डा जनक पाठक
जो जससँग सम्बन्धित छ।
महोदय
विश्वव्यापी महामारी र नेपालमा दिनहुँजसो स्वास्थ्यकर्मीमाथि हुने गरेका हिंसाको पर्वाह नगरी विषम परिस्थितिमा पनि देशको सेवा गर्ने युवा इच्छाशक्त्ति र कर्तव्यबोध भएको एक चिकित्सकको नाताले यो खुलापत्र लेख्दैछु।
कोभिड-१९ को महामारीबीच अग्रपंक्तिमा रहेर सेवा गर्नुहुने स्वास्थ्यकर्मी, सुरक्षाका प्रवाहक, स्थानीय जनप्रतिनिधि, स्वयंसेवकमा नमन गर्न चाहन्छु। तपाईहरुकै कर्तव्य निष्ठाले आज म, मेरो परिवार, समाज र सिंगो राष्ट्र यस महामारिसँग जुध्नका लागि प्रेरित भएको छ।
स्वास्थ्य सेवा प्रवाहको हिसाबले नेपाल औसतभन्दा पनि धेरै तल रहेको यहाँहरुलाई विदितै होला। अझ यस महामारीको चपेटामा उपलब्ध मानवीय स्रोत र साधनको व्यवस्थापान तथा उचित परिचालनमा फलामको चिउरा चपाउनु सरह हुन्छ। स्वास्थ्यकर्मीको हकमा उनीहरु आफैंलाई यसबाट बचाई अरु स्वस्थ मानिसमा सर्न नदिने वातावरणको सिर्जना आफैंमा चुनौतीपूर्ण छ।
यसै चुनौतिका बीच पनि आउनो तथा परिवारको पर्वाह नगरी आफ्नो जीउ-ज्यान हाँसी–खुसी बिरामीको सेवामा लगाए पनि हरेक मन भित्रको डर र त्रासको आभाष बाहिर नदेखाउनु नेपाली स्वास्थ्यकर्मीको राष्ट्रसेवाको उच्चतम बिन्दु हो। यसै अवस्थामा विश्वभरिको महामारी फैलावट र नेपालको तयारीलाई गहिरिएर विश्लेषण गर्दा अवस्था अझै बिग्रिएर जान सक्ने आकलन गर्न सकिन्छ। तसर्थ मौज्दात रहेको मानवीय स्रोत र साधनको समुचित प्रयोग नै अहिलेको आवश्यकता हो भन्नेमा यहाँहरु जानकार नै हुनुहुन्छ।
महोदय,
म आफैं भर्खरै अध्ययन पूरा गरेर सेवाका लागि तत्पर चिकित्सक हुँ। र, म जस्तै करिब ५०० चिकित्सक (काठमाडौं उपत्यका बाहेकका त्रिभुवन विश्वविद्यालय अन्तर्गत निजी मेडिकल कलेजमा अध्ययन पूरा गरेका) यस विषम परिस्थितिमा आफ्नो ६ वर्षीय अध्ययन र तालिमको उच्चतम् प्रयोग गर्दै नेपाल आमाको सेवाको पर्खाइमा हुनुहुन्छ।
हरेक देशमा जस्तै नेपालमा पनि चिकित्सकीय अभ्यासका लागि अनुमति (लाइसेन्स) को प्रावधान रहेको यहाँहरुलाई अवगत नै छ। आफ्नो नियमित अध्ययन पूरा गरेपश्चात् चिकित्सकलाई परीक्षणका रुपमा दर्ता गरिने र तोकिएको मापदण्ड पूरा गरी लाइसेन्स परीक्षा उत्तीर्ण गरेपछि अस्थाई रुपमा दर्ताका लागि आवेदन दिन सकिने प्रावधान नेपाल मेडिकल काउन्सिलमा रहेको छ।
यसै व्यवस्था अनुरुप तोकिएका मापदण्ड पूरा गरी हालसालै अध्ययन पूरा गरेका म लगायत अन्य चिकित्सकहरुले अनलाइनमार्फत आफ्नो नाम दर्ताका लागि आवश्यक प्रक्रिया पूरा गरेका छौं। यसपश्चात् काउन्सिलमै आफ्नो सक्कली प्रमाण सहित उपस्थित भइसकेपछि मात्र त्यसउपर कारबाही गरिने प्रावधान रहेको छ। यस बिना चिकित्सकीय अभ्यास गर्न नपाइने यहाँहरुलाई जानकारी नै छ। तसर्थ यसै अनुरुप यथेष्ट प्रमाणहरु जुटाई प्रयोजन खुलाई कानुनी तवरले पासका लागि पेस हुँदा पनि आवश्यक सुनुवाइ नभएपछि सम्बन्धित सबैका लागि यो पत्र लेखेको हुँ।
नेता, पार्टीका झोले र पहुँचवालाहरु खुलेआम काठमाडौं प्रवेश पाइरहेको अवस्थामा हामीले आपतकालीन अवस्थामा देशको सेवा गर्न पाउँ भनी अनुरोध गर्दा यहाँहरुलाई मनासिव कसरी लागेन? हाम्रो सेवा कसरी अत्यावश्यक भएन? महोदय, जवाफ छ भने सुन्नलाई आतुर छु।
घना आवादी रहेको काठमाडौं महामारीको जोखिममा रहेकोले कडा सतर्कता अपनाउनु पर्नेमा दुईमत छैन। तर यससँगै यो पनि भुल्नु हुँदैन कि काठमाडौं बाहिर पनि नेपाल छ, जहाँ कोरोनाभन्दा पनि अन्य रोगव्याधी वर्षौंदेखि व्याप्त छ। जसको सेवाका लागि हामीजस्ता युवा चिकित्सकहरु तयार रहँदारहँदै पनि राज्य हामीलाई परिचालन गर्नबाट आज चुकेको छ।
विश्वका कतिपय मुलुकमा यस्ता महामारीको समयमा स्वास्थ्य क्षेत्रमा अध्ययन गर्दैगरेका विद्यार्थीलाई समेत आफ्नो क्षमताका अनुरुप बिरामीको सेवामा खटिनका लागि आव्हान गरिने गरेको जानकारी गराउन चाहन्छु। अझ हाम्रो जस्तो सीमित स्रोत र साधनमा भीमकाय प्रलयसँग जुध्न सम्बन्धित निकायले पहल गर्नुपर्ने अवस्थामा आज चिकित्सकहरु आफैं राष्ट्रसेवाका खातिर जीउ-ज्यानको पर्वाह नगरी होमिन खोज्दा सरकारी निकायले वास्ता नगरेकाले मातृभूमिको सेवा गर्न नसकेकोमा बडो अफसोच लागेको छ।
विगतको दशकमा विश्वले सूचना प्रविधिमा ठूलो फड्को मारेको छ। समयसापेक्ष यसैलाई अङगिकार गर्दै नेपाल सरकारले पनि सरकारी सेवा तथा सूचनालाई आधुनिकीकरण गर्ने नीति लिएको विदितै छ। जसअनुरुप आवश्यक कागजपत्रहरु अनलाइनमार्फत पेस गरिसक्दा पनि आफैं उपस्थित हुनुपर्ने प्रावधानले सरकार अझै पनि पुरानै ढाँचाबाट अघि बढ्न नखोजेको प्रतित हुन्छ।
एकातर्फ बन्दाबन्दीले भौतिक रुपमा उपस्थित हुन नसकिने र अर्कोतर्फ सरकारी निकायले यस अवस्थामा लचकता नदेखाइदिनाले भर्खर चिकित्सकीय पेसामा प्रवेश गर्न तयार युवा चिकित्सकलाई पहिलो गाँसमै ढुंगा परेको अनुभवले पिरोलेको छ।
यसै त उचित तवरको सेवा र सुविधा तथा सुरक्षाको प्रत्याभूति गराउन नसकेको यस नेपाली चिकित्सकीय अभ्यास त्यसमाथि यस्ताखाले सरकारी जवाफहिनताको कारण कतै हामी र आउने पुस्तामा सेवा भावनामा आँच आउने त होइन भन्ने खतराको बोध गराउन चाहन्छु।
यसका साथसाथै छात्रवृत्ति चिकित्सक परिचालन निर्देशिका बमोजिम सरकारी छात्रवृत्तिमा अध्ययन पूरा गरेका चिकित्सकका हकमा अध्ययन पूरा गरेको ३ महिना भित्रमा शिक्षा मन्त्रालयमा सम्पर्क राख्नुपर्ने कानुनी व्यवस्था रहेको र यस बन्दाबन्दीका कारण आधा समय बितिसकेको हुनाले यसउपर कारबाहीमा परिने हो कि भन्ने त्रास दिनदिनै बढ्दै गएको छ।
महोदय,
चिकित्सा शिक्षामा स्नातकोत्तर तहमा अध्ययनका लागि एक वर्षको कार्यअनुभवको आवश्यकता पर्ने यहाँहरुको जानकारीको लागि पेस गर्दछु। हालसालै गठन भएको चिकित्सा शिक्षा आयोगले एकीकृत परीक्षा हरेक वर्षको जेठ महिनामा सञ्चालन गर्ने प्रष्ट पारिसकेको छ। यस अवस्थामा सरकारी अकर्मन्यताका कारण सेवा प्रवेशमा ढिला हुन गई अर्को साल हुने परीक्षा छुट्न गएमा नेपाललाई खाँचो परिसकेको विशेषज्ञ चिकित्सकको उपलब्धता फेरि एकपल्ट १ वर्ष पछाडि धकेलिने छ।
तसर्थ यस विषयसँग सम्बन्धित सबैमा म प्रश्न गर्न चाहन्छु। के हाम्रा सरकारी कार्यालयहरु अझै पनि पूरानै प्रविधिमा चलिराख्ने हो? के आम जनताले प्रविधिको उपयोग गर्दै घरैबाट आवश्यक सेवा पाउनका लागि अझै दशकौं पर्खिनुपर्ने हो?
अन्त्यमा, म आफैं कानुनको ज्ञाता नभए तापनि विषम परिस्थितिमा राज्य हितका लागि कानुनहरुको लचिलो व्याख्या गरी कानुनले आकर्षित गरेको वर्गको सहयोग लिनु कुनै गैरकानुनी बाटो हुन्छ जस्तो लाग्दैन। तसर्थ यस परिस्थितिमा आफ्नो जीउ र ज्यानलाई बाजी राखी भाइरस विरुद्धको लडाईंमा आफ्ना ६ वर्षे पढाई र अनुभवका गोलीगठ्ठा लिएर अग्रपंक्तिमा होमिन तयार सम्पूर्ण स्वास्थ्यकर्मीका लागि लचकताका साथ सम्बन्धित सरकीरि निकायको सहजीकरणको आशा राख्दै यस पत्रको बिट मार्ने आज्ञा चाहन्छु। धन्यवाद।
बोधार्थ
१. नेपाल मेडिकल काउन्सिल, बाँसबारी, काठमाडौं
२. शिक्षा मन्त्रालय, छात्रवृत्ति शाखा, केशर महल, काठमाडौं
३. स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौं
४. सामाजिक विकास मन्त्रालय, सबै प्रदेश