अस्मिता थापा
मे २८ अर्थात् महिनावारी स्वच्छ दिवस। महिनावारी हुँदा स्वास्थ्य र सरसफाइ व्यवस्थापनको महत्त्व एवं तरिकाबारे वार्षिक रुपमा चेतना फैलाउन उद्देश्यले संसारभर यो दिवस मनाउने गरिन्छ। यो दिवसमा महिला तथा किशोरी एकजुट भएर बुलन्द आवाज उठाउनुका साथै महिनावारीका समयमा शारीरिक सरसफाइको महत्व, विधि र सामग्रीको प्रयोगका विषयमा छ्लफल गर्ने गरिन्छ।
महिनावारी हुँदा शरीरमा हुने विभिन्न परिवर्तनलाई समाजले सामान्य रुपमा नलिएर अपवित्र र घृणित रुपमा हेर्ने गरेकाले यो विषय आजसम्म पनि चुनौतीपूर्ण बन्दै आएको छ। महिनावारीलाई प्राकृतिक रुपमा नलिएर रहस्यमय विषय बनाउनाले समाजमा आजसम्म पनि यसबारे खुलेर कुरा गर्न रुचाउँदैनन्।
महिनावारीका बेला हुने रक्तस्राव, फोहोरमैला व्यवस्थापनलाई मध्यनजर गर्दै मेडिकल प्रणालीले विभिन्न सामग्रीहरु उत्पादन गरेको छ। जुन सामग्री आफ्नो रोजाइ र सहजता अनुसार प्रयोग गर्न सकिन्छ। कुनै एक पटक मात्र प्रयोग गर्न सकिने हुन्छन् भने कुनै एक पटक प्रयोगपछि निर्मलीकरण गरेर पुनः प्रयोग गर्न सकिने पनि हुन्छन्। स्यानिटरी प्याड, टयाम्पोन एक पटक मात्र प्रयोग गर्न सकिन्छ भने महिनावारी कप पुन: प्रयोज्य मेनस्टुरल प्याडहरु पुनः प्रयोग गर्न सकिन्छ। पुनः प्रयोग गर्न सकिने उत्पादनहरु वातावरण मैत्री र दीर्घकालीन हुने भएकाले धेरै महिला, किशोरीका लागि आकर्षण उपभोग्य बनेका छन्।
म २०१९ मा नेपाली ट्राभल्सले आयोजना गरेको सोलो विमन ट्राभलर्सको बिजेता हुँ। मैले कर्णालीका बिकट ठाउँहरु एकल रुपमा हिँडेर यात्रा गरेकी थिएँ। झापाबाट नेपालगन्ज हुँदै डोल्पा, जुम्ला, मुगु, सिमिकोट,हिल्सा- कैलास हिमालको प्रवेशद्वारसम्म यात्रा गरेकी थिएँ।
कर्णाली भौगोलिक हिसाबले विकट जिल्ला हो। महिलालाई यात्राका क्रममा विभिन्न समस्या आउन सक्छन् र त्यसका लागि शारीरिक र मानसिक रुपमा तयार हुनुपर्छ। यो बेला महिनावारी त झन् एउटा जटिल चुनौती बनिदिन्छ, शारीरिक आरामको बेला, विकटताको माझमा हिँड्नु पर्दा सहज हुँदैन। सरसफाइका लागि पानी तथा शुलभ शौचालय नपाउँदा साथै प्रयोग गरिएको प्याडको सही व्यवस्थापनमा पनि समस्या पक्कै हुन्छ। त्यसकारण यात्राका क्रममा सहज हुने प्रवृत्तिका महिनावारी सामग्रीहरु प्रयोग गर्दा उचित हुन्छ।
म प्राय: स्यानिटरी प्याड प्रयोग गर्ने गर्दथेँ। मलाई ट्याम्पोन र महिनावारी कपबारे खासै जानकारी थिएन। फेरि लामो यात्राका क्रममा रक्तस्राव पनि ज्यादा हुनसक्ने र लामो समय एउटै प्याड प्रयोग गर्दा ब्याक्टेरियालाई हुर्कंन सहज वातावरण हुनाले योनी (गुप्ताङ)मा संक्रमण, पिसाब नलीको समस्या, योनीको छालामा एलर्जी र घाउहरु हुनसक्छ।
अर्को समस्या, प्रयोग गरिएको प्याड कहाँ नष्ट गर्ने भन्ने प्रश्न पनि उठ्न सक्छ। महिनावारी स्वास्थ्य सम्बन्धमा काम गर्ने संगठनहरुका अनुसार एउटा स्यानिटरी प्याड कुहिनका लागि करिब पाँच सयदेखि आठसय वर्ष लाग्छ। त्यसमा प्रयोग गरिएको प्लास्टिक नन-बायोडेग्रेडेबल हो र यसले प्रकृतिलाई ह्रास पुर्याउनुका साथै पर्यावरणको स्वास्यमा जोखिम निम्त्याउन सक्छ।
मेनस्टुरल कप अगाडिदेखि मेरो रोजाइमा थियो तर म निष्कर्षमा पुगेको थिइनँ। पहिलो पटक नयाँ सामग्री प्रयोग गर्दा कति द्विविधा उत्पन्न हुन सक्छन्। मैले पनि यसको प्रयोगबारे धेरै खोज, अनुसन्धान गरेँ र प्रयोग गरिसकेका महिला साथीहरुसँग यसको सहजताबारे परामर्श लिएँ।यसबाट म यो प्रष्ट भएँ कि यसको प्रयोगले कुनै बेफाइदा छैन र म सुरुवाती निर्णयमा पुगेँ। एउटा भनाइ नि छ नि 'जब द्विविधा हुन्छ तब रोजाइ परिवर्तन हुन्छ' सोही अनुसार मैले मेनस्टुरल कप अर्डर गरेँ।
मेनस्टुरल कप लेटेक्स रबर वा सिलिकनबाट बनेको नरम सोली आकारको कप हो। जुन योनीमा महिनावारीका बेला रगत जम्मा गर्न प्रयोग गरिन्छ। प्राय: नरम मेडिकल ग्रेड सिलिकनबाट बेनका हुन्छन्। जसको मतलब यसले एलर्जी कम गराउने, नरम र टिकाउ हुने गर्छ। यसमा स्टेम हुन्छ, जुन योनीभित्र लागउने (पसाउने) र निकाल्नका लागि प्रयोग गरिन्छ। यसमा अर्को डल्लो बेल आकारको कप हुन्छ, योनीका भित्तालाई सिल गर्ने काम गर्छ जसले गर्दा रगत बाहिर नगएर कपमा जम्मा हुन्छ। यो कप प्रत्येक चारदेखि १२ घण्टामा खाली गर्नुपर्छ। यसलाई धोएर, पखालेर पुनः प्रयोग गर्न सकिन्छ। प्रत्येक महिनावारीको अन्त्यमा प्रयोगपछि पाँचदेखि दस मिनेटसम्म तातोपानीमा उमालेर निर्मलीकरण गरी अर्को महिनावारीमा पुनः प्रयोगका लागि राख्न सकिन्छ।
म यात्रामा निस्किनुभन्दा दुई महिना अगाडिबाट नै मेनस्टुरल कप प्रयोग गर्न सुरु गरेकी थिएँ। लामो यात्रामा कपको प्रयोग पहिलो होस भन्ने चाहना मेरो थिएन। किनभने यो प्रयोग गर्दा कति पटक परीक्षण र त्रुटिहरु हुन सक्छन्। पहिलो प्रयोगमा मलाई असजिलो महसुस भयो। आफूलाई सहज हुने आकार अनुसार सानो कप प्रयोग गरेको भए पनि सुरुमा केही रगत कपमा जम्मा नभई बाहिर चुहावट हुनेसम्म भयो। साथै यसलाई लगाउन र निकाल्न हलुका अप्ठ्यारो अनुभव भयो। नयाँ चिज प्रयोग गर्दा केही समय त असजिलो महसुस स्वभाविक हो किनभने व्यक्ति अनुरुप योनीको आकार र रक्तस्राव मात्रा फरक-फरक हुनसक्छ। दोस्रो पटकको प्रयोगमा सहज महसुस गर्न थालेँ र अहिले बानी भइसक्यो।
सरसफाइ, सहजताको दृष्टिकोणले मेरो ३३ दिने यात्राका क्रममा महिनावारी कप निकै सहयोगी बन्यो। कपले स्यानिटरी प्याडजस्तो रगत नसोसेर जम्मा गर्ने गर्छ। साथै यो पुनः प्रयोग गर्न सकिने भएकाले वातावरणमैत्री पनि छ। आर्थिक दृष्टिकोणले सुरुमा (दुई हजार) अलिकति महँगो जस्तो लागे पनि प्रत्येक पटक प्रयोग गरेर नष्ट गरिने स्यानिटरी प्याड अथवा टयाम्पोनको महिनौं हिसाबको तुलनामा पुनः प्रयोग गर्न सकिने भएकाले यो सस्तो पर्न आउँछ।
रगत सोस्ने प्याडहरुबाट रगतको गन्ध चुहावट हुने र सार्वजनिक ठाउँमा लाज्जाबोध हुने जस्ता समस्या हुन सक्छन्। तर यो कपले तुलनामा बढी रगत जम्मा गर्ने हुँदा रक्तस्राव अधिक हुने महिलाका लागि उपयोगी पनि हुन्छ। साथै सरसफाइको दृष्टिकोणबाट र चुहावट नहुने भएकाले राति सुत्दा प्रयोगका लागि पनि सहज हुने गर्छ। यो विभिन्न आकारमा आउने गर्छ, सानो, मध्यम र ठूलो आकार। यिनीहरु कुनै गुलाबी रङ्ग, कुनै बैजनी रङ्ग या कुनै रङ्गहीन हुन्छन्।
यद्यपि, यसका राम्रा पक्ष त छँदै छन्, यस सम्बन्धी विभिन्न मिथ्या, जिज्ञासा र प्रश्नहरु पनि उत्ति नै छन् । यो यौनमा सक्रिय महिलाले मात्र प्रयोग गर्छन् भन्ने गलत धारणा पनि छ। तर यो महिला या किशोरी पहिलो पटक महिनावारी भएदेखि नै प्रयोग गर्न सक्छिन्। यसमा कुनै उमेर सीमा निर्धारण गरिएको छैन। यो योनीको आकार र सहजता हेरेर प्रयोग गर्न सकिन्छ। यसले कुमारित्वमा पनि कुनै प्रभाव पार्दैन। साथै यो भित्र कसिलो भएर बस्ने भएकाले पाठेघरतिर चिप्लिने सम्भावना पनि रहँदैन। मिल्दो आकारको प्रयोग गरेको खण्डमा लामो यात्रा तथा शारीरिक कसरत गर्दा चुहावट नहुने भएकाले सहजताका लागि प्रयोग गर्न सकिन्छ।
हरेकको रक्तस्रावको मात्रा फरक हुने भएकाले यसलाई अनुभव गर्न एक पटक प्रयोग गरेर हेर्न जरुरी हुन्छ। ट्याम्पोन प्रयोग गर्दा संक्रमण हुने सम्भावना निकै कम हुन्छ। रगतको गन्ध कप भित्रै सीमित गराउने भएकाले यसबारे चिन्ता लिनु पर्दैन।
कुनै सामग्रीको राम्रासाथै नराम्रा पक्षहरु पनि हुन्छन्। कसैलाई यो लगाउन र निकाल्न झन्झट लाग्न सक्छ। यसका लागि प्रजनन सम्बन्धी ज्ञान पनि आवश्यकता हुन्छ। तर लगातार प्रयोग गरेका प्राय: महिलालाई आफ्नो सहजता छिटो थाहा हुन्छ। कहिलेकाहीँ परीक्षण र त्रुटिहरु सहनुपर्छ। सही आकार नभएर रगत चुहावट पनि हुने गर्छ। सार्वजनिक शौचालयहरुमा पर्याप्त पानी नहुँदा कप खाली गर्दा वा सफा गर्दा अप्ठ्यारो लाग्न सक्छ। परिवार नियोजनका साधन (आयुसिडी/कपर टी) प्रयोग गरेका केही महिलालाई असहज हुन सक्छ। यसले कपर टीका तारहरु तान्न र हटाउन सक्छ। कति महिला तथा किशोरीहरुलाई लेटेक्सको एलर्जी हुने हुँदा पूर्ण सिलिकनले बनेको कपहरुमात्र किन्नु पर्ने हुन्छ।
सरकार तथा धेरै संस्थाले एक पटक मात्र प्रयोग हुने स्यानिटरी प्याडमा मोटो रकम खर्च गरेर बाँड्नु भन्दा पुनः प्रयोग गर्न सकिने वातावरणमैत्री मैत्री,दीर्घकालीन, सजिलो, पुन: प्रयोज्य कपडाको मेनस्टुरल प्याड र मेनस्टुरल कप प्रयोगमा जोड दिनुपर्छ। तर नेपाल जस्तो विकासशील देश जहाँ बिकट भेगका महिलामा मेनस्टुरल प्याडको त पहुँच नभएको अवस्थामा यी मेनस्टुरल कपको कुरा एउटा प्रश्नचिह्न खडा हुन आउछ।
जसको आर्थिक अवस्था कमजोर छ, उनीहरुमा हजार पर्ने यस्ता सामग्रीको प्रयोगमा कुनै पहुँच पुग्दैन। मेनस्टुरल कपको प्रयोग सरल अति उपयोगी हुँदाहुँदै पनि विशेष गरी नेपालका ग्रामीण बिकट भेगमा यसको शुलभता, प्रयोग विधि, उच्च मूल्य र चेतनाको अभावले कम प्रयोग भएको हुनसक्छ।
पुनः प्रयोग हुने महिनावारी साधनले लामो समय कम रकममा दीर्घकालीन, भरपर्दो र प्रभावकारी मासिक स्वस्थ्य व्यवस्थापन गर्न सहयोग गर्छ । नेपाल सरकारबाट महिनावारी स्वास्थ्य र महिलाको स्वास्थ्य व्यवस्थापन तथा यो बेला आवश्यक पर्ने सरसफाइका सामग्रीहरु सहज पहुँच र सुलभ मूल्यमा वितरण गरेर दीर्घकालीन प्रजनन स्वास्थ समस्या समाधान गर्न जरुरी छ।