प्रविण कुमार खनाल/कपिल गौतम
नेपालको संविधान २०७२ ले सूचनाको हकलाई मौलिक हकका रुपमा स्थापित गरेको छ। राष्ट्रिय स्वास्थ्य नीति २०७६, राष्ट्रिय स्वास्थ्य सञ्चार नीति २०१२, जनस्वास्थ्य सेवा ऐन २०७५ लगायतका राष्ट्रिय नीतिहरुले समयमै सही सूचना प्रवाहको महत्वलाई राम्रैसँग स्वीकार गरेको पाइन्छ।
हाल विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को महामारीका कारण लागू गरिएको लकडाउन अर्थात् बन्दाबन्दीले हामी धेरैजसो आ–आफ्नो घरभित्र थुनिएर बसेका छौं। हाम्रो उल्लेख्य समय टिभी, रेडियो र अन्य सामाजिक संजालसँगै बितिरहेको छ। नेपाल जानसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०१६ का अनुसार १५–४९ वर्ष उमेर समुहका ५० प्रतिशत महिला र ५१ प्रतिशत पुरुषहरुले नियमित रुपमा टेलिभिजन हेर्ने, २८ प्रतिशत महिला र ३६ प्रतिशत पुरुषहरुले नियमित रुपमा रेडियो सुन्ने, ९ प्रतिशत महिला र २२ प्रतिशत पुरुषहरुले नियमित रुपमा पत्रपत्रिका पढ्ने, २३ प्रतिशत महिला र ४७ प्रतिशत पुरुषहरुले गत एक वर्षभित्र इन्टरनेटको प्रयोग गर्ने गरेको र त्यसको आधाभन्दा बढीले दिनहूँ यसको प्रयोग गर्ने गरेको पाइएको छ। त्यसैगरि, इन्टरनेट सेवाको बिस्तारसँगै देशमा सामाजिक संजालको प्रयोग दर पनि दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ।
सबै खालका सूचना सबैलाई उही रुपमा आवश्यक हुँदैनन्, तसर्थ प्रवाह गर्ने सूचनाका विषयवस्तुलाई वर्गीकरण गर्नुपर्ने आवश्यकता देखिन्छ। महामारीको सन्दर्भमा स्वास्थ्य सूचना सम्प्रेषणका लक्षितवर्गलाई निम्न तीन प्रकारमा विभाजन गर्न सकिन्छ।
१. नीति निर्माणमा संलग्न नेतृत्ववर्ग
२. रोकथाम र उपचार कार्यमा संलग्न स्वास्थ्यकर्मी तथा सरोकारवाला
३. आम सर्वसाधारण वर्ग
अन्य देशमा हासिल गरेका अनुभव र वैज्ञानिक जर्नलहरुमा प्रकाशित तथ्यहरुको आधारमा नीति निर्माण तथा परिमार्जन गर्ने कार्य विधागत विशेषज्ञहरु समेतको छलफलपश्चात् भइरहेको देखिन्छ। तर रोकथाम तथा उपचार कार्यमा संलग्न स्वास्थ्यकर्मी, सरोकारवाला तथा आमजनतामा सही सूचनाको अपर्याप्तता रहेको र अनेकन स्रोतबाट प्राप्त सुचनाले सही सूचना प्रवाहको साटो थप द्विविधा सिर्जना गरिरहेको अवस्था छ।
एकातिर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्ग तथा प्रेस विज्ञप्तिमार्फत् आमजनमानसमा सुचना प्रवाह गरिरहेको छ भने अर्कोतर्फ स्वास्थ्यका विधागत विशेषज्ञहरुले पनि सामाजिक सन्जाल रेडियो, टिभी र पत्रपत्रिकामार्फत् आफ्नो ज्ञान, सीप र धारणा साटिरहेका छन।
राज्यले स्वास्थ्यकर्मीहरुबीच सूचना प्रवाहमा एकरुपता कायम गर्न सम्बन्धित काउन्सिलसँग समन्वय गरी स्वास्थ्यकर्मीको सम्पर्क नम्बर र इमेल ठेगानाको प्रयोग गर्नु उपयुक्त हुन्छ। साथै राज्यद्वारा निर्देशित÷जारी गरिएका विभिन्न प्रोटोकलहरुलाई अझ स्पष्ट बनाउनु र समयमै सरोकारवालासँग पुर्याउनु र पुगे नपुगेको एकीन गर्नु अत्यावश्यक छ। स्वास्थ्यकर्मीको ज्ञानलाई अभिवृद्धि गर्न इन्टरनेटको प्रयोग गरी कन्टिन्युयस मेडिकल पब्लिक हेल्थ एजुकेशनका कार्यक्रमहरु निरन्तर संचालन गरिनु पर्दछ।
जनमानसमा सूचना प्रवाह गर्ने संचारका स्रोतहरुको नियमित अनुगमन तथा नियमन गर्ने कार्यलाई अझ तीब्रता दिनुपर्ने आवश्यकता छ। राज्यको चौथो अंगका रुपमा परिभाषित रहेको पत्रकारिता क्षेत्रले छिटो सूचना प्रवाह गर्ने अस्वस्थ होडबाजी गर्नुको साटो सही सूचनाका निम्ति स्वास्थ्यविज्ञहरुसँग सोबारे सत्यतथ्य बुझी विश्वसनीय समाचार सम्प्रेषित गर्नुपर्दछ। साथै प्रत्येक जिम्मेवार नागरिकले सूचनाको विश्वसनीयताबारे एकपटक सोच्ने, सम्भव भएसम्म नजीकको स्वास्थ्य विषयसम्बन्धी जानकार व्यक्तिसँग यसबारे बुझ्ने बानीको विकास गर्नु अत्यावश्यक छ।
कोभिड १९ को यस विश्वव्यापी महामारीको अवस्थामा आज विश्वले कोरोना प्यान्डेमिकको साथसाथमा र्युमर प्यान्डेमिक विरुद्ध समेत लडिरहनु परेको अवस्था छ। गलत सुचनाले डर र द्विविधालाई निम्त्याउँछ। गलत सूचनाले प्राथमिकता पाउँदा समाजमा भ्रम, विभेद, मनोसामाजिक स्वास्थ्य समस्यामा बृद्धि हुँदै जाने देखिन्छ साथै यो महामारी विरुद्धको अस्त्रका रुपमा रहेका सेल्फ क्वारेन्टाइन, सामाजिक/व्यक्तिगत दूरी, मास्कको प्रयोग र साबुनपानीले मिचीमिची हात धुने बानी इत्यादि ओझेलमा पर्दै जाँदा यो महामारी विरुद्धको लडाइ अझ कमजोर हुँदै जाने सम्भावना रहन्छ।
महामारीजस्तो विषम परिस्थितिमा उत्पन्न हुनसक्ने मानसिक तनावको न्यूनीकरणका निम्ति सूचना प्रवाहक निकायले प्रभावकारी भूमिका खेल्नुपर्ने देखिन्छ। तनाव न्यूनीकरणका निम्ति नियमित योग, व्यायाम, ध्यान, सामाजिक संजालको प्रयोग समयमा कमी, प्रियजनसँग समय बिताउन प्रोत्साहित गर्नुपर्दछ साथै नसर्ने रोगहरुको जोखिम तत्वहरु जस्तैः रक्सी, चुरोट र सूर्तीजन्य पदार्थको सेवन, असन्तुलित भोजन र शारीरिक निष्क्रियताले निम्त्याउन सक्ने अर्को सम्भाव्य महामारीको जोखिमबाट जोगाउन समेत संचार क्षेत्रले प्रमुख भूमिका खेल्नुपर्ने देखिन्छ।
जनप्रतिनिधिहरु जनतासँग नजीक रहने हुँदा उनीहरुले कोरोना महामारीबारे बोलेका कुराहरुमाथि जनताले बढी विश्वास गर्ने गर्छन्। तसर्थ, यसबारे बोल्दा सामाजिक संजालमा उपलब्ध विषयवस्तुलाई हू–बहु प्रसार गर्नुको साटो स्वास्थ्यका विज्ञहरुसँग बुझ्नुपर्ने देखिन्छ। नेपाल सरकारले नियमित रुपमागर्दै आएको मिडिया ब्रिफिङ्गको शैलीलाई थप परिष्कृत गर्नुपर्ने आवश्यकता देखिन्छ। समाचार पढेजस्तो गरी प्रस्तुती दिनुको साटो महत्वपूर्ण विषयवस्तुलाई प्राथमिकताका साथ दोहोर्याउँदा जनतामा सकारात्मक व्यवहार परिवर्तनका निम्ति मद्दत पुग्छ। मिडिया ब्रिफिङ्ग अन्य स्थानीय भाषामा समेत गर्दा अझ उपयुक्त र प्रभावकारी हुन सक्छ।
विभिन्न तहका सरकारबाट प्रकाशित स्वास्थ्य सूचना सामाग्रीहरुलाई समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता छ जसका लागि उपलब्ध जनशक्ति (चिकित्सा, जनस्वास्थ्य, आमसंचार) को विज्ञतालाई उपयोग गर्दै स्थानिय आवश्यकता अनुरुपका स्वास्थ्य सूचनाका सामाग्रीहरु जस्तैः पोष्टर, पम्प्लेट, रेडियो सूचना सामाग्री निर्माण र परिमार्जन गरिनुपर्छ। बिश्व स्वास्थ्य सङ्गठनले मिथबस्टर्स शीर्षक राखेर कोभिड–१९ सङ्ग सम्बन्धित भ्रमहरु आफ्नो आधिकारिक वेबसाइट मार्फत प्रस्ट्याउने प्रयास त गरेको छ तर ती सूचनाहरु सबैको सहज पहूँचमा समयमै पुग्न नसक्दा अपेक्षित प्रतिफल प्राप्त हुन सकेको छैन। उदाहरणका लागिः रक्सी सेवनले कोरोनाबाट जोगाउँछ लगायतका भ्रमका कारण नेपालमा पनि केही व्यक्तिहरुको ज्यानै समेत गएको देखियो। महामारीको जोखिमको अनुभूति व्यक्तिपिच्छे फरक हुने भएकोले सोको मूल्यांकनको आधारमा आवश्यक सूचना प्रवाह गर्नुपर्ने हुन्छ। समुदायस्तरमा सचेतना फैलाउनका लागि महिला स्वास्थ्य स्वयंसेविकाहरुको साटो स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरु तथा शिक्षकहरुलाई आवश्यक अनुशिक्षण दिएर परिचालन गर्नु थप प्रभावकारी हुन्छ।
सही स्वास्थ्य सूचना नीति निर्माण, कार्यक्रम कार्यान्वयन र सकारात्मक व्यवहार परिवर्तनको आधार हो। तसर्थ यस विषम परिस्थितिमा सूचनाको विश्वसनीयता बुझेर मात्र सम्प्रेषित गर्ने, सही र गलतबारे एकपटक सोच्ने वा बुझ्ने बानीको विकास गर्ने र सही सूचनालाई धेरै माध्यमहरुबाट सम्प्रेषण गर्नुपर्दछ। सूचना कसप्रति परिलक्षित हो, त्यसका आधारमा सूचना श्रोतप्रतिको अभिरुचि, विश्वसनीयता, स्रोतको प्रारम्भिक ज्ञान समेतलाई आधार बनाई सम्प्रेषण गरेमा त्यसको सान्दर्भिकता र प्रभावकारिता अधिक हुने कुरामा शायदै दुई मत होला।