डा सन्दर्भ गिरि
आज हाम्रो विभागका एक जना सहयोगी खोकी र ज्वरोले ग्रस्त भएर घरमै बसेका छन्। भोलि बिहान टेकु अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण हो/होइन जाँच गराउन उनलाई हामी डाक्टरले आग्रह गरेका छौँ। हामी शान्त छौँ, समुद्रजस्तै भित्र प्रचण्ड प्रवाह बोकेर।
हाम्रो रेसिडेन्ट विभागमा एक जना आएर आत्तिदैँ भन्छिन्, ‘थप एक व्यक्ति उस्तै समस्या लिएर आइसोलेसन वार्डमा भर्ना भएका छन्।’ मलाई अरुको मनस्थिति थाहा छैन तर म एकदमै डराएको छु। मोबाइलमा सीमित त्रास मेरो मनमस्तिष्क हुँदै हाम्रै अस्पतालको ढोका ढक्ढक्याउँदै छ।
हामी भावी रणनीतिको योजनाको तर्जुमा गर्न एकैछिन गफिँन्छौं र विस्तारै आफ्नो-आफ्नो गन्तव्यतिर लाग्छौं। घर पुग्नासाथ म बाहिर राखेको सेन्टिाइजर हातमा लगाउँछु जुत्ता बाहिर फुकाल्छु। कपडा तलै फेरेर बाथरूम छिर्छु र नुहाउँछु।
माथिको बैठक कोठामा श्रीमती छिन्। उनी मकै पड्केझैँ संक्रमणको नयाँ तथ्यांक सुनाउँछिन्, 'सहरमा चारैतिर कोरोना फैलिएछ। तपाईं भोलिदेखि अस्पताल नजानुस्। आमाबुबाले पनि बारम्बार यही कुरा भनिरहनु भएको छ।'
मेरी ९ महिनाकी छोरी ममीको काखमा बसेर रोइरहेकी छे। म उसको नजिक पुग्छु। छोरीको अनुहार देखेर बात्सल्यले अभिभूत हुन्छु। श्रीमतीले छोरीलाई लिंची दूध खुवाउँछन्। पुनः हाम्रो कुराकानी कोरोनामै गएर टुंगिन्छ। ‘डाइनिङ’ रूममा आमाबाबा र हामी दुई चुपचाप शान्तले रात्रि भोजन गर्छौं भयातुर बिना कुनै वार्तालाप।
सयन कक्षमा डंरङ्ग पल्टन्छु, छोरी र श्रीमतीको उपस्थितिको ख्यालै नगरी। अकस्मात मेरो मुटुको गति मनौं अरबी घोडा जस्तै एकनाससँग कुनै खुला चौरमा दौडिरहेको भान मलाई भइरहेको थियो।
मनमा तर्कना उठ्न थाल्छ। एक मनले भन्छ, म अब कसरी ड्युटी जाउँ? म नरहे मेरो घरपरिवारको के गति हुन्छ? डियुटी अग्रपंक्तिमा छ। सुरक्षा प्रबन्धका सामग्री पर्याप्त र गहकिला छैनन्। म स्वयं डाक्टर यस घडीमा बिना कुनै हातहतियार हिंस्रक पशुहरु भएको जंगलमा सिकार गर्न विचरण गरेझैँ छु।
यस्तै अनेकौं निराशा र हताशाको भुमरीमा पत्तै नपाई भुस्सुक्क निदाएछु।
सपनामा एक्कासि कठ्यांग्रिँदो औंसीको रातमा बिना गतिलो लुगामा लगलग काँम्दै अन्धकार ठाउँमा बसिरहेको रहेछु। टाढा एउटा ज्योति पुञ्ज देख्छु। डगमगाउँदै त्यही ज्योति पहिल्याउँदै अगाडि बढ्छु। ज्योति अझ चम्किलो, चारैतिर झल्लमल्ल बीचमा एउटा आकृति देख्छु। त्यो ज्योतिको राप र तापमा ममा न्यानोपन आउँछ। आखाँभरि उज्यालो छरिन्छ।
एउटा कालो कुप्रो बुढो मान्छे ज्योतिको माझमा देख्छु। त्यो बुढो आकृतिले मलाई सोध्छ ‘बाबु तिमी कता?’ भन्छु, म एक डाक्टर हुँ।
कोरोनाको यस महामारीमा हामी सबै भयाक्रान्त छौं। मेरै विभागको एक जना सहयोगी संक्रमित भएको आशंका छ। भोलि मेरो ड्युटी छ फ्रन्टलाइटमा। शंकाको पिङ्गमा म मच्चिँदैछु। हरेक पटक नयाँ डर लिदैँ हुत्तिँदै म चिन्तित छु, आमाबुबा, श्रीमती र कलिलो बच्चाको बारेमा सोचेर।
म संक्रमित भएँ भने तिनीहरु पनि संक्रमित हुनेछन्, थप अरुलाई पनि संक्रमित बनाउने छन्।
सारा विश्वमा कोरोनाको ताण्डव नृत्य चलिरहेको छ। आफ्नै घरपरिवार र स्वयंको पनि ज्यान बाजी राखेर सीमित पैसाको लागि म जानीबुझी किन र कसका निम्ति धरापमा जाउँ?
बुढाको मुखाकृतिमा एउटा रहस्यश्यमय मुस्कान देख्छु, म उसलाई परिचय सोध्छु, 'बाजे तपाईंको नाम क हो?' उनी भन्छन्, 'नाममा के छ र? जे भनेर बोलाए पनि हुन्छ।'
मैले भनें, ‘कालो वर्णको हुनुहुन्छ, काले बाजे भन्छु।’ काले बाजेले मलाई भने, 'भोलि तिम्रो ड्युटी रहेछ, यो जाडोमा यहाँ नबस, घर जाऊ, आराम गर।’
'म जान्न भोलि ड्युटी। मलाई मेरो र मेरो परिवारको औधि माया लाग्छ। फेरि त्यो अपुग तलबका खातिर किन ज्यान बाजीमा राख्ने? बरु यो कोरोनाको कहर सकियोस्। विदेश जान्छु। यो देशले के दियो र मलाई? पैसा बरु दोस्रो दर्जाको नागरिक भएर विदेशमा कमाउँछु रमाउँछु। घरपरिवार उतै लान्छु।'
उनले मेरो कुरा सुनेर भने, ‘डाक्टर व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ। सामाजिक दायित्व हुन्छ, यसलाई निर्वाह गरे सिद्धि र निधि हुन्छ। होइन र? यस सामाजिक दायित्वबाट विमुखता निन्दनीय र कुख्याति हुन्छ हैन र? तिमी कर्तव्यप्रति निष्ठा र समर्पण भावले अग्रसर हौ। बिना कुनै कृत्रिम इच्छा, सुख र दु:खलाई समभावले, हार र जीतलाई निरपेक्ष भावले कर्तव्य वरण गर्नु तिम्रो प्रथम दायित्व हो।'
मैले उनलाई भने, 'म मेरो सुनौलो घरपरिवारको निर्माण गर्ने परिकल्पना बोकेको एउटा डाक्टर, अरुको ज्यान बचाउन किन व्यर्थमा आफ्नो र आफ्नो परिवारलाई यो खालमा थापूँ?'
काले बाजे खुट्टा तन्काउँदै खुला आकाशतर्फ हेर्छन् र धर्तिभरि छरिएका बिस्कुन भएका पारिजातका फूल हत्केलाले उठाउँछन् र मतर्फ पुलुक्क हेर्दै भन्छन्, 'डाक्टर यो संसारमा कुनै पनि वस्तु स्थायी छैन, यो पारिजातको फूल जस्तै। तिमीले मरिसकेका व्यक्तिलाई आइसियुमा लगेर भेन्टिलेटरबाट कृत्रिम श्वास दिएर बचाउन सक्छौ? क्यान्सरका अन्तिम चरणका बिरामीलाई संजीवनी बुटी खान दिएर जीवन दिलाउन सक्छौ? तिमी विद्यार्थी छँदा सोधिएका प्रश्नका उत्तर लेख्न नपाउँदै अन्तिम घण्टीले खोसिएको उत्तरपुस्तिका र तिम्रो अन्तिम प्रयासमा लेखिएका अक्षरहरु त तिमीले देखेको जीवन हैन र डाक्टर? यो क्षणभंगुर संसारमा चिरस्थायी हुने सपना तिम्रो भ्रान्ति हो। तिम्रो शरीर मात्र एउटा निमित्त पात्र हो। दु:खको कुरा, सारा संसार मात्र यही केवल पात्रको वरिपरि बचेको छ। यो पात्रको सुत्रधार को हो? त्यो सुत्रधारको खोज बिना नै मान्छे जन्म लिन्छ र मर्छ। परिवर्तन ब्रम्हदानको नियम हो। डाक्टर भ्रुणमा रहँदाको मुटुको शरीर विज्ञान र जन्मपछिको शरीर विज्ञान बेग्लै छ हैन? जीवनको पहिलो स्पन्दन पछिको हाम्रो गति मृत्युमा टुंगिन्छ। तर हामीले सम्झनुपर्ने कुरा के छ भने यात्रा अनवरत छ। यो शरीर त मात्र एउटा सानो माध्यम मात्र हो। एउटा कपडा हो। जसलाई आत्माले फेरिरहन्छ। आत्मा अमर, अजय र आदित्य हो। आत्मा तिम्रो पहिचान हो। आत्मा भन्दामाथि परमात्मा छन्, जुन तिमी भित्रै छन्। त्यसकारण मृत्युको शोक नगर। तिमी आफूलाई चिन! हरेक चेतनशील प्राणीले म को हो? म केका लागि? कसका लागि? खोज नै जीवनको धेय हो खोजी गर। मूल कुरा म को होसँग साक्षात्कार गर। शरीर, मृत्यु, शोक यी त झिनामसिना कुरा हुन्।'
मैले भने, 'बाजे मैले तपाईंको कुराको रुप मात्र बुझें, सार बुझिनँ। बाजे अहिले विश्व एउटा गाउँ भएको छ। हामी जेनेटिक इन्जिनियरिङको नयाँ युगमा छौं। हामी नित्य कृत्रिम डिएनए बनिरहेका छौँ। तपाईंलाई थाहै होला, डिएनए जीवनचक्रको अभिलेख हो। तसर्थ आत्मा-परमात्माको अमूर्ततालाई कसरी बुझुँ बाजे?'
बाजेले हास्दै भने, ‘डाक्टर डिएनए बडो रोचक छ है। डिएनएसँग गुगल, विकेपेडिया वा तिम्रो ब्रेन सेलले न्युरोनले कल्पना गर्ने आयामभन्दा धेरै-धेरै टाढा छ। डिएनए एउटा चमत्कारी आधारशीला हुन सक्छ। जीवनको सुरुवात किमार्थ होइन। डिएनए मात्र एउटा माध्यम हो, जसले इन्फर्मेसन बोक्ने काम गर्छ। भनिन्छ नि 'जिन्दगी एउटा गीत हो। डिएनए एउटा क्यासेट। रेडियो तिम्रो शरीर हो। अब मलाई भन गीत कसले गएको हो? सायद यो कुरा मानव इतिहासमा एउटा महत्वपूर्ण अनुत्तरित प्रश्न हो। वैज्ञानिकले अहिले बनाएका स्यथेटिक डिएनए एउटा प्रतिकृति हो, सार्वभौम होइन। यो गहन विषयतिर तिमी अहिले नजाऊ, मात्र अन्तरमनको यात्रा गर। मको खोजी उत्तर तिम्री आगाडि उभिनेछ।'
म काले बfजेको कुराबाट अभिभूत हुन्छु। काले बाजेमा म कृष्ण भेट्छु! मै निरीह भावमा उहाँको आँखामा हेर्छु। उहाँ मलाई भन्नुहुन्छ- डाक्टर तिमी कर्तब्य गर!कर्तव्य केहि प्राप्तिका निम्ति होइन। कर्तब्य केही बन्नका निम्ति होइन। कर्तब्य कुनै अदृष्य अभिलाशाको डोका बोकेर बाटोमा शिला खोज्दै हिँड्ने आकांक्षा होइन। निस्वार्थ कर्तब्य पालना गर! क्रोध, काम, मोह भन्दा धेरै माथि बसेर पूर्ण निष्ठासँग मनभित्र शाश्वत शक्तिसँग अँगालो हालेर शुद्ध हृदयले कर्तब्य गर! यसलाई कर्म योग भनिन्छ। डाक्टर यसका निम्ति तिमीले घरगृहस्थ त्याग्नु पर्दैन। जगंल पस्नु पर्दैन। दिनरात ईश्वरको नाम जप्नु पर्दैन। यो कर्म योग हो, जुन कर्म सन्यासभन्दा धेरैधेरै माथि छ, तिम्रा लागि।
मैले उनलाई सोधें, यो कर्म सन्यास के हो?
उहाँ मेरो प्रश्न सुन्नासाथ मुस्सुक्क मुस्कुराउनु भयो र भन्नुभयो, कर्म सान्यास सर्वश्रेष्ठ आत्माका लागि हो। जसले यो सांसारिक जगतको भौतिकवादी नियममाथि हुन्छ। उनीहरु सबै कुरा त्यागेर ईश्वरमा लिप्त हुन्छन्। ईश्वर एउटा रहस्य माया बिम्व हो। डाक्टर यसको भ्रममा नपर्नु। पहेलो लुगा लगाएर निधारमा टीका लगाएर राम वा श्याम भनेर कोही कुटीमा, कोही सहरी कंक्रिटमा ईश्वरको पसल थप्दैमा मानिस कर्म सन्यासी हुँदैन। मसानमा बसेर गाँजा फुकेर ठूलाठूला सिद्धान्तका कुरा गर्ने पनि कर्म सन्यासी हैन। तिमीले देखेका छौ नेता, राजनेताले तुरुन्तै भेट्ने, कसले कति दान दियो शिलालेखमा राख्ने, भगवानसँग अपोन्टमेनट फिक्स गर्ने नाटककारहरु हुन्। तिमी दिग्भ्रमित नहुनु। कर्म सन्यास बडो गारो कुरा छ। उसले स्वत: परमात्मासँगै गीत गाइरहेको हुन्छ। सबैमा परमात्मा देख्छ। ऊ एउटा अर्को आलोक हो। त्यसकारण तिम्रो बाटो लामो छ तर कर्म गर फलको आशा नगर। तिमी निर्वाणको राजपथमा सदैव हुन्छौ।
मैले अन्तिम प्रश्न गरें, मानौं तपाईं सर्वशक्तिमान, सर्वव्यापी, परमेश्वर हुनुहुन्छ जसले ब्रह्माण्ड सृष्टि गर्नुभयो, कृपया मलाई यो जान्न मन छ कि किन तपाईंले यो संसार सृष्टि किन गर्नुभयो? यो संसार शोकले भरिएको छ र अनगिन्ती समस्याहरू छन्। जहाँ एक जना पनि शान्तिको बासस्थानमा शान्तिले बसेका छैनन्। तपाईं ब्रहमाण्डको अणुमा/ परमाणु उपस्थित हुनुहुन्छ भने किन यति कष्ट?
चैतन्यले मलाई भन्नुभयो,
न कर्तृत्वं न कर्माणि लोकस्य सृजति प्रभु:
न कर्मफलसंयोगं स्वभावस्तु प्रवर्तते
नादत्ते कस्यचित्पापं न चैव सुकृतं विभु:
अज्ञानेनावृतं ज्ञानं तेन मुह्यन्ति जन्तव:
भगवान तिम्रो कार्यका निर्देशक हैनन्। यदि उनी निर्देशक भएका भए सायद कुनै धर्म ग्रन्थ रहँदैन थिए होला। सबै शास्त्रर तीन छोटो वाक्यहरूमा समाप्त हुने थिए, जुन यस प्रकार हुन्थे होला-
'हे आत्मा, म तिम्रा सबै कार्यहरूका निर्देशक हुँ। तिमीले राम्रो वा खराब कार्य के हो बुझ्नु पर्दैन। म तिमीलाई मेरो इच्छा अनुसार कार्य गर्न दिन्छु।
कसैको पनि सद्गुण/राम्रा कामहरू वा पापी कार्यहरूका लागि परमेश्वर जिम्मेवार हुनुहुन्न। आत्माको आफ्नै स्वतन्त्र इच्छाको अभ्यासद्वारा राम्रो वा नराम्रो कार्यहरू गर्ने स्वतन्त्रता छ। त्यो स्वतन्त्र इच्छा सृष्टिको खेलको आधार हो। आत्मा भगवानको एउटा सानो रुप हो। त्यस कारण यो स्वतन्त्र छ। तर एउटा ग्रेटवालभन्दा ठूलो पर्खाल छ हाम्रो मन, शरीर र आत्माको बीचमा। मनले भन्छ शरीरले गर्छ। हाम्रो पहिचान ‘म’ एउटा शरीरमा निहित रहन्छ। अब तिमी भन यो सब मन प्रकृतिको अनुसार चल्छ।'
तिमी गर्ने अनि भगवानलाई भन्ने?
यो संसार भगवानले बनाएको हैन।
यो संसार तिमीले बनाएका हौ। किन तिमीहरुले यस्तो संसार बनाएको डाक्टर?
म एकछिन गहिरो सोचमा डुब्छु। वास्तवमा किन हामीले यस्तो संसार बनायौँ। हाम्रो अज्ञानताले ढाकेको छ, हाम्रो सम्पूर्ण अस्तित्व र मैले भनें, यदि भगवानप्रति समर्पण र यो म (शरीर+मनको) भन्ने अहंताको जालबाट टाढा बसे के मैले मुक्ति पाउँछु।
तिमीले अझै मलाई बुझेको छैनौ! मेरो स्वरूप तिम्रो अन्तर रेटिनामा अझै छापिएको छैन। कृष्णले मलाई विस्तारै भने, यदि म सम्पूर्ण कुरा हुँ भने, म किन तिमीबाट सम्मान खोज्छु। भगवानको भक्ति भनेको मन्दिरको पूजा होइन। कलाकार वा मूर्तिकलाले बनाको मानव चित्रलाई पकेटमा राखेर हिँड्ने होइन वा रुद्री होम लगाएर गरिने अनुष्ठान वा लाखौँ दान गरेर लेखिएको नाम। भगवान एक बिम्व हो। भक्ति कुनै रहस्यमय उपहार होइन। यो नियमित प्रयासले खेती गर्न सकिन्छ।
हामी जे सोच्छौँ त्यही बन्छौं। त्यसकरण राम्रो बिउ छर जीवनमा।
श्रीकृष्णले मलाई सम्झाउनुभयो कि अर्जुन सबै जीवित प्राणीको हृदयमा बास गर्छ। यसको निमित एउटा गुरु चाहिन्छ, सही मार्गमा हिँड्न। मात्र राम्रो कर्म गर। तिमी आफ्नो गृहस्थ जीवन चलाऔ राम्रै। परिवारलाई माया गर, सम्मान गर। साथीभाइ, इष्टमित्र सबैमा प्रेम बढाऊ तर आफ्नो दायित्व पूर्ण निष्ठले गर। अनि, मसँग यसरी आएर बीचबीचमा कुरा गर। म सबैमा बस्छु यो कुरा बुझ। काम, बासना, लोभ, मोह र क्रोधबाट टाढा बस। यो एउटा डर लाग्दो रोग हो। म सदैव तिम्रो साथमा छु। यहाँसम्मका लागि होइन, अनन्तसम्म तिमीसँग छु।
पहिला तिमी आफूलाई चिन। त्यसपछि तिमी मलाई कुनै मन्दिरमा हैन, समस्त जगतमा भेट्नेछौँ।
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे
अलार्म बज्छ।
म निद्राबाट वा भ्रमबाट उठेको छु। म मेरो कर्तव्य कोभिड-१९ स्क्रिनिङ ज्वरो क्लिनिकको लागि तयार भइरहेको छु। श्रीमतीले अस्पताल नजानुस् भन्छे। म उनको निधारमा चुम्बन गरी, गाडीको साँचो लिएर बाहिर निस्किन्छु। घर बाहिर! मनको घर बाहिर!