शय्याकै अनुपातका मोनिटर खरिद गरी यथाशीघ्र कार्यान्वयन गर्नु आवश्यक छ। संविधानमा उल्लेख गरिएको नागरिकको स्वास्थ्य सेवा पाउने नैसर्गिक अधिकारलाई कागजमा लेखेर तथा भाषण गरेर पूर्ति हुन सक्दैन। यसको लागि सरकारमा रहेका व्यक्ति, नीति निर्माता तथा योजनाकर्ता सबैले आत्मबल उच्च राखेर, भुमरीमा हराए जस्तो व्यवहार त्यागेर, आफैं रनभुल्लमा परेजस्तो नगरेर गफभन्दा बढी वस्तुस्थितिको मनन गरी काम तथा निर्णय गर्नु आवश्यक छ। एम्बुलेन्सको संख्या थप्दै जाने कार्य अविलम्ब सुरु गर्न आवश्यक छ।
देशमा स्वास्थ्य जनशक्तिको अभाव छैन। ती जनशक्तिलाई अभिमुखीकरण प्रदान गरेर सघन उपचार सेवाका शय्या तुरुन्त थप्नुपर्छ। लकडाउन जनतालाई दूरी कायम गराउन मात्र होइन, यो पूर्वाधार विकासको लागि समय पनि हो। मानौं विश्व स्वास्थ्य संगठनले भनेजस्तै कोरोनाको एचआइभी जस्तै उपचारको कुनै उपाय नसुल्झिएमा सधैं लकडाउन मात्र गरिरहने कि वैकल्पिक तयारीमा लाग्ने, योे सोचनीय कुरा छ।
अस्पतालको संख्या तथा सघन उपचार शय्याको व्यापक वृद्धि गरिनुपर्छ। यसको रोकथामका लागि कुनै भ्याक्सिन आएन भने सावधानीका साथ मानव जीवनलाई पुरानै अवस्थामा चलायमान त गराउनु नै पर्छ। त्यस अवस्थामा संक्रमित भएर सिकिस्त अवस्थामा नभएकाले घरमै सावधानी लिएर बस्ने तथा उपचार चाहिएमा मात्र अस्पताल जाने, अति सिकिस्त अवस्थाका लागि तुरुन्त उपचार दिने प्रणाली विकास गर्नुपर्ने सम्भावना समेत नआउला भन्न सकिँदैन। रुघा–खोकी लाग्दा घरमै बस्ने थप समस्या तथा स्वास्थ्य जटिलता आँउदा अस्पताल तुरुन्त जाने हालको मानव व्यवहार भोलि कोरोनामा समेत लागू नहोला भन्न सकिँदैन। त्यस कारण अहिलेदेखि नै पूर्वधार विकासका लागि आत्मबल बढाउन आवश्यक छ।
कोरोना पोजेटिभ भएका बिरामीको अवस्था जटिल भएमा तुरुन्त भेन्टिलेटर सेवा उपलब्ध हुनुपर्छ। त्यसकारण बिरामी भएको अस्पतालमा सो सेवा उपलब्ध छैन भने भएको ठाउँमा बिरामीलाई राखिनु जरुरी छ। सामान्य स्वास्थ्य अवस्था भएका कोरोना पोजेटिभले आफनो आत्मबल उच्च राख्नु जरुरी छ। मलाई केही हुँदैन मैले कोरोनालाई परास्त गरेरै छोड्ने छु भन्ने भाव तथा आत्मबल राख्नु आवश्यक छ।
रोग प्रतियोगी आहार खाने तथा मनोबल उच्च राखेर बिरामी बस्नुपर्दछ। सामान्य अवस्थामा रहेका कोरोना संक्रमित बिरामी उपचार हुने अस्पतालले बिरामीको आहार तथा सरसफाइको उचित प्रबन्ध मिलाएको हुनुपर्नेछ। दिनचर्या गुजार्न सजिलो हुनेगरी टिभीको व्यवस्था तथा किताबको व्यवस्था गरिदिनुपर्नेछ। जसले गर्दा बिरामीमा नेगेटिभ सोचाइमा कमी आउने छ। तातो तथा चिसोको समुचित व्यवस्था भएको हुनुपर्नेछ। बिरामीको धार्मिक आस्था अनुरुप आफ्नै बेडमा धर्मकार्य गर्न छुट दिइने प्रबन्ध मिलाएको हुनु आवश्यक छ। यसले बिरामीको आत्मबल तथा मनोबल उच्च बनाउन टेवा पुग्नेछ।
अन्य बिरामीलाई आफन्तले सबै व्यवस्था गरेका हुन्छन् तर कोरोना पोजेटिभलाई आफन्तसँग भेट्न दिइँदैन। दिमागमा नकरात्मक सोच आउने सम्भावना प्रबल रहन्छ। यस बेलामा स्वास्थ्यकर्मीले बिरामीलाई हौसला दिने कार्य गर्नुपर्छ। कोरोना भएर अस्पताल भर्ना भएकाले मृत्यु आफ्नो समिपमा आएको कल्पना गरेका हुन सक्छन्। यो समयलाई टिभीको कार्यक्रमतर्फ मोड्न सकियो भने तथा स्वास्थ्यकर्मीबाट हौसला प्रदान भयो भनी नकारात्मक सोच हटेर जानेछ। मलाई केही हुँदैन म पुनः पुरानै जीवनमा चाँडै फर्कने छु भन्ने आत्मबल बढाउनुपर्छ।
क्वारेन्टिनको निश्चित मापदण्डलाई पूर्ण पालना हुन जरुरी छ। हालै स्वास्थ्यमाथि ठूलो खेलवाड भएको विज्ञको भनाइ सञ्चारमा आएको छ। संक्रमित वा पोजेटिभ आएकालाई तथा अन्य आइसोलेसनमा रहेकासँगै राखिने कार्य वास्तवमै निन्दनीय छ। यस खालका हर्कतले नेपाल दोस्रो इटली हुने बाटोमा लम्कने यथार्थलाई टार्न सकिँदैन। केटाकेटी खेलेजस्तो कार्य कहीँ कतैबाट हुनुहुँदैन। गम्भीर भएर व्यवहार तथा कार्य गरिनु, व्यवस्थापन हेर्नु आवश्यक छ। विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यलयबाट यसको अनुगमन हुनु आवश्यक छ। मानव अधिकार आयोग यस अवस्थामा अझ क्रियाशील हुनु आवश्यक छ। कोरोनासँग आत्मबल उच्च बनाएर एकजुट भएर मात्र लड्न सकिने यर्थाथ बुझनुपर्छ।
कोरोनाबाट मृत्यु हुँदा मृत शरीर उठाउने कार्यमा सबै हिच्किचाएको तथा स्वयंसेवकले त्यसको व्यवस्थापन गरेको समाचार प्रकाशित भए। त्यस परिस्थितिमा राज्यका अंग कता सुते बुझ्न सकिएन। सुरक्षाकर्मी अहोरात्र खटेका छन्, यो कार्यमा पनि नखट्ने थिएनन् होला। तर यसमा राज्यका संयन्त्र अल्मलिएको भान हुन्छ। समन्वयको अभाव भएको सहजै अनुमान गर्न सकिन्छ।
विदेशमा समेत कोरोना पोजेटिभको मृत्यु हुँदा सेना तथा प्रहरीको अगुवाइमा अन्तिम संस्कार गरिएको देखिन्छ। समाजका स्वयंसेवकको यस कार्य प्रशंसायोग्य छ। तर महामारीको यस बखतमा राज्यका संयन्त्रको आत्मबल गिर्दा नागरिकमा के सञ्चार हुन जान्छ, बुझन जरुरी छ। इस्ता घटना हुँदा सम्बन्धित अस्पतालले के गर्ने, राज्यका संयन्त्रले के गर्ने, विवेकपूर्ण तवरले निर्णय गरी कार्य हुनु आवश्यक छ।
अस्पताल व्यवस्थापनले यस्तै संकटको समयमा आफ्नो चुस्त प्रशासनिक क्षमता प्रस्तुत गर्नुपर्छ। राज्यका संयन्त्रसँग समन्वय गरी आत्मबल उच्च बनाएर सक्रियताका साथ कार्य गर्नु सम्बन्धित अस्पताल प्रशासनको कर्तव्य रहन्छ। अस्पतालको प्रशासनमा सोही विषय अध्ययन गरेका प्रशासक रहेमा यस्ता संकटका समयमा आफनो क्षमता चुस्त रुपमा प्रदर्शन गरी व्यवस्थापकीय अब्बलता प्रस्तुत हुने कुरा मनन हुनु जरुरी छ। कोही कसैको मृत्यु भएमा राज्यका संयन्त्र अल्मलिनु हुँदैन।
कोरोना कहरले गर्दा उद्योग–व्यवसाय प्रायः ठप्प छ। कर्मचारीलाई केही मात्रामा तलब दिनुपरेको छ। कर्मचारी तथा श्रमिकलाई रिटेन गर्न समस्या छ। बैंकले ऋणका विषयमा कुनै निर्णय गरेको छैन। बैंकले संकटको मौका छोपी ब्याजदर बढाउने कार्य गरेको कुरा बजारमा आएको छ। यो बेला कसले कति नाफा कमाउनेभन्दा पनि सबै संस्था बाचुन् भन्ने सोच्नु जरुरी छ।
उद्योग–व्यवसाय बन्द भएमा, कम्पनीको ऋणको भार सहन नगरेर कम्पनी वा सञ्चालकलाई केही भएमा यसले समग्र बैंिकङ तथा अर्थतन्त्रलाई पनि असर पर्छ। यो वर्ष यो संकटमा नाफा नभए पनि सबै संस्था बाँचेमा अगामी वर्षमा नाफा कमाउन सकिने कुरालाई बैंकिङ क्षेत्रले बुझ्न जरुरी छ। संस्थाका कर्मचारीले ऋण लिएका हुन सक्छन्। संकटको यस घडीमा आम्दानी छैन, त्यसकारण हालको व्याजलाई पछाडि धकेल्ने तथा व्याजदरमा केही रहत दिइनु पर्छ। बैंकको व्याजमा कुनै नीति नआउँदा मानिसको मानसिक स्वास्थ्यमा असर पर्दै गएको कुरा बुझ्न आवश्यक छ।
खानेकुराको जोहो गर्न गाह्रो भएको आजको संकटको यस घडीमा ऋणको व्याजको विषयमा निश्चित कुरा नआउँदा मानिसमा तनाव थपिएको छ। नियामक निकायले जनताका सबै पक्षलाई हेर्न आवश्यक छ। संकटको यस घडीमा कसैले घाटामा नगई नाफा नकमाए पनि खासै फरक पर्ने हुँदैन तर मानव जाति तथा कम्पनी तथा सञ्चालक रहेमा कोरोनाको कहर साम्य भएपछि नाफा कमाउने दिन भोलि आउनेछ।
कर्मचारीले समेत आफ्नो क्षमतामा विश्वास गरेर आत्मबल उच्च राख्न जरुरी छ। आफू क्षमतावान भएमा भविष्यमा जे गरेर पनि कमाउन सकिन्छ। कोरोनाको समयमा संस्थाले तलब दिएन वा जागिरबाट निकाले पनि मनोबल उच्च राख्नुपर्छ। कोरोनाबाट बाँचियोस्, कोरोना कहर समाप्त होस् आफनो क्षमतामाथि विश्वास राखौं, कमाउने दिन आउनेछ। अहिले घरबाट ननिस्कौं। आफू सुरक्षित रहने कार्य गरौं। कम्पनीले बिदा दियो, तलब दिएन भनेर हतोत्साहित नबनौं। मानसिक स्वास्थ्यलाई असर नपारौं। फुर्सदको समयलाई रचनात्मक कार्यमा सदुपयोग गरौं।
अन्तमाः फोहोर व्यवस्थापनको कार्य गर्नेलाई तथा स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ आएकाले सरकारले सुरक्षा पहिरन पर्याप्त मात्रामा दिइनु जरुरी छ। अहिलेसम्म पनि सुरक्षा पहिरन पर्याप्त छैन। कोरोना व्यवस्थापन कोषमा पैसा छ, पर्याप्त सुरक्षा पहिरन खरिद गर्ने कार्य भएको छैन, जनता भोकै हुने अवस्था आएको छ। ड्युटीमा आउने अस्पतालमा कार्यरत प्रशासनका कर्मचारी, फोहोर व्यवस्थापनका कर्मचारी, सेक्युरिटी कर्मचारी, चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीको सुरक्षाप्रति गम्भीर हुन आवश्यक छ।
अस्पतालमा कोरोना पोजेटिभ आउँदै जाने अनि अस्पताल सिल गर्दै जाने ती अस्पतालका कर्मचारीले बिरामी रिफर गरिएको अस्पताल सिल गर्ने यसरी बिरामीको व्यवस्थापन गर्ने अस्पताल धरासायी बन्ने छ। देश तथा जनता अझ संकटमा पर्ने कुरा निश्चित रहन्छ। अस्पतालका कर्मचारीको सुरक्षामा विशेष ध्यान दिन आवश्यक छ। फोहोर व्यवस्थापन वैज्ञानिक तवरले गरिनु आवश्यक छ।
अटोक्लेभ प्रयोगमा व्यापकता ल्याएर संक्रमित बिरामीबाट निस्केको फोहोरलाई निःसंक्रमण गरेर मात्र अन्तिम विर्सजन गरौं। विकसित मुलुकको स्वास्थ्य क्षेत्र सिस्टममा रहँदा यस्तो भयावह अवस्थाको सामना गरेको छ। हाम्रो स्वास्थ्य संस्थामा इन्फेक्सन कन्ट्रोल, सुईजन्य फोहोरको व्यवस्थापन, अस्पतालजन्य व्यवस्थापन, औजार तथा उपकरणको अभाव, चुस्त व्यवस्थापन जस्ता कुरामा धेरै कमी–कमजोरी छन्। आजको यो संकटमा यसतर्फ सबै गम्भीर हुन आवश्यक छ।
(मैनाली अस्पताल व्यवस्थापन परामर्शदाता हुन्)