डा श्रवणकुमार मिश्र
रिभर्स ट्रान्सक्रिप्सन रियल टाइम पोलिमरेज चेन रिएक्सन (रिट्रारिटापिसीआर) जाँचको नतिजा विभिन्न संवेदनशील स्टेज प्रक्रियाबाट गरिन्छ। कोभिड-१९ रोग गराउने सार्स कोरोना-२ भाइरसको नमुना संकलनको समय अवधि, संकलन गर्ने स्थान, नमुनाको गुणस्तर, तापक्रम नियन्त्रित स्वाब नमुनाको ओसारपोसार र पिसिआर जाँचका भाइरसको आरएनए निकाल्ने, आरएनएलाई डिएनएमा परिवर्तन गर्ने र यसरी निर्माण गरिएको डिएनएलाई प्राइमर र प्रोबको प्रयोग गरी रियल टाइम पिसिआर जाँच गरिन्छ। यो जाँच प्रयोगशालामा गरिने अन्य जाँचभन्दा नितान्त फरक किसिमबाट गरिन्छ।
कोभिड-१९ को लक्षण देखिएको व्यक्ति वा संक्रमित व्यक्तिको सम्पर्कमा आएको दिनपश्चात् ८ देखि १० दिनको अवधिमा नाक र घाँटीबाट नमुना संकलन गर्दा ९० प्रतिशत सेन्सिटिभिटी हुन्छ। संक्रमण भएको भोलिपल्ट वा ४-७ दिनसम्म सेन्सिटिभिटी प्रतिशत कम हुन्छ र फेरि १३ दिनभन्दापछि नमुना संकलन गर्दा समेत सेन्सिटिभिटी प्रतिशत कम हुन्छ। घाँटीको मात्र नमुना उक्त अवधिमा लिंदा ३०-४० प्रतिसत सेन्सिटिभिटी हुन्छ भने नाकको नमुनामा ६०-७० प्रतिशत सेन्सिटिभिटी हुन्छ।
कोरोना जाँच गर्दा सार्स कोरोना-२ भाइरसको जाँच पिसिआर विधिबाट गर्दा 'ई', एन, आरडिआरपी वा ओआरएफ वन बी जिनहरु पता लगाएर कोरोना भाइरसको संक्रमण हो/होइन नतिजा सार्वजनिक गरिन्छ। सामान्यतया 'ई' जिन बिटाले कोरोना भाइरस पत्ता लगाउँछ, जस अनतर्गत सार्स कोरोना-२ भाइरस पनि पर्छ भने एन, आरडिआरपी वा ओआरएफ वन बी जिनहरु सार्स कोरोना-२ भाइरस हो भन्ने प्रमाणित गर्छ।
निम्न अनुसार पिसिआर जाँचको कर्भहरु र सिटिको साइकलको संख्या विश्लेशण गरेर अन्तिम नतिजा प्रमाणित गरिन्छ।
क) जाँचको नतिजा निगेटिभ: आन्तरिक कन्ट्रोलको कर्भ देखिने तर भाइरसको कुनै पनि जिनको कर्भ नदेखिएमा
ख) जाँचको नतिजा पोजिटिभ: आन्तरिक कन्ट्रोलको कर्भ देखिनुको साथसाथै भाइरसको दुई वटा जिनको कर्भ देखिएमा
ग) जाँचको नतिजा इनभ्यालिड: आन्तरिक कन्ट्रोलको कर्भ नदेखिने जाँचको नतिजा काम नलाग्ने अर्थात जाँच प्रक्रिया सुरु देखि पुन: जाँच गर्नुपर्ने हुन्छ।
तसर्थ संवेदनशील प्रक्रिया अपनाएर गरिने जाँचका तीन वटा स्टेज नमुना संकलन, नमुना संकलन गर्ने स्थान (नाक, घाँटी), संक्रमित व्यक्तिसँगको सम्पर्कपछि नमुना संकलन गर्ने अवधि (८-१० दिन), नमुना ओसारपसार गर्दा तापक्रम (२-८०सी) नियन्त्रण गरेको, जाँच गर्नुअघि, जाँच गर्दा र जाँचिसकेपछि तीन वटा प्रक्रियामा गुणस्तर कायम, पिसिआरमा प्रायोग हुने आन्तरिक कन्ट्रोल, पोजिटिभ र नेगेटिभ कन्ट्रोल लगायतको सुनिश्चित गरी गरेको खण्डमा प्रयोगशालाको नतिजाको गुणस्तर कायम गर्न सकिन्छ।
(डा मिश्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलोजिस्ट हुन्)