कोभिड-१९ को महामारीले विश्वलाई नै त्रसित बनाइरहेका बेला यसको रोकथाम तथा नियन्त्रणका लागि धेरै देशले बन्दाबन्दी (लकडाउन) गरेका छन्। जसका कारण पर्यटन, यातायात, कलकारखाना, व्यापार, व्यवसाय पूर्ण रुपमा बन्द छन्। नेपालमा पनि गत चैत ११ गतेदेखि सरकारले लागू गरेको लकडाउन जेठ ३१ सम्म जारी छ।
नेपालमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दो छ। अहिलेसम्म ८ जनाको ज्यान समेत यसैका कारण गएको सरकारी तथ्यांकमा उल्लेख छ। सक्रंमण बढ्दै गएको अवस्थामा बन्दाबन्दी पनि सँगसँगै बढिरहेको छ।
विश्वव्यापी रुपमा हेर्दा कोरोनाको चपेटामा वृद्धवृद्धा, पुराना र दीर्घरोगी तथा रोग प्रतिरोध क्षमता कम भएकाहरु परेका छन्। उनीहरुमा संक्रमणको जोखिम बढी हुने हुँदा सम्बन्धितहरुले थप सर्तकता अपनाउनु परेको छ। त्यसो त सबैले नै समस्या आउन नै नदिन सजग र सचेत हुनैपर्छ। विभिन्न दीर्घरोग त्यसमा पनि क्यान्सरसँग लडिरहेका, अझ भन्नुपर्दा महिला क्यान्सर प्रभावित (सर्भाइभर) हरुको अवस्था चुनौतीपूर्ण छ। अहिले बन्दाबन्दीका कारणले क्यान्सर जस्तो नसर्ने दीर्घरोगी झनै अप्ठ्यारोमा परेका छन्।
शरीरको कोष या कोषिकाहरुको समूहको अस्वभाविक वृद्धि क्यान्सर हो। यदि यसलाई समयमै नष्ट गरिएन वा हटाइएन भने शरीरभरि नै यो रोग फैलिन सक्छ र अन्नतः यो नै मृत्युको कारण बन्न पुग्छ। विभिन्न प्रकारका क्यान्सर विविध कारणले हुन्छन्। तर केही क्यान्सरको खास कारक तत्वले यो रोग हुने सम्भावना बढाउनमा मदत गर्छ। जस्तै धूमपान गर्ने या खैनी खाने मानिसलाई मुख, घाँटी र फोक्सोको क्यान्सर हुने प्रबल सम्भावना हुन्छ।
सुर्तीजन्य वस्तुहरुको सेवनसँगै अस्वस्थ्यकर खानपीन, वशांनुगत कारण, विकिरणको प्रभाव र जिवाणुको कारणबाट पनि क्यान्सर हुन सक्छ। जस्तै, पाठेघरको मुखको क्यान्सर। तर अन्य कारक तत्वहरु जस्तै: वातावरण प्रदूषण, औद्योगिक प्रदूषण, विषाक्त र मिसावटयुक्त खानेकुरा, विभिन्न रासायनिक पदार्थहरुको प्रभाव आदिले पनि क्यान्सर निम्त्याउँछ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार हरेक वर्ष देशभरमा ३० हजार बढी नयाँ क्यान्सरका बिरामी थपिन्छन्। तीमध्ये करिब १० हजारले मात्र अस्पतालको सेवा पाउने गरेका छन्। केही अस्पतालमा आधारित तथ्यांक हेर्दा महिला ५३.४ प्रतिशत र पुरुष ४६.६ प्रतिशत नयाँ बिरामी रहेका छन्। त्यसैगरी औसतमा महिलाको उमेर ५०-५४ वर्ष र पुरुषको उमेर ६०-६४ वर्ष रहेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा पुरुषमा फोक्सो र महिलामा पाठेघरको मुखको क्यान्सर र त्यसपछि स्तनको क्यान्सरहरु अत्यधिक देखिएको छ। अन्य नसर्ने रोगसँगै विभिन्न प्रकारका क्यान्सरका घटनाहरु बढ्ने क्रम पनि जारी छन्। नेपालमा नसर्ने रोगको प्रतिशत ६० भन्दा माथि रहेको छ भने त्यसको पनि ठूलो हिस्सा क्यान्सरले लिएको छ। नेपाल सरकारकै तथ्यांकका आधारमा पनि महिलामा क्यान्सर बढी देखिएको छ।
सन् २०१८ मा काठमाडौं उपत्यकामा ७०२ बिरामीमध्ये महिला ३७९ जना र पुरुष ३२३ जना रहेका थिए। नेपालमा समग्रमा क्यान्सरको अवस्था हेर्दा क्रमशः फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र तेस्रोमा स्तनको क्यान्सर रहेको पाइन्छ।
सामान्य मानिसको जस्तै क्यान्सर पीडितहरुको दिनचर्या र जीवनशैली हुन्छ। क्यान्सर प्रभावित महिलाको दैनिकी पनि आमनेपालीको जस्तै रहन्छ, जुन विविध भौगोलिकता, सामाजिक, आर्थिक अवस्था, सस्ंकार, रीतिरिवाज, पारिवारिक र पेसागत जिम्मेवारी अनुसार भने केही फरक हुन सक्छ। यस विषम परिस्थितिमा हरेक लिङ्ग, वर्ग वा क्षेत्रका पुरुष, महिला र अन्य सबैलाई उत्तिकै चिन्ता र तनाव रहेको छ।
चुनौती
महामारीका कारण हामी घरभित्रै एकै स्थानमा बसिरहेका छौं। मनमा त्रास सँगसँगै कतिपयको व्यवसाय धरासायि भएका छन्। चारैतिर अन्योल र आर्थिक मन्दीको अवस्था छ। अब कसरी अगाडि बढ्ने होला, जागिर, पेसा, व्यवसाय के हुने होला जस्ता सोच आउनु स्वभाविक हो। यसले क्यान्सर रोगीहरुमा तनाव वृद्धि हुन सक्छ। त्यसले व्यक्तिगत स्वास्थ्यमा झनै समस्या आउन सक्ने सम्भावना रहन्छ।
बन्दाबन्दीको बेलामा क्यान्सरका बिरामीलाई पनि कोरोनाको जोखिम उच्च रहने अध्ययनहरुले देखाएका छन्। यो समयमा मुख्यतः क्यान्सरको उपचार भइरहेका बिरामीलाई नियमित उपचार जस्तै: केमोथेरापी, रेडिएसन लिन समस्या परिरहेको छ।
टाढाबाट आएका सेवाग्राहीहरुलाई अस्पताल नजिक बस्ने व्यवस्था नहुँदा अप्ठयारोमा परेका छन्। साथै बन्दाबन्दीको कारण आवश्यक मात्रामा स्वस्थ्यकर र पोषिलो खानेकुराको अभाव छ, यसले गर्दा रोग प्रतिरोध क्षमता थप कमजोर भई बिरामीको अवस्था दयनीय हुँदैछ। अर्कोतिर कतिपय नियमित औषधि खाइरहनुपर्ने बिरामीले औषधि पाउन सकेका छैनन्। नियमित औषधि सेवन, अन्य थेरापीका लागि कतिपयलाई फलोअप गर्न अस्पताल जानु पर्ने हुन्छ। तर अधिकांश अस्पतालमा बहिरंग विभाग (ओपिडी) बन्द रहँदा नियमित भिजिट र उपचार लिन कठिन भएको छ। अस्पतालसम्म आउन जान यातायातको समस्या भएको अवस्था छ।
डायलाइसिसका लागि ठेलामा बिरामी लगेको हृदयविदारक तस्बिर सञ्चार माध्यमहरुमा आएका छन्। क्यान्सर अस्पतालहरुमा हरेक खालका बिरामीहरु जाँच गर्न आउने हुनाले उपचार गराइरहेका बिरामीलाई संक्रमणको जोखिम पनि बढ्न सक्ने अवस्था रहन्छ। कोरोना महामारीको कारणले क्यान्सर अस्पतालहरुमा नियमित रूपमा चाहिने औषधिको पनि अभाव देखिएको छ। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनका चिकित्सकहरुको भनाइ अनुसार क्यान्सरका बिरामीहरुले प्रयोग गर्ने औषधि अभाव हुन थालेपछि उपचार र शल्यक्रियामा समस्या देखिन थालेको छ।
सुझाव
क्यान्सर लगायत दीर्घरोगबाट पीडितहरु थप सजग रहनुपर्ने अवस्था छ। महामारीको सकारात्मक पक्षलाई ऊर्जाको रुपमा लिँदै नकारात्मक पक्षलाई संयम र सजग भएर बन्दाबन्दीको सदुपयोग गर्न सक्नुपर्छ। यस्तो अवस्थामा परिवारको साथ, सहयोग, माया, अपनत्वर हौसलाको खाँचो हु्न्छ। परिवारसँग हासीखुसी दिन बिताउने साथै परिवारसँगै रमाउने र एक आपसमा भावना साटासाट गर्नाले तनावग्रस्त नभई आत्मबल बढाउनको लागि महत्वपूर्ण भूमिका रहन्छ।
आफ्नो परिवारमा सुरक्षित रहन सुरक्षात्मक क्रियाकलाप भीडभाडमा नजाने, सामाजिक दूरी कायम गर्ने, बाहिर निस्कनै परे मात्र निस्कने र सधैं मास्कको प्रयोग गर्ने गर्नुपर्छ। व्यक्तिगत सरसफाइमा ध्यान दिने, रोग प्रतिरोधी क्षमता बढाउन, स्वस्थ र सन्तुलित भोजन सहित ध्यान, योग, व्यायाम गर्ने, गीत–संगीत सुन्ने, आफ्नो अवस्था अनुसार तरकारी एवं फलफूल खेती गर्ने, करेसाबारी, बगैंचामा टहलिने गर्नाले पनि लाभ दिन्छ। यसका साथै लेख्ने, पढ्ने लगायत अन्य सिर्जनात्मक कामहरुमा व्यस्त रहने र सकारात्मक उर्जा मिल्ने सम्भावना रहन्छ।
यो बेलामा चिकित्सकसँग सल्लाह गरेर मात्र अस्पताल जाने गर्नुपर्छ। फोन वा विद्युतीय विधिबाट परामर्श सेवा लिन उपयोगी हुन्छ। महामारीलाई एक विषम परिस्थिति ठानेर आफूलाई व्यस्त राख्नुपर्ने हुन्छ। जसले हामीलाई मनो–सामाजिक रुपमा स्वस्थ्य रहन मद्दत मिल्छ। घरमा बस्नपर्यो भनेर दिक्क मान्नुको सट्टा यो बन्दाबन्दीमा वर्षौंदेखि चाहेर पनि गर्न नसकेको आफ्नो क्षमता, सिपमा निखार ल्याउने अवसर भनेर सोच्नुपर्छ। त्यसमा पनि महिला, किशोरीहरुलाई अहिलेको बन्दाबन्दीको अवस्थामा दिनभरि विभिन्न क्रियाकलापमा भुलिरहन अझ सहज रहेको छ। मनोवल उच्च राख्ने र सधैं सकारात्मक सोच राखे अझ लाभदायक हुन्छ।
निष्कर्ष
क्यान्सरका बिरामीले आफ्नो अवस्था र आवश्यकता अनुसार सचेत भई व्यक्तिगत रुपमा दैनिक जीवनशैलीमा परिवर्तनको खाँचो छ। यो समयलाई परिवारको साथ, अपनत्वसहित एकअर्कालाई नजिकबाट बुझ्ने र समय बिताउने सुवर्ण अवसरको रुपमा लिनुपर्छ। क्यान्सर अस्पताल, क्यान्सर सहयोगी समूह एवं क्यान्सर बिजेताहरुसँगको छलफल, नियमित अन्तर्क्रियाहरुमा आफ्नो अर्थपूर्ण सहभागिता लाभकारी हुन्छ। आवश्यकता भएमा मनो–परामर्शकर्तासँग सल्ला-सुझाव लिन सकिन्छ।
व्यक्तिगत, पारिवारिक रुपमा आफू सचेत एवं संयम रहने, आफूले नै आफैंलाई यो कठिन समयमा अझ बढी ख्याल गर्नुपर्ने, बन्दाबन्दीको पालना गर्ने, सरकार र सम्बन्धित सरोकारवालाहरु मिलेर एकजुट भई अगाडि बढ्नु नै उत्तम उपाय हो। सरकारले क्यान्सर लगायतका दीर्घरोगीहरुको लागि आवश्यक सरल र सहज उपचार सेवाको व्यवस्था मिलाउन अत्यन्त जरुरी देखिन्छ। यो बीचमा मामहामारीले भन्दा पनि विभिन्न रोगबाट पीडितहरु उपचार नपाएकाले ज्यान गुमाउन पुगेका छन्। त्यसप्रति सरकारको ध्यान जान बिलम्व हुनु हुँदैन।
सरकारले कोभिड-१९ महामारी बाहेक क्यान्सर र अन्य दीर्घरोगीको बारेमा पनि नीति, कार्यक्रम र प्राथमिकता बमोजिम कार्ययोजना बनाउन जरुरी छ। अबका दिनमा सरकारको पहिलो प्राथमिकता नागरिकको स्वास्थ्य सुरक्षा हुनुपर्छ।
(खाँड स्तन क्यान्सर विजेता अधिकारकर्मी हुन् भने डा तामाङ जनस्वास्थ्यकर्मी एवं अनुसन्धाकर्ता हुन्)